सिंहदरबार र बालेन्द्रलाई नङ्ग्याउने पानी र जाम | Khabarhub Khabarhub

सिंहदरबार र बालेन्द्रलाई नङ्ग्याउने पानी र जाम

दयनीय बन्दैछ काठमाडौंको ढल र ट्राफिक व्यवस्थापन


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यतिबेला काठमाडौंमात्र होइन, देशैभरि र विदेशमा रहेका नेपालीहरुमा समेत एउटा भाष्य जबर्जस्त विकास भइरहेको छ– नेता भनेको बालेन्द्र शाहजस्तो हुनुपर्छ । बालेन्द्रले काठमाडौंलाई सुन्दर बनाइरहेका छन् । बालेन्द्रले पुराना नेताहरुलाई ठीक लगाइरहेका छन् । आदि–आदि ।

त्यसो त काठमाडौंको सडक कसले राम्रो बनाएको भन्नेमा पनि विवाद छ । आम जनमानसले नै ‘बालेन्द्रले काठमाडौंलाई राम्रो बनाए’ भनिदिएपछि सिंहदरबारलाई बडो टेन्सन भएको छ ।

यही भएर सडक विभागले गल्ली–गल्ली, पोल–पोलमा अनावश्यक रुपमा ‘स.वि.’ अर्थात् ‘सडक विभाग’ लेख्दै हिँडेको देखिन्छ । सिंहदरबारले सडकमा बालेन्द्र मात्र होइन, म पनि छु है भनेर देखाउन खोजेको छ ।

काठमाडौंको सडक कसले बनाएको भन्ने ‘जुँगाको लडाइँ’मा महानगरपालिका र सिंहदरबारवीच शीतयुद्ध चलिरहेको यसबाट सहजै महसुस गर्न सकिन्छ । यस्तो हुँदैनथ्यो भने जतासुकै, शहरको सौन्दर्य नै बिगार्ने गरी स.वि. लेखिरहनुपर्ने नै थिएन ।

महानगरपालिकाभित्रको सडक कुनचाहिँ संघले, कुन प्रदेशले र कुनचाहिँ स्थानीय तहले बनाउने भन्ने लगभग प्रष्टै व्यवस्था छ ।

त्यस्तै ट्राफिक व्यवस्थापन, ढल व्यवस्थापन र फोहोर व्यवस्थापन क–कसको दायित्व हो भन्नेमा पनि सरकारी संरचनावीच द्वन्द्वको साटो समन्वयको जरुरी पर्छ । तर, काठमाडौं महानगरपालिकामा संघ अर्थात् सिंहदरबारसँग समन्वयन हैन, द्वन्द्व बढ्दै गएको छ ।

त्यसो त राम्रो बनेको ठाउँमा स.वि. लेख्न हतार गर्ने सडक विभागको वास्तविक हविगतचाहिँ काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालयकै अगाडि भासिएको सडकमा प्रष्ट देखिइसकेको छ ।

टुकुचालाई पुरेर बनाइएको सडक भासिएको महिना दिन नाघिसक्दा पनि सडक विभाग, ढल विभाग कसैले मर्मत गर्न सकेका छैनन् । सुरुमा सडक विभागले ‘सावधान, सडक मर्मत भइरहेको छ’ लेखिएको साइनबोर्ड राखेको थियो, पछि शायद लाजले गर्दा विभागले त्यो हटाएको छ ।

महानगरकै कार्यालय अगाडि बाटो भत्किँदा पनि महानगरलाई हाइसञ्चो छ । किनभने, यो स्थान सडक विभागले बनाउने जिम्मामा पर्छ भन्ने महानगरको बुझाइ छ । ‘तैं रानी, मै रानी, कसले भर्ने कुवाको पानी’ भन्नेजस्तो अवस्था छ ।

रोचक संयोगचाहिँ के छ भने बालेन्द्र शाहले केही समय पहिले टुकुचा उधिन्ने डोजर अभियान चलाएका थिए । अहिले प्रकृतिले बालेन्द्रलाई नै गिज्याउने गरी महानगरपाकिलाकै मुखमा टुकुचाको भ्वाङ देखाइदिएको छ ।

काठ  र ईंटाको को प्रयोग गरेर टुकुचालाई कसरी छोपिएको रहेछ भन्ने यहाँ छर्लङ्गै देख्न सकिन्छ ।

काठमाडौं महानगरपालिका राम्रो बन्यो भन्ने आधारहरु के–के हुन् ? यसका मापकहरु के हुन् ? पक्कै पनि यसका केही मापकहरु छन् ।

शहरमा धुलो र प्रदूषण कम भएको छ कि छैन ? बाटाहरु राम्रा बनेका छन् कि छ्रैनन् ? खाल्डाखुल्डी परिएका छन् या छैनन् ? सार्वजनिक यातायातका साधन पर्याप्त छन् कि छैनन् ? ट्राफिक व्यवस्थापनको स्थिति के छ ? फोहोरको व्यवस्थापन कस्तो छ ? ढल निकासको प्रवन्ध कस्तो छ ? शान्ति सुरक्षाको स्थिति के छ ? व्यापार व्यवसाय फस्टाएको छ कि बिजोग छ ?

शहरमा पर्याप्त सार्वजनिक स्थलहरु छन् कि मासिएका छन् ? ऐतिहासिक धरोहर र सार्वजनिक स्थलहरुको संरक्षण भएको छ कि छैन ? अनि, शान्ति सुरक्षाको स्थिति के छ ? महानगरबासीहरु खुशी छन् कि असन्तुष्ट छन् ?

शायद यिनै कुराहरुले महानरपालिकाको सफलता र असफलतालाई मापन गर्दछ । फोहोर व्यवस्थापन र सडक पेटीहरुको व्यवस्थापनमा महानगरले देखिने गरी नै राम्रो काम गरेको छ भन्नका लागि हिच्किचाउने पर्ने अवस्था छैन । तर, सार्वजनिक यातायात र ट्राफिक व्यवस्थाको क्षेत्रमा पुरानै पाराले चलिरहेको भान हुन्छ ।

यहाँ समग्र पक्षको विश्लेषण गर्दै महानगर नेतृत्वको मूल्यांकन गर्न खोजिएको होइन । यहाँ त आइतबारको इन्द्रजात्रा र काठमाडौंमा एकैछिन परेको मुसलधारे बर्षाले देखाइदिएको सत्यलाई मात्रै उजागर गर्न खोजिएको छ ।

पहिले चक्काजामको चर्चा गरौं ।

आइतबार अपराह्नपछि रातिसम्म काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भयो । निजी सवारी साधनहरु त जाममा परे नै, सार्वजनिक यातायातमा चढ्ने मानिस गन्तव्यमा पुग्न कठिन भयो ।

इन्द्रजात्राका कारण असन इन्द्रचोक, बसन्तपुर लगायतका कोर एरियामा ठाउँ–ठाउँबाट मानिसहरु जुलुसमा निस्केका कारण ट्राफिक जाम भएको भनिए पनि घण्टौंसम्म सिंगै काठमाडौं जाममा फसेको थियो ।

यो पनि- 

सुरु भयो इन्द्रजात्रा (१० तस्बिर)

इन्द्रजात्रा एकदिन हैन, एक साता मनाइन्छ । यसको व्यवस्थापन उचित ढंगबाट नगरेर सडकको जाम यसैगरी भइरहने हो भने हरेक चाडपर्वमा जनताले सास्ती व्यहोर्नुपर्ने हुन सक्छ ।

कतै एउटा सामान्य कार्यक्रम हुनासाथ आम सर्वसाधारणको आवागमन अस्तव्यस्त हुने हो भने काठमाडौं शहर व्यवस्थित भएको कसरी मान्ने ? दबारमार्गमा सुधीर शर्माको पुस्तक विमोचन कार्यक्रमले पनि केहीबेर जाम गराएको अवस्था थियो ।

जात्रा र पर्वका बेला मात्र होइन, दैनिकरुपमा सुन्धारा र रत्नपार्क एरियामा सार्वजनिक सवारी साधन नपाएर लाइन लागेका मानिसहरुको ताँती हेर्दा थाहा हुन्छ, काठमाडौंको सार्वजनिक यातायातको अव्यवस्था कतिसम्म दयनीय बन्दै गइरहेको छ ।

सिंहदरबार होस् या महानगर, राजधानी शहरमा गुड्ने ट्याक्सीलाई मिटरमा चलाउन नसकेर बार्गेनिङ गर्ने र उपभोक्ता लुट्ने छुट दिइएको छ । एयरपोर्टमा झर्ने कुनै पनि स्वदेशी होस् या विदेशी उसले ट्याक्सीसँग बार्गेनिङ गर्नुपर्छ र ठगिएको महसुस गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा बालेन्द्रले काठमाडौंलाई राम्रो बनाएर भनेर कसरी मान्ने ?

पठाओ, इनड्राइभ लगायतका राइडर सेवाले काठमाडौंबासीलाई अहिले ठूलो राहत दिइरहेका छन् । ट्याक्सीको अनावश्यक भाडा असुलीबाट जोगिने र सार्वजनिक यातायातको अपर्याप्तताबाट बच्ने राम्रो विकल्प बनेको राइडर सेवालाई रोक्न ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रेको स्थिति पनि छ ।

यो पनि-

पठाओसहित राइड सेयरिङ रोक्न ट्याक्सीले अस्तब्यस्त बनाए सडक (तस्बिरहरू)

आखिर महानगरबासीको चापलाई धान्ने गरी सार्वजनिक यातायातको व्यस्थापन गर्न सिंहदरबार र बालेन्द्र दुबै चुकिरहेका छन् । भएको एउटा नेपाल यातायातमा पनि पकेटमारले मोबाइल चोरेर यात्रुहरु हैरान छन् ।

बागमती प्रदेश सरकार पनि काठमाडौंको यातायात व्यवस्थापनमा चुकेको छ । यसैको क्रोनिक पीडा आइतबार काठमाडौंको सडकमा पोखियो । यस्तो लाग्छ, काठमाडौंको सडकमा कुनै तहको सरकारै छैन ।

अहिले उपत्यकामा जात्राको मौसम सुरु भइसकेको छ । अब दशैंको चहल–पहल सुरु हुँदैछ । यसक्रममा काठमाडौंको मुटु मानिने न्यूरोड, असन क्षेत्रमा त्यसै पनि भिडभाड बढ्छ । सुन्धारामा गाडी चढ्ने मानिसहरुको भिडभाड अरु बढ्नेछ । यस्तो बेलामा दिन ढल्केपछि सडकमै निस्कन नसक्ने स्थिति आयो भने अचम्म नमान्दा हुन्छ ।

अब चर्चा गरौं पानीको ।

ठूला कुरा गर्नेहरुलाई कहिलेकाहीँ प्रकृतिले नै प्रश्न सोध्दोरहेछ । आइतबार दिनभर मानवीय कारणले ट्रासिफ जाम व्यहोरेका काठमाडौंबासीले साँझ नपर्दै मुसलधारे वर्षाको सामना गर्नुप-यो । जाम छिचोलेर गन्तव्यमा नपुग्दै उनीहरुलाई पानीले निथ्रुक्कै भिजायो । पानीले भिजाएको मात्रै भए त हुन्थ्यो, हनुमानस्थान नजिकै धोवीखोलाले चालकसहित एउटा ट्याक्सी नै बगाइदियो । चालक उर्गेन लामा ट्याक्सीसहित थापाथलीमा भेटिए । प्रहरीले उनलाई उद्धार ग-यो ।

यो पनि-

विष्णुमती नदीमा खसेर एक पुरुष बेपत्ता

धोबीखोलाले बगाएको ट्याक्सी भेटियो, चालक सकुशल

घटनालाई सामान्यीकरण नगरिकन पानी परेका बेला भएको एउटा ट्याक्सी दुर्घटनाका रुपमा मात्र यसलाई लिन सकिएला । तर, गंगबुको शिवमन्दिर चोकमा देखिएको उपद्रो हेर्ने हो भने यसले काठमाडौं महानगरपालिकामा सडक र ढलको व्यवस्थापन कस्तो छ भन्ने छर्लङ्ग देखाइदिएको छ । एकैछिन वर्षा हुँदा काठमाडौंको अवस्था कस्तो हुन्छ भन्ने यसले प्रष्ट पार्छ ।

अब के, हामी सडकको यही बेथितिको आहालमा चुर्लुम्म डुबेर भन्न सक्छौं त ? काठमाडौंलाई बालेन्द्र शाह या स.वि. ले बबाल राम्रो बनाइरहेका छन्….

यो पनि-

विष्णुमती र धोबीखोलामा बाढी, उच्च सतर्कता अपनाउन आग्रह

आजको मौसम : अधिकांश प्रदेशमा भारी वर्षा

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ८ : ३० बजे

बाढीपहिरोमा तीन विदेशीको मृत्यु भएको पुष्टि, पाँचजना घाइते

काठमाडौं- गत असोज ११ र १२ गते देशका विभिन्न भागमा

‘व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्न सरकार अग्रसर’

ललितपुर– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा

खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत

चैनपुर– तारा थापालाई एकैपटक टाउको दुख्ने, रिङ्गाटा लाग्ने, ज्वरो आउनेलगायत

प्रथम अन्नपूर्ण हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी – पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम

जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं– सनथ जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षक नियुक्त भएका छन्