काठमाडौं– नेपालका कम्युनिष्ट नेताहरुले पार्टीभित्र आफूलाई भनेजस्तो भएन भने ‘लुतो कन्याउन पाउनुपर्छ’ भन्ने गरेका छन् । लुतो कन्याउने भन्दै उनीहरु आपसी अन्तरविरोध हुनासाथ फुट्ने गरेका छन् ।
चीनमा सन् १९२१ मा कम्युनिष्ट पार्टी स्थापना भएपछि ६० को दशकमा सर्वहारा सांस्कृतिक क्रान्ति कालमा आपसी मारामार नै भयो, तैपनि अहिलेसम्म पार्टी फुटेको छैन । नेपाली कांग्रेस पनि शेरबहादुर देउवाले एकपटक फुटाएको बाहेक अहिलेसम्म जति नै झगढा भए पनि प्रायः फुटेको छैन । तर, नेपालका पूर्वपञ्चहरुको पार्टी राप्रपा आपसमा मिल्नै नसक्ने पार्टी बन्न पुगेको छ । कम्युनिष्टहरु त झन् लुतो कन्याउने भन्दै एकाध वर्षमा फुटिरहने गरेका छन् ।
राजावादी र कम्युनिष्टको सिद्धान्त मिल्दैन । तर, फुट्ने मामिलामा भने उनीहरुको अघोषित सहकार्य नै हुने गरेको छ । एउटै नीति, सिद्धान्त र एजेन्डा भए पनि दुबै धारका दलहरु टुक्रा–टुक्रा भएर हिँडिरहेका छन् ।
रोचक पक्ष के छ भने नेपालका राजावादीहरु मिल्दा र बलियो हुँदा नेपालको लोकतन्त्र खतरामा परेको दृष्टान्त छ । त्यस्तै कम्युनिष्टहरू मिल्दा नेपाली कांग्रेस कमजोर भएको देखिन्छ ।
कतिपयले राजावादीहरु मिल्नुपर्ने तर्क गर्छन् । कोही कम्युनिष्टहरु मिल्नुपर्छ भन्छन् । तर, पछिल्लो समय राजावादी पनि फुटेका फुट्यै छन् । कम्युनिष्टको अवस्था त्यस्तै नै छ ।
राजावादी मिल्दा लोकतन्त्रमा जोखिम
०४६ सालको जनआन्दोलनले संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था स्थापना भएपछि पूर्वपञ्चहरुले राप्रपा थापा समूह र राप्रपा चन्द समूह नाममा दुईवटा पार्टी खोले । ०४८ को चुनावमा उनीहरु बेग्लाबेग्लै लडे ।
०५१ को मध्यावधि चुनावमा मिलेर लड्दा राप्रपाले २० सिट जित्यो । त्यहीँबाट लोकेन्द्र बहादुर चन्द र सूर्यबहादुर थापा पालैपालो प्रधानमन्त्री बने, प्रजातन्त्र संकटमा प¥यो । तर, सत्तामा गएपछि पञ्चहरु फेरि फुटे । आपसमा मिल्दा राजावादीहरु तेस्रो बलियो शक्ति बनेका थिए ।
अहिले राजेन्द्र लिङ्देनको समूह १४ सिट लिएर प्रतिनिधि सभामा छ । विभिन्न प्रदेशमा पनि उसले उपस्थिति जनाएको छ । उता कमल थापा पनि सानो आकारको राप्रपा नेपाल बनाएर बसेका छन् । उनीहरू एकापसमा फुटेका छन् । ‘राष्ट्रिय एकता दिवस’ पनि बेग्लाबेग्लै मनाउँछन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकीकरणका लागि जोड दिएको भए पनि राप्रपा अध्यक्ष लिङदेन त्यसको कुनै सम्भावना तत्काल नभएको बत्ताउँछन् ।
थापाले खबरहबसँगको अन्तरवार्तामा भनेका थिए, ‘पार्टी एकीकरणका लागि हामी छलफल गर्न तयार छौँ ।’ तर राजेन्द्र लिङदेनले खबरहबलाई पार्टी एक हुने कुनै सम्भावना नै नभएको सुनाए । उनी भन्छन्, ‘नपुग्ने ठाउँको बाटो के सोध्नु र?’
एमाले छाडेर विद्रोही बनेका झापाका दुर्गा प्रसाईले पनि राजावादीको बहस लिएर हिँडेका छन् । तर, प्रसाईसँग मिल्न राप्रपाका नेताहरु तयार छैनन् ।
कम्युनिष्टको दुःख पनि पञ्चको जस्तै
कम्युनिस्ट पार्टीहरू एक भएको अवस्थामा कांग्रेस कमजोर भएको देखिन्छ । कांग्रेस र कम्युनिष्टको द्वन्द्वको फाइदा राप्रपाले उठाएको देखिन्छ ।
२०५४ फागुन २१ गते नेकपा एमाले विभाजित भयो । ०५६ को निर्वाचनमा नेपाली काङ्ग्रेसले बहुमत पायो । एमाले विभाजनको फाइदा कांग्रेसले उठायो ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीको उदय भयो । तर, दुई कम्युनिष्टहरु मिलेनन् । दोस्रो संविधानसभाको चुनाव २०७० सालमा भयो । त्यसमा पनि कम्युनिष्टहरु मिलेनन् ।
बल्ल २०७४ को चुनावमा माओवादी एमालेबीच सहकार्य भयो र बहुमत आयो, केपी ओली प्रधानमन्त्री बने । पार्टी एकता भयो । तर, कम्युनिष्टहरु फेरि पनि मिल्न सकेनन्, तीन वर्षमा ओली, प्रचण्ड र माधव नेपालले पार्टीलाई तीन चोइटा बनाए ।
दोस्रो संसदीय निर्वाचन २०७९ मा भयो । त्यसमा कम्युनिष्ट फुटेको फाइदा उठाउँदै नेपाली कांग्रेस पहिलो दल भयो । यो चुनावमा कम्युनिष्टहरु मिलेका भए उनीहरुकै बहुमत आउन सक्थ्यो । कम्युनिस्ट नमिल्नुको फाइदा नेपाली कांग्रेसले यसैगरी विगतदेखि नै उठाउँदै आएको छ ।
नेपालमा एउटै विचार र एउटै सिद्धान्त भएका पार्टीहरू एक आपसमा नेतृत्व टकराबका कारण एक हुन नसकेको संविधानविद् विपीन अधिकारी बताउँछन् । उनी भन्छन्, ‘लोकतन्त्र संस्थागत हुनका लागि कम्युनिस्ट पार्टीहरु एक भएको राम्रो ।’
त्यस्तै, राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘जनतालाई फाइदा हुने र नेपाल बन्ने कुरामा पार्टी एक हुँदा राम्रो । तर, नेताहरुको आन्तरिक बेमेल र पार्टीहरुको फुटले जनतालाई पनि असर गरेको छ ।’
प्रतिक्रिया