जीवनको उत्तरार्द्धमा गान्धीवादी बनेका आइन्स्टाइनको स्वीकारोक्ति-आत्मिक शक्ति अणुभन्दा धेरै बलशाली | Khabarhub Khabarhub

जीवनको उत्तरार्द्धमा गान्धीवादी बनेका आइन्स्टाइनको स्वीकारोक्ति-आत्मिक शक्ति अणुभन्दा धेरै बलशाली

दुई शताब्दी पुरुषको भेट्ने इच्छा अधुरै


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

महात्मा गान्धी र अल्बर्ट आइन्स्टाइन दुवै १९ शताब्दीका महान पुरुष हुन । गान्धीले अहिंसाको अस्त्र अपनाए भने आइन्स्टाइनले एट्म बम आविष्कार गरे । तर आआफ्नो एजेण्डामार्फत दुवै प्रतिभा इतिहासलाई नयाँ रूप दिन सफल भए । यही कीर्तिमानले आआफ्नो क्षेत्रमा अजर, अमर भए । 

आइन्स्टाइनले आविष्कार गरेको सूत्रबाट एटम बमको सूत्रपात भयो । यो समीकरण अनुसार ‘एम’ यस्तो सुक्ष्म अणुको मात्रा भित्र लुकेको  ऊर्जाले सारा विश्व खरानी भयो । तर आइन्स्टाइनको उद्देश्य संसार उजाड बनाउने भन्ने किञ्चित थिएन । आफ्नो यो आविष्कार संसार सिध्याउने बाटोमा अघि बढेपछि प्रकारान्तरमा आइन्स्टाइनलाई आफ्नो कर्मप्रति घृणा भयो । 

उनले आफ्नो कामप्रति पछुतो मान्दै भने– ‘मेरो आविष्कारको प्रयोग विनाशकारी होला भन्ने थाहा पाएको भए म यो खोजमा समय नै लगाउने थिइनँ ।’ आइन्स्टाइन यही विनाश लीलाबाट दुखित र पीडित भएर गान्धीको अहिंसा अस्त्रतिर आकर्षित भए । आइन्स्टाइन गान्धीलाई गुरु मान्दै उनीतिर झुके । 

आइन्स्टाइन र गान्धी दुवै नै पत्राचारद्वारा परिचित भए । आइन्स्टाइन गान्धीभन्दा १० वर्ष कान्छा थिए । तर उनी गान्धीलाई दैविक शक्तिका रुपमा मान्थे । उनको आराधनासंगै आदर गर्थे । उनी गान्धीको यति विघ्न भक्त थिए कि गान्धीको तस्वीर आफ्नो अध्ययन कक्षमा टाँगेर आराधनामा लीन हुन्थे । कुनै काम आरम्भ गर्नुअघि उनको तस्वीरमा माल्यार्पण चढाउँथे । 

गान्धीप्रति यस्तो भक्तिभाव दर्शाउनको कारण के हो ?भनी कसैले  सोध्दा गम्भीर मुद्रामा जवाफ दिन्थे– ‘मलाई उनीबाट काम गर्ने प्रेरणा मिल्छ । गान्धीबाट प्राप्त ऊर्जा म आफ्नो कर्ममा लगाउँछु । उनको पूजा गर्दा मेरो अन्तस्करणमा शान्ति टुसाउँछ ।’

दुवै महापुरुष एउटै आस्थाका पुजारी थिए । आइन्स्टाइनले ब्रम्हाण्डको सुक्ष्म अध्ययन गरेका थिए भने गान्धीले संसारलाई आत्मिक शक्ति प्रदान गरेका थिए । तर, दुवैजना एउटै विचारधाराका थिए । अणुशक्तिभन्दा आत्मिक शक्ति प्रबल हुन्छ र संसारको खराबीलाई समाप्त पार्नुछ भने अणुशक्ति नभई आत्मीय शक्तिको सहारा लिनुपर्छ भन्नेमा दुवै एकमत थिए । 

सन् १९५० मा आइन्स्टाइनले गान्धीको बारेमा भने– ‘भारतलाई स्वतन्त्रता दिलाएर गान्धीजीले आत्माको हुँकारमा जति शक्ति छ, त्यो आणविक शक्तिभन्दा कयौं गुना धेरै हुन्छ भन्ने प्रमाणित गरिदिए । 

सन् १९५२ मा आइन्स्टाइनले रेडियोमा बोल्दै भनेका थिए– ‘सन् १९४५ मा जुन बम विस्फोट भयो, त्यो गलत थियो । यदि कुनै देशलाई जित्नु छ भने त्यसलाई बम र गोलीले होइन, नरम बोलीले जित्नुपर्छ । गान्धीको बोलीले जित्नुपर्छ । गान्धीवादले अबलम्बन गरेको अहिंसाको जित हुनुपर्छ । म त अझ के सम्म भन्न सक्छु भने युरोपका समस्या पनि गान्धीको सिद्धान्तबाट सजिलै समाधान गर्न सकिन्छ ।’

हिरोशिमा र नागासाकीमा बम विस्फोटबाट भएको विनास लीला देखेर आइन्स्टाइन आहत भए । त्यो दृश्यले उनको मुटु कमायो । आफूलाई अपराधीको कोटी सोच्नसम्म पुगे । त्यसपछि उनी तत्काल शान्तिको महायात्रामा लागे । यात्रामा लाग्दा आइन्स्टाइनलाई गान्धीको विचारले तान्यो । जब उनी गान्धीका शिष्य बनेका छन भन्ने जनताले चाल पाए, कसैलेसोधे– ‘तपाईंको एटम बमपछि अब त झन् विनाशकारी हाइड्रोजन बम बन्दैछ । 

यो स्थितिमा सत्याग्रह अथवा भोक हड्ताल गरेर सरकार र वैज्ञानिकहरुलाई हाइड्रोजन बम हानिकारक छ ।’ भन्ने चेतावनी दिँदै यस्तो घातक बम नबनाउन किन आग्रह गर्नुहुन्न ? यो सुनेर उनले भने, ‘तपाईंको सल्लाह श्रेयस्कर छ, तर सत्याग्रह वा भोक हड्तालले भारतीय जनता वा सरकारमा मात्र आत्मिक बल पुर्‍याउन सक्छ । अमेरिकी जनता वा सरकारलाई सत्याग्रहले छुँदैन ।’

आइन्स्टाइनले गान्धीको व्यक्तित्वबाट प्रभावित भएर उनलाई पत्र लेखे– ‘आत्मिक ऊर्जा पनि एक शक्ति हो भन्ने बारे मैले सुनेको र परिकल्पनामा मात्र गरेको थिएँ तर तपाईंले त्यो उर्जाको उत्पादन र प्रयोग नै गरेर देखाई दिनुभयो । अहिंसाको जित हुन्छ, हिंसाको हार हुन्छ भन्ने सत्य उद्घाटित गर्नुभयो । म अरु कुरा जान्दिन, यति जान्दछु– यदि संसार तपाईंले बताएको बाटोमा हिँड्यो भने संसारमा शान्ति कायम रहनेछ । कसैमा रिस, राग र डाह हुने छैन । एक अर्कामा खैरो खन्ने बानी पनि समाप्त भएर जानेछ । तपाईं भारतीय जनताका नेता हुनुहुन्छ, एक यस्ता नेता जसमा कुनै घमण्ड, लोभ, मोह, रिस, राग, छलकपट केही छैन । तपाईंसंग यदि केही छ भने त्यो हो– प्रेरणात्मक शक्ति । अर्को केही छ भने आत्मिक र दैवी शक्ति । यसो भनेर मैले तपाईंलाई फुक्र्याएको पटक्कै होइन । तपाईंको स्तुति गाएको पनि होइन । मैले तपाईँभित्रका सत्य पक्षको उद्घाटित गरेको हो । तपाईँजस्तो महान आत्माको दर्शन गर्ने हार्दिक इच्छा छ । आशा एवं विश्वास छ, मेरो इच्छा पूरा हुनेछ ।’

यो पत्र पाएपछि गान्धीले पनि तत्काल पत्रमार्फत नै खुसी प्रकट गरे । गान्धीको पत्रमा भनिएको थियो– ‘तपाईंको पत्रले मलाई हर्ष विभोर बनायो । यसले मलाई सान्त्वना र  आनन्द एकसाथ दिएको अनुभव सुनाउन पाउँदा मेरो खुसीको सीमा नै छैन । तपाईंले मेरो सेवाको सही मूल्याङ्कन गर्नुभएको छ ।  मलाई पनि तपाईँजस्ता महान वैज्ञानिकसँग साक्षात्कार गर्ने उत्कट अभिलाषा छ । कृपा गरेर भारत पाल्नुहोला ।  पाउ कष्ट गरेर मेरो कुटीलाई पवित्र पारिदिनु होला । अरु भेट भएमा….।’

दुवै दिलैदेखि एक अर्कासँग भेट गर्न चाहन्थे । तर  साक्षात्कारको मौका जुरेन । मिलनको कुण्ठा लिएरै आइन्स्टाइन र गान्धी यस लोकबाट बिदा भए । 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ११ : ११ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द