याक्थुङ लिम्बूहरू विभिन्न चाडपर्व, उत्सव, दुःख तथा सुख सबैमा रङ्गरस गर्दछन् । त्यस अवसरमा च्याब्रुङ नाच्ने, हाक्पारे गाउने, यालाङ नाच्ने, पालाम भन्ने आदि गर्दछन् ।
च्याब्रुङ नाचमा लामदाक (स्वागत), मेकामलाङ, (विवाह लगननाच), नामदाते (घाम नउदाउञ्जेल) मा नाच्ने संस्कार रीति छुट्टै छ ।
त्यसैगरी हाक्पारे गाउँदा पनि विशेष गरी तुत्तु तुम्याहाङ (ठूलाबडा) हरू कुनै सुख–दुःख कार्यहरूमा रातभरि गाउने गर्दछन् । हाक्पारे गाउँदा प्रायजसो आशिर्वाद एवं अर्ति उपदेशका कुराहरू छन्दमा मिलाएर लयात्मक भाकामा गाउने चलन छ ।
यालाङमा पालामभन्दा स्वर मिलाएर छन्दमै भनिन्छ । यसमा अर्ति उपदेश आर्शिवादभन्दा पनि माया पिरतीका विषयमा छन्द मिलाएर भनिन्छ । यो पालाम भन्दा साइनो नलाग्ने तन्नेरी/तरुनीहरू हात समाएर नाच्छन् ।
यसरी याक्थुङ लिम्बूहरूलाई विशेष किसिमको संस्कृतिले गर्दा आफ्नो छुट्टै पहिचान भएको जाति मानिन्छ । यहाँ अब याक्थुङ लिम्बूहरूका अत्यन्तै प्रचलित पालाम र त्यससँगै नाचिने नाचका बारेमा केही चर्चा गरौं ।
खासगरी उहिलेको समयमा मानिसहरू विशेष अवसरहरूमा मनोरञ्जन गर्न आफ्नै मौलिक तरिकाहरू अपनाउँथे । वाह्य संस्कृतिसँग उति सम्बन्ध सम्पर्क थिएन । याक्थुङ लिम्बू समुदाय सत्रौं शताब्दीको अघिसम्म अन्य समुदाय, संस्कृति, भाषा, रहनसहनसँग घुलमिल भएको देखिँदैन । त्यस अवस्थासम्म सबै कुराहरू झर्राे (विशुद्ध मौलिक रैथाने संस्कृति) नै भेटिन्थे ।
त्यसैबेलादेखि नै लिम्बू समुदायले मौलिक संस्कार, संस्कृति, रहनसहन, भाषा तथा आफ्नो सभ्यता संरक्षण गरेर अपनाउँदै आए । आजसम्म पनि यो एक जिउँदो संस्कृतिका रूपमा लिम्बू समुदायले आफ्नो पहिचान बनाएका छन् । यसमध्ये याक्थुङ लिम्बू समुदायमा पालाम भन्ने चलन र त्यो पालामसँगै नाचिने यालाङले लिम्बू समुदायको सांस्कृतिक पहिचानको रुप लिएको छ ।
के हो पालाम ?
पालामको आफ्नै लय हुन्छ, जसले गर्दा यो गीत जस्तो लाग्छ । तर, हाम्रो याक्थुङ बोलिचालीमा पालाम ‘गाउनु’ भन्ने चलन छैन । पालाम ‘भन्नु’ भनिन्छ । याक्थुङ लिम्बू भाषामा पनि ‘पालाम पाते’ (पालाम भन/भन्नु) हुन्छ तर ‘पालाम साम्लोमा’ (पालाम गाउनु) भनेर भनिदैन । त्यसकारण यो पालाम एक किसिमले एक आपसमा छन्दात्मक शैलीमा बोल्ने तरिका नै हो ।
कुनै मान्छे जंगलमा वा कुनै ठाउँमा पालाम गाउँदैछ भने ‘को पालाम भन्दैछ ?’ भनेर भनिन्छ । कसैलाई पालाम गाउने अनुरोध गर्दा पनि ‘पालाम भन/भन्नुस्’ भनेर भनिन्छ तर, पालाम गाउँ भनिँदैन । यसरी पालाम भनेको एक किसिम भन्ने शैली तरिका बाटो नै हो भन्न सकिन्छ । पालाम भन्दा यसको छन्दात्मक नियममा रहेर भन्नु अनिवार्य मानिन्छ । यही नै यसको मुख्य विशेषता हो । छन्द मिलेन भने पालामको रस पाउन सकिँदैन ।
पालामको शाब्दिक अर्थ पात्/पात्मा=बोल्ने/भन्ने, लाम=बाटो, अथवा बोल्नेबाटो भन्ने बुझिन्छ । त्यसरी पालामको शाब्दिक अर्थअनुसार एक आपसमा आफ्नो कुरा भन्नलाई छन्द प्रयोग गरिन्छ, त्यही नै पालामको रस हो । यसैगरी पालामको अर्काे शाब्दिक अर्थ पानलाम हो । पान= कुरा\विषय…., लाम= बाटो/तरिका अथवा विषयलाई तरिकावद्ध, सिलसिलावद्ध राख्ने भन्ने हुन्छ ।
पालाम कुनै पनि माया पिरतीको विषयवस्तु अनुरूप कुरा राख्ने तरिका वा छन्दात्मक शैली अपनाउनु हो । गाउँघरमा आउने पाहुनाहरूसँग बोल्नलाई कुनै बोल्ने बाटो, बाहाना वा निहँु गरी छन्द शैलीमा रहुसे पारामा भनिन्थ्यो । यसरी रहुसे पारामा भन्दा पनि पानलाम् (कुराको विषय) समेत सिलसिलाबद्ध ढंगले भनिन्थ्यो । त्यही पाप्मालाम वा पान्लाम नै पालाम हो ।
पालामको सुरुवात (उत्पत्ति)
हरेक कुराको सुरुवात अथवा उत्पत्ति आ–आफ्नै किसिमको हुन्छ । कुनै विस्तारै र क्रमिकरूपले हुन्छ त कुनै घटना परिवेशले एकै साथ पनि हुन्छ । पालामको उत्पत्ति अथवा सुरुवात एक्कैचोटि वा कुनै घटनाबाट भएको होइन । यो क्रमिक रूपमा विस्तारै हुँदै आएको बुझिन्छ ।
जतिखेर याक्थुङ लिम्बू समुदाय आफ्नो सांस्कृतिक सभ्यताहरू निर्माण क्रममा थिए । त्यसै समयमा कुनै घटना परिवेशबाट पालामको सुरुवात गरे होलान् र कुनै मनोरञ्जन, उत्सव वा रमाइलो आदिबाट पनि यसको उत्पत्ति भयो होला ।
त्यसरी नै पालाम सुरुसुरुमा कुटुम्बेरी, पाहुनापात लाग्दा तरुनी–तन्नेरीले बोलेर जिस्किने क्रममा सायद छन्दवद्ध तरिकाबाट ठाउँ, ठेगाना, थर अथवा परिचय सोधे होलान् । एक्कासी नौलो पाहुना मान्छेसँग रमाइलो ठट्टा गर्दा छन्दात्मक शैली अपनाउँदा रमाइलो र सुन्न पनि राम्रो हुने भएकाले ‘पात्मा लाम’ भन्दाभन्दै पालाम भन्ने चलन सुरु भएको हुन सक्छ ।
पात्मा लाम र पानलाम शब्दको अपभ्रंश वा समास रूप पालाम हो । ‘पात्मा लाम’ जुन कुटुम्बेरी पाहुनापात आउँदा छन्दात्मक शैलीमा ‘बोल्ने बाटो’ लिम्बू समुदायमा जताततै व्यापक रूपले प्रसिद्ध भएपछि प्रायःसबै ठाउँमा यसरी स्थापित हुँदै गयो ।
पहिले गाउँठाउँमा पाहुना आउँदा तरुनीहरू बसेको ठाउँमा तन्नेरी र तन्नेरीहरू बसेको ठाउँमा तरुनीहरू गएर छन्दात्मक शैलीमा जिस्किने, परिचय माग्ने वा केही भन्ने चलन सुरु भयो ।
सुरुमै पालाम भनेर नामकरण नभए पनि विस्तारै छन्दात्मक शैलीबाट बोल्ने क्रम व्यापक रूपमा हुँदै गएपछि यसको रसले रमाइलो ठट्टा प्रदान ग¥यो र पात्मा लाम भन्दाभन्दै पालाम भएको साथै पान लाम (कुराको विषय) बाट पनि पालामको सुरुवात भयो भन्ने भनाइहरू पाइन्छन् । यसकारण पालामको उत्पत्ति कुनै एक्कासी घटनाबाट नभएर बोलेर रमाइलो ठट्टा गर्ने चलनबाट सुरु भएको भन्न सकिन्छ ।
यालाङ के हो ?
यालाङ एक आपसमा साइनो नलाग्नेसँग हात समातेर उभिएर विस्तारै नाचिने नाच हो । यसमा कुनै चर्काेखालको नाचहरू नाचेको पाइँदैन । पालाम भन्दै विस्तारै नाचिन्छ । कसैकसैले कदम मिलाएर पालामको भाका र ताल मिलाएर विस्तारै खुट्टाको चाल पनि मिलाउँदै नाचेको पनि भेटिन्छ । तर, यो नाच अत्यन्तै साधारण हुन्छ । यालाङको रस, पालामको भाका, पालाम भन्नेको स्वर तुक्का छन्द आदिले स्वयंलाई रस प्रदान गर्दछ ।
यालाङमा पालाम भन्नु धेरै कठिन छ । किनकि पालाम आफूले भन्न खोजिएको कुरा क्रमबद्ध ढंगले छन्द मिलाएर भन्नुपर्छ । पालाम भन्दा स्वर राम्रो, सुरिलो र मिठास भए अझ सुगन्ध हुन्छ । त्यसकारण यालाङमा पालाम अनिवार्य र पालामकै बढी भूमिका हुन्छ । यदि पालाम बिना उभिएर चाच्नु मात्रको अर्थ छैन ।
यालाङ पाकेको धानको दाना झार्न खुट्टाले कदम मिलाएर माडेको आदिसँग उत्पत्ति भएको भन्ने आख्यान छ, जुन गलत छ । धान झाँट्दा कहिल्यै पनि खुट्टाले धेरैजना मिलेर कदम मिलाएर माडिँदैन । त्यसैले सो कुरा तर्कसंगत छैन । धान माँडेर बिया झारिँदैन । धान त ठिक ठिक मूठा पारेर झाँटिन्छ र झाँट्न ढुङ्गामा राखेर पछार्नु पर्छ । त्यसकारण धानलाई खुट्टाले कदम मिलाएर माँडिन्थ्यो भन्नु वास्तविकता नबुझी तर्क दिनु मात्र हो ।
बरु धान झाँटेको समयमा तरुनी तन्नेरीहरू भेला हुन्थे र त्यति नै खेर साइनो नलाग्नेहरू धान झाँटिसकेपछि हात समाएर मनोरञ्जनका रूपमा नाच्दथे होला । धान झाँट्ने अवसरलाई पनि यालाङ गरेर मनोरञ्जन गर्दथे होला । पहिले पहिले हाट मेलाहरू उठ्ने चलन पनि त्यति थिएन । त्यसकारण त्यही धान झाँट्दा धेरै तरुनी तन्नेरी भेला हुने भएकाले त्यो अवसर यालाङका लागि पनि हुन्थ्यो । यसरी धान झाँट्दाको अवसरबाट यालाङको व्यापकता बढ्दै गएकोले धान खेतीसँग यालाङको सम्बन्ध जोडेको हुन सक्छ ।
यालाङ चेली–माइतीबीच नाचिँदैन । धान झाँट्दा प्रायजसो एकै परिवार, एकै गाउँको साइनोपात लाग्ने मात्र भेटिन्छन् । उनीहरूका बीचमा हात समातेर मायापिरतीको कुरा गर्न मिल्दैन । त्यसैले धान झाँटेका बेलामा यालाङ नाच्ने कुरा नै आउँदैन ।
यालाङको विशेषता भनेको साइनो नलाग्ने महिला, पुरुष (तरुनी तन्नेरी) बीच हात समाएर विस्तारै उभिएर नाचिन्छ । यो यालाङमा कुनै नियममा रहेर कदम मिलाएर नाचिएको भेटिएको छैन । कुनै कुनै ठाउँमा नगन्य रूपमा कदम मिलाएको पाइन्छ । किनकि पालाम भन्दै कदम मिलाएर नाच्नु गाह्रो हुन्छ ।
यो नाचमा नयाँ चिनजानकासँग पनि नाच्नुपर्ने हुन्छ । नयाँ चिनजानसँग वा पुरानो चिनजान जोसँग नाचे पनि नाचेको अवस्थामा अचानक खुट्टाले छोयो अथवा अन्य शरीरको अङ्गले छोयो भने पनि नाच सकिएपछि दशऔंला जोडेर भूइँसोरी सेवारो भन्दै माफ माग्नुपर्ने हुन्छ । त्यसकारण अत्यन्तै सचेत भएर असल नियतले एकापसको हात समाएर यो नाच नाचिन्छ ।
यालाङको सुरुवात (उत्पत्ति)
यालाङको सुरुवात तथा उत्पत्तिका बारेमा प्रायजसो सबैले धानखेतीसँग आख्यान जोडेको पाइन्छ । इमानसिं चेम्जोङ (वि.सं २०५१/२०६३ः ६४–६७) का अनुसार सरक्पा भन्ने एक जना बुढाले धानबाली पाकेपछि सुकेको धानलाई तरुनी तन्नेरीहरूलाई पाखुराद्वारा धान पछारी झार्ने र दाना झरेको पराललाई सफा ठाउँमा राख्ने निर्देशन दिए । त्यसपछि तिनीहरूलाई त्यो धानको दाना झरेको पराललाई एकआपसमा हात समाएर परालमाथि तीनपल्ट थिच्न देब्रे खुट्टा एकसाथ उचाल्ने र त्यसरी नै परालमा तीन पटक थिच्न दाइने खुट्टा उचाल्न निर्देशन दिए । यसरी अगाडि–पछाडि फर्केर सो पराल खुट्टाले माडियो । खुट्टाले पराल माड्ने चलन प्रसिद्ध भई त्यहीँबाट धाननाच वा ‘याराक्मा’ सुरु भयो ।
चेम्जोङको यो तर्क त्यति व्यावहारिक छैन । धान खेती गर्दा वा माड्दा हात समाएर गरिँदैन । धानको दाना झार्दा खुट्टाले माडिँदैन । मुठा–मुठा पारेर पछारेर झाँटिन्छ । यदि खुट्टाले माडेर दाना झार्ने भए लिम्बूहरूले यालाक (धान माड्नु) भन्दा हुन्थ्यो । तर, धानको दाना त झाँटिन्छ । त्यसअनुसार लिम्बूहरूले ‘या थाम्मा’ (धान झाँट्नु) नै भन्छन् ।
धानको दाना झारेको पराल खुट्टाले तन्नेरीहरू एक आपसमा हात समाएर तीन पटक थिच्नु अनि खुट्टा उचाल्नु भन्ने भनाइ नै गलत देखिन्छ । पराललाई दाइँ गर्ने चलन धेरैपछि मात्र आएको हो । त्योभन्दा अगाडि पराललाई दाइँ गरिँदैनथ्यो । पराललाई दाइँ गर्नुको मुख्य उद्देश्य सिला धानको दाना झार्नु र पराललाई नरम बनाएपछि गाईबस्तुले खान सजिलो बनाउनु हो । त्यसकारण कदम मिलाएर खुट्टाले थिचेर, खुट्टा उचालेर पराल माडिन्थ्यो र त्यसैक्रममा यो नाच प्रसिद्ध भयो भनेर पत्याउन कठिन छ । यदि पराललाई खुट्टाले माड्ने चलन प्रसिद्ध थियो भने अहिले पनि यो चलन हुनुपर्ने हो । त्यसकारण यसरी कदम मिलाएर पराल माडेकोबाट यालाङ (धान नाच) सुरु भयो भन्नु तर्कपूर्ण देखिँदैन ।
प्रायजसो यालाङबारे कलम चलाउने सबैले इमानसिंह चेम्जोङकै भनाइलाई नै ‘कोट’ गरेको पाइन्छ । उनले यालाङलाई लिम्बू भाषाभन्दा भिन्न भाषाको आडमा रही तर्क दिएकाले नै यालाङलाई जबरजस्ती धानसँग जोडेको देखिन्छ ।
वास्तवमा यालाङ विस्तारै नाचिने नाच हो । त्यसैले यायाक=विस्तारै, लाङ्=नाच, अथवा यायाक लाङ (बिस्तारै नाचिने) भन्दाभन्दै अप्रभंश भई यालाङ भएको भन्न सकिन्छ । व्यावहारिक रूपमा पनि पालाम भन्दै बिस्तारै नाचिन्छ । यदि पालाम भन्दै चर्काे तरिकाले नाचियो भने गाह्रो हुन्छ र व्यावहारिक पनि हुँदैन । त्यसकारण पालाम भनेर यायाक (विस्तारै) नाच्ने नै गरिन्थ्यो र अहिले पनि त्यसै गरिन्छ ।
अहिलेका लिम्बूहरू आफूलाई याक्थुङ (याक्थुङ्बा/याकाथुम्बा/यकतुम्बा) भनेर चिनाउँछन् । याक्थुङहरू नाच्न गाउन रमाइलो गर्न अत्यन्तै रहुसे हुन्छन् । याक्थुङहरू दुःख–सुख जुन अवसरमा पनि नाच्ने, गाउने गर्दछन् । यी याक्थुङहरूले याक्थुङलाङ (याक्थुङ नाच) नाच्नुपर्छ भन्दाभन्दै यालाङ भएको हुन सक्छ । किनकि शब्दको निर्माणमा दुबैमा (या–क्थुम, या–लाङ) ‘या’ उपसर्ग आएको छ । त्यसकारण याक्थुङ लाङ भन्दाभन्दै यालाङ भन्न थालिएको हुनसक्छ ।
यदि यालाङलाई धाननाच भनेजस्तै याक्थुङलाई पनि खस नेपाली भाषामा उल्था गर्ने हो भने या=धान, याक्=भित्र छ, थुङ=पिउने अथवा ‘भित्र छ पिउने’ भन्ने अर्थ लाग्न सक्छ । त्यसकारण संस्कार, संस्कृति, रहनसहन जुन घटनाक्रमले विकास गर्यो, त्यही अनुरूप विकास र नामकरण भएको हुन्छ । त्यसलाई अर्का भाषामा उल्था गर्नुहुँदैन ।
त्यसैगरी येबालाई याबा पनि भनिन्छ । याबा/येबा, येमा भनेको लिम्बू जातिमा आँखीडाही, नराम्रो, प्रेतआत्माहरूलाई छेकथुन गर्ने अथवा मन्साउने पुरोहित हो । यी येवा/याबा पनि आफ्नो शक्तिको गुरुलाई खुशी पार्न विभिन्न पारामा नाच्छन् । त्यसलाई पनि याबालाङ अथवा येवालाङ भन्ने चलन छ । त्यही येबा/याबाले नाच्ने नाचलाई अरूले पनि नक्कल गर्दै नाच्ने चलन सुरु गरेकोले यालाङको उत्पत्ति भएको हुनसक्छ ।
त्यसकारण धानखेतीको सभ्यता अगाडिदेखि नै यालाङ भएकाले यालाङलाई उल्था गरेर या=धान, लाङ=नाच अथवा धाननाच भन्नु तर्कपूर्ण छैन र धानखेतीको कारणबाट यालाङको उत्पत्ति आख्यान जोड्नु गलत हुन्छ । यदि त्यसरी शब्दलाई ठ्याक्कै उल्था गर्ने हो भने संविधानलाई लिम्बू भाषामा उल्था गर्दा संविद् = निहिथुम (चेतनशक्ति), धान=या अथवा निहिथुमया हुन्छ । जुन शब्दले संविधानको सही अर्थ लाग्दैन ।
यालाङ र धान (या/वेच्छा/वाच्छा) सँग सम्बन्ध
हुन त यालाङ भन्नेवित्तिकै नाच्ने नै भन्ने त बुझिन्छ । तर यो यालाङ के, कस्तो र कसरी नाचिन्छ भन्ने विषयमा सोधखोज भएको पाइँदैन । यालाङ विभिन्न ठाउँ, थुमअनुसार अपभ्रंश भई याराक्मा, चालाक्मा, यालाङ्मा, यालाक्मा आदि भनेको पाइन्छ । धेरै भनाइहरूमा यालाङलाई नेपालीमा उल्था गरेर या= धान, लाङ= नाच अथवा धाननाच भनेको पाइन्छ । तर यालाङको नेपाली भाषामा उल्था गरिएको शब्द धाननाच होइन । लिम्बू भाषामा यालाङ शब्दको जुन नामाकरण भयो त्यसलाई यालाङ नै भन्नुपर्छ ।
यालाङलाई धाननाच भन्नु ठूलो त्रुटि हो । आखिर कति समय भयो र नेपाली खस भाषा लिम्बूहरूका जिब्रोले उच्चारण गर्न थालेको ? खासगरी गोर्खा राज्य विस्तार गर्ने क्रमको सुरुवातसँगै लिम्बूहरूको भूभागमा गोर्खाली शाह र सेन आदिले टेक्न थालेपछि मात्र लिम्बूहरू नेपाली भाषाको सम्पर्कमा आएका हुन् । त्यसभन्दा अगाडि पनि लिम्बूहरूमा यालाङ र पालामको चलन थियो ।
केही फरक किसिमको धान खेतीका बारेमा लिम्बू समुदायको कृषि सभ्यतामा पाइन्छ । घैया जातको धानलाई अहिलेको धानको जस्तो खेत बिराउनुपर्दैन र पानी पनि अनिवार्य हुँदैन । सामान्य आकासको पानीले पनि यो घैया जातको धान उब्जाउन सकिन्छ । अहिले यो घैया धान लगभग लोप भइसकेको छ । अहिले त्यसको खेती गरेको पाइँदैन । त्यसैले लिम्बूहरूले पहिलेको भन्दा फरक किसिमको धान पाइएकाले वेचा/वेच्छा (अर्कै किसिमको अन्न) भनेको हुन सक्छ ।
त्यसैगरी वाच्छा भन्ने हो भने पानीसँग सम्बन्धित हुन्छ । पहिलेको घैया पाखोबारीमा हुन्थ्यो, पछि अर्काे धान पानीमा मात्र हुने भएकाले वाच्छा भनिएको हुन सक्छ । त्यसकारण यालाङ शब्दलाई उल्था गरेर धान नाच भन्दा यालाङको असली आत्मा मर्दछ ।
पालाम र यालाङ (याराक्मा) को सम्बन्ध
पालाम र यालाङ एकैसाथ प्रयोगमा आउँछन् । पालामको भर यालाङ यालाङको भर पालाम हुन्छ । यालाङका लागि पालाम अनिवार्य हुन्छ । तर, कतिपय अवस्थामा पालाम भन्दा उभिएर नाच्नु पर्छ भन्ने हुँदैन । बाटो हिँड्दा, घाँसदाउरा गर्दा, एक्लै भएको अवस्था आदिमा पनि पालाम भनिन्छ । तर, पालामबिना यालाङ नाच्न अप्ठ्यारो हुन्छ र सुहाउँदैन पनि । त्यसकारण पालाम र यालाङबीच परस्पर सम्बन्ध रहेको छ । यालाङ नाच्दा पालाम भनिन्छ भन्ने सर्वविदित भएको छ ।
हुन त यालाङ नाच्दा भन्ने कुरा वा विषयहरूको छन्दबद्ध प्रस्तुत पालाम हो । यसमा पालाम नै प्रधान जस्तो देखिन्छ । तर, यालाङ भनेर बढी नामोचारित गरिन्छ । यालाङलाई बुझ्दा सुन्दा नृत्य नै हो । तर, त्यस यालाङमा पालाम भन्नै पर्ने भएकाले दुबैको आ–आफ्नो भूमिका महत्पूर्ण छ र परस्पर सम्बन्ध रहेको छ ।
यालाङमा पालाम भन्ने चलन
यालाङ मात्र आफैमा अपुरो हुन्छ । यालाङमा पालाम अनिवार्य हुनुपर्छ भनि सकियो । पालामकै कारणले विस्तारै (यायाक) नाच्नुपर्ने बाध्यता हुन्छ । किनकि पालाम भन्दा चर्काे अथवा छिटो नाच्न सकिंदैन र व्यावहारिक पनि छैन । नाच भन्दा पालामको तुक्का महत्वपूर्ण हुन्छ । पालामको तुक्का छन्दात्मक हुनुपर्दछ र विषयवस्तु सिलसिलाबद्ध हुनुपर्छ ।
यसरी पालाम भन्दै उभिएर बिस्तारै (यायाक) नाचिने भएकाले नाच नै प्रधान देखिन्छ । हुन त यालाङमा पालाम भन्दा विषयवस्तुको सिलसिलाबद्ध प्रस्तुति र छन्दात्मक शैली महत्वपूर्ण रहन्छ । यालाङको लाङ् (नाच) त्यति अपठ्यारो र धेरै किसिमको पाइएको छैन । कहिल्यै ननाच्नेले पनि हात समातेर सहभागी हुनसक्छन् । तर, पालाम भन्न आउँदैन भने यालाङ नाच्नुको अर्थ रहँदैन । यालाङमा नृत्यको रस त्यति हुँदैन ।
पालाम भन्दा विषयवस्तुको गहिराइअनुसार पालाम भन्नेको अनुहारको प्रस्तुतिमा सबै नौरस उत्पन्न हुन नसके पनि शान्त, हास्य, करुणा रसहरू पाइन्छ । विषयलाई गम्भीररूपमा एकाग्र भएर भन्दा शान्त भाव र कहिले विषयवस्तुलाई रोचक ढंगले छन्दमा प्रस्तुत हुँदा हास्य भाव पनि प्रकट हुन्छ । त्यसैगरी पालाम भन्दै जाँदा माया लाग्दो र दुःखको भाव पनि प्रस्तुत हुन्छन् । त्यस अवस्थामा करुणा भाव अनुहारमा प्रकट हुन्छ । त्यसकारण यी तीन रसहरू यालाङमा प्रस्तुत भएको पाइन्छन् ।
यालाङको किसिम
यालाङ नाचमा धेरै भिन्नता पाइँदैनन् । अबसम्मको व्यावहारिक रूपमा देखिएको यालाङ उभिएर सामान्य कदम र पालामको भाकाको तालअनुसार शरीरलाई सामान्य हल्लाउने र तेर्साे लाइन उभिएर नाच्दा अगाडि–पछाडि फर्किदै नाच्ने चलन छ । तर गोलो घेरा भएर नाच्दा सामान्य कदम मिलाएर दाहिने दिशातर्फबाट गोलो घुम्ने चलन मात्र पाइन्छ ।
हुन त चेम्जोङका अनुसार लिम्बूवानमा जम्मा दस किसिमका नाचहरू छन् । यसमा पान्थरे, तामराङ्गे, सिरिथाक्पे, फेदापे, छथरे, चारखोले, चौबिसे, अठप्रे, लाप्चे र तम्मरखोले रहेका छन् । उनले यिनलाई प्रसिद्ध नाचहरू भनेका छन् ।
नाचको प्रकार वा किसिम छुट्याउँदा खुट्टाको चाल, शरीरको नाट्य अवस्था, अनुहारको भाव आदिबाट छुट्याउनु पर्छ । तर, पान्थरे, छथरे भन्नु ठाउँ वा थुम मात्र भयो । ठाउँको नामबाट नाचको प्रकार छुट्याउन सकिँदैन । एउटा नाच पान्थरेले नाच्यो, त्यही नाच चौबीसेले नाच्यो भन्दैमा नाचको प्रकार भन्न मिल्दैन ।
येहाङ लावती (२०६२ः ६९–७५) ले सरक्पा (सामान्य), थुरूपया (चर्काे), ताम्ब्राङ्ग्या सिरथाप्पे र केङजोरी मुख्य नाचहरू हुन् भनेका छन् । सरक्पा र थुरप्पा भन्ने नाचहरू यालाङमा कहीँ नाचेको पाइँदैन । ताम्ब्राङग्या र केङजोरी नाचहरू रातभरि तरुनी तन्नेरी पालाम भन्दै नाचेको पाइँदैन । किनकि केङजोरी नाच ठट्यौली नाच हो । यसमा नाच्दानाच्दै कुनै निश्चित कदम आएपछि दाउ हेरेर केङ (कम्मर तल्लो र पछाडिको भाग) ले हान्नु/ठेल्नु पर्छ । त्यस अवस्थामा हेरेर बस्ने सबै दर्शकहरूलाई हसाँउनु सक्नुपर्छ ।
त्यसैगरी ताम्ब्राङग्या नाच लामो लामो फड्को मारेर कदम मिलाउँदै नाचिन्छ । यस नाचमा लामो घण्टौंसम्म पालाम भन्दै नाचिँदैन । यस नाचमा सामान्य भाकामा हस्यौली र ठट्यौली पाराले पालाम भनिन्छ । त्यसकारण केङजोरी र ताम्ब्राङग्या नाचलाई यालाङको किसिम भन्न मिल्दैन । ती नाचहरू आफ्नो बेग्लै अस्तित्वका नाचहरू हुन् ।
कुनै एउटै नाचलाई चर्काे र बिस्तारै नाच्न सकिन्छ । बिस्तारै नाचिने नाचलाई चर्काे नाच्दैमा अर्काे किसिमको नाच भन्न मिल्दैन । त्यसकारण येहाङ लावतीको थुरूप्पा (चर्काे उफ्रिने) भनेका छन्, त्यो कुनै नाचको प्रकार होइन । त्यसैगरी सरक्पा नाच त केलाङमा नाचिने नाचको नाम हो ।
त्यसैगरी द कल्चर एन्ड रिलिजन अफ लिम्बुजमा डा चैतन्य सुब्बा (सन् १९९८ ः ५८) ले पूर्णमान लावतीलाई उधृत गर्दै चर्को, याङसिङचङ (बिस्तारै), ताम्राङगे (लामो फड्को) गरी तीन किसिमका नाच छन् भनेका छन् र आजभोलि केम्बालाङ र कुसरक्पा मात्र छन भनेका छन् । यी नाचहरूमा पनि त्यस्तो प्रकार छुट्याउने आधार पेश भएका छैनन् ।
केम्बालाङ र कुसरक्पा, चर्काे, याङसिङचङ, ताम्राङ्गे भनियो तर कसरी, कति कदम, कुन तरिकाले नाचिन्छ भनेको पाइँदैन । प्रकार वा फरक–फरक नाच छुट्याउनलाई नाचको प्रकृति प्रट्याउन जरुरी हुन्छ ।
ताम्ब्राङगे नाचलाई मिक्किफुङ भिडियो क्यासेटका लेखक तथा सङ्कलक अर्जुनबाबु माबुहाङले काम्राङगे भन्न खोजेका छन् । काम्राङ्गे भन्नका कारण हातको कुइना कुइलाई क्रस गरेर दह्रोगरी समाइन्छ ।
त्यसैले काम्राङ गर्नुबाट काम्राङ्गे भएको हुनसक्छ । जेहोस् ताम्राङ्गे वा काम्राङ्गे जे भए पनि यो नाचको अस्तित्व छ, तर घण्टौं वा रातभरि यो नाच नाच्ने चलन छैन । यसकारण जे–जति यालाङका किसिमहरू लेखिएका वा भनिएका छन्, ती नाचहरू यालाङका प्रकार होइनन् । ती नाचको यालाङभन्दा छुट्टै विशेषता र प्रकृतिका नाच हुन् । यालाङका नाचहरू फरक–फरक किसिमका छैनन् ।
यालाङमा साइनो छुट्याउने चलन
यालाङ नाच्न सुरु गर्नुभन्दा अगाडि नै साइनो छुट्याउनु वा केलाउनु पर्छ । यदि साइनो लाग्दैन भने मात्र नाच्न सकिने अवस्था हुन्छ । साइनो छुट्याउँदा विशेषतः दुई किसिमले छुट्याएको पाइन्छ । कुनै अलि पाराङ्गतले साइनो छुट्याउँदा पालामको छन्द मार्फत ओहोरदोहोर प्रश्न उत्तर गरी साइनो छुट्याउँछन् र अर्काे बाबुपट्टि र आमापट्टि थर सोधासोध गरी गरेर साइनो छुट्याउँछन् ।
हुन त ख्याली (पद्यात्मक शैली) बाट साइनो केलाउने चलन पनि छ । ख्यालीलाई पान्धङ (कुरा मिलाउने/जुधाउने) भन्ने गरेको पनि पाइन्छ । तर, ख्याली लिम्बू शब्द होइन भनेर भनिएको छ । बसन्तकुमार शर्माको शब्दकोश अनुसार ख्यालीलाई चाडपर्व मेला, भेलामा खैंजडी मुजुरासमेत बजाउँदै गाइने लोकगीत, चुड्का, तरुना तरुनीहरू भेला भै गाइने जुहारी रोधी गीत भनिएको छ । साथै विशेषणका रूपमा ठट्यौली, हँस्यौली, जोकरको काम गर्ने आदि पनि भनिएको छ ।
यसरी हेर्दा ख्याली लिम्बूले अनुसरण गरेको बुझिन्छ । ख्यालीमार्फत् पद्यात्मक शैलीमा यालाङका लागि तरुनी–तन्नेरीहरूबीच साइनो छुट्याउने र परिचयसमेत गर्ने चलन छ । यसका साथै लिम्बू समुदायमा ख्यालीमार्फत् नै ख्यालठट्टा पनि गर्ने चलन छ । यस ख्यालीलाई लिम्बूहरूले गीतका रूपमा लिएको पाइँदैन । कुरा गर्दा पद्यात्मक वा छन्द शैली अपनाइन्छ र ख्याली भन्दा छोटो आलाप ‘ए ऽऽ ….’ भनेर सुरुमा उच्चारण गरिन्छ । यसरी ख्यालीमार्फत् यालाङका लागि साइनो छुट्याउने र परिचय गर्ने चलन छ । तर, ख्याली भन्नका लागि निक्कै अनुभवी र पारङ्गत हुनुपर्दछ ।
कुन कुन साइनोसँग नाच्न सकिन्छ ?
यालाङ साइनो नलाग्नेसँग नै नाचिने नाच हो । लिम्बू समुदायमा हाडनाता र आमापट्टी (मावली) का साइनो बार्ने अथवा खेद्ने चलनले गर्दा यालाङमा शुद्ध कुटुम्ब तथा बिहेबारी चल्नेसँग मात्रै नाचिन्छ । अन्य साइनोहरूमा भाउजू र देवर, फुफाजु र भदैनी, भेना र साली, सोल्टी र सोल्टीनीबीच हात समाएर नाच्न मिल्छ । माइजू र काकीपट्टिका साइनोमा पनि हात समाई नाच्न सकिन्छ । यालाङ दुई जनादेखि धेरै जनाको समूहमा पनि नाचिने भएकाले समूहमा साइनो लाग्ने पनि हुन सक्छन् तर साइनो लाग्नेसँग हात समाएर नाच्नु हुँदैन । यसमा नाच्ने धेरै भए पनि पालाम भन्ने दुईजना मात्र हुन्छन् । उनीहरूलाई अरूले साथ दिने मात्र हो । पालाम भन्ने केटा/पुरुष र केटी/महिलाबीच भने साइनो हुनुहुँदैन ।
यालाङमा पालाम भन्दाको विषय
यालाङ साइनो नलाग्नेहरूबीच नाचिने भएकाले विशेषगरी माया पिरतीको कुरा र विषयवस्तुलाई विभिन्न तरिकाबाट छन्दात्मक शैलीमा सिलसिलाबद्ध प्रस्तुत गर्नुपर्छ । यस अन्तर्गत पनि विभिन्न परिस्थितिअनुसार पालामको सिलसिला अगाडि बढ्छ । अबसम्म व्यावहारिक रूपमा हुँदै आएका पालाम भन्दाको विषय मायापिरती कै हो ।
तर, विभिन्न अवस्थाका मायापिरतीबारे एकआपसमा दोहोरो चरण चरणमा भन्दै कुरा राख्ने, सोध्ने गर्दछन् । पालाम भन्न सुरु गर्दा केटाहरू पाहुना आएको ठाउँमा केटीहरूले र केटीहरू पाहुना आएको ठाउँमा केटाहरूले पालाम सुरु गर्ने चलन छ । तर हाटबजार, मेला वा कुनै अवसरहरूमा अचानक भेट हुँदा जसले यालाङ नाचौं भनेर अनुरोध गर्छ उसैले पालामको सुरुवात गर्नुपर्छ ।
येहाङ लावती (२०६७ : १४) ले पालामको मुख्य विषयवस्तु श्रृष्टि, उत्पति, मायापरिती, स्नेह, व्यथा, हाँक, घृणा, फूर्ति, विचारविमर्श, लहना–भावी र समसामयिक सन्दर्भ आदि हुन्छन् भनेका छन् ।
खासगरी विवाह नभएका तरुनी तन्नेरीबीचमा भनिने पालामको विषय गम्भीर किसिमको हुनसक्छ । त्यसैगरी ती तरुनी तन्नेरीबीचमा यालाङमै मायापिरती भयो तर कुनै एकजनाको अर्कैसँग विवाह भयो भने ती दुई कुनै अवसरमा भेट हुँदा पालामको विषय अलि फरक हुन्छ ।
त्यसैगरी अगाडि नै विवाह भइसकेको तर नयाँ चिनारी गरी यालाङ नाच्दा पालामको विषय पनि फरक हुन्छ । यस्तो अवस्थामा दुबैले विवाह गरेको छैन भनेर पनि पालाममा भन्न सक्छन् ।
अविवाहित केटा वा केटी अनि विवाह गरेको केटा वा केटी पनि नयाँ चिनारी गरेर यालाङ नाच्दै पालाम भन्दा विवाह गरेकाले नगरेको र नगरेकाले गरेको भन्न सक्छन् ।
पहिले गहिरो माया पिरती भएको तर परिस्थितिले विवाह हुन नसकेको र लामो समयसम्म भेट हुन नसकी निक्कै उमेर ढल्केपछि भेट भएर यालाङ नाच्दा पालाम भन्दा सोही अनुरूप भेट लामो समयसम्म भएन के गर्दै कसरी बित्यो जीवन आदि भन्न सक्छन् ।
त्यसैगरी केटा वा केटी, तन्नेरी वा तरुनी अवस्थाका वा अलि उमेर ढल्केको अवस्था छ भने पनि पालामको बेग्लै विषय बन्न सक्छ । फूलसँग मान्छेको चोला वा जीवनलाई दाँजेर पनि पालाम भन्ने चलन छ ।
यी विभिन्नि परिस्थितिका मायापिरतीबारे गम्भीररूपमा नाचेर छुट्ने समयमा तुम्दुमहेना सेमा/सेम्मुई (विदाइ) हुने पनि पालामबाटै भन्ने चलन छ । तुम्दुमहेना सेमा/सेम्मुई (विदाइ) पालामभन्दा छुट्ने मन नहुँदा पनि समयले गर्दा छुट्न बाध्य भएका छौं, छुटे पनि यस्सो बाँडुली चल्दा सम्झनु र पालाम भन्दा छोडिएका कथाहरू, कुराहरू फेरि कुनै ठाउँमा भेट हुँदा गरौंला आदि भन्दै सेवा ढोग गरेर छुट्ने चलन छ । त्यसकारण सेम्मुई (विदाइ) पालामको ठूलो भूमिका रहेको छ ।
यसरी यालाङमा यालाङ नाच्ने केटा र केटीको, उनीहरूको परिस्थिति वा अवस्थाले पालामको विषयवस्तु बन्न जान्छ । यालाङमा केटा र केटीको अवस्था र परिस्थितिले पालामको विषयवस्तु बन्ने भएकोले विभिन्न र धेरै किसिमका अवस्थाहरू हुन्छन् । त्यही अनुरूप नै पालामभन्दा विषयलाई छन्दात्मक र लयकारी तरिकाले भन्नु पर्दछ ।
पालामको भाका
पालाम एक छन्दात्मक अभिव्यक्ति हो । छन्द मिलाएर लयमा आफ्ना कुरा भन्नु पर्छ । हुन त पालाममा आलाप हुने भएकाले यो एक किसिमको गीत हो । तर पनि पालाम साम्लोमा (पालाम गाउने) भनेर भनिँदैन, पालाम भन्ने (पालाम पात्मा) भनेर भनिन्छ ।
पालाम सुरु–सुरुमा सायद सामान्य सरल ढंगले शब्द छन्द तुक्का मिलाएर भनिन्थ्यो । त्यसलाई नै विस्तारै विभिन्न लय मिलाएर भन्न थालियो । यसरी पालामको विकासक्रमसँगै भाकाहरू पनि व्यक्तिविशेषले आ–आफ्नै रचनामा विविध भाकाहरू सिर्जना गरे ।
अहिले पालामका भाका सयौं किसिमका पाइन्छन् । भाकाहरू पनि थुमअनुसारका ‘भाका क्षेत्र’ का रूपमा पाइन्छन् । यो भाका फलाना थुमको भनेर चिन्न सकिन्छ । समय कालअनुसार पनि भाकाहरू सिर्जना भएका छन् । भाकाहरू कुनै कठिन, कुनै सजिला हुन्छन् ।
पालामको भाकाले पनि पालाम सुन्दा बढी आन्दानुभूति हुन्छ । भाकाले मिठासपनामा मद्दत पुग्छ । पालामको भाका संसारका कुनै पनि भाका तथा संगीतसँग तुलना गर्न सकिँंदैन । यो अत्यन्तै विशिष्ट र अत्यन्तै पृथक छ । पालाम आधुनिक गीत सङ्गीतको नियमभित्र रहने प्रकृतिको छैन । पालामको भाकाका लागि छुट्टै नियम सिर्जना गर्नुपर्ने हुन्छ ।
पालामका भाकाहरूमा आलाप र कोरस अन्य गीत संगीतहरूभन्दा अत्यन्तै फरक हुन्छ । राम्रो भाकाले सुन्नेहरूलाई आकर्षण गर्दछ । हुन त भन्नेको स्वरमा पनि माधुर्य हुँदा पालाम अझ मिठासपूर्ण हुन्छ । भाकाबिनाको पालाम एक अर्कामा कुराकानी गरेको जस्तो मात्र हुन्छ ।
प्रायः पालामका भाकाहरूमा शुद्ध स्वर अथवा प्रकृत स्वर प्रयोग भएको पाइन्छ । किनकि पालामको भाकामा स्वर प्रायः निश्चित स्थानमा रहन्छ । कुनै कुनै भाकामा मात्र निश्चित स्थानबाट बदलिन्छ । यसैले विकृत स्वर अत्यन्तै कम प्रयोग हुन्छ ।
पालामको भाकामा एऽऽ…मुऽऽ…माऽऽ…खोऽऽ…आऽऽ… हाऽऽ… हाऽऽ… खोइऽऽ… हैऽऽ कोरस प्रयोग भएको छ । कोरस हाऽऽ… हाऽऽ… को उत्पत्ति आख्यानसँग जोडिएको पाइन्छ ।
अर्जुनबाबु माबुहाङ (२०६४) का अनुसार फाङबुक्मा चराले धानको कुन्युमा गुड लगाई धान झाँट्न अवरोध गर्यो र यो चरालाई खेदाउन हा…हा… भनेर कराइयो । तैपनि उक्त चराले आफ्नो गुँड छोडेन । त्यसरी नछोडेपछि कुन्युमा आगो लगाइयो । आगोले फुङबुक्मा चराको पखेटा जलेकाले उड्न सकेन । त्यसपछि उसका साथीहरूबाट पखेटा मागेर जसोतसो उडेर गयो ।
ध्रुवकुमार मेन्याङबो र अर्जुनबाबु माबुहाङ (२०६६ः १८–१९) ले त्यही फाङबुक्मा चरा पखेटा र पुच्छरबिना खनी खोस्री हिँड्थ्यो । आफ्नो प्वाँख नभएकाले रुखपातको प्वाँख लगाएर उड्ने कोशिस गर्यो तर सकेन । अन्त्यमा साप्परिमेम्बरि बाँसका पातहरूको पुच्छर बनाएर उड्यो भनेका छन् ।
यसरी त्यो फाङबुक्मा चरो आगो लगाएर प्वाँख र पुच्छरबिना भयो भन्नु र प्वाँख,पुच्छरबिना खनीखोस्री हिँड्थ्यो भन्ने भनाइ फरक छ । त्यसैगरी प्वाँख साथीहरूबाट माग्यो र लगाएर उड्यो भन्ने भनाइ वा साप्परिपेम्बरी (बाँस) का पातको प्वाँख लगाएर उड्यो भन्ने भनाइ पनि फरक छ । त्यसकारण फाङबुक्मा चराको आख्यानको हा..हा….कोरस उत्पत्ति भएको अथवा हाऽऽ… भन्न थालियो भन्ने तर्क गलत छ ।
अहिलेसम्मको देखिएको व्यावहारिकरूपमा कुनै पनि चराहरूले परालबाट मात्र गुडँ बनाउँदैनन् । त्यसकारण परालको कुन्युमा फाङबुक्माले गुँड लगाएर मान्छेहरूलाई धान झाँट्न अवरोध गर्यो भन्ने भनाइ पनि तर्कसंगत देखिँदैन । किनकि सबै चराचुरुङ्गीहरूलाई धपाउनु पर्यो भन्ने हा… हा… नै भनिन्छ । घरकै कुखुरालाई धपाउन पर्दा पनि हा… हा… नै प्रयोग हुन्छ । हा… हा… भन्ने शब्द अथवा उच्चारण कुनै लयात्मक सांगीतिक होइन । यो त तीव्र उच्चारित एक किसिमले गालीजस्तो हो ।
तर पालाममा आउने त हाऽऽ… सँग मुऽऽ… माऽऽ… जस्ता उच्चारणहरू गरिन्छ । पालामको हाऽऽ… माऽऽ… है… मु…हाऽऽ… त प्राकृत स्वर कहिलेकाहीँ कोमल स्वरमा ध्वनि उत्पन्न हुने कोरस हो । गीत संगीतमा कोरस आलापको ठूलो भूमिका हुन्छ । पालाममा कोरस अनिवार्य छ । किनकि कोरस अन्य सहभागीले पनि गाउनु पर्छ र चलनचल्तीमा उच्चाल्नु भन्ने चलन छ ।
पुष्प थाम्सुहाङ (२०५८ः ५५–६६) का अनुसार फेल्येर फेम्पुना भन्ने चराले बीउ ल्याई खेतीपाती लगाउन सिकायो । सोहीअनुरूप मानिसहरूले बीउ छरेर अन्न फलाउन थाले । त्यसरी दुःख गरेर उब्जाएका बाली भित्र्याउने बेलामा चराहरू आएर खाने गर्थे । ती चरा धपाउन हातमा हात समाएर हा… हा… हा… आवाज निकाल्दा चराहरू धानको खाल छोडेर भाग्न थाले । त्यसकारण त्यही आवाज हा… हा… हा… बाट नै यालाङको सुरुवात भयो भनेका छन् थाम्सुहाङले । लिम्बू जातिको संक्षिप्त परिचयमा लाओती येहाङले पनि यी चरा फेल्लेरे फेम्पुना चराकै आख्यान अघि सारेका छन् ।
यस तर्कमा सो चरा फेल्लेर फेम्बुनाले ताप्मारो या घैयाको बिउ ल्याइदिए भनेका छन् । तर, ताप्मारो या घैया धान होइन । ताप्मारो धानलाई व्यक्ति र ठाउँअनुसारको सुनाइ र बुझाइ फरक भएअनुरूप कसैले तारमेली भने कसैले दार्मेया भने कसैले ताप्मारो भने ।
ताप्मारो धानलाई पानी अनिवार्य चाहिन्छ । तर, घैयालाई पाखो बारी भए पनि हुन्छ । तारमे भन्ने ठाउँबाट यो धान आएकाले तारमेली भनिएको हो । तारमेलीको अपभ्रंश नाम नै ताप्मारो भनिएको हो । त्यसरी फेल्लेरे फेम्बुवा चराले सो बीउ ल्याइदियो र अन्नको बीउ लगाउनु खेतीपाती गर्न सिकायो भन्ने आख्यान पनि गलत छ ।
भँगेराले जौ (हक्सी) को बीउ ल्याइदिए र मान्छेले छरे (लेप् या) अनि पाकेपछि भँगेराहरू हुलहुलका आएर खान थाले र पाकेको अन्नलाई बचाउन थुपारेको खलामा मानिसहरू हातमा हात समातेर हा… हा… हा… को आवाजसहित नाचे थाम्सुहाङले भनेका छन् ।
यसरी कुनैमा भँगेराले बीउ ल्यायो कुनैमा फेल्लेर फेम्पुनाले, कुनैमा फाङ्बुक्माले बीउ ल्यायो भनिएको छ । चरा खेदाउँदा कोमल, माधुर्य र मिठास लय सम्भव छैन । किनकि धपाउन, खेदाउन हो भने दवाव दिएर चर्काे तीव्र स्वरमा कराउनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा लय उत्पन्न हुँदैन । बरु चरा खोलाखोल्सी, बनमा बोल्दा, कराउँदा एक किसिमको मिठास सुनिन्छ । त्यसरी चराहरू बोल्दाको ध्वनिबाट मान्छेहरूले गीत गाउन लय, भाकाहरू अनुशरण गर्न सक्छन् ।
यसरी पालामभन्दा आउने कोरस चराहरूलाई धपाउँदा प्रयोग हुने हा.. हा.. बाट सुरुवात भएको होइन । पालाम भन्ने क्रममा कोरस र आलाप विकास हुँदै आएको हो । पालामलाई लयात्मक शैलीमा भन्न थालेपछि कोरसको सिर्जना भएको हो ।
पालामको छन्द
पालामभन्दा निश्चित लय तथा भाकाको परिधिभित्र रहेर छन्द मिलाएर भनिन्छ । छन्दमा निश्चित शब्द तथा अक्षर रहनुपर्दछ । बढी वा कम शब्द र अक्षर भएमा लयात्मक रूपमा भन्दा अपठ्यारो र मिल्दैन । पालामको छन्द सिर्जना गर्दा नौ अक्षरदेखि तेह्र अक्षरसम्म अर्थ लाग्ने गरी हुनुपर्छ । यो अक्षर सङ्ख्या एक हरफको मात्र हो । किनकि पहिलो हरफको अक्षर सङ्ख्या र दोस्रो हरफको अक्षर सङ्ख्या नमिल्न सक्छ ।
तर, अक्षर सङ्ख्या नमिले पनि दुईवटै हरफको अन्तानुछन्द भने मिलेको हुनुपर्छ । प्रायजसो एघार अक्षर भएका हरफहरू बढी प्रचलनमा रहेको पाइन्छ । खास गरी पालाममा दुई हरफको पूर्ण अर्थ बोक्ने छन्दमा मिलाएर भन्नुपर्छ । सकभर पहिलो हरफ पनि अर्थ दिने भए राम्रो हुन्छ तर, प्राय गरेर पहिलो हरफ छन्द मिलाउनलाई सामान्य अर्थका हरफ हुन्छ । दोस्रो हरफ मात्र गहन अर्थ दिने हुन्छ ।
कुनै पालामका छन्दहरू एकै हरफका छन्द शैलीमा पनि हुन्छ । त्यस्तो छन्दको हरफमा नौ अक्षरदेखि तेह्र अक्षरसम्म पूर्ण शब्द भई अर्थ दिने हुन्छ । पालामका केही उदाहरणहरू यसपछि प्रस्तुत गरिएको छ :
एकै हरफको पालामको छन्द
याक्माहिम तेहिम/लुङ्मा पहिम ।।
थाक्चोलुङ माङ्से/तुम्याहाङ्से ।।
फुङलथिक निसुङ/निङ्वा हिसुङ ।।
हुक्चोकेन एङ्नु/इङघङ खेम्नु ।।
नौ अक्षरका पालामको छन्द
मिम्जिरे पान्हा फुङएरो
आफाल्लेफाङ युङएले
अक्षर सङ्ख्या छुट्याउँदा
मि…म्जि…रे…पा…न्हा…फु…ङ…ए..रो
१ २ ३ ४ ५ ६ ७ ८ ९
आ…फा…ल्ले…फा…ङ…यु…ङ…ए…ले
१ २ ३ ४ ५ ६ ७ ८ ९
तेह्र अक्षरका पालामको छन्द
इक्सादिङ खाम्बेकओ इराङइल्ले
मन्छ्या सा थकयेम केराङइल्ले
अक्षर सङ्ख्या छुट्याउँदा
इ…क्सा…दि…ङ…खा…म्बे…क…ओ…इ…रा…ङ…इ…ल्ले
१ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३
मे…न्छ्…या…सा…थ…क…ये…म…के…रा…ङ…इ…ल्ले
१ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३
धान नाच भिडियोमा हेर्नुहोस् :
पालाम भन्दा भाषाको प्रयोग
शब्दको गम्भीर अर्थ र पूर्ण छन्द साथै लयको मिश्रणबाट पालाम भएको छ । पालाम लिम्बू जातिकै मुख्य संस्कृति भएकाले लिम्बू भाषाबाट नै शब्द र छन्द निर्माण गरेर भन्नु उचित हुन्छ । हुनत अरुण पूर्व लिम्बू बस्तीहरूमा अन्य जातिको आगमन नभएसम्म लिम्बूहरूले अन्य भाषा विशेष गरी खस नेपाली भाषा जान्दैन थिए । तर लिम्बूहरूको भूभागमा गोर्खा राज्यको विस्तार भई नेपाल राज्यमा गाभिएपछि क्षेत्री बाहुनहरूको आगमन भयो । त्यसपछि लिम्बूहरू पनि खस नेपाली भाषा बोल्न थाले ।
त्यो भन्दा अगाडि लिम्बूहरू आफ्नो भाषा बाहेक अरू भाषा नजान्ने भएकाले लिम्बू भाषामा मात्र पालाम भन्ने गर्दथे । अहिले पनि पाराङ्गत व्यक्तिले लिम्बू भाषामा मात्र पालाम भन्ने गर्दछन् । तर, लिम्बूहरूले नेपाली भाषा बोल्न र जान्न थालेपछि पालाम भन्दा नेपाली भाषा पनि मिसाउन थालेको पाइन्छ । त्यसरी नेपाली भाषा मिसाएर पालाम भनिएकोलाई पनि सामान्यरूपमै लिने गरिएको छ । तर, भन्न सक्दा लिम्बू भाषामै पूर्ण रूपमा भन्न सके पालामको मौलिकता तथा आत्मा बाँच्न सक्छ ।
यालाङ र पालाममा बाजाको प्रयोग
पालाम लयात्मक हुन्छ र विभिन्न भाकाहरू अपनाइन्छ । भाकाहरूमा लय, ताल, सुर साथै गहिरो साहित्य पनि पाइन्छ । यालाङ नाचमा पनि सामान्य खुट्टाको चाल अथवा कदम पाइन्छ र कदम मिलाएर नाच्न पनि सकिन्छ । तर, यालाङ र पालाममा वाद्यवादनको प्रयोग गरिंदैन । खासगरी मेला तथा विभिन्न भेटघाट अवसरहरूमा नाचिने भएकाले आफै नाच्दै, आफै पालाम भन्दै बाजा बजाउँदै नाच्न व्यावहारिक हुँदैन । यालाङ त रातदिन तथा घण्टौं समय मायापिरतीका गम्भीर सिलसिलाबद्ध श्रृङ्खलामा रही छन्दात्मक शैलीमा नाचिने भएकाले यसमा बाजाको प्रयोग हुँदैन ।
हुन त अहिले कुनै कार्यक्रम वा मञ्चमा प्रदर्शन गर्नुपर्यो भने च्याब्रुङ बाजाको ताल प्रयोग गरेको पाइन्छ । जसले नाच्न र पालाम भन्न ताल र सुर मिलाउन सजिलो हुन्छ । साथै पालामलाई गीतका रूपमा लिई गायकहरूले क्यासेटका रूपमा निकाल्दा पनि विभिन्न बाजाहरू तालका लागि प्रयोग गरेको पाइन्छ ।
पहिलेको समयमा निश्चित बाजाहरू नपाएर पनि प्रयोग नभएका हुन सक्छन् । तैपनि यस यालाङ र पालामको अबसम्मको व्यावहारिक तथा मौलिकता भनेको बाजाविहीनता नै हो ।
यालाङ र पालामको विकासक्रम
हरेक संस्कार, संस्कृतिको परिवर्तन र विकास धेरैथोरै भइरहेको हुन्छ । त्यही अनुरूप यालाङ र पालामको हालसम्मको प्रकृति हेर्दा समय र युगअनुसार यिनको विकास हुँदै आएको देखिन्छ । यालाङ बाहेक ताम्राङ्गे, केङजोरी भन्ने नाचहरू पनि पाइन्छ ।
यी नाचहरू निकै पुरानो भनेर चिनिन्छ र अहिले लगभग यो नाच पारङ्गत तरिकाले नाच्ने मान्छे पाइँदैन । सायद यी नाच यालाङभन्दा अगाडिका होलान् । पालाम भन्दै विस्तारै (यायाक) नाच्ने चलन सुरु भएपछि ती ताम्राङ्गे केङजोरी नाचहरू मान्छेहरूले बिस्तारै छोड्दै गए । कहिलेकाहीँ बुढापाकाहरूले ख्यालठट्टाका रूपमा नाचेको देखिन्छ ।
यी नाचहरू लोप हुँदै जानुको मुख्य कारण जब पालाम भन्दै विस्तारै (यायाक) नाच्न थालियो र त्यसरी पालाम भन्दा मायापिरतीका कुरामा रातदिन घण्टौं समयसम्म गम्भीर रूपमा छन्द र साङ्गीतिक तथा लयात्मक चुनौती साथै शृङ्खलाहरूको खण्डन गर्दै नाच्ने चलनले गर्दा ती पुरानो शैलीका नाचहरू लोप हुँदै गएका हुन् ।
ताम्राङ्गे, केङजोरी नाचहरू केटी–केटी र केटा–केटाबीच नाच्ने चलन थियो । महिला र पुरुष नाच्दा यो उति व्यावहारिक हुँदैन । यी नाचहरूमा हातको कुइनामा क्रसगरी अठ्याई कदम मिलाएर चर्काे र लामो फड्को गरी नाचिन्छ । त्यसकारण केटा–केटी कुइना अठ्याएर नाच्दा अप्ठ्यारो हुन्छ । तैपनि, नजिक चिनजान भएकाहरू केटाकेटीले समेत यो नाच नाचेको पाइन्छ । तर, फरासिला र धक नमान्नेहरू नयाँ चिनारीमा पनि नाच्न सक्छन् । यी नाचहरू घण्टौंसम्म नाच्न सकिँदैन । त्यसैले ख्यालठट्टा, हँस्यौलीका रूपमा सामान्य लयमा छन्द मिलाएर पालाम जस्तो भन्ने चलन पनि छ ।
यालाङ सात दिन, सात रातसम्म नाचेँ भन्नेहरु अझसम्म पनि भेटिन्छन् । तर, यी ताम्राङ्गे र केङजोरी नाचहरू सातदिन सातरात नाचेँ भन्ने मान्छे भेटिँदैन । त्यसैले यी नाचहरू निक्कै पुराना नाच हुन् र त्यसरी छन्द एवं लय मिलाउँदै श्रृंखलाबद्ध रूपमा गम्भीर भएर नाचिने मायापिरतीका नाच होइनन् ।
तिनै ताम्राङ्गे, केङजोरी नाचहरू सामान्य तरिकाले बिस्तारै नाच्दै आफ्नो भन्ने कुरा अथवा पालामलाई छन्द मिलाएर भन्दै लयात्मक तथा गम्भीर रूपमा नाच्दै जाँदा यालाङको विकास भएको हुन सक्छ । यालाङ बिस्तारै मनोरञ्जनका रूपमा मात्र नभएर मायापिरतीको एक प्रमुख माध्यमका रूपमा विकसित भयो ।
विशेषतः विवाह, दुख–सुख, हाटबजार, मेला तथा विभिन्न अवसरहरूमा यो नाच नाच्न थालियो । यालाङमा पालाम र स्वरको मुख्य भूमिका हुन्छ । पालामभन्दा केटाले केटीलाई र केटीले केटालाई कुन तरिकाले छन्द मिलाएर गम्भीर भएर आफ्ना कुरा लयात्मक तरिकाले भन्दैछ भन्ने मुख्य अर्थ हुन्छ । यसको भन्ने तरिका, छन्द, तुक्का, शब्दको चयन आदि पनि साहित्यिक रूपमा विकास भएको छ ।
पालामको लयमा क्रमशः विकास हुँदै गएको छ । विभिन्न ठाउँअनुसार र व्यक्तिको सृजनात्मक क्षमताअनुसार पनि पालामको भाका तथा लय विकसित भएका छन् ।
पछिल्लो समयमा लेखपढ गर्ने चलन आएपछि चिठ्ठीमा समेत पालाम लेखेर मायापिरतीको कुरा आदान प्रदान गर्ने चलन बढेको छ । यसरी यालाङ र पालामको विकास प्रशस्तै र व्यापक रूपमा भएको छ ।
यालाङ र पालाम : लोक वा शास्त्रीय
यालाङ परम्परागत सांस्कृतिक नाच हो भने पालाम यालाङमा भन्ने लयकारी भएकाले यसलाई परम्परागत सांस्कृतिक गायन पनि भन्न सकिन्छ । जुन नाच र गायनहरूमा मानव जातिको समूहगत भावना, लोकजीवन हर्षाेल्लास भेटिन्छ, ती सबै लोक नृत्य वा लोकसङ्गीत हुन् ।
सांस्कृतिक नाच वा गायनलाई दुई वर्गमा विभाजन गरिएको छ – लोक नृत्य/गायन र शास्त्रीय नृत्य/गायन । लोक नृत्य तथा गायनमा सुर–ताल हुन्छ तर नियमलाई ध्यान दिइँदैन । लोक गीत तथा नाच नियमलाई ध्यान नदिई परम्परागत शैलीमा सामूहिक भावना जगाउने र लोकानुभूति हुने गरी मस्त तरिकाले गाइन्छ/नाचिन्छ । तर, शास्त्रीय नाच वा गायनमा ताल, सुर, लय, मात्रा सबैको सीमा र निश्चित नियमभित्र अङ्ग सञ्चालन गरी विभिन्न भाव तथा मुद्रा प्रर्दशन गरिन्छ । शास्त्रीय गायन तथा नृत्यमा उपर्युक्त यथास्थानिक नियमलाई ध्यान दिइन्छ ।
यालाङ नाच्दा र पालामभन्दा कुनै सुर, ताल, लय, मात्रा, साहित्य, उपर्युक्त स्थान र नियमअनुसार नाचिँदैन र पालाम भनिँदैन । त्यसकारण यालाङ र पालाम लोकनृत्य र लोकसंस्कृति नै हुन् । यसमा मानवजातिको समूहगत भावना र लोकजीवन प्रस्तुत हुन्छ । कुनै निश्चित नियमविना मस्तसँग यालाङ नाच्दै पालामको गहिराइमा पुगिन्छ ।
यालाङ र पालामको वर्तमान अवस्था
केही वर्षपहिले लिम्बू गाउँहरूमा मेला लाग्नुको मुख्य विशेषता यालाङ नाच्नु थियो । अरुणपूर्वका गाउँठाउँहरूमा मेला लाग्दा लिम्बूहरू यालाङ नाच्ने गर्दथे । यालाङमै हारजित भएर वा यालाङमै मायापिरती बसी विवाह समेत हुन्थ्यो । एबउउबमष्क ९द्दण्ण्ज्ञस्छद्द० ले यालाङ अत्यन्तै प्रख्यात र विवाहका लागि जीवनसाथी पाउने आशामा नाचिन्छसम्म भनेका छन् । यालाङमै गम्भीर रूपमा आफ्ना कुराहरु राखेर भावना आदान प्रदान गरिन्थ्यो । यसरी यालाङ नाचेर विवाह समेत गरी घरजम गर्नेहरू अहिले पनि भेटिन्छन् ।
अहिले पनि विशेषगरी मेला, हाटबजार, विभिन्न अवसरहरूमा र दुःख सुखका कार्यहरूमा यालाङ नाच्ने गरिन्छ । यसमा मनोरञ्जन मात्र नभएर साइनो नलाग्नेसँग माया साट्ने माध्यमको रूपमा लिई यसरी पालाम भनेको थियो भनेर सम्झना गर्नेसमेत गरिन्छ ।
समयको परिवर्तनसँगै विभिन्न वाह्य संस्कार संस्कृतिको आगमन, विद्युतीय सामाग्री (रेडियो, क्यामेरा, टिभी आदि) ले गर्दा पनि यालाङको महत्वमा प्रभाव पर्न थाल्यो । नयाँ पिढीले तिनै वाह्य संस्कृति र रेडियो, टिभीमा प्रसारण हुने मनोरञ्जनका माध्यमहरूबाट सिको गर्न थाले । जसका कारण यालाङ र पालामहरू विद्युतीय सामग्रीहरूमा मौलिक पारा आउन सकेको छैन । त्यसैले यालाङ नाच क्रमिकरूपले छोडिँदै गएको पाइन्छ । यसको अर्काे प्रमुख कारण आफ्नो मौलिक संस्कार संस्कृति बारेमा विद्यालय शिक्षाका पाठ्यक्रममा समावेश नहुनु पनि हो ।
लिम्बूका नानीहरू पढ्नलाई विद्यालय त गए तर पाठ्यपुस्तकहरूमा आफ्नो संस्कार संस्कृतिबारे पढ्न पाएनन् । अहिलेसम्म पाएका छैनन् । त्यसो भएपछि ती लिम्बूका नानीहरू सानैदेखि आफ्नो संस्कार, संस्कृति तथा इतिहाससँग टाढा रहन गए ।
उच्च शिक्षा भन्दै सहर बजारतिर पसेपछि झन पूर्ण रूपमा आफ्नो मौलिक संस्कृतिबाट टाढा रहने मात्र होइन, केही वर्षपछि त बिर्सन पनि थाले । त्यसकारण यालाङ नाच्ने र पालाम भन्ने अवसर र वाह्य प्रभावले गर्दा अहिले यो लिम्बूको संस्कृति विस्तारै लोप हुँदै गएको छ ।
नेपालमा माओवादी जनयुद्धले लगभग केही वर्षसम्म मेलाहरू लाग्ने परिस्थिति नमिल्दा लिम्बू तरुनी तन्नेरीहरू भेट हुने अवसर मिलेन र यालाङ नाच्ने क्रम पनि निक्कै घट्न गयो । अहिले गाउँघरतिर अत्यन्तै कम सङ्ख्यामा मात्र लिम्बू युवापुस्ताले यालाङ नाचेको पाइन्छ । यदाकदा बुढापाकाहरूले भने नाच्ने गरेको देखिन्छ । अहिले मेलाहरू कुनै ठाउँहरूमा लागे तापनि युवा पुस्ता तरुनी तन्नेरीहरू त्यति नाचेको पाइँदैन । त्यसकारण अघिल्लो पुस्ताका बुढापाकाहरूको शेषपछि यालाङ पनि उनीहरूसँगै लोप हुने सम्भावना छ ।
हुन त अहिले केही लिम्बू गायकहरूले पालामको भाकालाई विद्युतीय माध्यममा ल्याएर भाका संरक्षण गरे पनि त्यो पालामसँग नाचिने नाच यालाङ भने सङ्कटमै छ । अहिले यालाङ कुनै कार्यक्रम हुँदा लिम्बूको यालाङ यस्तो थियो भनेर पाँच–दश मिनेटको दृष्य सामग्री बनाएर मञ्चमा देखाउने किसिमको मात्र अवस्था सिर्जना भएको छ । यसको खास विशेषता, प्रकृति, मौलिकता हराउँदै गएको छ ।
पालाम त शब्दको छन्दमा र भाकाहरूका कारणले विद्युतीय सामग्रीमा संरक्षण गर्न सकिन्छ । तर पालामसँग नाचिने यालाङको मौलिकता लिम्बू युवा पुस्ताले मेलापात तथा कुनै भेलाको अवसरहरूमा नाचेनन् भने यसको संरक्षण गर्न समस्या देखिन्छ ।
यालाङ र पालामको संरक्षणमा हाम्रो कर्तव्य
लिम्बू समुदायको एक विशिष्ट पहिचान यालाङ र पालाम हो । यो हाम्रो मनोरञ्जनको माध्यम मात्र नभएर परम्परादेखि हाम्रो भावना र जीवन पद्धतिलाई जीवन्तता दिने एक सशक्त माध्यम हो । लिम्बूहरू हात समाएर यालाङ नाच्छन् भनेर सबैले चिनेका छन् । यस्तो हाम्रो विशिष्ट र मौलिक संस्कृतिलाई जोगाउन र संरक्षण गर्न सबैको कर्तव्य हो । अब यालाङलाई संरक्षण गर्न व्यक्ति मात्र नभएर संस्थागत रूपमा पनि पहल गर्नुपर्दछ । यालाङको मौलिकतालाई कायम राखी नयाँ पुस्ताले पनि सिक्ने किसिमले परिमार्जन गर्न सके पालाङको संरक्षणमा सहज हुने थियो । यसका लागि गहिरो अध्ययन अनुसन्धानको आवश्यकता हुन्छ ।
नयाँ युवा पुस्तालाई यालाङमा आकर्षण गर्न संस्थागत रूपमा विभिन्न यालाङसँग सम्बन्धित प्रतियोगिताहरू आयोजना गर्नुपर्छ । जसले गर्दा एकजना मार्फत् धेरैले अभ्यास गरेर मञ्चमा मात्र प्रदर्शनका लागि भए पनि सिक्ने अवसर पाउँछन् । सहर बजारका लिम्बू तरुनी तन्नेरीहरू यो यालाङसँग अत्यन्तै टाढा छन् । उनीहरूलाई पनि संस्कृति पुनर्जागरणअन्तर्गत व्यापकरूपमा संस्थागतरूपमा परिचालन गर्नुपर्छ ।
सहर बजारमा पनि विभिन्न अवसरमा आधुनिक किसिमका मेला लाग्छन् । त्यस्ता मेलाहरूमा पनि लिम्बूहरू यालाङ नाच्दा हुने नै हो तर नाचेको पाइँदैन । त्यसैले अबको हाम्रो कर्तव्य भनेको मानसिक रूपमा नै तयार भई संस्थागत तरिकाले लाग्न आवश्यक छ ।
(युवा संस्कृतिविदका रुपमा परिचित आइत खजुम हाल ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको खाम्लुङमा खेतीकिसानी गरेर बस्दै आएका छन् । उनले एक दशकअघि नै खोज अनुसन्धान गरेर हजार पृष्ठको ‘च्याब्रुङको नालीवेली’ पुस्तक लेखेका छन् । उनै खजुमसँग खबरहबकर्मी प्रदीप मेन्याङ्बोले गरेको कुराकानीका आधारमा यो लेख तयार पारिएको हो । )
प्रतिक्रिया