गठ्ठाघर दुर्घटना : उत्तमले १२ दिनअघि मात्रै माहिली छोरीलाई पठाएका थिए अमेरिका « Khabarhub

गठ्ठाघर दुर्घटना : उत्तमले १२ दिनअघि मात्रै माहिली छोरीलाई पठाएका थिए अमेरिका


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा ज्यान गुमाएका पुरुष ओखलढुंगा घर भई काठमाडौंको बूढानीलकण्ठ-१० कपन निवासी उत्तम कोइराला भएको खुलेको छ ।

बिहीबार दिउँसो गट्ठाघरमा काठमाडौंतर्फबाट जाँदै गरेको बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा ओखलढुंगाका ६५ वर्षीय उत्तम ज्यान गएको थियो ।

भक्तपुर प्रहरी परिसरले मृतकलाई सुरुमा महिला भएको बताए पनि बिहीबार साँझ उनी पुरुष भएको पुष्टि भएको थियो । उत्तमको पुर्ख्यौली घर ओखलढुंगाको चिशंखुगढी-५ रातमाटे रहेको कुरा उनका भतिजा नवराज कोइरालाले खुलाएका छन् ।

बिहीबार कपनबाट भक्तपुरस्थित भतिजाको घर जान्छु भनेर स्कुटी लिएर हिँडेका उनलाई ट्रकले गठ्ठाघरमा ठक्कर दिँदै घिसारेर ज्यान लिएको थियो ।

उत्तम सहिद परिवारका सदस्य रहेको पनि खुलेको छ । उनका नातेदारसमेत रहेका वरिष्ठ पत्रकार हरिहर विरहीले उत्तम सहिद महेश कोइरालाका भाइरहेको पुष्टि गरे ।

महेशको २०३१ सालमा नेपाली कांग्रेसले पञ्चाती शासकविरुद्ध थालेको सशस्त्र आन्दोलनका क्रममा राज्य पक्षबाट ओखलढुंगामै मारिएका थिए ।

कांग्रेसले टिम्मुरबोटे काण्डका रुपमा सम्झिने उक्त घटनालाई नेपाली राजनीतिमा ओखलढुंगा काण्डका रुपमा चिनिन्छ । कोइरालासहित तत्कालीन आन्दोलित १९ जना मुक्ति सेनालाई गुफामा सुतेको अवस्थामा तत्कालीन शासकका सुरक्षाकर्मीले घेरा हालेर हत्या गरेका थिए ।

उत्तमले हाँकेको स्कुटीसँगै उत्तम कोइराला, ओखलढुंगा रातमाटे- ५ लेखिएको सवारी लाइसेन्स र बिलबुके भेटिएको थियो। त्यसपछि प्रहरीले खोजीका क्रममा आफन्तसम्म पुगेको थियो। आफन्तहरूले उत्तमलाई सनाखत गरिसकेका छन् । उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । शव आजै आफन्तको जिम्मा लगाइँदैछ ।

तर उत्तमका आफन्तले दुर्घटनाको छानबिनका लागि समिति नबनेसम्म शव नबुझ्ने बताएका छन् ।

उता स्कुटरलाई ठक्कर दिएका ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका-२ बस्ने ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेर बानेश्वर वृत्तमा राखिएको छ ।

१२ दिनअघि गरेका थिए छोरीलाई बिदाइ

उत्तमका तीन छोरी रहेको खुलेको छ । पुर्ख्यौली घर ओखलढुंगा भए पनि करिब २० वर्षदेखि काठमाडौंमै बस्दै आएका उत्तमकी जेठी अस्ट्रेलिया छिन् । कान्छी छोरी भने उनीसँगै बसेर काठमाडौंमा पढिरहेकी थिइन् ।

उत्तमले माहिली छोरी आस्थालाई पनि गत साउन २१ गते राति अमेरिकाका लागि बिदाइ गरेका थिए । उनी आफैं त्रिभुवन विमानस्थल पुगेर माहिली छोरी आस्थालाई पढ्नका लागि बिदाइ गरेका थिए ।

माहिली छोरी आस्थालाई एलएलएम अध्ययनका लागि अमेरिकाको क्यान्सस पठाएको १२ दिन नबित्दै उनले नेपालमा ज्यान गुमाएका छन् ।

तीनैजना छोरीहरू देशबाहिर रहेपछि अहिले उत्तमको शव बुझ्न ओखलढुंगाबाट उनका भतिजा नवराजसहितका आफन्त आउँदैछन् । तर छोरीहरू विदेशबाट नआएसम्म शव बुझेर दाहसंस्कार नगर्ने पक्षमा उनका आफन्तहरू देखिएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  २ : २१ बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६