इजरायली आक्रमण असम्भव – इरान | Khabarhub Khabarhub

इजरायली आक्रमण असम्भव – इरान


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानको आणविक ऊर्जा एजेन्सीले बुधबार परमाणु सुविधाहरूमा इजरायलको सम्भावित आक्रमण ‘सफल नहुने’ वा ‘कुनै गम्भीर क्षति नपुर्‍याउने’ र त्यस्तो आक्रमण ‘असम्भव’ रहेको बताएको छ ।

इरानले यसै महिनाको सुरुमा इजरायलमाथि करिब २०० मिसाइल प्रक्षेपण गरेलगत्तै इजरायलले प्रतिशोधका लागि तयार रहेको बताएपछि एजेन्सीको यस्तो टिप्पणी आएको हो । इरानको कट्टर शत्रुमाथि यो दोस्रो प्रत्यक्ष आक्रमण थियो ।

‘यो हुने सम्भावना धेरै कम छ’, एजेन्सीका प्रवक्ता बेहरोज कमालवन्दीले नुरन्युज एजेन्सीसँगको भिडियो अन्तर्वार्तामा भने, ‘कुनै प्रमुख स्थलमा आक्रमण भएमाः निश्चित हुनुहोस् कि यो सफल हुने छैन र र यदि उनीहरू (इजरायल) ले त्यस्तो मूर्खतापूर्ण काम गरे भने, उनीहरूले हामीलाई गम्भीर क्षति पुर्‍याउन सक्ने सम्भावना धेरै कम छ र यदि उनीहरूले केही क्षति पुर्‍याउन सक्छन् भने पनि, देशले त्यसको क्षतिपूर्ति छिटो गर्न सक्छ ।’

तेहरानले अक्टोबर १ मा इजरायलमाथि गरेको आक्रमण क्षेत्रमा इरान–समर्थित लडाकू नेताहरू र रेभोल्युसनरी गार्ड्सका एक जनरलको हत्याको बदला भएको बताएको थियो ।

सेप्टेम्बर २७ मा बेरुतमा भएको इजरायली हवाई आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरुल्लाह र रेभोल्युसनरी गार्ड्सका जनरल अब्बास निलफोरौशानको मृत्यु भएपछि मिसाइल आक्रमण भएको थियो । साथै मिसाइल आक्रमण जुलाई ३१ मा तेहरानमा प्यालेस्टिनी लडाकू समूह हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्या पछि पनि गरिएको बताइएको थियो । हानियाको हत्याका लागि व्यापक रूपमा इजरायललाई दोष दिइएको थियो ।

त्यसयता इजरायलले प्रतिकार गर्ने प्रतिज्ञा गरेको छ । रक्षामन्त्री योभ ग्यालेन्टले इजरायलको जवाफ ‘घातक, सटीक र आश्चर्यजनक’ हुने बताएका छन्‌ ।

इजरायलको शीर्ष हतियार आपूर्तिकर्ता अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको आणविक वा तेल सुविधाहरूमा आक्रमण नगर्न चेतावनी दिइसकेका छन्‌ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले इजरायलले कसरी जवाफी आक्रमण गर्ने भन्ने निर्णय गर्ने बताएको छ ।

‘हामी संयुक्त राज्य अमेरिकाको विचारलाई सुन्छौँ, तर हामी हाम्रो राष्ट्रिय हितको आधारमा हाम्रो अन्तिम निर्णय गर्नेछौँ’, कार्यालयले मङ्गलबार भनेको छ ।

इरानले आफ्नो ‘पूर्वाधार’ मा कुनै पनि आक्रमणले ‘अझ बलियो प्रतिक्रिया’ निम्त्याउने चेतावनी दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसलाई यदि इजरायलले आक्रमण गरेमा तेहरान ‘निर्णायक र पश्चातापजनक’ प्रतिक्रियाका लागि तयार रहेको चेतावनी दिएका छन्‌ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  १० : १४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज दल र जेनजीका प्रतिनिधिसहितको बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, दल र जेनजीका विभिन्न

नगरकोट प्रहरी प्रभागको नयाँ भवन सञ्चालनमा

काठमाडौं– प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ ।

बैतडीमा १८ जनामा डेङ्गी सङ्क्रमण

बैतडी– बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १२ गते बुधबार ।

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर