पल्सर स्पोर्ट्स अवार्ड : पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक | Khabarhub Khabarhub

पल्सर स्पोर्ट्स अवार्ड : पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन आज सार्वजनिक भएको छ ।

मञ्चले यहाँ एक कार्यक्रम आयोजना गर्दै पिपुल्स च्वाइसका पाँच जना खेलाडी मनोनयन सार्वजनिक गरेको हो । आगामी माघ २८ गते हुने २०औँ संस्करणको मनोनयनमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ परेका छन् ।

अवार्ड कार्यक्रम यसअघि माघ १२ गते तय भए पनि प्राविधिक कारणले कार्यक्रम केही दिन पछाडि सारिएको मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए । खेल क्षेत्रमा पाएका सफलता र लोकप्रियताका आधारमा यस विधामा खेलाडीलाई मनोनयन गरिएको हो ।

फुटबलका अनन्तले घरेलु फुटबलमा आफ्नो नेतृत्वमा लगातार सफलता दिलाएका छन् । यस क्रममा उनले आफ्नो कप्तानीमा चर्च ब्वाइज युनाइटेडलाई ‘ए डिभिजन’ लिगको पहिलो वर्षमै विजेता बनाउनुका साथै यसै सिजनको नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीलाई उपाधि पनि दिलाएका थिए ।

त्यस्तै विप्लवलालले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराते च्याम्पियनसिपमा रजत पदकका साथै चीनको हाङझावो सम्पन्न १९औँ एसियाली खेलकुदमा दुई बाउट जित्न सफल भएका थिए ।

काभा महिला भलिबल च्यालेन्ज कपमा कास्य विजेता निरुता केशवलाल स्मृति महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी हुन् । शारीरिक सुगठनकी रजनी श्रेष्ठ भने नेपालमै सम्पन्न एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा ५५ केजीमाथि तौलसमूहकी स्वर्ण पदक विजेता हुन् । शारीरिक सुगठन खेल पुरुष खेलाडीका लागि मात्र हो भन्ने मान्यतालाई चिर्दै रजनीले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएकी छन् । टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ डबल्समा राष्ट्रिय च्याम्पियन र स्ट्याग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुन् ।

यस विधाको विजेता इसेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जाल र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ ।

इसेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आवद्ध २७ राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षकको मतभार १२ दशमलव ५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२ दशमलव ५ प्रतिशत हुनेछ । भोटिङ कार्यक्रमको अघिल्लो दिन बन्द हुनेछ । भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानीका लागि सेवाप्रदायक कम्पनी इ–सेवासँग आज नै एक कार्यक्रमबीच सम्झौता भएको छ । इसेवाका तर्पबाट चिफ बिजनेस अफिसर आशीष गौतम र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सो अवसरमा गौतमले मनोनयनमा परेका पाँचै जनालाई इसेवा केयर प्याकेज प्रदान गरिने बताए । त्यसमा रु एक लाख बराबरको स्वास्थ्य प्याकेज रहेको छ । मञ्चले इसेवासँग लगातार चौथो वर्षको सहकार्य हो । मञ्चका अध्यक्ष सुवेदीले इसेवालगायत अन्य प्रायोजकलाई धन्यवाद दिँदै अवार्डका अन्य चार विधामा पनि केही दिनमा नै सार्वजनिक गरिने बताए ।

पल्सर स्पोर्ट्स अवार्ड २०७९ को अन्य विधामा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट युवा खेलाडी र पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड छन् ।

यसपटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेताले पाँच वटा बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन दुई सय ५० र तीन वटा एन एक सय ६० मोटरसाइकल छन् अन्य विधाका विजेतालाई जनही रु ५० हजार र उपहार प्रदान गरिनेछ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ८ : ५५ बजे

जाजरकोट कारागारमा थुनुवा मृत फेला

सुर्खेत– जाजरकोट कारागारमा थुनामा रहेका एक कैदी मृत फेला परेका

कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैन : भारतीय परराष्ट्रविद्

नयाँ दिल्ली- भारतका परराष्ट्रमामिलाबारे जानकार रबिन्दर सचदेवले काश्मिरमा कुनै पनि

सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीसाधन

बागमती प्रदेशसभाको अधिवेशन आह्वान

मकवानपुर- बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको १६ औँ अधिवेशन

९ महिनाअघि १०० मा पाइने सामानको भाउ बढेर १०३ रुपैयाँ ३९ पैसा पुग्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अर्थात चैत