आय र व्यय क्षमतामा चुक्दै ओली सरकार « Khabarhub

आय र व्यय क्षमतामा चुक्दै ओली सरकार

आम्दानीभन्दा खर्च ८६ अर्बले बढी, पुँजीगत खर्च ९.८ प्रतिशतमात्रै


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्थिक गतिविधि चलायमान गराउने र विकास निर्माण अभियानलाई तीव्रता दिने प्रतिबद्धतासहित गठित केपी शर्मा ओली नेतृत्वको वर्तमान गठबन्धन सरकार विनियोजन दक्षता र खर्च क्षमतामा चुकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले अद्यावधिक गरेको दैनिक बजेटरी तुलनात्मक विश्लेषण तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चार महिना (साउन-कात्तिक) सम्म सरकारले आम्दानीभन्दा झण्डै ८६ अर्ब रुपैयाँ बढी खर्च गरेको छ । चार महिनामा चार खर्ब १५ अर्ब दुई करोड २० लाख रुपैयाँ खर्च गरेको सरकारले कुल आम्दानी भने तीन खर्ब २९ अर्ब एक करोड ५५ लाख रुपैयाँमात्रै गरेको छ ।

सरकारले यो चार महिनामा गरेको आय र व्ययको अन्तर गत आर्थिक वर्षको समान अवधिभन्दा झण्डै २७ अर्ब रुपैयाँले बढी हो । गत आर्थिक वर्षको कात्तिकसम्म सरकारले तीन खर्ब ५५ अर्ब ८० करोड २३ लाख रुपैयाँ खर्च र दुई खर्ब ९७ अर्ब ७७ करोड २३ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । आम्दानी र खर्चको अन्तर ५८ अर्ब तीन करोड रुपैयाँ थियो ।

स्रोत व्यवस्थापनमा कमजोर देखिएको सरकार प्राथमिकताप्राप्त क्षेत्रमा खर्च बढाउन पनि चुकेको छ । गत आर्थिक वर्षको कात्तिसम्म ९.९४ प्रतिशत पुँजीगत खर्च भएकोमा यो वर्षको कात्तिकसम्म पनि अवस्था उस्तै छ । कात्तिक मसान्तसम्म पुँजीगत खर्च जम्माजम्मी ९.८ प्रतिशत छ ।

पुँजीगततर्फ चालु आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएकोमा हालसम्मको खर्च ३४ अर्ब ५३ करोड १० लाख रुपैयाँमात्र छ । चालुतर्फ भने सरकारले कुल विनियोजनको २५.६५ प्रतिशत अर्थात्‌ दुई खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख रुपैयाँ खर्च गरेको हो । वित्तीय व्यवस्थापनतर्फ २३.९५ प्रतिशत खर्च भएको छ । यो चार महिनामा अनुदान प्राप्तिमा सरकाार शून्य अवस्थामा छ ।

नयाँ सरकार बनाउन संसद्‌का प्रमुख दुई ठूला दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच व्यवसायी रामेश्वर थापाको चपली हाइटस्थित घरमा सात बूँदे सहमति भएको थियो । सो सहमतिको तेस्रो बूँदामा ‘अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने’ उल्लेख थियो ।

आर्थिक मामिलासँग सम्बन्धित पाँचाैँ बूँदामा ‘राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने’ लेखिएको थियो ।

प्रधानमन्त्री ओली नेतृत्वको एमालेकै उपाध्यक्ष विष्णुप्रसाद पौडेल हालका उपप्रधान तथा अर्थमन्त्री हुन्‌ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १ : ०३ बजे

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी