र्‍यान्डममा बुद्धको जीवनीमा आधारित ‘अर्हत्’ को चर्चा « Khabarhub

र्‍यान्डममा बुद्धको जीवनीमा आधारित ‘अर्हत्’ को चर्चा


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पोखरा– उपन्यासकार शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत्’ को शनिवार पोखरामा चर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो नियमित कार्यक्रमको १११ औँ शृङ्खलामा बुद्धको जीवनीमा आधारित उपन्यास अर्हत्को चर्चा गरेको हो ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार दीपक सापकोटाले बुद्धको जीवनको गोरेटो पछ्याएर लेखिएको कृतिका रूपमा अर्हत्को चर्चा गरे ।

‘बुद्धमाथि भविष्यमा झनै अनगिन्ती कथा लेखिनुपर्छ । आज पनि लेखक शैलेन्द्र अधिकारी भनिरहेका छन्– बुद्ध बुझ्ने किताबै कम छ । म त्यही बुद्ध बुझाउने किताबमाथि सामान्य अध्ययनका आधारमा केही भन्न उभिएको छु’, सापकोटाले भने, ‘के हामीले बुद्ध चिन्यौँ ? यस किताबले यही प्रश्न गरिरहन्छ । बुद्धलाई भगवान् भन्न सजिलो भएको तर उनलाई हामीले साँच्चै अँगालेका छौँ ? चिनेका छौँ ? भन्ने टड्कारो प्रश्न सबैलाई किताबले छोडेको छ ।’

बुद्ध र बुद्धहरूको कथाका रूपमा कृति आएको भन्दै सापकोटाले प्रत्येक पृष्ठमा अनोमा नदी झैँ प्रेमपूर्वक बुद्ध बगिरहेका धारणा राखे । भने, ‘आख्यानकार शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत्’ ले बुद्धको जीवनीलाई प्राञ्जल भाषामा आख्यानीकृत गरेको छ, जसले अढाई हजार वर्षअघिको समाज–समयसँग साक्षात्कार गराउँछ ।’

उपन्यासले सिद्धार्थ गौतम कसरी ‘गौतम बुद्ध’ बने भन्ने कथा भनेको स्पष्ट पार्दै साहित्यकारसमेत रहेका सापकोटाले बुद्ध, तत्कालीन समय, बुद्धगाथा, धर्मोपदेश, सामाजिक र राजनीतिक अवस्था, जीवन, कपिलवस्तु राज्यको उत्थान र पतन नै ‘अर्हत्’ को विषय भएको बताए । बुद्धले आफैँ गृहत्याग गरेका हुन् वा राजनीतिक कारणले घर छोड्नुपरेको हो भन्ने कुरालाई किताबले विमर्शको बाटो छोडिदिएको उनको भनाइ थियो ।

उपन्यासकार शैलेन्द्र अधिकारीले आफूले बुद्ध दर्शन अध्ययनका क्रममा गुरुग्रन्थहरूबाट प्राप्त ज्ञानलाई उपन्यासमा समेटेको भनाइ राखे । पाठकका प्रश्नको जवाफ दिँदै अधिकारीले आफूले दर्शनको वकालत नगरी बुद्धको वास्तविक जीवनी पाठकमैत्री आख्यानका रूपमा प्रस्तुत गरेको स्पष्टीकरण दिए ।

ऐतिहासिक विषयवस्तुका रूपमा बुद्धको जीवनका अनेकौँ पाटालाई उपन्यासमा प्रस्तुत गरेको उनको दाबी थियो । पाली भाषानिकट भएर लेखिएका सन्दर्भ र करिब २५ सय वर्षपहिलेको कथा उपन्यासमा भएकाले केही हदसम्म भाषा क्लिष्ट भएको हुन सक्ने उनको स्वीकारोक्ति थियो ।

साहित्यकार सरुभक्तले बुद्ध नेपालमा जन्मिएको भन्न पाउनु गौरवको कुरा भए पनि ‘बुद्ध वाज बोर्न इन नेपाल’ मात्र भनेर नपुग्ने बताए । बुद्धत्व स्थापनाका लागि बुद्ध दर्शनसम्बन्धी गतिविधि र सम्पदा संरक्षणका लागि विशेष पहल गर्नुपर्ने सरुभक्तको भनाइ थियो ।

बुद्धसम्बन्धी कृतिहरूमा फरक फरक मत पाइने गरेको भन्दै उनले हामीले बुद्धलाई मानेका छौँ कि छैनौँ भन्ने प्रश्नसमेत उठ्ने गरेको प्रसङ्ग सुनाए ।

भिक्षुहरूले नै कहिले बुद्धलाई ‘भगवान्’ भन्ने र कहिले भगवान् होइनन् मानव नै हुन् भन्ने दोधारे प्रवृत्तिप्रति असन्तुष्टि उनले राखे । बौद्ध दर्शनसम्बन्धी प्राविधिक शब्दहरूको ज्ञानसमेत दिने अर्हत् उपन्यास पठनीय रहेको सरुभक्तको भनाइ थियो ।

छवि सुवेदी ‘विजयी’, भरतमणि भट्टराई, त्रुपक, सम्राट् गुरुङलगायतले टिप्पणी गरेका कार्यक्रमको सञ्चालन सहसचिव दीपक पराजुलीले गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको सोसाइटीका सदस्य बाबुराम सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ४ : २० बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो