स्वदेशमै पुग्दैन बिजुली, प्राधिकरणलाई निर्यातकै हतारो ! « Khabarhub

स्वदेशमै पुग्दैन बिजुली, प्राधिकरणलाई निर्यातकै हतारो !



काठमाडौं– यो सिजन चर्को गर्मीका कारण देशभर विद्युत् खपत बढ्दा नेपाल विद्युत् प्राधिकरणलाई लोड व्यवस्थापनमा सकस पर्यो । तराईका जिल्लामा मात्रै होइन, काठमाडौं उपत्यकामा गर्मी अचाक्ली बढेपछि साँझको पिक आवरमा विद्युत् खपत २ हजार १७० मेगावाटसम्म पुग्यो । जुन विगतको भन्दा निकै बढी विद्युत् खपत हो ।

विद्युत् खपत धान्न नसकेर प्राधिकरणले साढे २ सय मेगावाट भारतबाटै आयात गरिरहेको थियो । राष्ट्रिय प्रणालीमा झन्डै ३ हजार २ सय मेगावाटको जडित क्षमता पुगेको छ । तर, देशभर वर्षा नहुँदा हिउँदयामकै अवस्था रहेकाले अहिले १७ सय देखि १८ सय मेगावाट हाराहारी बिजुली उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ ।

स्वदेशमा उत्पादित र आयाति बिजुलीबाटसमेत लोड व्यवस्थापन नहुँदा साढे २ सय मेगावाट अपुग भएको प्राधिकरणका प्रवक्ता चन्दकुमार घोषले बताए ।

बिजुली अपुग हुँदा औद्योगिक क्षेत्रका उद्योगहरुले १५ घण्टाभन्दा बढी लोडसेडिङको मार खेप्नुपरेको छ । दिनको ७÷८ घण्टा उपलब्ध हुने बिजुली पनि ‘ट्रिपिङ’ समस्याले उद्योग चलाउन सक्ने अवस्था नरहेको उद्योगीहरुको गुनासो छ ।

४०० मेगावाट निर्यात हल्ला मात्रै

एकातिर स्वदेशमा मागअनुसारको विद्युत् अपुग छ । अर्कातिर भारतबाट आयात गर्नुपर्ने बाध्यता । यस्तो अवस्थामा पनि प्राधिकरणलाई निर्यातकै हतारो छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत जेठ १४ बाट भारततर्फ ४०० मेगावाट बिजुली निर्यात सुरु गरेको दाबी गरेका थिए ।

प्राधिकरणले ‘भारततर्फ विद्युत् निर्यात सुरु’ शीर्षकको तयारी समाचार सञ्चारमाध्यमलाई पठाउनसमेत भ्यायो । गर्मीयामका कारण देशभर विद्युत् खपत बढ्दो थियो । विद्युत् उत्पादन घटिरहेका बेला कसरी निर्यात हुन थाल्यो ? भन्ने जिज्ञासा स्वभाविक पनि हो ।

तर, प्राधिकरणकै प्रवक्ता घोषले तत्कालका लागि नभई विद्युत् उत्पादन बढ्ने बेला बर्खायामको बढी हुने (सरप्लस) बिजुली मात्रै निर्यात गर्ने भनिएको बताए ।

प्राधिकरणले ४०० मेगावाट बिजुली निर्यात थालेको हो भन्ने प्रश्नमा घोषले खबरहबसँग भने, ‘छैन, छैन । प्रणालीमा लोड घट्दा र सरप्लस हुने अवस्थामा मात्रै ४०० मेगावाट निर्यात गर्ने भनिएको हो ।’ प्राधिकरणले स्वदेशमा विद्युत् खपत बढाउनेभन्दा निर्यातमै हतार गर्दा समस्या भएको छ ।

५ सय मेगावाट बिजुली खेर जाने

स्वदेशमा खपत भएर बढी भएको बिजुली निर्यात गर्नै पर्छ । तथापि, स्वदेशमै विद्युत् लोड नपुगेर आयात गर्नुपरेको अवस्थामा प्राधिकरणले विद्युत् निर्यातकै गफ लगाउन नहुने विज्ञहरु बताउँछन् । प्रसारण तथा वितरण लाइन सुधार गरेर प्राधिकरणले स्वदेशमै खपतमा जोड दिनुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की बताउँछन् ।

‘प्रसारण लाइन बनाएर स्वदेशमै विद्युत् खपत बढाउने योजना अघि सार्नुपर्छ,’ उनले भने, ‘त्यसपछि मात्रै बढी हुने र बर्खायामको बिजुली निर्यात गर्न सक्नुपर्छ ।’ प्राधिकरणले विद्युत् प्रसारण लाइन समयमै निर्माण नगरिदिँदा बर्खायाममा बिजुली खेर गइरहेको उनले बताए ।

प्राधिकरणले समयमै प्रसारण लाइन नबनाइदिएकाले आउँदो बर्खायाममा ५ सय मेगावाट हाराहारी बिजुली खेर जाने जोखिम रहेको कार्की बताउँछन् । बर्खायाम सुरु हुनासाथ खोलामा पानीको बहाव बढ्दा जलविद्युत् आयोजना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थाल्छ ।

उत्पादित बिजुली ग्रीडसम्म पुर्या‍उन आवश्यक प्रसारण लाइन नबन्नु र कम क्षमताको प्रसारण लाइनका कारण बिजुली खेर जाने गरेको छ ।

नेपालबाट सरदर ८.६७ रुपैयाँ प्रतियुनिटका दरले प्राधिकरणले भारतीय बजारमा विद्युत् बिक्री गर्दैछ। अर्थशास्त्रीका अनुसार प्रतियुनिट ८.६७ रुपैयाँ निर्यात गर्ने बिजुली स्वदेशमै खपत गर्न सकेको भए ४५ रुपैयाँ आम्दानी हुने अनुमान छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  २ : ३६ बजे

विश्वकपमा हारपछि विवादमा बेलिङ्घम, उत्सव मनाइरहेका अर्जेन्टिनी खेलाडीसँग धक्कामुक्का

एटलान्टा- फिफा विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ को हार बेहोरेपछि इंग्ल्यान्डका

केही क्षणको वर्षाले काठमाडौंका सडक जलमग्न (तस्बिरहरू)

काठमाडौं– बिहीबार दिउँसोको वर्षाका कारण काठमाडौंका विभिन्न सडक डुबानमा परेको

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज

अलपत्र आयोजना सम्पन्न गर्न सरकारको ३० दिने अल्टिमेटम

काठमाडौं- सरकारले निर्माणको अन्तिम चरणमा पुगेर अलपत्र परेका आयोजनाहरू सम्पन्न गराउन

सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न निर्देशन

काठमाडौं– सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा आदेश जारी गर्दै महोत्तरी कारागारमा