धरान- यतिबेला पूर्वका याक्थुङ लिम्बू समुदायहरू चासोक तङ्नामको सांस्कृतिक रमझममा रमाइरहेका छन् । एकापसमा हार्दिकतासहित शुभकामना साटासाट गर्दै सामाजिक र पारिवारिक मिलन उत्सव मनाइँदैछ ।
जसरी क्रिश्चियनहरू क्रिसमसमा भेला भएर रमाइलो गर्छन्, हिन्दुहरू दशैं तिहारमा पारिवारिक खुशी साट्छन्, मुस्लिमहरू इदमा अल्लाह सम्झेर रमाउँछन्, त्यसरी नै याक्थुङ लिम्बूहरू चासोक तङ्नाममा रमाउँछन् । यसक्रममा सामाजिक र पारिवारिक सद्भाव कायम राख्दै एकापसमा सुख, शान्ति र समृद्धिको कामना गरिन्छ प्राणीजगतलाई बचाउने अन्नबालीको मालिक (प्रकृति)लाई सम्झँदै ।
चासोक तङ्नाम याक्थुङ लिम्बू समुदायको प्रमुख सांस्कृतिक चाड हो । यो चाड कहिलेदेखि सुरु भयो भन्ने कुराको उत्तर कसैसँग छैन । खेतीपाती गर्ने, जंगलमा खोरिया–भस्मे फाँडेर बीउबिजन छरपोख गर्दै अन्नबाली उव्जाउने र आगोमा पकाएर सबैभन्दा पहिले प्रकृतिलाई मानमनितोसहित अर्पण गरेको घोषणापछि सबै मिलेर खाने उत्सव अर्थात न्वागी अनुष्ठान नै चासोक तङ्नाम हो ।
यसबारे याक्थुङ मुन्धुममा विस्तृत वर्णन गरिएको छ । मुन्धुमअनुसार यो कृषियुगको सुरु हुनु अझै अघिदेखि याक्थुङ लिम्बूका पुर्खा सावा येहाङ, येत्हाङका सन्ततीहरूले मान्दै ल्याएको मानिन्छ ।
सिन्दोलुङ फागो वनेमका वंशावली, इतिहास र मुन्धुममा समावेश याक्थुङ मुन्धुम अन्तर्गतको चासोक मुन्धुममा यस्तो वर्णन गरिएको छ, ‘साअङ्गे अङ्गे अङ्गे माङ्माए, खेनी थक्ले केथेई, साम्माङ केथेई, आङ्गा सिगेराग यक्याक्मु फेदाङ्आ तेत्ला तोन्नेरो, लासिङ तोन्नेरो, मिया तोन्नेरो, नाम्सिङ तोन्नेरो । आल्ल, थो सोधुङ्गे देनओ थुङ्वाबा देनओ सिनयोक्पा देनओ मुदेम्बा देनओ आबु नाक्पा मदक्कुम्देनओ सेवालुङ देनओ आवु नाक्पा साहा नाक्पा फक्ताङलुङ देनओ, तेमेन तेम्बे, वरक तेम्बे, सेक्थक मेन्धाए फन्थक मेन्धाए कुबु मेन्धाए याम्मु याक्चुम एप्पारो याहाक एप्पारो ।
अर्थात्, ‘प्राणी जगतलाई बचाउने अन्नबालीका मालिक्नी, प्रकृतिका देवी–देवता, हजुरको थान बनाई खेतबारीमा पहिलो पाकेको अन्नबाली हजुरसामु अर्पण गरेका छौँ है, चढाएका छौँ है, हजुर खुसी भएर ग्रहण गर्नुहोला । उत्तरको हिमाल र पहाड, दक्षिणको तराईको अन्नबाली सप्रियोस् भनेर आशिर्वाद दिनुहोस् ।’
चासोक तङ्नामसँग याक्थुङ समुदायको बहुपक्षीय सम्बन्ध जोडिएको छ । यो सांस्कृतिक चाडलाई लिम्बू समुदायले, खेतीपाती, अन्नबाली, बीउबिजनसँग जोड्दै जुन प्रकृतिले जीवन र जगतलाई बचाएको छ, अन्नबाली उत्पादन गराइदिएको छ, उसैलाई आफ्नो कुल देवता, इश्वर, भगवना, प्रभु, अर्थात् युमा, तागेरानिङ्वाफुमाङ मानेर सबैभन्दा पहिले पाकेको खानेकुरा चढाएर मात्र सामूहिक रुपमा खाने उत्सवका रुपमा हजारौँ वर्षदेखि मान्दै आएका छन् ।
प्रकृतिलाई चढाउने अनुष्ठान येवा–येमा, साम्बा, फेदाङ्माले श्रुतिपरम्परामा आधारित आफ्ना अग्रज गुरुहरूबाट ज्ञानको रुपमा सिकेको, जानेको, बुझेको आधारमा मौखिक रुपमा फलाक्दै (प्रार्थना, बिन्ती गर्दै, मन्साउँदै) परम्परागत रुपमा मानिल्याएको विधिविधानअनुसार पाकेको अन्नबाली चढाउने गर्छन् ।
असार साउनमा खेतबारीमा लगाएको अन्नबाली पाकेको बेला पहाडमा पैयुँ फुलेर ढकमक हुन्छ । पारिलो घामको न्यानोमा तितेमाछा र चराचुरुङ्गी जाडो छल्न औलतिर झर्न थाल्छन् । समय, मौसम र ऋतु परिवर्तनको मापन गर्ने क्यालेण्डर नभएको अवस्थादेखि हालसम्म पैयुँ फुल्नु र तितेमाछा र चराचुरुङ्गी औल (बेंसी) तिर झर्नुलाई याक्थुङ लिम्बू समुदायले ऋतु परिवर्तनको संकेत मान्ने गरेका छन् । चासोक तङ्नामले याक्थुङ समुदायले ढुंगेयुग र जंगली युग पार गर्दै कृषियुगमा प्रवेश गरेको समयको बोध गराउँछ ।
मुन्धुमको व्याख्या, विष्लेशण र वर्णनलाई अध्ययन गर्दा मुन्धुममा आदिम महिला जो अग्रज, जानकार, ज्ञानी र याक्थुङ सभ्यता निर्माणमा योगदान दिने सिकेरा (सिगेरा) एक्थुक्नामाको नाम आउँछ । उनले इम्बिरी याङ्धाङ्वा हालको तमोर नदी आसपासमा पर्ने सांघुयक्मा कोपियक्मा, लेलेप, तापेथोक, मुरिङ्ला खारिङ्ला, (ताप्लेजुङ्को फक्ताङलुङ गाउपालिका) मा सहअस्तित्वको ज्ञान सिकाउँदै अन्नबाली बीउबिजन उत्पादन गर्न सिकाएको वर्णन छ ।
उनले सावा येहाङका सन्ती आफ्ना माइतीहरूलाई पारामा (वनकोदो), पयामा (कागुन), विभिन्नखाले या? (धान) छरेर खेती गर्न सिकाइएको उल्लेख छ । अझै पनि मुरिङला खारिङ डाँडा जाने बाटोमा सिकेरा (सिगेरा) एक्थुक्नामाले ‘नेम्भोयाक्वा तेसुमादेन’ (अन्नबालीको बीउबिजन छरेका ठाउँ) नै छ ।
पारामा, तक्मारु, घैया, धान, कोदो, कागुनको विउविजन छरेर पाकेपछि तागेरा निङवाफुमाङ युमामाङ (प्रकृति) लार्ई अर्पण गरिएको पहिलो ठाउँ हो ‘नेम्भोयाक्वा तेसुमादेन’ ।
त्यही ठाउँमा पहिलो पटक याक्थुङ लिम्बूका आदिम पूर्वजहरू (येहाङहरू) र उनीहरूका सन्ततीले छरपोख गरेर खेतबारीमा पाकेको अन्नबाली प्रकृतिलाई अर्पण गरेर मात्र आफूहरूले खाने परम्परा सुरु गरे । जुन चलन संस्कृतिका रुपमा विकास भयो । ताप्लेजुङको युखावु (इखावु), लेलेप, तापेथोक आसपासमा पर्ने ‘नेम्भोयाक्वा तेसुमादेन’ तमोर नदीको छेउमा पर्छ ।
जंगल, भस्मे खोरिया फाडेर खेतीपाती सुरु गरेका तीनै स्थलमा याक्थुङ लिम्बूका पुर्वजहरू मुजिङ्ना खेयोङ्ना (मयङ्ना) सुवुवेङ लालावेङ (सावान युक्फुङकेम्बा), थोसुलुङ्मा फियमलुङ्मा, योसुलुङ्मा चुङ्गुतलुङ्मा (मुक्कुमलुङ्मा), उनीहरूका सन्तानहरू सुत्छुरु सुहाम्फेवा, तेत्लारा लाहादङ्ना, पाजाइवा तेन्धुमम्याङ्बा, बरुप्ली वदङ्नामा, तेत्लारा लाभियङ्मा, लाकेरेक, नामकेरेकहरूले बस्ती बसाएर याक्थुङ सभ्यताको बीजारोपण गरेका थिए ।
उनीहरू र त्यसपछिका सन्ततीले पनि खेतबारीमा अन्नबाली पाकेपछि सबैभन्दा पहिले प्रकृतिलाई चढाएपछि मात्रै घरभित्र भण्डारणका लागि भित्र्याएर खाने चलनलाई उत्सव मात्रै नभएर, आदिम कृषियुगसँग जोडिएको मुन्धुमी विरासत पनि हो चासोक तङ्नाम ।
पछिल्लो समयमा चासोक तङ्नामले पारिवारिक, सांस्कृतिक र सामाजिक महत्वका साथसाथै धार्मिक महत्व पनि बोक्न थालेको छ । याक्थुङ लिम्बू जातिको पहिचान र सांस्कृतिक गौरव बढाउने काम एकातिर गरेको छ भने अर्कातिर यसले लिम्बू जातीबिच सामाजिक सद्भाव एकता र पारस्पारिक सहयोगको भावना अभिवृद्धि गर्नमा ठूलो भूमिका निर्वाह गरेको छ ।
याक्थुङ मुन्धुमको विस्तृत अध्ययन गर्दा हरेक पक्षमा सम्पूर्णता खोज्छ । मुन्धुमका खोजकर्ता, संकलक, सम्पादक तथा व्याख्याता वैरागी काइँला (तिलविक्रम नेम्बाङ) का अनुसार सम्पूर्णता भनेको मुन्धुम दर्शनको प्रमुख सौन्दर्य हो । यही सम्पूर्णताभित्र प्राणीजगतको सृजना तागेरानिङ्वाफुमाङले गरे पनि तिनलाई बचाउन अन्नबाली आवश्यक देखिएकाले बीउबिजन सृजना भएको हो । नत्र के खाएर बाँच्थे प्राणीजगत ? अपूर्ण हुनपुग्थ्यो ।
नयाँ अन्नबाली उपभोग गर्न अग्रज वा पुर्खा पितृ (पितृ–पुरुषसत्ता होइन) वा प्रकृतिसँग अनुमति माग्ने अनुष्ठान वा पूजालाई चासोक भनिन्छ । र, तङ्नाम भनेको चाड वा उत्सव हो । चासोक तङ्नाम याक्थुङ लिम्बू समाजको सामाजिक एकता, प्रकृति र एकापसको सम्पुर्णतामा डोर्याउने सामाजिक र सांस्कृतिक चाड हो ।
चासोक तङ्नाममा याक्थुङ लिम्बू समुदायले विधिवत पूजाअनुष्ठान गर्दै मौलिक भेषभूषामा सजिएर एकआपसमा भेटघाट गर्ने, शुभकामना आदानप्रदान गर्ने, साइनो नलाग्ने तरुनी–तन्नेरीबीच एकअर्काको हात समाएर परम्परागत नाचगान, धाननाच (या लाङ), च्याब्रुङ नाच (के लाङ), पालाम गाउने, ख्याली र हाक्पारेका लयमा जीवन–जगतमा हुने प्रेम र विरहका कथा सुनाउँदै मनोरन्जन गरिन्छ । त्यही अवसरमा याङ्वेन (झ्याउ), कोदोको जाँडको तोङ्बा र तीनपाने रक्सी, चाम्रे, फिलिङ्गे र कनेमाको अचार, सेर्गेङ जस्ता मीठा परिकार बनाएर छिमेकीलाई हुक्वा (कोसेली) का रुपमा दिने गर्दछन् ।
चासोक तङनमकै अवसरमा ली आप्मा (गुलेली हान्ने), पक्लुङ लेप्मा (छेलो हान्ने) जस्ता खेल प्रदर्शन गर्छन् । मुन्धुममा वर्णित याक्थुङ सभ्यता निर्माणमा प्रमुख भूमिका खेल्ने विवेकले भरिपूर्ण आदिम स्त्री युमालाई सम्झेर थाक् थाक्मा (तान बुन्ने) गर्छन् । उक्त अवसरमा तरुनी–तन्नेरीको फुङ्वा चाङ्मा (जीवनरूपी फूल जगाउने) मुन्धुमी कर्म पनि गर्दछन् ।
किशोर किशोरीहरू विस्तारै शारिरिक, मानसिक र बौद्धिकरुपमा परिपक्वतातर्फ उन्मुख हुँदै गरेको संकेतका रुपमा चाङ्वान् लेक्मा (विशेष विधिविधानका साथ वश्त्र अर्थात तागाबा, मेख्ली, गरगहना लगाइदिने) सु–अवसरका रूपमा पनि यो चाडलाई याक्थुङ लिम्बूहरूले लिने गर्दछन् ।
प्रकृति पुजक याक्थुङ लिम्बूको मुन्धुमले स्वर्ग, नर्कको कल्पना गर्दैन । अनेक अलौकिक शक्ति भएको इश्वर वा भगवानको पनि कल्पना गर्दैन । जे जति मान्नु पर्ने हो साक्षात प्रकृतिलाई मान्ने गरिन्छ । र, भगवना बस्ने कुनै स्थायी मूर्ती भएको भव्य मन्दिर, मस्जिद, गुम्बा वा चच जस्ता घरको कल्पना पनि गर्दैन । यसर्थ याक्थुङ लिम्बूले चासोक तङ्नाम मनाउँदा आफ्नो घर वा नजिकै बारीमा अस्थायी पुजास्थल बनाएर साम्बा, फेदाङ्माले विधिअनुसार फलाकेर प्रकृतिको पूजा गरिसकेपछि फेरि जस्ताको तस्तैरुपमा ल्याउन सम्याइन्छ ।
याक्थुङ लिम्बूको मुन्धुमअनुसार पुर्वजहरूले आफू बसेको र बाँचेको समय र स्थानबाट आफ्ना इन्द्रियले जे जे देखे, पाए, अनूभूत गरे त्यसैलाई जीवन र जगतको रक्षकका रुपमा कल्पना गरे । त्यसैले हावा, पानी, आकाश, जुन घाम तारा, बादल बिजुली, झरी–बर्षा, पहाड, पर्वत, खोला, नदी, गुफा, वन–जंगल, रुख, बोटविरुवा, पशुपंक्षी, जीवजन्तुलाई नै मान्ने गरेकाले प्रकृति पुजक भनिएको हो ।
०४६ पछि सांस्कृतिक अलग्गै पहिचान
०४६ सालको जनआन्दोलन अघिसम्म पूर्वमा चासोक तङ्नाम दशै–तिहार जस्तो ‘ब्रान्ड’ बनिसकेको थिएन । यद्यपि, घरघरमै मनाउने चलन भने निरन्तर थियो । जनआन्दोलनपछिको राजनीतिक परिवर्तनले पूर्वका याक्थुङ लिम्बू समुदायको पनि मष्तिस्क हल्लायो । आफ्ना परम्परागत मौलिक कला, संस्कृति साथै मुन्धुमको खोजी, अध्ययन, अनुसन्धान र प्रचारात्मक काम हुन थाले । त्यहीकारण यो पर्वमा पनि पुनर्जागरण (रेनेसा) को युग सुरु भयो ।
सांस्कृतिक जागरणका रुपमा स्व–पहिचानस्वरुप याक्थुङ लिम्बू समुदायले धरानको चुम्लुङ हिममा सामूहिक चाड मनाउने प्रयास गरे, भारतीय हिन्दु क्यालेण्डरले तय गरेको तिथिमितिअनुसार मंसिरे पूर्णिमाका दिन । जबकी याक्थुङ मुन्धुमले भारतीय हिन्दु क्यालेन्डर चिन्दैन । तर सांस्कृतिक र धार्मिक प्रभावमा परेर त्यही अनुसार मान्दै आए ।
अन्नबाली पाक्ने समय कात्तिक, मंसिर र थन्काउने समय पुसमा याक्थुङ लिम्बूले जुनसुकै बार र समयमा मनाउँदै आएको परम्परालाई अरु समुदायको पनि एकिकृत बिदा दिने निर्णय राज्यले गरेपछि मंसिरे पूर्णिमाका दिन उधौँली भनेर तोक्दा नयाँ बेथिति थपियो । जबकी चासोक तङ्नाम याक्थुङ मुन्धुममा आधारित भएकाले चासोक तङ्नामलाई याक्थुङ लिम्बू समुदायले कात्तिकदेखि पुससम्म मनाउने गर्छन् ।
घर–घरमा साम्बा, फेदाङ्मा लगाएर मनाउँदै आए पनि ०५० को दशकसम्म खासै चर्चामा नआएको चासोक तङ्नाम धरानबाट परिचित भएको हो । धरानमा किरात याक्थुङ चुम्लुङले पनि मंसिरे पूर्णिमाका दिन पारेर सामान्य विधि सम्पन्न गर्दै मनाउँदै आएको थियो । चुम्लुङको नगर अध्यक्ष सानु सुब्बा र उपाध्यक्षमा प्रदीप मेन्याङ्बोको नेतृत्वमा पहिलो पटक चासोक तङ्नामलाई चुम्लुङ हिम परिसरमा १० दिनसम्म सांस्कृतिक उत्सवका रुपमा मनाउने अभियान सुरु भयो ।
त्यसपछिका नेतृत्वले पनि न्यूनतम पाँच दिनदेखि सात दिनसम्म सामूहिक रुपमा मनाउने चलनलाई निरन्तरता दिँदै आए। यसो गर्दा गैरयाक्थुङ लिम्बूहरूले पनि चासोक तङ्नामको महत्व र उपादेयताबारे थाहा पाउन थाले । उत्सवमा उनीहरू पनि सहभागी हुन थाले । पूर्वका विभिन्न क्षेत्रमा बस्ने लिम्बूहरूले पनि सामूहिक रुपमा मनाउन थाले । नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ, हङकङ, बेलायतमा लिम्बू समुदायले चासोक तङ्नाम मनाउन थालेपछि पछिल्लो समयमा यो चाडपर्वको अलग्गै ‘ब्रान्ड’ बनेको छ ।
प्रतिक्रिया