‘नेपाली कांग्रेसमा नेता नै छैनन्’ | Khabarhub Khabarhub

‘नेपाली कांग्रेसमा नेता नै छैनन्’

कांग्रेसको गौरवमय इतिहासमा कालो पोतिने शंका छ : पूर्वसभामुख


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख तारानाथ रानाभाटले किशुनजी (कृष्णप्रसाद भट्टराई) पछि खडेरी परेर नेपाली कांग्रेसमा नेता नै नभएको बताएका छन्। कानुनी शासन, राष्ट्रिय एकता, आपसी समझदारी भइदियो भने त हाम्रो देश अरु जस्तो विकसित हुन समय नलाग्ने उनको भनाइ छ।

नेपाली जनतालाई एक चित्रमा बाँधेर देश अगाडि बढाउने र विकासका निम्ति चाहिने स्रोत र साधन जुटाउने समयमा घरको त र म मिलाएर बस्नु अत्यन्तै घिन लाग्यो विषय भएको उनको भनाइ छ। यो सोचमा लाग्दा देश नबन्ने उनले बताए। उनी भन्छन् ‘हामीले मानवीयदेखि प्राकृतिक स्रोतलाई परिचालन गर्न नजान्दा आफै बिग्रिएका हौँ।’

मुलुकमा संकट बढेको छ, यतिखेर कांग्रेसले कस्तो भूमिका निभाउनुपर्छ ? नेपाली कांग्रेसको नीति के हो ? लगायतका विषयमा जोडिएर रेडियो क्यान्डिडका लागि नेपाली कांग्रेसका नेता एवं पूर्वसभामुख तारानाथ रानाभाटसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेस यति बेला कहाँ छ ?
नेपाली कांग्रेसको जहानियाँ राणा शासन भएको बेलामा जन्म भयो। दास बनाइएको जनतालाई स्वतन्त्र बनाउन उत्प्रेरणा भनेको भारतीय स्वतन्त्रता संग्रामले दियो। साम्राज्यवादी अंग्रेजलाई त धपाउन सक्ने रहेनछ। हामी आफ्नै दाजु भाइले आफैलाई नै थिचिरहेको अवस्थाबाट सुधार गरेर तिनीबाट उन्मुक्ति लिन सक्दैनौँ भन्ने सोच भारतमा रहने युवाको थियो। त्यही समयमा विभिन्न सल्लाह गुट उपगुट मिल्दै गएर नेपाली कांग्रेसको जन्म भयो। त्यसपछि राणा शासनविरुद्ध २००७ सालको क्रान्ति सम्भव भएको हो।

धेरै उतारचढाव आए पनि बाटो नबिराई, भ्रमित हुन नदिइ राष्ट्रिय एकता समझदारीका साथ प्रजातन्त्रको आन्दोलन प्रारम्भ भएको थियो। त्यसलाई अगाडि जान दिन पाएको भए आज चीन र भारत जस्तै हामी पनि सम्पन्नता र सभ्यताको चरम चुलीमा पुग्न सक्थ्यौँ। तर दुर्भाग्यवश नेपालमा गरी खान सक्ने अवसर छैन। आज संसारको हरेक मुलुकमा नेपाली पुग्न बाध्य भए।

अहिले हाम्रो सार्वभौमसत्ता र स्वतन्त्रतामा कुनै प्रश्न नै उठेको छैन। हाम्रो देशको सार्वभौमसत्ताको मालिक जनता हो भन्नेमा कुनै भ्रम छैन। त्यही सुझबुझका आधारमा हामीले काम गर्न सकेको भए आज चीन भारत जस्तो अरु विकसित देशको दाँजोमा हामी पुगिसकेका हुन्थ्यौँ। हाम्रो पनि जीवनस्तर माथि उठ्थ्यो। रोजगारी र अवसरका लागि विदेश भौतारिनु पर्ने थिएन।

हामीले मानवीयदेखि प्राकृतिक स्रोतलाई परिचालन गर्न नजान्दा आफै बिग्रिएका हौँ। भारत र चीन विकाससँगै सिंगारिएका छन्। उनीहरू राम्रा भए तर अहिले छिमेकीको फोहोर त उनीहरूलाई पनि गन्हाएको छ। त्यस कारण उनीहरू आफ्नो इज्जतको लागि भए पनि नेपाललाई सम्पन्न बनाउन प्रयत्न गर्छन्। यस्ता विषयमा विश्वका सम्पूर्ण देशको प्रयत्न रहन्छ। श्रोत र सधान यहाँ परिचालन हुन्छन्। हामी आफै कमजोर भएर आफै इमानदार नहुनाले देशको यो अवस्था आएको हो।

सहरमा ३० तले भवन बन्न थालेका छन्। तर बागमतीको किनारमा बसेका सुकुम्वासीले ती ठुला घर भएकाले मलाई ठुलो घर बनाइदेलान् र म पनि बनिबनाउ जिन्दगी बिताउला भने जस्तो भएन र ?
साच्चै नेपाल भनेको त बागमतीको किनारमा बस्ने जस्तै हो। तिनीहरुको अवस्थामा सुधार नआएसम्म वा कुनै पनि तरिकाले विदेशका श्रम बजारमा भौतारिने नेपालीको भाग्यमा सुधार नआएसम्म देश बन्दैन। विदेशमा गएर सम्पन्नता देखाउने नेपालीहरू फर्केर यहाँ त्यही ढङ्गले काम गर्ने परिस्थिति आएपछि मात्र देश बन्छ। शासन भनेको त परिवर्तन हुँदै जाने कुरा हो। जनताले मन नपराउने शासन हट्दै जाने रहेछन् भन्ने त अहिले सबैले बुझिसकेका छन्। कानुनी शासन, राष्ट्रिय एकता, आपसी समझदारी भइदियो भने त हाम्रो देश अरु जस्तो विकसित हुन समय लाग्दैन।

देश बन्न समय लाग्दैन कम्तिमा हाम्रो सार्वभौमिकता छ भनेर ००७, ०४६ र ०७२ सालदेखि भनिरह्यौँ। यो सबैको कालखण्डको अगाडि नेपाली कांग्रेस छ। देशलाई यो अवस्थामा मेरै पार्टीले पुर्यायो भन्न सक्नुहुन्न ?
नेपाली कांग्रेसले यो देशलाई राणा शासनबाट मुक्त गर्यो। हुकुमी शैलीमा राजा महेन्द्रले गरेको शासनबाट मुक्ति दिलायो। त्यसपछि देशमा विदेशीका विभिन्न चासोका खेलाउना भएको कुरा पार्टी चलाउनेले नबुझेकाले समस्या भयो। सबैसँग आपसी समझदारी नगरी म मात्रै चलाउँछु भनेर आफैले लुछाचुँडी गर्नेले २००७ सालदेखि केही पनि भएन भन्ने वातावरण उत्पन्न भएको हो।

केही समय देश बाहिर बस्दा म नेपाली कांग्रेसको नेता हुँ भनेर छाती ठुलो बनाएर नीति र नैतिकताको पाठ सिकाउन सक्ने धरातलमा बाँच्न सक्नु भयो कि भएन ?
जुनसुकै सहरमा गए पनि नेपाली दाजु भाइ त्यहाँ भेटिन्छन् । आफ्नो योग्यताले क्षमताले कुन काम गरेको छ भन्ने अर्को प्रश्न हो। तर उनीहरूको देश प्रेम अगाध छ। देश जिम्मा लिएका मान्छेले काम गर्न नसक्दा हामीले यो अवस्था भोग्नु परेको उनीहरु भन्छन्। तिमीहरूले गरिदिएको भए अरु देशले हासिल गरे जस्तो नेपालले पनि उन्नति र प्रगति गथ्र्यो भनेर गुनासो गर्छन्। उनीहरुलाई त्यो होइन भन्ने ठाउँ नै छैन। बाहिर पुगेका नेपालीले हामीसँग गर्ने प्रश्न भनेको यही नै हो।

नेपाली कांग्रेस सुध्रिनका लागि नीति, नैतिकता, कांग्रेसको नारा, नेतृत्व चाहिन्छ होला, तर केही छैन भने नेपाली कांग्रेस भनेर के अपेक्षा गर्ने त ?
अपेक्षा थियो तर त्यसलाई सम्हाल्न र संरक्षण गर्न सकेनौँ। पहिला बिपी, गणेशमान, किशुनजी, पुष्पलाल, मनमोहनजी जस्ता विशिष्ट व्यक्ति हुनुहुन्थ्यो । राजनीतिक विचार र कार्यशैलीमा हाम्रो भिन्नता भयो तर देश कमजोर रहोस् भनेर त उनीहरूले पनि भनेनन्। त्यसैले विचार र विचारमा आधारित सङ्गठन जस्तो भए पनि राष्ट्रिय एकता र मेलमिलापमा आधारित भए समग्र विकासका लागि अगाडि बढ्ने, राष्ट्रिय स्रोत र साधनको परिचालन गरेर अगाडि बढ्ने हो भने नेपाल बनाउन गाह्रो छैन।

गाउँ गाउँमा बुढा पुस्ता मात्रै छन्। युवा विदेश गएका छन्। नेपाली कांग्रेस बुढाबुढी प्रथामा गइराखेको छ। नीति होइन नेतृत्वको पक्षमा बहस चलाइराख्नु भएको छ भने के अपेक्षा गर्ने तपाईंहरूसँग ?
देश बनाउनका निम्ति संगठित हुने हो। विभिन्न धर्म संस्कृति भूगोलका आधारमा नेपाली जनतालाई एक चित्रमा बाँधेर देश अगाडि बढाउने हो। तर संसारका सारा विकासका निम्ति चाहिने स्रोत र साधन जुटाउने समयमा घरको त र म मिलाएर व्यक्तिगत स्वार्थ पुरा गर्न लागेको देखिन्छ। यो अत्यन्तै घिन लाग्यो सोचमा लाग्यौँ भने कहिले देश बन्छ ?

यो जवाफ दिँदै गर्दा सही अर्थमा नेपाली कांग्रेसको नेता हुँ भन्नेहरूको लागि आफै भित्र पनि ग्लानीबोध हुन्छ होला नि ?
हुन्छ। बिपी कोइरालाकी श्रीमती कम सक्षम थिइन् ? गणेशमानको श्रीमती कम सक्षम थिइन् ? खोइ त उनीहरू सार्वजनिक समारोहमा लिएर जाँदा पनि सँगै बस्दैनथे । तर एकले अर्कालाई सधैँ सहयोग र सुझाव दिए।

नेपाली कांग्रेसमा विचार नै हस्तान्तरण भएन छ हो ?
नेपाली कांग्रेसलाई अबको युगमा पनि अबको समय सान्दर्भिक बनाउन सकिएन भने हाम्रो गौरवमय इतिहासमा नै कालो पोतिने हो कि भन्ने आशंका छ। यो कुराको सबैभन्दा बढी बुढो पुस्तालाई चिन्ता छ।

‘बुढो मर्‍यो कुरो सर्‍यो’ भन्छन्। अब आउँदो पुस्ता कुन जन्माउनु भएको छ तपाईँहरूले ?
२००७ सालमा लडेर पुलिसको कुटाइ खाएर हातखुट्टा बाँधेर बसेका बुढाहरू धेरै हुनुहुन्छ। यो देशको र नेपाली कांग्रेसको स्थितिलाई देखेर रोएर बस्नु भएको छ। कतिपय बुबाहरूले त प्रतिकात्मक रूपमा नेपाली कांग्रेसलाई थुक्नु हुन्छ।

प्रतिकात्मक रूपमा भएका व्यवहारलाई हेर्दा कांग्रेस गधालाई धोएर गाई बनाउन सकिँदैन भन्ने बुझाइमा गइसक्यो होइन अब ?
हो। जतिसुकै लुकाए पनि यो संसार पारदर्शी छ। म लुकीलुकी यो गर्छु भनेर लाग्ने समय छैन। त्यसैले सम्पूर्ण लोभ लालच छोडेर देश भक्त भएर एउटा आफ्नो घोषित लक्ष्य अनुसार मुलुक निर्माणका निम्ति सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीका लागि लाग्नुपर्छ। सबैको शक्ति एकत्रित गरेर सहयोग गर हामी देश बनाउँछौँ भन्यो भने सबैले साथ दिन्छन्। देश पनि बन्छ।

मिलीजुली प्रणाली ल्याएर देश परिवर्तनमा चुकेको तपाईंहरू नै हो, आजका दिनमा धारे हात लगाएर के गर्ने ?
आफै माथि जान्छ त्यो धारे हात। अहिलेको स्थिति त्यही हो। प्रणालीलाई दोष दिनु हुँदैन। कार्य शैलीलाई दोष दिने हो। जुन प्रणाली हामीले स्थापित गर्‍यौं हामीले प्रारम्भ गरेकै व्यवस्था संसारका अरु मुलुकमा पनि छ। तर त्यहाँको काम गर्ने शैलीले परिणाम दिएको छ । त्यहाँ कानुन, त्यसको मान्यता, राष्ट्रिय एकता र सद्भाव परिणाममुखी भएका छन्।

४६ सालको राजनीतिक परिवर्तनपछि ५१ सालसम्म आएको प्रणाली र देखिएको कार्य प्रणाली ठिकै लाग्थ्यो। तर त्यसपछि प्रणालीलाई दोष दिएर अर्को प्रणाली ल्यायौँ। पात्र यिनै हुन्। कुन प्रणाली सही थियो त ?
प्रणाली दोष दिने होइन। प्रणालीलाई सञ्चालन गर्ने हामी कार्यकर्तालाई, बिपी कोइराला पनि आफूलाई कार्यकर्ता भन्नुहुन्थ्यो। तर अहिले भएका महान् नेता र नेत्रीहरू तिनका सोच क्रियाकलापका कारण अहिले राष्ट्रिय एकता भङ्ग हुँदै गएको छ। हामी कमजोर हुँदै छौँ, उन्नतिको नाममा अवन्नती तिर जाँदै छौँ। एकताको नाममा अनेकतातर्फ जाँदै छौँ। अहिलेको संसारमा साम्राज्यवादी युग समाप्त भयो नत्र हाम्रो सार्वभौमिकता र स्वतन्त्रता खतरामा रहन्थ्यो। अहिले त त्यस्तो डर छैन। हाम्रो आफ्नो कारणले नै मुलुक बन्न नसकेको हो। एक आपसमा नमिलेको कारणले यो अवस्था आएको छ।

सत्ता र शक्तिको लागि त कांग्रेस जो सँग पनि मिलेको छ त ?
जो सँग पनि मिल्नु र सत्ता शक्तिका लागि मिल्नु नराम्रो होइन। तर त्यो मिलेर सदुपयोग गर्ने कुरामा खरो उत्रिनुपर्छ। कसैसँग मिलेको सार्थक र फलिफाप हुनुपर्छ। व्यवहारमा त्यो देखिएको छैन।

सुन काण्ड, ललिता निवास, भुटानी शरणार्थीमा पनि फलिफाप नै छ। भोलि प्रधानमन्त्री बन्न पनि फलिफाप नै हुन्छ ?
यस्तै प्रश्नहरू आइरहँदा आङ कन्याउन थाल्नुपर्छ। त्यही यथार्थ बुझेर अब नेपाली कांग्रेसका हर कार्यकर्ताले सच्चिनुपर्छ। तर सच्चिने नेता कोही छैनन्। किशुनजी पछि कांग्रेसमा नेताको खडेरी पर्‍यो। अहिले नेपाली कांग्रेसमा नेता नै छैनन्। अर्कोतिर पनि पुष्पलाल मनमोहन पछि कुनै पनि नेता छैनन्।

अब वैचारिक रूपमा नेपाली कांग्रेसले कोर्स करेक्सन गर्ने त ?
सबै भन्दा पहिले व्यक्तिगत रूपमा नेपाली कांग्रेसका कार्यकर्ता चाहे ती तल्लो तहका साधारण सदस्य हुन्। क्रियाशील सदस्य वा तल्लो तहदेखि माथिल्लो तहसम्म तिनीहरूको मानसिकता र क्रियाकलापमा परिवर्तन नभएसम्म कांग्रेसमा सुधार हुँदैन। मुलुक त आमा हुन् र आमा माथि बलात्कार गर्न हुँदैन भन्ने सोच नदेखिए कांग्रेस बन्दैन। मौका पायो कि साधन र स्रोत चोरेर विदेशमा लगेर थन्क्याउने मान्छेले नेपाली कांग्रेसको बुटी लगाए हुन्छ ? अर्बौं पैसा चोरेर विदेश पुर्याउने नेता धेरै भए। गणेशमानको कति सम्पत्ति थियो ? सबै सम्पत्ति मुलुकका नाममा गयो। बिपीको के थिएन सम्पत्ति ? आफूलाई त्यागेर मुलुक बनाउने संकल्प लिएर अगाडि जाने संस्कृतिबाट हामी विचलनमा गइसक्यौं। आफू बनौँ देश देखा जाएगा जनता भनेका भेडा हुन् भन्ने मानसिकताले देश कहिल्यै बन्दैन।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  २ : ०८ बजे

बिहानैदेखि चार प्रदेशमा वर्षा, गण्डकीमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपमा दुई आयोजकको लडाइँ : वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ गर्दै अमेरिका

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर ८ मा अहिले अमेरिकाले

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असार ८ गते शनिबार तदनुसार

विश्वकपको रोचक खेलमा इंग्ल्यान्डमाथि दक्षिण अफ्रिका सात रनले विजयी

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर ८’ को दोस्रो