महिलालाई 'उप'मा थन्क्याएर कम जिम्मेवार बनाइयो | Khabarhub Khabarhub

महिलालाई ‘उप’मा थन्क्याएर कम जिम्मेवार बनाइयो



समकालीन देशको राजनीतिमा ‘उप’ फुर्को जोडिएका पद विवाद, विग्रह र बैमनुष्यका कारण बन्दै आएका छन् । उप राष्ट्रपति, उपप्रधानमन्त्री, उपसभामुख, नगरपालिका उपप्रमुखदेखि गाउँपालिकाको उपाध्यक्ष पदको अधिकारलाई लिएर एउटै दलका प्रतिनिधि पनि सन्तुष्ट छैनन् । 

एकातिर अधिकार कम पाएको गुनासो छ भने अर्कातिर यो पद नारी शक्ति डम्पिङ गरिएको गुनासो संस्कृतिका रुपमा विकास हुँदै आएको छ । धेरै प्रमुख र उपप्रमुखबीचको विवाद सतहमा आएर पानी बारबारको अवस्था पनि छ । ०४६ सालको राजनीतिक परिवर्तनपछि उपसभामुखमा आसिन कांग्रेस नेतृ चित्रलेखा यादवदेखि बहालवाला उपसभामुख इन्दिरा रानामगरसम्म आइपुग्दा विभेदको अनुभूतिका प्रलाप सुन्न पाइन्छ ।  

उपसभामुख राना महिलालाई ‘उप’ दिएर कम जिम्मेवार बनाइने गरेको टिप्पणी गर्छिन् । यसअघि पनि आफूले आवास सुविधा नपाएको विषयलाई उनले प्रतिष्ठासँग जोडेर सार्वजनिक रूपमै असन्तुष्टि जनाएकी थिइन । उनी भन्छिन्, ‘महिला पनि प्रमुख बन्ने हैसियतमा योग्यता, क्षमता निखार्नु पर्छ । त्यसका लागि पार्टीहरूले पनि पहल गर्नुपर्छ । नयाँ आएका पार्टीले यसलाई प्राथमिकता दिएका छन् ।’ खबरहबसंगको कुराकानीमा उपसभामुख रानाले सभामुखका अघिल्तिर आफू निरीह बन्नुपरेको गुनासो गरिन ।  

प्रतिनिधिसभाको उपसभामुखको हैसियतबाट हेर्दा महिला सहभागिताको विषय कसरी लिनुहुन्छ ?
संसद्‌मा मात्र नभएर अन्य कार्यक्रममा पनि कोही महिला सांसदहरुले संवेदनशील विषयमा आवाज उठाइरहनु भएको हुन्छ । तर त्यो विषयले मिडियामा कति पनि ठाउँ पाउँदैन । कभर नहुनुको कारण महिलाले पाएको स्थानमा पनि भर पर्छ । यसको मतलब हामीले त्यहाँ पुग्ने इच्छाशक्ति पनि पाल्नुपर्छ । बाहिर कति र कस्ता विषय उठाउने त्यसको निर्क्योल पनि गर्नुपर्छ । पुरुष पदमा छन् । पदमा हुनेसंग स्वभावत अधिकार पनि हुन्छ । तर यसमा महिला एकजना पनि पर्दैनन् । महिलालाई अधिकार दिलाउने विषयमा पनि लडिरहेकी छु । प्रतिनिधिसभामा मेरो भूमिका यसैमा परिलक्षित छ । 

महिला सांसदहरू संसद्‌मा कम बोल्नुको कारण अवसर नपाएर हो या क्षमता नपुगेर हो?
उहाँहरू निर्णायक तहमा हुनुहुन्न । प्रमुख सचेतक र सचेतक पनि पुरुषको हालीमुहाली छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सुधारको प्रयास थालेको छ । त्यो पार्टीमा महिलाको उपस्थिति पनि व्यापक छ । यस्तै नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पनि महिला नै भएकाले त्यहाँ पनि सुधारका संकेत देखिएला । माओवादीले पनि सञ्चार मन्त्रालय महिलालाई जिम्मा लगाएको छ ।  एमालेले पनि सचेतकमा सुनिता बराललाई पठाएको छ । अघिल्ला कार्यकाल भन्दा व्यापक सुधार आएको छ । यसैमा ढुक्क हुने हैन कि अझ व्यापक बनाएर लैजानुपर्छ । मिडिया कभरेजमा सुधार आएको छ । 

उपसभामुख भएको नाताले मैले सक्रियतापूर्वक सहजीकरण गरिरहेकी छु । मैले महिला सांसदहरूको  एक वर्षे समीक्षात्मक कार्यक्रम राखेकी थिएँ । यसअघि अभ्यास नभएको कार्यक्रमले सहभागीहरूका उत्साही हुनुभयो । 

बजेट अभाव हुन्छ तर बजेटलाई प्रतिष्ठा बनाएर अल्झेर बस्दिनँ । केही कार्यक्रम हुँदा महिला सांसदलाई म आफैं फोन गरेर सक्रिय बनाउँछु । मलाई त्यही कामको लागि राज्यले खटाएको हुनाले निष्ठापूर्वक काममा लाग्छु । 

कार्यक्रमको कुरा गर्दा यहाँलाई संवैधानिक निकायहरूको बैठक र अन्य कार्यक्रम हुँदा खबर आउँछ या आउँदैन ?
यो केही हदसम्म समस्या नै छ । तर मैले समस्याको रूपमा लिएको छैन । सबै मिलाएर अगाडि बढिरहेकी छु । बाधाहरू छन् । कतिपय सभासम्बन्धी महत्त्वपूर्ण मिटिङमा पनि खबर नआएको, ढिलो आएका उदाहरण पनि छन् । तर म आफुलाई काँडा काँडा छिचोलेर निस्किएको फूल ठान्ने भएकाले यस्ता झिनामसिना विषयले छुँदैनन् 

अन्य महिला सांसदहरूले यहाँसँग कस्तो गुनासो गर्नुहुन्छ ?
हो, महिला सांसदहरूले पनि मलाई धेरै गुनासो गर्नुहुन्छ । उहाँहरूले मलाई मिडियाले कुरा नसुनेकोमा उहाँहरूको चित्त दुखाई छ ।  भाइरलभन्दा पनि विषयको गाम्भीर्यलाई मिडियाले स्थान दिनुपर्यो भन्ने माग उनीहरूको पाउँछु । म त संसद्‍मा सबैलाई एक दुई मिनेट बोल्न दिउँ भन्ने मान्यता राख्छु । कतिपयले समयको ख्याल गर्नुहुन्न । समयको व्यवस्थापन पनि एकदमै चुनौतीपूर्ण छ । मुख्य विषय भनेको एक अर्काको अस्तित्व कसरी स्वीकार्ने भन्ने नै हो । उनको  काम हुँदैन भनछन । तर मेरो हकमा उल्टो भएको छ । म त कहिले खान पनि भ्याउँदिन । 

उपसभामुख हुनुअघि र भएपछिको अनुभव सुनाइदिनु न ?

म त प्राइमरी भोटबाट आएको हुँ । मलाई कसैले चिनेको थिएन । मेरो पृष्ठभूमि राखिएको थियो, त्यसैको आधारमा भोट पाएको हुँ । र म जनजातिबाट पहिलो नम्बरमा आएको हुँ ।   जनजातिबाट पहिलो नम्बरमा आयो भने संसदमा गएर एउटा ग्रास रुट लेबलको कुरा बोल्नु सक्नु हुन्छ भनेर मलाई सदनमा बोलाएको हो ।  मैले अहिले पनि त्यो हाइट कायम राखेकी छु । 

यहाँले सोधे हुन्छ मैले धेरै पटक राजीनामा दिन खोजेको हो ।  किनकि म एउटा समाजसेवी भएको नाताले विभिन्न देशमा मन्तव्य दिन विश्वविद्यालयमा गइराख्ने मान्छे हो । वर्षेनी दुई, तीनवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार पनि पाउँदै आएकी हुँ । कतिपयले मेरो यो पृष्ठभूमि नबुझी सामाजिक सन्जालमा सस्तो भाइरल बनाइदिएका छन् । 

यहाँले पदको कुरा गर्नुभयो, सांसद आफैँमा मर्यादा एवं जिम्मेवारी प्राप्त अभिभावकीय पद हैन र ?
महिला बोल्नु भएको हुन्छ तर उहाँहरू आफ्नो दलीय अवधारणामा समेटिनु भएको हुन्छ । बोलेको कुरा पनि दलीय स्वार्थमा केन्द्रित हुन्छ । अनुसन्धानमा आधारित विषयमा बोल्न दिइँदैन । सरदर विषयमा सञ्चारकर्मीको ध्यान नजानु स्वाभाविकै हो । महिला सांसदले पनि अध्ययन बढाएर आफ्नो वाककलामा विकास गर्नुपर्छ । सान्दर्भिक विषय आवाज उठाउने अभ्यास गर्नुपर्छ । अब रबरस्ट्याम्प भएर बस्नेको काम छै । आजको दिन प्रतिस्पर्धा गर्नुपर्यो । भोलिका लागि आफूलाई साँच्ने होइन । सांसद पद मन्त्री बन्ने बाटो हो । यदि पार्टीले बोल्नमा नियन्त्रण गर्न खोज्यो भने संसदीय दलमा आवाज उठाउन सक्नुपर्यो ।

पार्टीमा टिकट पाउने ठाउँमा पनि त महिलाले फाइट गर्न नसकेको प्रस्ट छ नि हैन ?
ठूला पार्टीहरुमा भागवण्डाको समस्या छ । एक किसिमले हेर्दा यो सहभागिता त हो तर देश हितमा पक्कै हुँदैन । प्रतिनिधित्वलाई यहाँ सत्ता र स्वार्थको लागि बुझियो । सहभागिताका नाममा आग्रह, पूर्वाग्रहले काम गर्नु हुँदैन । बल्ल बल्ल पार्टीबाट फाइट गरेर पदमा पुग्यो तर कतिबेला चट् हुन्छ पत्तै हुन्न । विश्वास बोकेर आउनेको खैरियत देखिदैन । अर्को कुरा निर्वाचन प्रणाली यति खर्चिलो भयो कि औसत महिलाले त्यो भार धान्नै सक्दैनन् ।  

राजनीतिसंगै पारिवारिक बोझ पनि उत्तिकै छ ।  अझ क्षमता भएका महिलालाई परिवारले सहयोग नगरेको देखिन्छ । महिला उठेको ठाउँमा अर्को पुरुष पनि उठाइन्छ । अनि महिलाले महिलालाई सहयोग नगर्ने प्रथा पनि अर्को समस्या हो । 

संविधानमा कार्यकारी पदमध्ये १ महिला भनिएको छ तर किन महिलालाई उप पद मात्र दिइन्छ ? यसका लागि फाइट किन हुँदैन ?
हो संविधानले त उप मात्र दिनु त भनेको छैन । ब्यालेन्स त हुनु पर्‍यो त्यो ब्यालेन्स मिलाउन उप दिन्छन् । त्यसमा पनि महिलाले होमवर्क गरेन भने लडेन भने कार्यान्वयन हुँदैन । त्यसैले महिला सशक्तीकरण र एकता आवश्यक छ ।

उप पाए पनि आफ्नो काम गर्नुपर्यो । महिलाहरूलाई कसरी अभिमुखीकरण गर्ने आफ्नो काम बेस्ट दिने कोसिस गर्नुपर्यो । म संघीय संसद्को उपसभामुख एउटा महिला भएको नाताले त्यो गरिन भने धेरै प्रश्न आउँछ । सभामुखले भने अनुसार काम गर्नुपर्ने तर त्यसलाई कतिपय ठाउँमा क्रस गरेकी छु । सभामै हेर्नुहुन्छ भने मैले सभामुखको छायाँ भएर काम गरेकी छु । म एउटा महिला भएको नाताले बोल्नु पर्छ भनेर पनि आफूले प्रयास गरेकी छु र त यो सकारात्मक परिणाम आयो नि  । हरेक देशमा १०–१० वर्षमा संविधान बन्छ । कानुन पनि बन्नु पर्‍यो । 

अब अन्य कुरामा संसद् पनि नियमावली बनेको छ । त्यसलाई कार्यान्वयन गर्न म एक्लैले त सक्दिनँ सम्पूर्ण माननीयहरूको सहयोग चाहियो । उहाँहरूले पार्टीले नबोल भनेको छ भनेर के चुप लागेर बस्ने ? त्यसरी त हुँदैन नि । र यहाँ यसो गरेर उसो गरेन भनेर भन्नु पनि हुँदैन । अरूलाई आरोप लगाउनु भन्दा हामी आफै सङ्गठित भएर महिलाका मुद्दाहरूलाई कसरी बुलन्द रूपमा अगाडि बढाउने भन्नेमा एक हुनुपर्छ । 

त्यसो  भए सभामुख र उपसभामुखको सम्बन्ध कस्तो हुनुपर्छ ?
उपसभामुख पद सभामुखको छायाँ हो । र कानुले तोकेको भूमिका मैले निर्वाह गर्नुपर्छ । मलाई उहाँले औपचारिक मिटिङहरूमा राख्नु भयो भने अवश्य सहयोग गर्छु । मेरो पदीय धर्म भनेको सभामुखलाई सहयोग गर्नु नै हो । हाम्रो संसद्लाई बलियो र जीवित बनाएर मर्यादित बनाएर लैजानु मेरो पनि कर्तव्य हो । 

अन्तिममा कहिलेकाहीँ उप भएर हेपिएको फिल हुन्छ ?
उप भनेर डोमिनेट गरेको जस्तो फिल हुन्छ, भइराखेको छ । समयमा मिटिङहरूको खबर पनि मैले पाउँदिन । कसै कसैले फिल गराएका छन् । तर मान्छे चिन्ने अरूलाई नचिनाउने योजनामा छु । हामीले खटपट गरेर अगाडि बढाउने हैन । मैले सबैको अधिकारको लागि आवाज उठाउनु पर्छ । 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  २ : ५१ बजे

महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग

काठमाडौं– काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई