पढाइ स्नातकोत्तर, काम भेडा गोठालो ! « Khabarhub

पढाइ स्नातकोत्तर, काम भेडा गोठालो !


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

खोटाङ – पढेलेखेका व्यक्तिले ‘जागिर नै खानुपर्छ’ भन्ने ठान्ने नेपाली समाजमा स्नातकोत्तर गरेको व्यक्तिले गोठाले जीवन बिताइरहेको सुन्दा अनौठो लाग्ने नै भयो । कतिपयले त पढेको मान्छेले यस्तो काम पनि गर्छन् भनेर हेयको दृष्टिले पनि हेर्छन् ।

तर केपिलासगढी गाउँपालिका–१ तेराहाका लक्ष्मण साम्पाङ ‘समिप’ लाई त्यसको प्रवाह छैन । उहाँ पाँच सय बढी भेडाको बथानमै रमाइरहेका छन्‌ ।

राजनीतिक शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण साम्पाङले विगत पाँच वर्षदेखि मुन्धुम भेडापालन फार्मदर्ता गरेर व्यावसायिक रुपमा भेडापालन व्यवसाय गरिरहेका छन्‌ । हाल उनको फार्ममा ५०० जति उन्नत (बडुवाल) जातका भेडा छन्‌ ।

दुःखजिलो गरेर स्नातकोत्तर पढाएको छोरा सरकारी जागिरे होस् भन्ने बुबाआमाको चाहनाविपरीत आफू भेडापालन व्यवसायमा लागेको साम्पाङले बताए । ‘म सानैदेखि स्वतन्त्रतामा रमाउने मान्छे । सरकारी वा अन्य जागिरमा त्यस्तो हुँदैन । राजनीतिशास्त्र पढेको मान्छे राजनीतिमा रुचि हुने नै भयो तर त्यसका लागि आर्थिक अवस्था राम्रो हुनुपर्‍यो नि ! त्यसैले यो व्यवसाय रोजेको हुँ’, उनले भने ।

दिक्तेलस्थित सालपा विकास बैंकबाट ऋण लिएर २० लाख रुपैयाँमा उन्नत जातका १८० भेडा खरिद गरी व्यवसाय सुरु गरेका उनले हाल वार्षिक करिब २० लाख रुपैयाँ आम्दानी हुने गरेको सुनाए । वि.सं. २०५८ देखि राजनीतिमा समेत सक्रिय ३९ वर्षीय साम्पाङले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राजनीति पनि सँगसँग अगाडि बढाएको बताए। उनले पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को जिल्ला तहदेखि केन्द्रीय सदस्यसम्मको भूमिका निर्वाह गरिसकेका छन्‌ भने हाल पार्टीको केपिलासगढी गाउँपालिका कार्यसमिति सचिव छन्‌ ।

युवा पुस्तालाई ‘राजनीतिलाई पेसा हैन, सेवा गर्ने माध्यम बनाउनुपर्छ’ भन्ने सन्देश दिन भेडापालन व्यवसाय सुरु गरेको बताउने सम्पाङलाई आफ्नै सहोदर अन्तरे भाइ भैराज साम्पाङले सहयोग गर्दै आएका छन्‌ । यसका साथै उनले स्थानीय दुई जनालाई पनि आफ्नो व्यवसायमा जोडेका छन्‌ ।

‘म, भाइ र स्थानीय पृथीराज राई र कल्याण राई पछिल्लो समय यही व्यवसायमा रमाइरहेका छौँ । चारै जनाले पालैपालो लेकबेँसी, भेडीचोकमा बसेर भेडाको हेरचाह गरिरहेका छौँ’, साम्पाङले भने, ‘हिउँदको समयमा बेँसी क्षेत्रको रावा फाँट तथा स्थानीय बासिन्दाको खेतबारी र वर्षाद्को समयमा लेकाली क्षेत्र मयुङ लगायतका फाँटहरूमा चरनका लागि पुर्‍याउने गरेका छौँ ।’

चारैजना भेडा फार्ममा हुर्किरहेका भेडाका थुम्बा (साँढ) र पाठापाठीसँगै पर्यटकीयस्थल मयुङ (झण्डै तीन हजार रोपनी क्षेत्रफलमा फैलिएको) का घाँसे मैदानमा रमाइरहेका भेटिन्छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–१ फेदी, भोजपुरको टेम्केमयुङ गाउँपालिका–१ तिम्मा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङको मनोरम दृष्यले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गर्छ ।

बाह्रै महिना ढकमक्क फुलिरहने विभिन्न प्रजातिका फूल, समथर घाँसे मैदान, प्रयाप्त पानीको स्रोत, जडीबुटी तथा विभिन्न ठाउँको दृष्य देखिने यस ठाउँमा भेडाको बथानले माहोल थप हेर्नलायक हुन्छ । पर्यटकीयस्थल मयुङ समुन्द्री सतहदेखि तीन हजार ३३३ मिटर उचाइमा पर्दछ ।

साम्पाङले भेडाको साँढ, पाठापाठी, मासु, ऊन र घ्यू बिक्रीबाट आम्दानी हुने गरेको बताए । यहाँ भेडाको साँढ ५० हजार, मासु प्रतिकेजी ८००, ऊन प्रतिकेजी ५०० सम्म र घिउ प्रतिकुरुवा चार हजार रुपैयाँसम्म बिक्री हुने गरेको उनले सुनाए ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ९ : २३ बजे

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२

अर्जेन्टिना र स्विट्जरल्यान्डको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनलमा निर्धारित समयमा १–१ को

विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्डको

वनफूलले सिँगारिएको ढोरपाटन

बागलुङ– समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै