१४ सय २० वर्ष पुरानो पनौती जात्रा मनाइँदै « Khabarhub

१४ सय २० वर्ष पुरानो पनौती जात्रा मनाइँदै


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको ऐतिहासिक पनौती नगरमा एक हजार चार सय २० वर्षदेखि मनाइँदै आएको हिले जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य रहेको छ ।

त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल मनाइने हिलेजात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन हो ।

जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्‍याउनेले  कहिल्यै सुख पाउँदैन भन्ने स्थानीय बूढापाकाको भनाइ छ ।

त्रयोदशीको तीन दिनअघि आज पनौतीको ऐतिहासिक क्षेत्रमा अवस्थित भैरवनाथ, भद्रकाली, इन्द्रेश्वर र ब्रह्मायणी मातालाई मन्दिरको आसनबाट केही तल सारेपछि औपचारिक रुपमा जात्रा सुरु भएको मानिन्छ । विशेष रुपमा यस वर्ष असार ६ गते अर्थात् बिहीबारदेखि शुक्रबारसम्म धुमधामका साथ मनाइन्छ ।

स्थानीयले भैरवनाथ र भद्रकालीको रथ बनाउँछन् भने मन्दिरहरूमा तोरण र झल्लरीसहित बत्ती तथा रङ्गाउने राख्ने काम भइरहेको छ ।

जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिएको पाइन्छ । जात्रा सकिएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुन्छ । यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि बर्षा हुनैपर्छ । प्रत्येक वर्ष यस्तै हुँदै आएको यहाँका स्थानीयसँग अनुभव पनि छ ।

किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टीका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्गमतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आइएको स्थानीय समाजसेवी तुयुकाजी ताम्राकार बताउँछन् । उनका अनुसार करिव पचास मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रुपमा दुईवटा बाँस तेर्स्याइने र देवगण एक घण्टा लगाएर तर्ने गर्छन् ।

तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रुपमा लिने गरिएको छ ।

जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठ मन्दिरमा धुमधामहित पूजाअर्चना गरिने स्थानीय वृद्ध विकुनारायण ताम्राकारले बताए ।

उनका अनुसार इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित गणेशको मूर्तिलाई खटमा राखी अबीरजात्रा गरी नगर परिक्रमा गराइन्छ ।

जात्राको तेस्रो अर्थात् पूर्णिमाको दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने गरिन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिँदै युवायुवतीको सहभागिता उत्साहजनक रहने गर्दछ ।

स्थानीय वृद्धवृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुप धारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफाली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुप धारण गरी भद्रकालीलाई भगाउँछन् ।

भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइने गरिएको मानिन्छ । रथ जुधाइसँगै अबीरजात्रा पनि हुन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्द्रेश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रह्मायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् ।

धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनिक सम्बन्ध प्रस्तुतिका रुपमा लिइएको हो । रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तँछाडमछाड गर्छन् अनि, थाक्दैनन् पनि ।

इन्द्रेश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो । विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो तर, पछिल्ला केही वर्षदेखि देवतारुपी रथलाई ठूलो सहभागितामा दिउँसो जुधाउने गरिएको छ । स्थानीय मुख्य पर्व जनाउँदै जात्राको अन्तिम दिन नगरपालिकाले सार्वजनिक बिदासमेत दिने गरेको छ ।

जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू)हरु सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ ।

कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ठ हुने, खडेरीले दुःख दिने जस्ता आध्यात्मिक विश्वास मनमा पाल्ने भएकाले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ ।

अर्को रोचक प्रसङ्ग जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ । यसपछि यी सामग्रीको बिक्री सुरु हुने पनि जनविश्वास छ । जात्रामा चिउली चपाएर जिब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन् । स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाइ स्वागत सत्कारका साथ भोज गर्छन् । भोजका लागि प्रत्येक घरमा बलि दिने प्रथा अझै कायम रहेको छ ।

किंवदन्तीअनुसार राजा प्रताप मल्लले विसं १२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ ।

तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता (लिलावती) र रोशी खोला (रुद्रावती)बाहेक पद्यमावती नदी गुप्तरुपमा ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बगिरहेको मान्यता रहेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ११ : १४ बजे

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र