कतारको रोजगारी हापेका रेयर राईको अभिनय यात्रा | Khabarhub Khabarhub

कतारको रोजगारी हापेका रेयर राईको अभिनय यात्रा

नेपालमै बसेर फिल्म खेल्न ‘म्यादी प्रहरी’मा जागिर


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जस्तोसुकै गरीब परिवारमा जन्मे पनि निरन्तर संघर्ष र साधना गरिरहे मानिस एक दिन सफल भइछाड्छ भन्ने सकारात्मक उदाहरण हुन्- कलाकार रेयर राई ।

कलाकार राई  चलचित्र क्षेत्रमा सहायक भूमिकाबाट केन्द्रीय भूमिकामा देखिन थालेका छन् । उनी अनमोल केसी, आयुस्मान देशराज जोशी, सलिनमान बानिया लगायतका स्टार नायकसँग सहायक भूमिकामा अभिनय गरेर दर्शकको नजरमा परिसकेका कलाकार हुन् ।

भर्खरै प्रदर्शनमा आएको फिल्म ‘खजुरे ब्रो’ मा उनी केन्द्रीय भूमिकामा देखिए । जसमा उनको जोडी मोडल नीति शाह छन् । आधा दर्जनभन्दा बढी फिल्ममा सहायक भूमिकामा देखिएका रेयर आफ्नो परिचय नायकका रुपमा स्थापित गर्ने चरणमा छन् ।

कलाकार बन्न मोरङबाट काठमाडौं छिरेका रेयर नाटक हुँदै ठूलो पर्दामा आएका हुन् । एक दशक बढी अवधिको अनुभवका साथ उनी अभिनयमै केन्द्रित छन् । फिल्म नहुँदा नाटक र नाटक नहुँदा फिल्म खेल्ने उनी दुई केन्द्रीय र चार सहायक भूमिकामा रहेका फिल्म पाइप लाइनमा रहेको बताउँछन् ।

‘क्राउड आर्टिस्ट’ देखि फिल्मको केन्द्रीय भूमिकासम्म निर्वाह गरेका रेयरको अभिनय यात्रा :

बाल्यकालको दुःख

रेयरको जन्म सोलुखुम्बुमा भए पनि आर्थिक समस्याले उनको परिवार मोरङ झर्‍यो । तीन छोरा र श्रीमती लिएर मोरङ झरेका रेयरका बुबा दुःखका दिन सम्झँदा ‘चामलको भात खान तराई झरेको’ अहिले पनि बिलौना गर्छन् ।

तीन वर्षको उमेर सोलु छोडेका रेयरलाई बाल्यकाल मोरङको घुम्ती केन्द्रित बाल्यकाल मात्रै याद छ । ३३ वर्ष लागेका बुबा आर्थिक समस्याले कतार छिरेपछि आमा, दाइ र भाइसँग बाल्यकाल बितेको उनी बताउँछन् ।

आर्थिक हैसियत कमजोर भएकाले सानै उमेरमा ज्यालादारीमा चोरीको काठ बोकेको र खोलाको ढुंगा जम्मा गरेर बेचेको उनले भोगेका बिर्सन लायक घटना हुन् ।

‘साथीहरुसँग खोलामा माछा मार्ने, पौडी खेल्ने र खोलाको ढुंगा जम्मा गथ्र्यौं । गाडी आएपछि बेच्थ्यौं,’ उनी भन्छन्, ‘चोरीको काठमा बोक्न राति जंगल पनि गएँ । ज्याला फिटको २ देखि ५ रुपैयाँसम्म दिन्थ्यो । मैले सात फिटसम्मको काठ बोक्थेँ ।’

ती दिनको सम्झना गर्दा दाइले अहिले ‘तँ सानो थिस्’ भने पनि त्यसबेला जिम्मेवारीबोध भएको परिपक्व छोराको मानसिकताले काम गरेको उनी सम्झन्छन् ।

बुबा विदेश गएपछि आर्थिक अवस्था सहज बनेपछि चोकमा घर बनाएर फेरि बसाइँ सरेको उनको बाल्यकालको खुसीको क्षण हो । उत्तरी मोरङबाट बिराटचोक आएपछि क्याम्पस पढ्दा नै अभिनयमा होमिने साहस पलाएको उनी बताउँछन् ।

‘स्कुलमा हुँदा एकदमै लजालु थिएँ । साथीहरुले नाटक गर्दा म नि गर्नसक्छु जस्तो लाग्थ्यो तर गर्छु भनेर बोल्ने आँट थिएन,’ उनी भन्छन्, ‘प्लस टू पढ्न जाँदा बाटोमा अभिनय सिकाइन्छ भन्ने सूचना देखेर बुझ्न गएको, सिट सकिएछ, अर्को वर्ष आइज भन्यो ।’

त्यसपछि दुई सय तिरेर रेडियो नाटकमा फारम भरे पनि अडिसन दिन नपाएको उनी बताउँछन् । उनी भन्छन्, ‘सुसेली एफएम खुल्यो, रेडियो नाटकका लागि धुर्मुस, सुन्तली र माग्ने बूढाले अडिसन लिने भनेर सूचना निकाल्यो । फारम भरेँ । मलाई अडिसनमा नै बोलाएन ।’

अभिनय सिक्न काठमाडौं

पढ्न सानैदेखि कमजोर रेयरलाई ‘प्लस टू’मा भाइले उछिने, उनी उत्तीर्ण हुन सकेनन् । त्यसपछि भाइ संगीत र उनी अभिनय सिक्न विसं २०६८ सालमा काठमाडौं आए । भाइ केही वर्षमा नै विदेश लागे पनि उनी अभिनयमै केन्द्रित बने ।

कोटेश्वरमा डेरा । बागबजारमा अभिनयको कक्षा धाएको सुरुवाती महिनामै दुई फिल्म र एक सिरियलमा ‘क्राउड आर्टिस’ भएर काम गरेको उनी सायदै बिर्सिन्छन् ।
‘साप्ताहिक पत्रिकामा विज्ञापन देखेर बागबजार अभिनय सिक्ने गएको थिएँ । दुई फिल्ममा क्राउडको भूमिका गर्न त्यहीबाट गएँ । बिचौलियाले हाम्रो नाममा तीन सय लिँदो रहेछ तर हामीलाई दिएन अनि गइनँ’ रेयर सम्झन्छन् ।

पासिङ रोलमै काम गरे पनि ‘गुठी’ सिरियलको अनुभवले भने उनलाई अहिले पनि खुसी दिन्छ । कारण हो– गाउँमा टीभीमा देखिएको चर्चा हुनु ।

‘फिल्ममा जस्तै यहाँ पनि सम्वाद बिनाको रोल थियो । फुटबल खेलेको थिएँ तर गाउँमा चिनेर हल्ला भएछ । आमालाई पनि छोराले फिल्म खेल्यो भनेर सुनाएछन्,’ उनी भन्छन्, ‘हल्लै हुने गरी कति रहेछ रोल भनेर हेरेको पिलिक्क अनुसार देखिएको रहेछ । मैले त आफ्नो ढाड मात्रै देखेँ, कसरी गाउँकाले चिने जस्तो लाग्यो ।’

फिल्म बनाउने तयारीले निष्कासन

बागबजारमा अभिनय सिकेको एक महिना नबित्दै त्यहाँ चिनजान भएका साथी र दाइहरुले फिल्म बनाउन उकासेको रेयरलाई अहिले महसुस हुन्छ ।

‘राम्रो अभिनय गर्दो रहेछौं भाइ, फिल्म बनाउनुपर्छ मिलेर भने । ४०–४० हजार उठायौं । सबै नयाँ केटाहरु भएकाले के फिल्म बन्थ्यो, अहिले सोच्दा केटाहरुले फोकटमा उचालेछन् जस्तो लाग्छ’ उनी भन्छन् ।

सो फिल्म ‘द रिजन’ त बनेन बरु उल्टै ‘इन्सिच्युट’ले आएको एक महिनामै फिल्म बनाउन लागेको थाहा पाएर निष्कासन गरिदियो । ‘के हो ? आउन पाएको छैन फिल्म बनाउने तिमीहरु भनेर गाली गर्‍यो । अब तिमीहरु अभिनय सिक्न पाउँदैनौं भन्यो’ उनी सुनाउँछन् ।

निष्कासनमा परेपछि दुई वर्ष हल्लिएरै बिताएको रेयरलाई महसुस हुन्छ । उनी भन्छन्, ‘दाइहरुले चाहिने सामान दिन्थे । सर्टमुभी र डकुमेन्ट्रीहरु त बनाइयो तर त्यसले प्रगति भएन । त्यसपछि घरबाट विदेश जा भन्ने दबाब आउन थाल्यो ।’

बुबाले आफ्नै कम्पनीमा कतार बोलाएकाले उनी त्यसतर्फ जान तयार पनि नभएका होइनन् । तर, कम्पनीले नै नेपालीलाई नलैजाने भएपछि उनी नेपालमै रोकिए । त्यहीबेला उनले परिवारलाई जागिर खाँदै छु भन्ने देखाउन म्यादी प्रहरीमा जागिर खाए ।

‘अभिनय त मलाई छोड्नुथिएन । त्यसमा पनि समय दिन पाइने, तीन महिना जागिर खाँदा राम्रै पैसा (४५ हजार) आउने भनेर जागिर खाएँ,’ उनी भन्छन्, ‘भक्तपुरमा म्यादीको प्रतिस्पर्धा गरेँ । १३ सय जनामा दौडमा पहिलो भएर जागिर खाएको हुँ ।’

म्यादीमा चिनेका साथीहरुबाट ‘क्याट्रिन बोई’को समेत काम गरेको उनी बताउँछन् । ‘अभिनयमा समय दिन म पार्टटाइम काम खोज्थेँ । हल्का खर्च पनि जुट्थ्यो ।’ उनी भन्छन् ।

मण्डलाको तेस्रो ‘ब्याच’

अभिनयका साथीहरुको करले पहिलो पटक थिएटरमा पुगेर हेरेको नाटक ‘इब्सन ल्याब’ रेयरको मानसपटलबाट अझै हटेको छैन । उनी भन्छन्, ‘त्यो नाटक मण्डलाकै झुर प्रडक्सन भनेर अझै चर्चा हुन्छ । तर मलाई त्यो नाटकले यति छोयो कि हेरेको हेर्‍यै भएँ ।’

उनका लागि यो नाटक विशेष हुनुका दुई कारण यी हुन्– पैसा नभएर पहिला थिएटर जान नपाउनु र अभिनय मोह ।

‘साथीहरुले राजेश हमालले खेलेको नाटक हेर्न जाऔं भन्दा पैसा नभएर गएको थिइनँ । पहिलो पटक थिएटरमा नाटक हेरेको, म त मोहित भइहालेँ नि,’ उनी भन्छन्, ‘त्यो नाटक हेरेपछि अभिनयका लागि स्थान यो पो रहेछ भन्ने भयो र तेस्रो ब्याचमा भर्ना भएँ ।’

उनी मण्डलाकोे ‘लक्की’ ब्याचमा पर्छन्, अर्थात् वरिष्ठ रंगकर्मी सुनील पोखरेलले मण्डलामा पढाएको एक मात्र ब्याचमा पढ्न पाउने कलाकार उनी हुन् ।

भाग्यमानी यो अर्थमा पनि हुन् कि यही ब्याचले प्रयोगात्मकका लागि बनाएको नाटक ‘जार’ लोकप्रिय मध्य एक हो । रेयरको दाबी छ, ‘त्यसबेला १५ दिनमा सबैभन्दा बढी कमाइ गर्ने नाटक नै यही थियो ।’

‘जार’ हिट भएपछि पारिश्रमिक वापत पाएको एक हजार उनको अभिनयको पहिलो कमाइ हो । त्यसपछि दुईवटा नाटक गरेपछि फिल्ममा अफर आएको उनी सम्झन्छन् ।

‘चौथो नाटक गरेर निस्किएको थिएँ । सान्न बस्नेत दाइले तिम्रो अभिनय राम्रो लाग्यो, यसअघिको पनि नाटक हेरेँ, तिम्रो काम राम्रो छ भन्नुभयो,’ उनी भन्छन्, ‘तिम्रा लागि एउटा भूमिका छ, काम गर्छौ ? भन्नुभयो ।’

कुन फिल्म नसोधी प्रस्ताव स्वीकार गरेका उनी निर्देशक दीपेन्द्र के खनाललाई भेटेपछि मात्रै नाम ‘चपली हाइट–२’ थाहा पाएको बताउँछन् ।

उनी भन्छन्, ‘दीपेन्द्र सरले के हो, को हो ? सोध्दै हुनुहुन्थ्यो । सान्न दाइले थिएटरको भाइ भनेपछि ल सम्झौता गराउ भन्नुभयो ।’

पहिलो फिल्ममा जोडिँदा त्यसबेला जीवनकै ठूलो रकम ५५ हजार पारिश्रमिक पाएको उनी बताउँछन् ।

केन्द्रीय भूमिका र नाटक

चपली हाइट–२ बाट औपचारिकरुपमा फिल्ममा अभिनय सुरुवात गरेका रेयरले पछाडि फर्केर हेर्नुपरेको छैन । उनले आधा दर्जनभन्दा बढी फिल्ममा सहायक भूमिका र एक फिल्ममा केन्द्रीय भूमिका निर्वाह गरेका छन् ।

‘म सधैँ नै व्यस्त छु । फिल्म नहुँदा नाटक गर्छु, नाटक नहुँदा फिल्म,’ उनी भन्छन्, ‘६ फिल्म प्रदर्शनमा आउन बाँकी छन् । दुईवटामा केन्द्रीय भूमिकामा छु ।’

त्यस्तै, उनले अभिनय गरेको नाटकको संख्या १५ भन्दामाथि छ । प्राविधिक रुपमा समेत जोडिएको नाटकको संख्या दुई दर्जन पुगेको उनी बताउँछन् ।

अहिले उनी भक्तपुरमा बुबाले बनाएको घरमा बस्छन् । उनको अभिनयप्रतिको लगाव देखेर परिवारका सदस्य नै चकित छन् । उनी भन्छन्, ‘अस्ति विदेशबाट बिदामा आउँदा भाइले भन्दै थियो, दाइ त एक दुई महिनामात्र अभिनय गर्नुहुन्छ भनेको, निरन्तर लाग्नुभयो । म त छक्क पर्छु ।’

अभिनयमा लागेर आर्थिक संकट र खालीपेट हुँदासमेत विचलित नभएका उनी अभिनयमै जीवन बिताउने दृढ लक्ष्यमा केन्द्रित छन् । उनी भन्छन्, ‘पहिला केही थिएन र त अभिनयमा लागेँ । अहिले आफ्नै घर छ, कमाइ राम्रै छ । यो चाहेर आएको क्षेत्र हो । अन्तिमसम्म यहीँ काम गर्छु ।’

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ५ : ०४ बजे

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार

चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा

झापा – मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि

माछापुच्छ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गण्डकी – कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले

इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी

द हेग – अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन