नैतिकताको कसीमा कुलमान, उद्योगीहरूलाई प्रतिवेदन कार्यान्वयन नहुने डर | Khabarhub Khabarhub

नैतिकताको कसीमा कुलमान, उद्योगीहरूलाई प्रतिवेदन कार्यान्वयन नहुने डर

ओली र प्रचण्ड भेट्दा पनि ढुक्क छैन व्यापारी



काठमाडौं- ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ महसुल विवादका सन्दर्भमा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा उद्योगी व्यवसायी सशंकित बन्न थालेका छन् ।

सरकारले यसअघि नै आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित तालुकदार निकाय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र पठाएको थियो ।

मन्त्रालयले पनि नेपाल विद्युत् प्राधिकरणलाई गत जेठ २० मा पत्र काट्दै निर्णय कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ । तर, प्राधिकरणले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न चासो नदेखाएपछि उद्योगीहरू सशंकित हुन थालेका हुन् ।

सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएको लामो समय हुँदा समेत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रतिवेदन कार्यान्वयन भन्दा उल्टाउनेतर्फ लागेको उद्योगीहरूको आरोप छ ।

प्राधिकरणले प्रतिवेदन कार्यान्वयनमा आलटाल गरेपछि सशंकित उद्योगीहरूले गत जेठ ३१ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेका छन् ।

एमाले मुख्यालय च्यासल पुगेर उद्योगीहरूले आयोगको प्रतिवेदन कार्यान्वयनका लागि पहल गरिदिन ओलीसमक्ष आग्रह गरे ।

उद्योगीसँग भेटमा ओलीले मुख्यसचिव दस्तखत गरिसकेको आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कुरा राख्ने आश्वासन दिलाए ।

ओलीले उद्योगीलाई चिन्ता नलिन र जहाँतहीँ धाइरहनु नपर्ने बताएका थिए ।  ओलीलाई भेटेको अघिल्लो दिन  जेठ ३० मा उद्योगीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेका थिए ।

उनीहरूले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरेका थिए । उद्योगीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बोलाएरै निर्देशन दिने आश्वासन दिएका थिए । प्रतिवेदन कार्यान्वयनका लागि प्रचण्ड र ओली गुहारिसकेका उद्योगीहरू अझै ढुक्क हुन सकेका छैनन् ।

उद्योगीहरुलाई कुलमान घिसिङले आयोगको प्रतिवेदन उल्ट्याउने हुन कि भन्ने डर छ । प्राधिकरणअनुकुल निर्णय नआएपछि कुलमान स्वयम् पनि आयोगको प्रतिवेदन कार्यान्वयन नगर्नेतर्फ उद्यत भएर प्रतिवेदन उल्ट्याउन शक्तिकेन्द्रलाई दबाब दिँदै आएको चर्चा हुँदै आएको छ ।

आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले नै निर्णय गरे पनि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भने प्रतिवेदन कार्यान्वयन नगराउन लागि परेको सौरभ ग्रुपका अध्यक्ष तथा उद्योगी विष्णुप्रसाद न्यौपानेले खबरसँग बताए ।

‘हामीले पहिलेदेखिकै माग नलिएको विद्युत् सेवाको प्रिमियम तिर्न सकिँदैन भन्ने नै हो । हाम्रो मागलाई सुनेर सरकारले एउटा उच्चस्तरीय आयोग गठन गरिदियो,’ उनले भने, ‘अहिले आयोगको निर्णय प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ आफैं कार्यान्वयन नगराउन लाग्नुभएको छ ।’

आयोगले लोडसेडिङअघि र लोडसेडिङ अन्त्य भइसकेपछिको प्रिमियम लिनु नपर्ने र बीचको अवधिको महसुल मात्रै लिने निर्णय लिनुपर्ने आयोगको निष्कर्ष थियो । तर, अहिले आयोगको निर्णय कार्यान्वयनभन्दा उल्ट्याउने खेल भइरहेको उनको भनाइ छ ।

मन्त्रालयले नै पत्र पठाएर आयोगको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएसँगै कुलमान नैतिक संकटमा छन् । यसअघि उनले ५९ वटा उद्योगको डेडिकेटेड तथा ट्रंक लाइन महसुलबापत साढे २२ अर्ब रुपैयाँ बक्यौता नतिरेको भन्दै कतिपय उद्योगको लाइन काटेका थिए ।

पछि आयोग गठन गर्ने सरकारले निर्णयपछि तत्काल विद्युत् लाइन काटेका ४ उद्योगको बिजुली पुनः जोडेका थिए । आयोगको भने कुलमानले बढी महसुल उठाउन खोजेको र अन्यायपूर्ण रूपमा बिलबिजक जारी गरेको निष्कर्ष निकालेको छ ।

आयोगले डेडिकेटेड तथा ट्रंक लाइनको महसुललाई तीन चरणमा निर्णय गरेको छ । आयोगले २०७२ साउनदेखि २०७२ पुससम्म तत्कालीन अवस्थामा विद्युत् महसुल निर्धारण आयोगले निर्णय गरेकाले त्यस बेलाको महसुल लिनु नपर्ने र २०७५ जेठपछि मुलुकमा लोडसेडिङ अन्त्य भएकाले त्यस बेलाको महसुल लिन नमिल्ने आयोगको निष्कर्ष छ ।

वि.सं. २०७२ माघदेखि २०७५ वैशाखसम्म अवधिमा लोडसेडिङ रहेको अवस्थामा सेवा लिएका उद्योगको टाइम अफ डे(टीओटी) मिटरको डाटा अनिवार्य रूपमा प्राधिकरणले उपलब्ध गराउनुपर्छ । अर्थात्, उद्योगले कुन समयमा ? कति विद्युत् खपत गरे ? र, त्यसको महसुल कति ? लगायतको स्पष्ट डाटा अभिलेख प्राधिकरणले उपलब्ध गराउनुपर्नेछ ।

आयोगको प्रतिवेदन कार्यान्वयन हुँदा प्राधिकरणले दाबी गरेअनुसारको विद्युत् महसुल उठ्दैन । मन्त्रालयका स्रोतका अनुसार, आयोगको प्रतिवेदन कार्यान्वयन हुँदा महसुलबापत ६ अर्ब रुपैयाँ मात्र बक्यौत असुल हुने अनुमान छ । तर, त्यसबेला प्राधिकरणसँग उद्योगमा खपत बिजुलीको मिटर रिडिङको डाटा हराइसकेको हुन सक्ने पनि आकंलन गरिएको छ ।

यसले पनि आयोगको प्रतिवेदन कार्यान्वयन गर्न प्राधिकरणलाई थप चुनौती हुने देखिएपछि कुलमानले प्रतिवेदन कार्यान्वयन नगर्नतर्फ उद्धत देखिएको हुन सक्ने कतिपयको बुझाइ छ ।

आयोगको प्रतिवेदनले पनि प्राधिकरणले उद्योगबाट उठाउन नहुने महसुल उठाउन खोजेको पुष्टि गरेको मन्त्रालयका प्रवक्ता नवीन सिंहले खबरहबलाई बताए ।

‘आयोगको प्रतिवेदनले त प्राधिकरणले उठाउन नहुने महसुल उठाउन खोज्यो र गलत गर्‍यो भन्ने नै निष्कर्ष हो,’ उनले भने, ‘तर, सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएकाले हामीले प्राधिकरणलाई पत्र लेखेर पठाइसकेका छौँ ।’

प्रतिवेदन कार्यान्वयनका लागि प्राधिकरणले कसरी काम गर्छ ? भन्ने बुझ्न खोजे पनि कार्यकारी निर्देशक घिसिङ सम्पर्कमा आएनन् । सरकारले डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवाद निरूपण गर्न गत २०८० पुस २४ गते आयोग बनाएको थियो । आयोगले तीन महिना लगाएर बनाएको अध्ययन प्रतिवेदन गत २०८१ वैशाख २३ मा सरकारलाई बुझाएको थियो ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ५ : १९ बजे

आज २०८१ साल असार १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार तदनुसार

गाजामा हरेक दिन १० बालबालिकाले औसतमा एक वा दुई खुट्टा गुमाउँदै

एजेन्सी– प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सीका प्रमुखले गाजामा घेरामा

झलनाथको सर्पपालनः मधेशका तत्कालीन अर्थमन्त्रीसहित ५ जना भ्रष्टाचारी ठहर

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का ‘सम्मानित नेता’ झलनाथ खनालको नाममा

बजेट पुस्तिका सार्वजनिक भएपछि सुदूरपश्चिममा खैलाबैला

सुदूरपश्चिम– नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको

नेपाल र चीनबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बनाइने

काठमाडौं– नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरूबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ