पर्यटक बढे, होटल व्यवसायी उत्साहित | Khabarhub Khabarhub

पर्यटक बढे, होटल व्यवसायी उत्साहित

पशुपति र लुम्बिनीमा धार्मिक पर्यटकको घुइँचो


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पछिल्लो समयमा विदेशी पर्यटकको आगमनमा वृद्धि भएको तथ्यांकले देखाएका छन्। कोभिड महामारी र त्यसपछि आर्थिक मन्दीको प्रभावले समस्यामा परेका होटल व्यवसायीमा पर्यटकको आगमनमा भएको वृद्धिले उत्साह जगाएको छ।

२०१९ मा नेपालमा ११ लाखभन्दा बढी पर्यटक भित्रिएका थिए। त्यसपश्चात नेपालमा कोभिडले शुन्य बनेको पर्यटन व्यवसाय २०२३ सम्म आइपुग्दा पर्यटकको आगमन राम्रो भएको देखिन्छ। सन् २०२३ मा झन्डै १० लाख पर्यटक नेपाल भित्रिएका थिए।

२०२३ मा सरकारले राखेको लक्ष्य पनि पूरा भएको छ। २०२४ को पहिलो महिना जनवरीमा मात्रै ७९ हजार ९ सय पर्यटक आएका छन् भने फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटक आएका थिए।

मार्च महिनामा भने पर्यटकको बहार नै आएको तथ्यांकले देखाएको छ। मार्चमा मात्रै १ लाख १८ हजार १६७ पर्यटक आए।

पर्यटकको वृद्धिले होटल व्यवसायीमा खुशी ल्याएको हानका महासचिव साजन शाक्य बताउँछन्। ‘यो समय भनेको पर्यटक आउने सिजन नै हो, सोचेजस्तै पर्यटक आउँदा धेरै खुसी लागेको छ’, उनी भन्छन्।  मार्चमा मात्रै १ लाखभन्दा बढी पर्यटक आएकाले व्यवसायीमा उत्साह जगाएको उनले बताएका छन्। साथै यो वर्ष पहिलेको तुलनामा अझै पर्यटक बढ्ने उनको भनाइ छ।

कोभिडको समयबाट नै पर्यटकको पर्खाइमा रहेका व्यवसायीहरु अहिले भने पर्यटकहरुलाई व्यवस्थापन गर्न व्यस्त रहेको महासचिव शाक्यले बताएका छन्। उनका अनुसार पछिल्लो समयमा होटलहरुको संख्यामा पनि वृद्धि भएकाले पर्यटकको व्यवस्थापनमा सहज भएको छ।

सातै प्रदेशमा खोलिएका होटेलहरुले ३० लाख संख्यासम्मको पर्यटक धान्न सक्ने उनको भनाइ छ।

‘विभिन्न स्कीमहरु ल्याएर उनीलाई विदेशको जस्तै सेवा सुविधा प्रदान गरेर उनीलाई खुसी बनाउने प्रयास गरेका छौं, त्यसबाट प्रभावित भएर अन्य पर्यटकलाई पनि नेपाल जान सुझाव दिएको पनि हामीले पाएका छौं’, उनले भने, ‘नेपालमा पहिले १२ वटा रहेको पाँचतारे होटल थिए भने अहिले बढेर २० वटा पुुगेका छन्, त्यस्तै सातै प्रदेशमा सुविधा सम्पन्न होटलहरु पनि निर्माण भइरहेका छन्, अहिले ठमेलमा मात्रै ६ सय भन्दा बढी होटलहरु निर्माण भएका छन्। ’

पछिल्लो समयमा बाह्य पर्यटकको वृद्धिसँगै आन्तरिक पर्यटकको संख्यामासमेत वृद्धि भएको व्यवसायीले बताएका छन्। व्यवसायीकाअनुसार विगतको तुलनामा यतिबेला नेपाली पनि घुम्नका लागि निस्केका छन्।

‘आन्तरिक पर्यटक पनि उल्लेखनीय बढेकाले पर्यटन व्यवसाय निकै सहज भएको छ’, महासचिव शाक्यले भने, ‘विदेशबाट आउने पर्यटकले अग्रिम रुम बुकिङ गर्ने गरेकाले व्यवस्थापन गर्न त्यति असहज भएको छैन। ’

भौगोलिक, प्राकृतिक बनावट, धार्मिक तिर्थस्थल, जैविक विविधता लगायतले नेपाल पर्यटकको लागि आकर्षक गन्तव्य बनेपनि पूर्वाधारको अभावले ती गन्तव्य ओझेलमा परेको धेरैको बुझाइ छ। मूख्य पर्यटक आवतजावत गर्ने स्थलमा भौतिक पूर्वाधार जीर्ण अथवा जोखिमपूर्ण भएका कारण पनि समस्या देखिएको छ।

सम्भावना हुँदाहुँदै पनि सरकारी नीति र काममा देखिएको सुस्तताले गर्दा सम्पूर्ण पर्यटन क्षेत्रले पीडा भोग्नु परेको हानका महासचिव शाक्यले खबरहबसँग बताएका छन्।

देशमा पर्यटक आगमनमा देखिएको तथ्यांकको प्रभाव भने पोखरामा नदेखिएको होटल व्यवसायी संघका अध्यक्ष हरि शर्मा गैरेले बताएका छन्। खबरहबलाई प्रतिक्रिया दिँदै उनले पहिलेको तुलनामा आन्तरिक पर्यटकमा पनि कमि आएको बताए।

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा बोर्डको पहल
नेपाल पर्यटन बोर्डले अन्तराष्ट्रिय पर्यटन प्रर्वद्धन गर्नका लागि विभिन्न कार्यक्रम लिएर प्रचारप्रसारका लागि विदेश जाने योजना बनाएको बताएको छ। बोर्डका सूचना अधिकारी मणीराज लामिछानेले वैशाख महिनाबाटै पर्यटन प्रवद्र्धनका लागि व्यवसायीलाई नै उपस्थित गराएर विभिन्न देशमा जाने तयारी रहेको बताए।

‘कोभिडको समयदेखि पर्यटन प्रवद्र्धनको लागि धेरै देशहरुमा हाम्रो भौतिक उपस्थिति थिएन’, उनले भने, ‘यो वर्षबाट भौतिक उपस्थितिमा नै पर्यटन प्रवद्र्धनका लागि धेरै देशसँग कुराकानी भएको छ, यहि महिनामा नै धेरै ठाउँमा पर्यटन व्यवसायीको टोली पुग्छ।’

‘यस्तै दुबईमा अरेबियन ट्राभल मार्टमा ९ जनाको टोली प्रचारप्रसार गर्नका लागि जान लागेको छ’, अधिकारी लामिछानेले थपे।

विभिन्न देशसँग सिधा उडानको लागि आवश्यक पहल गर्ने कार्यक्रम पनि रहेको बोर्डले जनाएको छ। २०२३ बाट २०३२ लाई पर्यटकीय दशक मानिएको छ। सो दशकमा कम्तीका ३५ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेको बोर्डले जनाएको छ।

नेपाल सरकारले पनि २०२५ लाई भ्रमण वर्ष बनाउने भनेको छ। त्यसका लागि पनि आवश्यक काम अगाडि बढाएको बोर्डले जनाएको छ।

 

धार्मिक पर्यटकको संख्या बढ्दो
नेपालमा धार्मिक पर्यटकको उपस्थिति बाक्लो हुन थालेको छ। भारतबाट आउने अधिकांश पर्यटक धार्मिक रहेको तथ्यांकले देखाएको छ। पशुपतिनाथदेखि मुक्तिनाथसम्म खासगरी भारतीय हिन्दु धार्मिक पर्यटकको बाक्लो आगमन रहेको देखिन्छ।

त्यस्तै, लुम्बिनीमा विश्वभरीका बौद्ध धर्मालम्बी तिर्थस्थलका रुपमा आउने गरेका छन् भने आन्तरिक पर्यटकले भने सबै क्षेत्रलाई गन्तव्य बनाएर भ्रमण गर्ने गरेको पाइन्छ।

सरकारका विभिन्न तहहरु र व्यवसायीहरु पर्यटन क्षेत्रको थप विकास गर्नका लागि विभिन्न कार्यक्रमहरुमा पनि सहकार्य गर्दै आएका छन्। भरतपुर भ्रमण वर्ष २०२४, घुमौं लुम्बिनी, पोखरा र ठमेलको २४ सै घण्टा खुला लगायतका कार्यक्रमले पनि पर्यटक आगमनमा थप ऊर्जा प्रदान गरेको देखिएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ९ : १५ बजे

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ