जब एउटा एनजीओ खाजाको पोको बोकेर संसदीय समितिमा छिर्‍यो | Khabarhub Khabarhub

जब एउटा एनजीओ खाजाको पोको बोकेर संसदीय समितिमा छिर्‍यो

गृहमन्त्रीसहित सांसदहरूले गरे सुशासन समितिको बैठक बहिष्कार


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा सभापति रहेको संसदीय समितिमा आइतबार अनौठो दृश्य देखियो ।

खतिवडा सभापति रहेको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उपस्थितहरूका लागि खाजा नै गैरसरकारी संस्था (एनजीओ) ले प्रायोजना गरेको भेटिएपछि खैलाबैला भएको छ ।

संघीय संसद् सचिवालयमा खासगरी युरोपिएन एनजीओको लगानी आइरहने कुरा अनौठो होइन ।

ती एनजीओले सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र सांसदहरूलाईसमेत आकर्षक भत्तासहित देश-विदेश घुमाउने कुरा पनि पुरानै भइसकेको छ । सुविधासम्पन्न होटलमा हुने गोष्ठीमा पनि एनजीओकै लगानी हुने गरेको छ ।

तर आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको खाजाको प्रायोजनसमेत एनजीओले गर्न भ्यायो । सभापति खतिवडा व्यक्तिगत तहमा हरेकसँग सम्बन्ध बनाउन माहिर मानिन्छ । उनको यही कला आइतबारको बैठकमा भने उनैलाई घाँडो सावित भयो ।

बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल ’ गर्ने एजेन्डा थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत उपस्थित बैठकका सहभागीलाई खाजा प्रायोजना गर्ने संस्था थियो, जनसंख्या र विकाससम्बन्धी विषयमा काम गर्दै आएको एलएक्सपिटीडी नामको संस्था ।

खाजाको प्याकेटमा चना, फलफूल, जाम-पाउरोटी, अण्डा, आलु आदि राखिएको बैठकमा सहभागी एकजना सांसदले बताएका छन् ।

बैठकमा खाजाको विशेष व्यवस्था गरिएकोबारेमा समिति सभापति खतिवडालाई कांग्रेसकै सांसद हृदयराम थानीले प्रश्न गरेका थिए । खतिवडाले हल्काफुल्का रुपमा लिँदै कतैबाट व्यवस्थापन गरिएको जवाफ दिएपछि थानीले यसलाई ठट्टाको विषय नबनाउन भनेका थिए ।

थानीले समितिको बैठकमा यस्तो महंगो खाजाको व्यवस्था कहिलेबाट भएको हो भनेर प्रश्न गरे। यसअघि कहिल्यै नदेखेको खाजा आएको भन्दै उनले यसबारे प्रष्ट जवाफ दिन सभापति खतिवडालाई भने ।

एउटा समितिले यति महंगो खाजा खुवाउन थालेपछि अरु समितिमा पनि दबाब पर्ने भन्दै थानीले धान्न नसकिने यस्ता अभ्यासलाई अघि बढाउन उचित नहुनेमा जोड दिएका थिए ।

थानीसँगै कांग्रेसका अन्य सांसदहरू सरिता प्रसाई र ईश्वरी न्यौपानेले पनि खतिवडालाई खाजाका विषयमा घेरे । उता राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले पनि खाजाबारेमा गम्भीर प्रश्न उठाउँदै स्पष्ट जवाफ चाहिएको धारणा राखिन् ।

उता गृहमन्त्री लामिछानेले पनि खाजामा विशेष व्यवस्था भएको देखेँ भन्दै सभापति खतिवडालाई सोधे । खतिवडाले संसद्भित्रैको कुरा भएको बताउँदै आन्तरिक ढंगले व्यवस्थापन गरिएको जवाफ फर्काए । त्यसपछि खाजा खानका लागि उनले आग्रह गरे । तर सांसदहरू चुप बसेनन्, उनीहरूले सभापति खतिवडाबाट सबै कुरा बुझेपछि बैठक नै बहिष्कार गरिदिए ।

खाजाको विषयमा समिति सभापति खतिवडाले चित्त बुझ्दो जवाफ दिन सकेनन् वा चाहेनन् । त्यसपछि राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरज दुराले खाजा एनजीओले प्रायोजन गरिदिएको खुलाए ।

बिहानै भएको बैठकमा एनजीओबाट खाजा प्रायोजन भएको थाहा पाएपछि गृहमन्त्री लामिछाने र समितिका सदस्य सांसदहरू बैठक बहिष्कार गरेर हिँडेका हुन् ।

एनजीओलाई प्रायोजक बनाउने आफ्नो निर्णय सभापति खतिवडालाई गलपासो बन्यो । त्यपछि उनले समितिको बैठक नै स्थगित गरिदिएका छन् ।

यो बैठकमा गृहमन्त्री लामिछानेसँग छलफल गर्ने तालिका थियो । बिहान ७ बजे सांसदहरू बैठक हलमा छिर्नुअघि नै महँगो दरको खाजा उनीहरूको टेबलमा आकर्षक प्याकिङसहित राखिसकिएको थियो ।

तर उक्त खाजा देखेपछि सांसदहरूले खासखुस गरे। त्यसपछि उनीहरूले मंहगो मूल्यको यस्तो खाजा आजसम्म नआएको हुनाले सोधीखोजी गर्नु स्वभाविक पनि थियो ।

उक्त बैठकमा खाजा मात्रै थिएन, उक्त एनजीओका पदाधिकारी पनि पनि उपस्थित थिए । बैठकमा राज्यको कानुन निर्माण जस्तो गम्भीर विषयमा छलफल गर्ने ठाउँमा एनजीओको खाजा खानु गलत हुने बताउँदै गृहमन्त्री लामिछाने हल छाडेर हिँडे ।

गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर बैठक गर्न‍ नमिल्ने भन्दै समितिका सभापति रामहरि खतिवडालाई प्रश्न पनि गरे । प्रश्न गरेर लामिछाने बाहिरिएसँगै अन्य सदस्य पनि क्रमश: हिँडे । त्यसपछि सभापति खतिवडाले बैठक स्थगित गरिदिए ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १ : ४५ बजे

संसद्‍मा गृहमन्त्रीको जवाफ : जीबीलाई आकाश, पातल जहाँ भए पनि निकाल्छौँ

काठमाडौं- उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा संलग्न गीतेन्द्रबाबु

अर्थसंक्षप : काठमाडौं महानगरको बजेट २५ अर्ब ६३ करोड, नेता केन्द्रित बजेट नछुट्याएको अर्थमन्त्रीको जवाफ

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले सबै क्षेत्रको सन्तुलित विकासमा सरकार

नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गरिनेछ : मन्त्री तामाङ

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नयाँ पर्यटकीय

अर्थमन्त्रीको जवाफ- नेता वा मन्त्रीको क्षेत्र केन्द्रित बजेट छुट्याइएको छैन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले सबै क्षेत्रको सन्तुलित विकासमा सरकार

विराटनगरले ल्यायो साढे ३ अर्ब रुपैयाँको बजेट

विराटनगर- विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ३