भारतको प्रतिक्रिया- नेपालबाट बिजुली बंगलादेश पुग्नु उत्साहजनक | Khabarhub Khabarhub

भारतको प्रतिक्रिया- नेपालबाट बिजुली बंगलादेश पुग्नु उत्साहजनक


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल-बंगलादेश विद्युत् व्यापारबाट ऊर्जा क्षेत्रमा क्षेत्रीय कनेक्टिभिटी बढाउने प्रतिक्रिया भारतले दिएको छ । शुक्रबारदेखि नेपालले बंगलादेशलाई औपचारिक रूपमा बिजुली बेच्न सुरु गरेको सन्दर्भमा भारतको यस्तो प्रतिक्रिया आएको हो ।

नेपालबाट भारतीय प्रसारण लाइन हुँदै शुक्रबार ४० मेगावाट बिजुली बंगलादेश पुगेको छ । यो वर्ष शुक्रबार मात्रै नेपालको बिजुली बंगलादेशमा बल्नेछ । त्यसपछि अर्को वर्षायममा नेपालबाट बिजुली भारत पुग्नेछ ।

नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल्ली संयुक्त रूपमा स्वीच अन गरी विद्युत् निर्यातको उद्घाटन गरिसकेपछि भारतले पनि उत्साह जनाएको हो।

भारतीय विदशेश मन्त्रालयले भारतको बाटो हुँदै नेपालले बंगलादेशलाई बिजुली बेच्न थाल्नुले भविष्यमा ऊर्जा क्षेत्रमा क्षेत्रीय कनेक्टिभिटीलाई बढावा दिने विश्वास व्यक्त गरेको छ ।

त्यस्तै भारतीय ऊर्जा मन्त्रालयले पनि नेपालबाट ब‌ंगलादेश बिजुली निर्यात हुनुलाई ऐतिहासिक क्षण भन्दे खुसी व्यक्त गरेको छ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बङ्गलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बङ्गलादेश) चार सय केभी प्रसारण लाइनमार्फत बङ्गलादेश विद्युत् पुगेको हो ।

नेपालबाट भारत हुँदै बङ्गलादेशतर्फ विद्युत् निर्यात आज मध्यान्ह १२ : ३० बजेदेखि सुरु भएको हो । यसवर्ष (सन् २०२४)को वर्षायाममा विद्युत् निर्यात आजराति १२ बजेसम्म मात्रै हुनेछ ।

त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ देखि बङ्गलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८ दशमलव ६० र २१ दशमलव ४० गरी ४० मेगावाट विद्युत् बङ्गलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो ।

केन्द्रीय विद्युत् प्राधिकरणले दुई आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बङ्गलादेश निर्यात स्वीकृति दिएको हो । यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् ।

नेपाल विद्युत् प्राधिकरणले वर्षायामको छ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्षसम्म ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बङ्गलादेशलाई बिक्री गर्नेछ ।


प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट (आजको विदेशी मुद्रा विनियम दर अनुसार आठ रुपैयाँ ६२ पैसा) पाउने छ । नेपालले विद्युत् बिक्रीबाट पहिलो पटक डलरमा आम्दानी गर्न लागेको हो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुँदै आएको छ ।

प्राधिकरणले आज ११ घण्टा ३० मिनेट बङ्गलादेशतर्फ विद्युत् निर्यात गरी २८ हजार एक सय ६० अमेरिकी डलर पाउने छ । बङ्गलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले बेहोर्नेछ ।

मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्कहरू बङ्गलादेशले बेहोर्नेछ ।

नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण ग्रिड प्रयोग गरी बङ्गलादेश लैजानका लागि नेपाल विद्युत् प्राधिकरण, एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन, भारत र बङ्गलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो ।

त्रिपक्षीय विद्युत् बिक्री सम्झौतापछि प्राधिकरणले गत २३ असोजमा बङ्गलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरण बिहीबार स्वीकृति दिएपछि आजदेखि विद्युत् निर्यात सुरु गरिएको हो ।

कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी विसं २०८० पुस १६ मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश, भारत र नेपालका निकायहरूबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र आह्वान गरेको थियो ।

प्राधिकरणले विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो । प्राधिकरणले पेस गरेको बोलपत्र स्वीकृत भएपछि त्रिपक्षीय विद्युत् बिक्री सम्झौताको प्रक्रिया अगाडि बढेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ४ : ०७ बजे

‘नेपाललाई आगामी दिनमा पनि सहयोग गर्न जर्मन सरकार तयार छ’

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि

‘जाने बेलामा गिरिजाप्रसादले मलाई देश सम्हाल्नुस् भन्नु भएको थियो’

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री एवम्

नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीहरूले आइसीसी यु–१९ महिला

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौं– काठमाडौं महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता

सुमन सायमीसहित पक्राउ परेपछि राजेन्द्र महतोको आपत्ति

काठमाडौं– नवगठित राष्ट्रिय मुक्ति पार्टीका नेता सुमन सायमी पक्राउ परेका