महोत्तरीमा सजिउनको व्यावसायिक खेती  « Khabarhub

महोत्तरीमा सजिउनको व्यावसायिक खेती 


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा सजिउन (मुन्गा)को व्यावसायिक खेती बढ्न थालेको छ । स्वास्थ्यका लागि गुणकारी मानिने सजिउनको खेतीमा यहाँका प्रत्येक घरपरिवार लागेका छन् । खेतका आली र कतैकतै रुखो कान्लाबारीमा पनि सजिउनका बोट लगाएको देख्न सकिन्छ । 

बर्दिवास नगरपालिका–६ र ७ का अधिकांश बस्तीका किसानले १०-१५ सङ्ख्यामा सजिउन हुर्काइरहेका छन् । सेताम्य फूल्न लागेका सजिउनका बोटमा जोसुकैको नजर पर्न थालेका छन् । ‘हाम्रो बस्तीका सबै जसो घरपरिवारले कम्तीमा पनि १०-१२ सजिउन लगाएकै छन्’, बर्दिवास–६ किसाननगरको कृष्णपुरका २५ वर्षे सरोज यादवले भने, ‘पछिल्ला पाँच-सात वर्षयता सजिउन लगाउनेको सङ्ख्या बढ्न थालेको छ ।’ खानाका लागि स्वादिष्ट हुनुका साथै स्वास्थ्यका दृष्टिले पनि गुणकारी भएको उनको भनाइ छ ।

खनजोत, गोडमेल खासै केही गर्नु नपर्ने सजिउनको रुख रोप्न सजिलो छ । हुर्केको बोटको छिप्पिएको हाँगा काटेर चिस्यान भएको ठाउँमा एक हातजति खाल्डो खनेर गाडेपछि हुर्कने हुँदा यसलाई कम मेहनतको खेती पनि भनिन्छ ।

‘यसपाली रोपेको हाँगो अर्को वर्ष फलिहाल्छ, अनि बजारमा अरु तरकारीको तुलनामा राम्रो मूल्यमा बिक्छ’, बर्दिवास–७ जुरेटोलका किसान धनसिंह केप्छाकीले भने, ‘एउटा राम्ररी झाङ्गिएको बोटबाट सिजनभरि घरमा खाएर तीनदेखि चार हजारसम्म आम्दानी गर्न पनि सकिन्छ ।’

बजारमा बिक्री गर्न समस्या नहुने र मूल्य पनि राम्रो पाइने भएपछि किसानमा पछिल्ला केही वर्षयता सजिउनको खेतीमा आकर्षित भएको उनको भनाइ छ । गत वर्ष आफ्ना पाँच-छ वटा बोटबाट घर र आफन्तकहाँ खपत भएर पनि रु १५ हजारभन्दा बढीको बिक्री गर्न सफल भएको क्याप्छाकीले सुनाए। 

सजिउनको बोटमा सामान्यतः चैत-वैशाखमा राम्रो फल लाग्छ । मधेसमा खासगरी मिथिला क्षेत्रमा प्रत्येक वर्षको चैत–वैशाखमा आठ–दश छाकमात्रै सजिउनको तरकारी खाने चलन थियो । यसको सेवनबाट बिफरलगायत छालासम्बन्धी समस्या नहुने विश्वास छ । मिथिलामा प्रत्येक नयाँ वर्ष मनाइने जुडशीतल पर्वमा ‘सजिउनको’ को परिकार विषेश तयार हुन्छ । 

विशेष गरी महोत्तरीका उत्तरीक्षेत्रका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा बर्सेनि यसको खेती बढ्दो छ । बर्दिवास नगरपालिकाका पूर्वपश्चिम राजमार्ग मास्तिर (उत्तर)का खयरमारा, टुटेश्वर, गणन्ता, चेरु, सोनापेटी, वरडाँडा, भब्सी, पाटु, कालापानी, रजबास, पर्साहीधापसहितका बस्तीमा अहिले सेताम्य फुलले ढकमक्क सजिउनका रुख बाक्लै देखिन्छन् । सजिउन चैतदेखि जेठभरिकै घरघरकै तरकारी हुने गरेको बर्दिवास-१० खयरमाराका ६० वर्षीय प्रेमध्वज लामाले बताए।

‘सिजनभरि तरकारी खाएर सबैले बुटैपिच्छे सरदर तीन-चार हजारको सजिउनको फल बेच्छन्’, लामाले भने ‘गरिब परिवारका किसानलाई पनि चैत वैशाखको अनिकालमा यो घरगुजाराको सहारा बनेको हुन्छ ।’

सजिउन स्वास्थ्यका लागि गुणकारी तरकारी भएको हुँदा खानामा यसको प्रयोग बढ्दा रोगप्रतिरोधात्मक क्षमता बढ्ने बर्दिवास अस्पतालका मेडिकल अफिसर डा किशोर अधिकारी बताउँछन् । सजिउनको कलिलो मुन्टा, फुल  र फल तरकारीमा प्रयोग गरिनछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ५ : १९ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।