हिरासतमा ध्यानमग्न बमजनमाथि आरोपै आरोप | Khabarhub Khabarhub

हिरासतमा ध्यानमग्न बमजनमाथि आरोपै आरोप


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


10.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूलाई तपस्वी बताउने रामबहादुर बमजन अहिले सर्लाहीको प्रहरी हिरासतमा छन् । मसला नहालेको ‘भेज’ खाना खाँदै हिरासतभित्रै योग र ध्यान गरिरहेका बमजनमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । बाल यौन हिंसाको आरोपमा काठमाडौंको बूढानीलकण्ठबाट पुस २४ गते ३ करोड रुपैयाँ भन्दा बढी नगदसहित समातिएका उनमाथिको आरोप भने एउटा मात्र छैन ।

सर्लाही जिल्ला अदालतले बमजनलाई ०७६ माघ २३ गते नै पक्राउ पुर्जी जारी गरेको थियो । उनी झण्डै चार वर्षपछि पक्राउ परेका हुन् । उनलाई पक्राउ गर्न ७७ वटै जिल्लाका प्रहरीलाई सजग गराई केही वर्षयता खोजी गरिँदै आएको सीआइबीले बताएको छ ।

पुस २४ गते पक्राउ परेका बमजनलाई प्रहरीले काठमाडौंमा सार्वजनिक गरेर २६ गते जिल्ला अदालत सर्लाहीमा पेश गरेको थियो । सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश दिएको छ । बमजनमाथि सर्लाहीको आश्रममा रहँदा आनीमाथि बाल यौन हिंसा गरेको आरोप छ ।

बमजनलाई पक्राउ गर्दा उनको घरमा छापा मारेको प्रहरीले कुल ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बराबरको नगद बरामद गरेको थियो । त्यस्तै १७ देशका विदेशी मुद्राहरू ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको बरामद गरेको थियो । उनीलाई विदेशी मुद्रा अपचलनमा समेत कारवाही हुने प्रहरीको भनाइ छ ।

के के छन् बमजनमाथिका आरोप ?

बाल यौन हिंसाको आरोपमा समातिए पनि बमजनमाथि अन्य थप आरोपसमेत लाग्दै आएको छ । यी आरोपहरुमा व्यक्तिलाई बेपत्ता पारेको र हत्यासम्म गरेको भन्नेसम्म छन्, जसको अनुसन्धान र पुष्टि हुन भने बाँकी नै छ ।

बमजनका मुख्य सहयोगी बाराका सुरेश आले मगर ८ वर्षदेखि बेपत्ता छन् । घरमा बसेका आलेलाई २०७२ जेठ दोस्रो साता बमजनको संरक्षण समितिको अगुवाइ गर्ने जसबहादुर वाइवाले लगेको परिवारको दाबी छ । त्यसयता उनी परिवारको सम्पर्कमा छैनन् ।

नुवाकोटको साबिक देउराली हाल मेघाङ– ३ की चुन्मो भन्ने चिनीमाया तामाङ ०६९ असोजदेखि बेपत्ता छिन् । उनी बमजनको सिन्धुपाल्चोकको बाडेगाउँस्थित आश्रमबाट हराएको परिवारको दाबी छ ।

त्यस्तै, मकवानपुर हेटौंडा– १६ हटियाकी डोल्मो भन्ने फूलामाया रुम्बा २०७१ माघदेखि बेपत्ता छिन् । उनी पनि बमजनको सिन्धुपाल्चोक आश्रममा पुगेकी थिइन् ।

मकवानपुर हेटौंडा– १३ का सञ्चलाल वाइवा २०७१ चैतदेखि सिन्धुपाल्चोक आश्रमबाट बेपत्ता छन् । सर्लाही बागमती नगरपालिका काजीराम टोलकी रिता बोटे पनि बमजनको आश्रमबाट बेपत्ता रहेको परिवारको गुनासो छ ।

रौतहटकी एक युवतीले आफूलाई बम्जनले बलात्कार गरेको आरोप लगाएकी छिन् । उनले पत्रकार सम्मेलन गरेर त्यस्तो दाबी गरेकी हुन् । बमजनले हलखोरियास्थित तपस्या स्थलमा स्लोभाकियाकी मारिची नामकी महिलालाई बन्धक बनाएको आरोप छ ।  उनलाई प्रहरीले मुक्त गरेको थियो । स्लोभाकियाकी मारिचीसँगै निजगढ– ८ की एक महिलालाई पनि बन्धक बनाएको उनीमाथि आरोप छ । उनलाई पनि प्रहरीले मुक्त गराएको थियो ।

बमजनका नाममा दोहोरो जन्मदर्ता बनेको अर्को आरोप छ । रामलाल बमजनका नाममा जन्मदर्ता बनाएका उनले पछि धर्म संघ बमजनका नाममा दोस्रोपटक जन्मदर्ता गराएर सोही अनुसारको नागरिकता र रातो पासपोर्ट माग गरेका थिए ।

उनले २०६३ सालमा हलखोरिया जंगलमा रतनपुरीका एक युवामाथि तरबार प्रहार गरेको प्रहरीको दाबी छ ।

को हुन् बमजन ?

रामबहादुर बम्जनको घर बारा साविकको रतनपुरी गाविस ५ हाल निजगढ नगरपालिका ११ बुम्जोर हो । उनी पाँच दाजुभाइमध्ये साइँला हुन् । कक्षा ५ सम्म अध्ययन गरेका गरेका उनी बाराको जंगलमा तपस्या गरिरहेको अवस्थामा भेटिएपछि रामबहादुर बम्जनका नामले चिनिन थालेका हुन् ।

लामा शिक्षा पढ्न भारत गएका बम्जन एक वर्षमै नेपाल फर्किएका थिए । त्यसपछि उनी रतनपुरीको जंगलमा तपस्या गरिरहेको अवस्थामा भेटिएका थिए । २०६२ सालमा पहिलो पटक रतनपुरीको जंगलमा भेटिँदा बम्जन १५ वर्षका थिए । तपस्यामा रुचि भएको र  बुद्धसँगको तुलनाका कारण उनी ध्यानमा बसेको स्थान आसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनको भिड लाग्ने गरेको थियो ।

अनुयायीहरूले विस्तारै उक्त क्षेत्रलाई धार्मिक ध्वजापताकाले सुसज्जित गरेपछि उक्त स्थान विस्तारै धार्मिक स्थलमा परिणत हुँदै गयो । उनी नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल भए । त्यसपछि उनले तपस्वीको भेष धारण गरे ।

बारा, सर्लाही, सिन्धुपाल्चोक, सिन्धुली लगायत ठाउँहरूमा आश्रम खोलेका बमजनले नेपालभित्र र बाहिर आफ्ना अनुयायीहरूको संख्यासमेत बढाउँदै लगे ।

तपस्वीकै भेषमा बमजन वैवाहिक बन्धनमा पनि बाँधिएका थिए । उनी आफ्नै आश्रममा आएकी एक युवतीसँग वैवाहिक बन्धनमा बाँधिएका हुन् । हाल ३४ वर्षका बम्जनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १० : ३१ बजे

जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जंगली च्याउ नखान आग्रह गरेको

आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै

भैरहवा– नेपाल आयल निगमले रूपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह

गृहमन्त्रीलाई फाइल खोल्न कसले रोकेको छ ? : विश्वप्रकाश

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ बन्ने सत्ता गठबनधनले

अवरुद्ध बेँसीसहर-चामे सडक खुल्यो

लमजुङ– अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मंगलबार साँझदेखि अवरुद्ध

सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, पर्यटक अलपत्र

ढोरपाटन– सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि