गर्मीसँगै डेंगुको संक्रमण बढ्दै, बच्न के गर्ने ? | Khabarhub Khabarhub

गर्मीसँगै डेंगुको संक्रमण बढ्दै, बच्न के गर्ने ?


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

गर्मी सँगसँगै पानी पर्न थालेपछि लामखुट्टेको सङ्ख्या बढ्दै गएको छ। यसले डेंगुको संक्रमण सुरु भएको छ। डेंगु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ। गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा.गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेंगुको सङ्क्रमण बढेको बताए। उनका अनुसार ७१ जिल्लामा एक हजार एक सय ३० जनामा संक्रमण पुष्टि भइसकेको छ। गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनालाई डेंगु संक्रमण भएको थियो।

उनका अनुसार कोशी प्रदेशमा दुई सय ७२, मधेस प्रदेशमा ३०, बागमती प्रदेशमा तीन सय ९०, गण्डकी प्रदेशमा एक सय ७५, लुम्बिनी प्रदेशमा एक सय ३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा एक सय १५ जनामा सङ्क्रमण देखिएको छ। डेंगु कस्तो रोग हो ? डेंगु भएको कसरी थाहा पाउने ? लक्षण कस्ता देखिन्छन् ? यसबाट बच्नका लागि के गर्ने ? भन्ने विषयमा संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालासँग गरिएको कुराकानी :

गर्मी मौसममा विभिन्न संक्रामक रोगसँगै डेंगुको संक्रमण पनि बढ्छ, डेंगु कस्तो रोग हो ?
यो एक किसिमको भाइसरका कारण फैलिने रोग हो। यसलाई लामखुट्टेले फैलाउँछ ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण फैलिने गर्छ। गर्मी सँगसँगै पानी पर्न थालेपछि लामखुट्टेको सङ्ख्या बढ्दै जान्छ डेंगुको संक्रमण पनि बढ्छ।

मुख्य लक्षण भनेको उच्च ज्वरो आउनु हो। टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने समस्या देखिन्छ। पिँडौलाको मासु दुख्नु पनि डेंगुको लक्षण हो।

डेंगु भएको कसरी थाहा पाउने ? लक्षण कस्ता देखिन्छन् ?
यसको मुख्य लक्षण भनेको उच्च ज्वरो आउनु हो। टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने समस्या देखिन्छ। पिँडौलाको मासु दुख्नु पनि डेंगुको लक्षण हो। शरीरमा डण्डिफोर जस्तो डावरहरु देखिने, अरुचि हुने, ढाड जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने वान्ता हुने, पेट तथा आन्द्रामा गडबडी हुने, नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोस हुनेलगायतका लक्षण देखा पर्न सक्छन्।

एकपटक डेंगु भइसकेपछि शरीर कमजोर हुने र रोगले छिटो आक्रमण गर्ने हुन्छ भनिन्छ। डेंगु भइसकेपछि कस्ताकस्ता कस्ता समस्या देखिन्छन् ?
कुनै पनि भाइरल इन्फेक्शन भइसकेपछि रोगप्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ। त्यस्तो अवस्थामा अन्य रोग पनि बढ्न सक्छन् । तर लामो समयसम्म यसले असर गर्दैन। केही व्यक्तिहरु जसको कलेजोमा पनि धक्का लागेको छ, रक्तकोशिका कमजोर भएका छ भने त्यस्ता व्यक्तिलाई लामो समयसम्म पनि असर गर्नसक्छ। तर धेरै मानिसलाई तीनदेखि सात दिनसम्म केही असर गरे पनि विस्तारै सामान्य अवस्थामा फर्किन सक्छन्।

दीर्घरोगीबाहेक धेरै मानिसलाई तीनदेखि सात दिनसम्म डेंगुले केही असर गरे पनि विस्तारै सामान्य अवस्थामा फर्किन सक्छन्।

यसबाट बच्नका लागि के गर्ने ?
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ। यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न दिनुहुँदैन।

डेंगु लाग्ने लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ। सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ। साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ। त्यस्तै घरमा कसैलाई डेंगुको संक्रमण भएको छ भने त्यस्ता व्यक्तिलाई लामखुट्टेबाट बचाउनुपर्छ। बिरामीलाई टोकेर केही दिन लामखुटे्टे भित्तामा बस्छ र नयाँ भाइरस उत्पन्न गरेर स्वस्थ मानिसलाई टोकेमा संक्रमण फैलिन्छ। बिरामीलाई टोकेर तुरुन्तै अर्काे व्यक्तिलाई यो रोग सर्दैन। तर केही समयपछि टोक्दा भाइरस सजिलै सर्ने हुन्छ।
लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम लगाउन सकिन्छ। घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ।

साधारण डेंगु र ज्वरो भए घरमै उपचार गर्न सकिन्छ। धेरै ज्वरो आउँदा प्यारासिटामोल खानु उपयुक्त हुन्छ।

यसबाट बच्नका लागि खोपको व्यवस्था के छ ?
यसबाट बच्न खोप आएको छ। तर त्यो महँगो छ। थोरै मात्रामा उत्पादन भएकोले नेपाल आइपुगेको छैन। त्यो ल्याउन सके प्रभावकारी नै हुने थियो तर त्यसबारे अहिलेसम्म केही पनि तयारी छैन।

यसको उपचार विधि के छ ?
साधारण डेंगु र ज्वरो भए घरमै उपचार गर्न सकिन्छ। धेरै ज्वरो आउँदा प्यारासिटामोल खानु उपयुक्त हुन्छ। एण्टीबायोटिक औषधी नखानु नै राम्रो हुन्छ। त्यस्तै धेरै नै ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने, जस्ता समस्या देखिए भने अस्पताल लगेर भर्ना गरेरै उपचार गराउन सकिन्छ। प्रशस्त मात्रामा झोलिलो पदार्थ खानुपर्छ। डेंगु रोगको कुनै खास औषधि नभएकाले डेंगु सार्ने लामखुट्टेबाट जोगिनु नै यसको प्रमुख उपाय हो। अझ राम्रो उपाय भनेको लामखुट्टेलाई बढ्न नदिन घर वरिपरि पानी जम्न दिनु हुँदैन।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ७ : ०९ बजे

भानुभक्तद्वारा भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकता प्रवर्द्धन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट

मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफ्नो पदबाट राजीनामा दिन

भिरकून गाउँको रोपाइ (तस्बिरहरू)

काठमाडौं– असारको महिना कहिँ रोपाइ सकिसकेको छ, भने कहिँ बाँकी

डिप्रेसन रोक्ने ओखती खाँदै अनसनमा सहकारीपीडित

काठमाडौं– सहकारी पीडित बचतकर्ताहरू यतिखेर तेस्रो चरणको आन्दोलनमा छन् ।

कटानबाट जोगाउन बरुवा नदीमा अस्थायी बाँध निर्माण

गाईघाट– वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित बरुवा नदीमा आएको