काठमाडौं– माघको जाडो । बालबालिकाहरूको बिदा । तर, काठमाडौंमा सार्वजनिक पार्कहरू नहुँदा बालबालिकाले खेल्ने, घाम ताप्ने र घुम्ने ठाउँ पाएका छैन । कोठामै कुँजिएर दिन बिताउनुपर्ने बाध्यता छ । अभिभावकहरूलाई साना बालबालिकालाई घुमाउन कहाँ लैजाने भन्ने पनि चिन्ता छ ।
दोलखा निवासी ६५ वर्षीया शिवमाया खड्कालाई गाउँमा आमा एक्लै हुनुभयो भन्दै छोराबुहारीले काठमाडौं ल्याए । तर, डेरामा घाम ताप्न नपाइपछि उनी अहिले गाउँको न्यानो घाम र सार्वजनिक स्थललाई ‘मिस’ गरिरहेकी छिन् ।
कोटेश्वरमा बस्दै आएकी शिवमाया भन्छिन्, ‘चिसोमा एकै ठाउँमा बस्दा घुँडा दुख्ने समस्या बढ्छ, कोठामा घाम छिर्दैन त्यसैले खुट्टा तन्काउने बहानामा हिँड्दै नजिकैको मदन भण्डारी पार्कमा जाने गरेकी छु ।’
उनी भन्छिन्, ‘छोराबुहारीले गाउँमा एक्लै भएँ भनेर काठमाडौंमा ल्याएर राखेका छन् । तर, यहाँ हिँड्ने डुल्ने ठाउँ छैन । एकै ठाउँ बस्दा कुँजिएको जस्तो अनुभव हुन्छ ।
शिवमायाको डेराबाट कोटेश्वरको महादेव स्थान मन्दिर नजिकै रहेको मदन भण्डारी पार्क पुग्न करिब १० मिनेट जति लाग्छ, दिउँसोको समयमा छोरा बुहारी अफिस जान्छन्, शिवमाया सानी १४ महिनाकी नातिनी लिएर पार्कमा दिउँसो घाम ताप्न जान्छिन् ।
स्थानीयबासीले बनाएको मदनभण्डारी पार्क यति बेला बुढाबुढीका लागि घाम ताप्ने प्यारो चौतारो बनेको छ । त्यहाँ ज्येष्ठ नागरिकदेखि लिएर स्कुलका कलेजका विद्यार्थीहरू पनि पुग्ने गरेका छन् । पार्कमा पैसा लाग्दैन, निःशुल्क छ ।
अनामनगरको पिपल मन्दिरमा नाति डोर्याएर हिँडिरहेकी एक हजुरआमा भन्छिन्, ‘नजिकै कुनै पार्क भइदिएको भए त्यही खुला ठाउँमा छोड्दा बच्चा मजाले खेल्थ्यो नि, के गर्नु काठमाडौंमा त्यस्तो ठाउँ छैन ।’
अहिले कलेज बिदा छ तर घुम्न कतै पार्कहरूमा जाँदा काठमाडौंमा त्यस्तो ठाउँ खासै नभेटिने विद्यार्थी राजु फुयाँल बताउँछन् ।
उनी भन्छन्, ‘घुम्नका लागि सहर भन्दा बाहिरै जानुपर्ने अवस्था छ । कुनै त्यस्तो पार्क होस्, जहाँ बसेर शान्त वातावरणमा पुस्तक वा पत्रिका पढ्न पाइयोस् । अहिले भएका पार्कहरू पनि कृत्रिम र फोहोर थुप्ररिएका हुन्छन् ।’
पार्कको छेउमा डस्बिन राखिदिएको त हुन्छ तर मानिसहरू आफूले खाएका खानेकुराको फोहोर र पानीका बोतल डस्बिन बाहिरै फाल्छन् र पार्कलाई फोहोर बनाउँछन् ।
कोटेश्वर कजेल पढ्ने विद्यार्थी पूजा तामाङ भन्छिन्, ‘धुलो, धुवाँ भीड र कोलाहलपूर्ण काठमाडौंमा शान्त र खुला ठाउँ कहाँ होला भन्ने लाग्छ । सधैँभरि घरैमा बस्दा अल्छी लाग्छ । त्यस्तो बेलामा नजिकका साथीहरूलाई बोलाएर कुनै पार्कमा घाम ताप्दै सुन्तला बदाम खान मन लाग्छ ।’
दिउँसो घाम ताप्न कहिलेकाहीँ युएन पार्क जाने गरेको उनले सुनाइन् । यो पार्कमा अरु मानिसहरू पनि बिहानीको समयमा मर्निङ वाक गर्न र दिउँसो घाम ताप्न आउने गरेको पूजा बताउँछिन् ।
रत्नपार्कमा छिर्न पैसा !
काठमाडौंमा नाम चलेकै पार्कको हो रत्नपार्क । यो पार्कको नाम राजा महेन्द्रले आफ्नी पत्नी रत्नका नाममा राखेका थिए । यो २०१८ सालदेखि निर्माण सुरु गरेर २०२१ सालमा सम्पन्न भएको थियो ।
रत्नपार्क बालबालिकाहरूका लागि राम्रो मानिन्छ । यहाँ उनीहरूका लागि खेल्ने पिङदेखि लिएर चिप्लेटीसम्मको व्यवस्था छ । तर, यहाँ छिर्दा पैसा लिने गरिएको छ ।
पार्कभित्र पछिल्लो समय ‘फ्री वाईफाई’ जोडिएको छ । त्यसले पनि केही मानिसहरू तानिएका छन् । तर, सार्वजनिक स्थलमा छिर्न पैसा तिर्नुपर्ने चलन पञ्चायतकालमा थिए, लोकतन्त्र आएपछि सुरु गरिएको हो ।
रत्नपार्कमा छिर्नका लागि विद्यार्थी र अरु मान्छेमा फरक मूल्य निर्धारण गरिएको छ । विद्यार्थीले आइडी कार्ड लिएर जाँदा केही छुट पाउँछन् ।
पछिल्लो समय पहिलाजस्तो रत्नपार्कहरूमा मानिसहरू धेरै जाने गरेको देखिँदैन । काठमाडौंको धेरै ठाउँमा जानका लागि यहीँबाट गाडी पाइने हुनाले बिहानदेखि रातिसम्म रत्नपार्कमा मानिसको निकै ओहोरदोहोर हुन्थ्यो । अहिले त्यो कम भएको छ ।
मानिस धेरै ओहोरदोहोर गर्ने भएपछि फुटपाथमा कपडा, पत्रपत्रिका र नाङ्लो पसलदेखि सडकमै खानेकुरा बेच्ने र किन्नेको पनि भिड देखिन्थ्यो । अहिले रत्नपार्कमा त्यस्तो भिडभाड देखिँदैन ।
कतिपय पार्कहरू काठमाडौंमा यस्ता पनि छन्, जहाँ जानका लागि बस चढेर नै जानुपर्ने अर्थात् लामो समय लगाएर हिँडेर जानुपर्ने स्थिति छ ।
भृकुटीमण्डप पनि ‘अकुपाइड’
भृकुटीमण्डप जस्तो सार्वजनिकस्थल ठेक्कामा लगाएर निजीकरण गरिएकाले बालबालिकाले त्यहाँ पनि विगतमा जस्तो स्वतन्त्र भएर घुम्न पाउँदैनन् । फनपार्कमा पैसा तिर्नुपर्छ, आर्थिक मन्दीका बेला अभिभावकहरुसँग पैसा हुँदैन ।
काठमाडौंमा बसोबास गर्ने अधिकांश मानिसमा भिटामिन डीको कमी हुने गरेको छ । एक त भिटामिन डीको मात्रा थाहा पाउनकै लागि महँगो शुल्क तिर्नुपर्छ । निःशुल्क भिटामिन डी पाइने घाम ताप्ने सुविधा काठमाडौंमा बसोबास गर्ने धेरै मानिसहरूलाई छैन ।
एकातिर बालबालिकालाई खेल्ने पार्क र सार्वजनिकस्थलको अभाव छ भने अर्कोतर्फ घाम चाहिने प्रौढहरूका लागि पार्कहरूको सुविधा पर्याप्त नहुँदा काठमाडौं शहर कोठाभित्र कुँजिएजस्तो भान हुन्छ ।
पार्क भनेको मानिसले दुःख बिसाउने चौतारी हो । मान्छे आफूलाई एकान्त चाहिएका बेलामा पार्कमा गएर बस्न चाहन्छ । युगल जोडीको प्रेम साट्ने ठाउँ पनि हो पार्क । तर, काठमाडौंमा न दुःख बिसाउने ठाउँ छ, न प्रेम साट्ने ।
काठमाडौंको जनघनत्व दिन प्रतिदिन बढ्दै छ । त्यही अनुपातमा नै खुला ठाउँहरू पनि मासिँदै र पार्कहरू साँगुरिँदै छन् । काठमाडौंलाई घरै घरले च्यापिएको सहर भन्दा पनि फरक नपर्ला । मान्छे हिँड्न समेत अप्ठ्यारो पर्ने अवस्था त हामी सबैले भोगिरहेका छौँ ।
कोठा भाडा लिएर बस्ने मानिसहरूलाई घामको मुख देख्न पनि निकै गाह्रो हुन्छ । चिसोमा दिउँसोको समयमा कता गएर घाम ताप्ने त भन्दा त्यस्तो ठाउँमा सहजै स्थानमा नभएको बूढाबूढीहरूको मुख्य समस्या छ ।
पर्याप्त सार्वजनिक स्थलहरू नहुँदा भूकम्प लगायतको जोखिम पनि बढी हुने गर्दछ ।
तस्बिर : चिरायु शाक्य/खबरहब
प्रतिक्रिया