मित्रता र प्रेमको सम्मिश्रण ‘ती सात दिन’ | Khabarhub Khabarhub

मित्रता र प्रेमको सम्मिश्रण ‘ती सात दिन’



सानु शर्मा नेपाली साहित्य जगतकी सशक्त साहित्यकार हुन् । उनको हालसम्म आठ वटा पुस्तक प्रकाशन छन् । जसमध्ये ‘अर्धविराम’, ‘जितको परिभाषा’, ‘अर्थ’, ‘विप्लवी’, ‘उत्सर्ग’ र ‘फरक’ रहेका छन् भने एउटा कथासंग्रह ‘एकादेशमा’ पनि रहेको छ । जुन कथासंग्रह मदन पुरस्कार २०७६ को सर्वोत्कृष्ट सूचिमा परेको थियो ।

शर्माले कविता, गजल, कथा लगायतका विधामा पनि कलम चलाउँदै आइरहेकी छिन् । लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आइरहेकी सानु शर्माको उपन्यासमा विदेशी तथा स्वदेशी परिवेशको चित्रण गरिएको पाइन्छ ।

उनका उपन्यासभित्रका घटनाक्रमहरू पृथक् देखिन्छन् । सरलभाषामा सललल बग्ने, मिठा, मनछुने लाइनहरूले सिंगारिएको उनको लेखाइले पाठकलाई तानिरहन सक्छ ।

‘ती सात दिन’ उनको पछिल्लो उपन्यास हो । यस उपन्यासमा उनले परिस्थितिवस सात दिनमा एउटा उच्च घरानाको सदस्य र मध्यवर्गीय परिवारको सदस्य बिच कसरी घनिष्ट सम्बन्ध स्थापित हुन्छ भनेर देखाएकी छिन् । उनीहरुबीचको घटना, दुर्घटना, संवाद, साथ र मित्रताको मिहिन व्याख्या गरिएको यस उपन्यासको कथाले पाठकहरूको मन छुन सक्षम छ ।

बलात्कार जस्तो गह्रुंगो विषयलाई सरल भाषा र शब्दमा वर्णन गरिएको यस उपन्यासको भाषा आजकलको युवापुस्ताले प्रयोग गर्ने खालको छ । प्रचुर मात्रामा प्रयोग गरिएको अंग्रेजीका शब्दका कारण भाषिक विचलन जस्तो लागेपनि पढ्दै जाँदा कथाको माग अनुसार तिनलाई प्रयोग गरिएको जस्तो अनुभूति हुन्छ ।

शर्माले यस उपन्यासमा उठाएको बलात्कारको सन्दर्भमा पीडितहरूलाई शारीरिक र कानुनी मद्दत मात्र नभएर आर्थिक, मानसिक, सामाजिक र भावनात्मक सहयोग पनि उत्तिकै आवश्यक हुन्छ भनेर प्रस्ट्याउन खोजेकी छिन् ।

मनमा लागेको चोटको उपचार मनले नै गर्छ । उपन्यासले भन्न खोजेको मूख्य कुरा त्यही नै हो । बलात्कार पीडितलाई सहानुभूति, साथ, सहयोग र स्वीकारको जति आवश्यकता छ त्यति सायद अरु कुनै कुराको छैन भनेर बोल्ने यस उपन्यासले स्वर चर्को नपारीकनै एउटा दरो मुद्दा उठाएको छ ।

आज पनि हाम्रो समाजमा बलात्कारलाई यस्तो दाग मानिन्छ, जुन लागेपछि इज्जत जाने डरले शिक्षित समाजमा पनि यस बारेमा बोलिँदैन । चर्चा गरिँदैन । जसको चर्चा सानु यसरी गर्छिन्–

‘यो शरीरको भन्दा पनि मानसिक र सामाजिक सवाल हो । यसमा चोट एक जनालाई लागे पनि सिङ्गो परिवारले दुख्नुपर्छ । एक जना नाङ्गिएको हुन्छ तर सिङ्गो परिवारको इज्जत उदाङ्गिन्छ । त्यसैले त सास रोकेर चुप बस्दाबस्दै बरु मेन्टल हुन्छन् तर मुख खोल्दैनन् रेप–भिक्टिमहरु ।’

‘रेप– भिक्टिमहरुलाई जस्टिसभन्दा पनि धेरै अवेरनेस, सोसल र मोरल सपोर्ट। साथ, सहानुभूति र स्वीकार चाहिन्छ– यो मैले निक्की र आदिका कारणले बुझेकी हुँ । आफ्नै आँखा अगाडि त्यसरी छिन्नभिन्न भएर रगताम्य भएकी मलाई उनीहरूले अंगालोमा समेट्नुको साटो तिरस्कार र उपेक्षाले हेरेका भए, मलाई छुन घिण मानेका भए सायद कुनै जस्टिस वा अरु कुनै उपचारले ठिक हुने थिइन होला म । त्यतिबेला उनीहरूले मलाई छातीमा टाँसेर, मेरो दुखाइमा मसँगै दुखेर, मसँगै रोएर त्यो घट्नाको प्रभावलाई कम नगराइदिएको भए सायद म आजको म हुने नै थिइनँ ।’

दुरी बढ्दैमा मित्रता घट्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् यस उपन्यासका पात्रहरू जानकी, निक्की र आदित्य । यस उपन्यासका मूख्य पात्र हुन् जानकी, निक्की र आदित्य ।

बलात्कार, मित्रता र प्रेमको बारेमा बोल्ने, विदेशको माटोमा आफ्ना सन्तानलाई आफ्नो देशको मान्यता र संस्कार सिकाउन संर्घष गरिरहेकी एउटी आमाको कथा भन्ने यो उपन्यासले पक्कै पनि पाठकलाई मनोरञ्जन दिनेछ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १ : ११ बजे

पत्रकार पाठक अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलास बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।