सेलिब्रेटीको नेता हुने रहर- भुइँको लोभ गर्दा पोल्टाकै सत्यानाश ! | Khabarhub Khabarhub

सेलिब्रेटीको नेता हुने रहर- भुइँको लोभ गर्दा पोल्टाकै सत्यानाश !



काठमाडौं– लोकप्रिय हुन सबैलाई मनपर्छ । गन्यमान्य हुने महत्वाकाङ्क्षा नकारात्मक पनि होइन् । त्यसका लागि मानिसले निकै परिश्रम गर्छ । अर्जुनदृष्टि लगाएर रातदिन नभनी मेहनतमा जुट्छ । तबमात्र एक मानिसले चीरस्थायी पहिचान बनाउन सक्छ ।

आफ्नो काम र क्षमताले लोकप्रिय हासिल गर्नु कम उपलब्धि होइन् । तर अझ बढी लोकप्रियताको भोकले मानिसलाई अलोकप्रिय बनाउँदै लगेका उदाहरण प्रशस्त छन् । कुनै एक क्षेत्र र विषयमा उत्कृष्टता हासिल गरेकाहरू अर्को क्षेत्रमा गएर आफ्नो पहिचान छायाँमा पारेका छन् ।

पछिल्लो समय कलाकार, कर्मचारी, समाजसेवी लगायत सबै क्षेत्रमा राम्रो नाम कमाएकाहरूको पनि अन्तिम लक्ष्य राजनीति रहेको छ । राजनीति कुनै पनि क्षेत्रभन्दा निकै फरक छ । आफ्नो क्षेत्रमा ‘हिरो’ भएकाहरू राजनीतिमा आएर ‘जिरो’ भएका छन् ।

राजनीतिको आकर्षण बाहिरबाट हेर्दा जस्तो सरल छैन । तर नाम र दामको लागि राजनीति नै उपयुक्त हुने देखेपछि सामाजिक रूपमा नाम कमाएकाहरू राजनीतिमा प्रवेश गरेका छन् ।

तर जब राजनीतिमा प्रवेश गर्छन्- त्यहाँभित्र पुगेपछि अन्योलमा पर्छन् । केही त राजनीतिमा लागेर पछुताएका छन् । पुरानो पहिचान र उपलब्धिमा समेत नोक्सान पुगेको अनुभव गर्छन । उपसभामुख इन्दिरा रानाले राजनीतिमा लागेर गलत गरेको सार्वजनिक अभिव्यक्ति दिएकी छिन् ।

राजनीतिमा लागेर आफ्नो पुरानो सामाजिक छविसमेत गुमाएका केही व्यक्तिहरू यसप्रकार छन् ।

इन्दिरा रानामगर

उनी राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य हुन् । उपसभामुख निर्वाचित भएकी उनले सत्तारुढ गठबन्धनको समर्थनमा १६६ मत प्राप्त गरेकी थिइन् ।

उनको जन्म २०२७ सालमा झापाको शनिश्चरेमा भएको हो । सानैदेखि समाजसेवामा रुचि थियो । बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष रानाले जेल सजाय भोगिरहेका महिलाका कलिला सन्तानलाई शिक्षा, अधिकार सुनिश्चितताको प्रत्याभूति दिने काम गरिरहेकी थिइन् ।

समाजसेवा बापत सन् २००५ मा उनले अशोक फेलो जितेकी थिइन् । त्यस्तै सन् २०१७ का लागि बीबीसीको १०० प्रेरणादायी महिला सूचीमा उनी छानिएकी थिइन् । सामाजिक सेवाको कदरस्वरुप विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट सम्मानित उनले वर्ल्ड चिल्ड्रेन्स र एशिया २१ युवा नेता सार्वजनिक सेवा पुरस्कार प्राप्त गरेकी छन् ।

३ दशकदेखि उक्त काममा संलग्न रहेको बताउने रानाले त्यस क्रममा जेलमा बस्नुपर्ने विवशतामा रहेका सयौँ बालबालिकाको उद्धार गरिन् । कोभिड महामारीका बेला पनि उनले कैयौँ दिन आम्दानीको अभावमा भोकमरीमा परेकाहरूलाई खानाको व्यवस्था गरिन् ।

पछिल्लो समय असम्बन्धित व्यक्तिहरूलाई अमेरिकाको भिसाका लागि उपसभामुखको लेटरहेड दुरुपयोग गरेको आक्षेप उनीमाथि लागेको छ । उपसभामुखजस्तो गरिमामय पदलाई बालबालिका तथा मानव बेचबिखनमा सक्रिय गराएको भन्दै राना विरुद्ध संसदमै उठेको विरोधको स्वर अझै मत्थर भएको छैन ।

करिश्मा मानन्धर

सदावहार नायिकाको रूपमा चिनिने करिश्माको जन्म सन् १९७१ मा ललितपुरमा भएको हो । आमा कोमल केसी र बुबा क्षेत्रबहादुर केसीका दुई छोरीमध्ये उनी जेठी छोरी हुन् । उनले शुभतारा स्कूलबाट एसएलसी सम्मको पढाई पूरा गरेकी हुन् । गोदावरीमा रहेको किटिनी माविबाट उनले १२ पास गरिन् ।

२०४२ सालमा १४ वर्षकै कलिलो उमेरमा चलचित्र सन्तानबाट उनले अभिनय यात्रा सुरु गरेकी थिइन् । करिश्मा करिब तीन दशक भन्दा लामो समय नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेत्रीको रूपमा रहिन्

२०५६ सालमा दशककै लोकप्रिय अभिनेत्रीबाट सम्मानित उनले गोर्खा दक्षिणबाहु चौथो तथा दर्जनौं सम्मान पाएकी छिन् । अभिनयसँगै निर्माणमा जुटेकी उनी केही फिल्म फ्लप भएपछि अमेरिका पलाइन् भइन् ।

अमेरिकाबाट फर्किएपछि उनी सिनेमासँगै राजनीतिमा प्रवेश गरिन् । उनी बाबुराम भट्टराईको तत्कालिन नयाँपाटी नयाँ शक्तिदेखि प्रवेश गरिन् । छोटो समयमै त्यो पार्टी त्यागेकी उनी तामझामसाथ २०७८ सालमा एमाले प्रवेश गरिन । एमाले भएपछि निस्क्रियजस्तै रहेकी करिश्मा वर्षौंपछि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा प्रत्यासीका रूपमा देखा परेकी छन् ।

नीर शाह

नेपाली चलचित्र क्षेत्रका सफल निर्देशक, कलाकार, निर्माता, लेखक तथा गीतकार हुन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘परिवर्तन’ हो । शाहले ‘कुसुमे रुमाल, प्रेम पिण्ड, नाता रगतको, ढुकढुकी, बादलपारि, सिउँदोको सिन्दुर, जीवनसाथी, मुनामदन लगायतका करिब तीन सय बढी चलचित्रमा अभिनय गरेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा उनलाई ‘भिष्म पितामह’ पनि भन्ने गरिन्छ । नीरले थुप्रै राष्ट्रिय अवार्डहरू समेत पाएका छन् । उनी फिल्म निर्माण कम्पनी न्यू सेन्चुरी पिक्चर्स प्रालिका मालिक पनि हुन् ।

शाह नेपाल टेलिभिजनको संस्थापक अध्यक्ष समेत हुन् । कट्टर राजावादी रहेका उनी माओवादी शक्तिमा आएसँगै प्रचण्डको हातबाट फूलमाला पहिरिएर माओवादी बने । त्यहाँ पनि नअटेपछि उनलाई कांग्रेसले भित्र्यायो ।

कांग्रेस प्रवेश गरेपछि उनी नेपाल टेलिभिजनको कार्यकारी प्रमुख बनाइएका उनी त्यसपछि राष्ट्रिय सभाको सदस्य बन्ने चर्चा चलेपनि लाभको पदमा पुग्न सकेका छैनन ।

रेशम चौधरी

२०३४ साल असोज २१ मा जन्मिएका चौधरीले त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । उनी थारु भाषाको जोग्नी साहित्यिक पत्रिकाको प्रधानसम्पादक थिए ।

साहित्यमा समेत दख्खल राख्ने चौधरीले रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सागरमाथामा लामो समय पत्रकारितासमेत गरेका थिए . बर्दियामा फूलबारी एफएफ समेत सञ्चालन गरिहेका छन् । त्यसको साथै उनी गीत सँगीत सिर्जनामा उत्तिक्कै दख्खल राख्छन् ।

२०७२ भदौ ७ मा टिकापुरमा भएको थारुवान र अखण्ड सुदुरपश्चिमको आन्दोलनका क्रममा एक नाबालक र ८ सुरक्षाकर्मीको ज्यान गएको थियो । त्यस हत्याकाण्डका मुख्य अभियुक्त चौधरीलाई जन्मकैदको फैसला भएको थियो ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ को लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को तर्फबाट विजयी भएका थिए । प्रहरीले खोजी गरिरहेकै बेला चौधरीले संसद्को चुनावमा भाग लिएर विजयी भएका थिए ।

२०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाई जेलमुक्त भएका चौधरीको दल दम्पतीको विवादका कारण यता न उताको अवस्थामा छ ।

भुवन केसी

२०१४ सालमा उनको जन्म भएका भुवन कसी अभिनेता, निर्देशक, निर्माता हुँदै पछिल्लो समय राजनीति हेलिए ।

२०७९ मा चलचित्र विकास बोर्डको अध्यक्ष भएका उनले आफ्नो तीन वर्षे कार्यकाल भर्खरै पूरा गरेका छन् । केसीले १० वर्षको उमेरमा रेडियो नेपालमा गायक हुँदै चलचित्र यात्रा सुरु गरेका थिए ।

उनको पहिलो चलचित्र ‘जुनी’ थियो तर सन् १९८४ मा प्रदर्शन भएको चलचित्र सम्झनाले उनलाई एक सफल अभिनेताको रूपमा स्थापित ग¥यो । त्यसपछि उनले कुसुमे रुमाल, सन्तान, तिलहरी, कन्यादान, चिनो, तृष्णा, दुई थोपा आँसु, दक्षिणा, राँको, करोडपति र नेपाली बाबु जस्ता थुप्रै सफल चलचित्रमा अभिनय गरे । कुनै समय नेपाली चलचित्रमा उनको एकछत्र राज थियो ।

एमाले निकटका उनी पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरे । स्थानीय निकायको चुनावमा काठमाडौं महानगरको प्रमुखमा चुनाव लड्ने योजना बनाएका थिए । तर पार्टीले त्यसका लागि योग्य ठानेन ।

रेखा थापा

थापा २०३९ सालमा उनी विराटनगरमा जन्मिएकी हुन् । हालसम्म उनले २ सय बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

दर्जनौ सुपरहिट चलचित्रमध्ये काली, हिम्मतवाली, रामप्यारी लगायत छन् । उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार र उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् ।

चलचित्र ‘हिरो’ मार्फत नेपाली सिने नगरीमा प्रवेश गरेकी उनी केही वर्ष ‘नम्बर वान हिरोइन’ को उपाधी कब्जा गर्न सफल हुन् । निर्माता छवि ओझासँग वैवाहिक जीवनमा बाँधिएपछि उनले फिल्म निर्माणमा पनि हात हालिन् । तर ओझासँग उनको वैवाहिक जीवन चलेन ।

सबैलाई आश्चर्यचकित पार्दै रेखा एकाएक राजनीतिमा प्रवेश गरिन् । २०७० मा माओवादी केन्द्रमा प्रवेश गरिन् । उनलाई माओवादी अध्यक्ष प्रचण्डले टिका लगाएर पार्टीमा प्रवेश गराएका थिए । माओवादीले गरेको आम हडतालमा प्रचण्डसँगै लोकगीत गाएर नाचेकी रेखाले चलचित्र विकास बोर्डको अध्यक्ष पदको दाबी समेत गरेकी थिइन् ।

उक्त पार्टीमा आफूले भनेको जस्तो नभएपछि २०७३ मा कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरिन् । प्रतिनिधिसभामा मोरङबाट चुनाव लडिन । जनताले पत्याएनन । राप्रपाको महाधिवेशनमा महामन्त्रीमा प्रत्यासी बनेकी रेखा पराजित भइन् ।

ओझासँग सम्बन्धविच्छेद गरेको १० वर्षपछि उनले बलराम शाहीसँग दोस्रो विवाह गरिन् । हाल उनी श्रीमान् र छोरीसँग पारिवारिक जीवन बिताइरहेकी छिन् ।

अनुराधा कोइराला

उनी प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष हुन् । सन् १९९३ मा माइती नेपाल नामको गैह्रसरकारी संस्था खोलेर काम गर्न थालेकी हुन् ।

खासगरी भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन बाध्य नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनस्र्थापनामा यो संस्था कृयाशील छ ।

सन् २०१० सीएनएन हिरोको उपाधि पाएकी कोइराला २०१४ मा मदर टेरेसा सम्मान र २०१७ मा भारत सरकारले दिने पद्मश्री पुरस्कारबाट सम्मानित भइन् । कोइराला नेपाल आउँदा अंग्रेजी शिक्षालाई प्राथमिकता दिने प्रचलन सुरु भएको थियो ।

अंग्रेजी भाषामा दख्खल भएकी उनले करिब २० वर्ष बोर्डिङ स्कुलहरूमा शिक्षण गरेर बिताइन् । कोइराला २०२१ सालमा नेपाल आएकी हुन् । उनले पश्चिम बंगालको कालिम्पोङमा १० कक्षासम्मको अध्यइन् गरेकी हुन् भने कलकत्तामा स्नातक अध्यइन् गरेकी हुन् ।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा सहायकमन्त्री बनाइएकी अनुराधालाई गणतान्त्रिक सरकारले २०७४ माघ ३ गते प्रदेश ३ को प्रमुखमा नियुक्त गरेको थियो ।

रविन्द्र मिश्र

बीबीसी नेपाली सेवाका संचारकर्मी मिश्र कुनै बखतका प्रखर पत्रकार हुन् ।

सन्‌ १९६७ मा जन्मिएका मिश्रले बिबिसीमा ‘नेपाल सन्दर्भ’ कार्यक्रम मार्फत नाम चलेका नेताहरूलाई मुसुक्क हाँस्दै चोटिलो प्रश्न सोधेर आच्छुआच्छु पार्ने कलाका कारण श्रोतामाझ निकै लोकप्रिय थिए । साथै उनी ‘हेल्प नेपाल नेटवर्क’ नामक संस्थाबाट सामाजिक सेवामा होमिए ।

आफूलाई अत्यन्तै राष्ट्रवादी सम्झिने मिश्र वैकल्पिक शक्तिको रूपमा बीबीसीको जागिर छोडेर राजनीतिमा होमिए । पृथक राजनीति वातावरण सिर्जना गर्दै आएको विवेकशील पार्टीको समानान्तर पार्टीको रूपमा साझा पार्टी खोले ।

काठमाडौं क्षेत्र नम्बर १ मा दुई पटक पराजित मिश्र हाल राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध छन् ।

रवि लामिछाने

राजनीतिमा प्रवेश गर्नुअघि उनी एक टेलिभिजन प्रस्तोता थिए । न्यूज २४ टेलिभिजनमा निरन्तर ६० घण्टा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले गिनिज वल्ड रेकर्ड्स कायम गरेपछि चर्चा कमाएका थिए ।

२०७९ असारमा स्वतन्त्र पार्टी गठन गरी उनले चितवन २ बाट निर्वाचन पनि जिते । चुनाव पछि पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्दै पार्टीको तर्फबाट उपप्रधान सहित गृहमन्त्रीसम्म भए । तर सर्वोच्च अदातलले नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री पद गयो ।

अमेरिकी नागरिकता र पासपोर्ट परित्याग गरे पनि उनले नेपालको नागरिकता लिने प्रक्रिया सुरु नगरेपछि सांसद बन्न अयोग्य भएका थिए । नागरिकता बनेपछि उपनिर्वाचनमा विजयी भई पुनः उनी उपप्रधान तथा गृहमन्त्री भए ।

नेताहरूलाई गाली गरेरै चर्चामा आएका लामिछाने आफू सरकारमा हुँदा भने स्टन्ट बाहेक केही गर्न नसकेको आरोप लागिरहेको छ ।

डा. स्वर्णिम वाग्ले

विश्वको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयबाट दीक्षित वाग्ले अन्तर्राष्ट्रिय विकास अर्थशास्त्री हुन् । विगत २५ वर्षदेखि नेपालभित्र र बाहिर सक्रिय वाग्ले २०७७–२०७९ सम्म राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एसिया प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकारका रूपमा रहे ।

त्यसअघि तीन वर्ष राष्ट्रिय योजना आयोगको उपाध्यक्ष एवं सदस्य भएर काम गरे । २०७२ को महाभूकम्पपछि पुनर्निर्माणका लागि क्षति आंकलन गर्ने र उल्लेखनीय अन्तर्राष्ट्रिय सहयोग जुटाउने कार्यमा विशेष भूमिका खेलेका थिए ।

वाग्ले नेपाली कांग्रेसको पूर्वमहासमिति सदस्य हुन् । २०७९ र २०७४ को आम निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्नेदेखि आर्थिक नीति र योजना, कार्यक्रम र वैचारिक विमर्शहरूमा उनको नेतृत्वदायी रह्यो ।

लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध रहेका वाग्ले गत निर्वाचनमा उम्मेदवार बन्न इच्छुक थिए । तर कांग्रेसले टिकट नदिएपछि रवि लामिछाने सभापति रहेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फ बाट तनहुँ क्षेत्र नम्बर १ बाट उपनिर्वाचन जितेका हुन् ।

डा. तोसिमा कार्की

२०४६ मा ललितपुरमा जन्मिएकी तोसिमाले ललितपुरको किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेकी हुन् ।

उनी नेपाल मेडिकल काउन्सिलको जनरल शल्यचिकित्सक र कार्यकारी समितिको सदस्य पनि हुन । साथै, उनी पाटन अस्पतालमा चिकित्सक थिइन् ।

उनले सो पदबाट राजिनामा दिएर निर्वाचनमा होमिएकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनले प्रतिनिधिसभा निर्वाचन २०७९मा ललितपुर ३ बाट निर्वाचित भइन् । उनले तत्कालीन मन्त्री पम्फा भुसाललाई पराजित गरेकी हुन् ।

उनी डा. गोविन्द केसीले थालेको स्वास्थ्य सुधार अभियानकी अभियन्ता थिइन् । उनी पुष्पकमल दाहालको प्रधानमन्त्री तेस्रो मन्त्रिपरिषद्मा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भइन् ।

पार्टी अध्यक्षको नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि कार्यभार सम्हालेको १९ दिनमै उनी पनि पदमुक्त भइन् । सानैदेखि नेतृत्वदायी भूमिका रुचाउने तोसिमाले भूकम्पको बेला सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, ललितपुर लगायतका स्थानमा स्वास्थ्य तथा राहत शिविरको नेतृत्व गरिन् ।

डा. अरनिको पाँडे

रास्वपाको संस्थापकमध्ये एक भएर पनि पार्टीमा पाँडे पछि परे । रवि लामिछाने, तोसिमा कार्कीहरू सत्ताको तामझाममा रमाइरहँदा उनी सामाजिक सञ्जालमा मात्रै सीमित रहे । बालेन साहको टिममा पनि उनी थिए । स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका उनी दलमै आबद्ध हुने निर्णय गरेर रास्वपाको केन्द्रीय सदस्यसमेत बने ।

पाँडे हिमालय क्षेत्रको वायु प्रदूषण, जलवायु र दीगो विकासका विज्ञ हुन् । वातावरणविद्का रूपमा चिरपरिचित उनी एक वर्षमै राजनीतिबाट गुमनाम बन्न पुगे । पार्टीका प्रमुख संस्थापक वैज्ञानिक र विद्वान अरनिको पाँडे राष्ट्रिय योजना आयोगको सदस्य बनेपछि उनले पार्टीबाट राजीनामा दिए ।

पाँडे ‘नेपाल इकोनोमिक फोरम’ र आईआईडीएसको सल्लाहकारको भूमिकाबाट पनि अलग भए । त्यसका साथै सम्पूर्ण परामर्श सम्बन्धी काम पनि छोडेको जानकारी दिएका थिए ।

डा. सूर्यराज आचार्य

उनी साझा पार्टीको प्रवक्ता हुन् । उनी राजनीतिक विषयका लेखक तथा विश्लेषक पनि हुन् । उनले ‘समृद्धि हाम्रै जीवनकालमा’ हेर्ने हो भने एउटा सक्षम, सशक्त र सुसंस्कृत राजनीतिक दल अत्यावश्यक रहेको पैरवी गर्दै आएका छन् ।

भरतपुर महानगरपालिका चितवनका स्थायी निवासी डा.आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ हुन् । थाइल्याण्डको एशिइन् इन्स्टिच्युट अफ टेक्नोलोजी

(एआइटी) बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर र जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासमा’ विद्यावारिधि गरेका छन् ।

नेपाल फर्किनुअगाडि उनी जापानको भौतिक पूर्वाधार मन्त्रालयसँग सम्वद्ध ‘पोलिसी थिंक ट्याङ’ मा वरिष्ठ अनुसन्धानकर्ता र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा कार्यरत थिए ।

पेशागत जीवनको सुरुमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघको कार्यानुभव सँगालेका आचार्यका दर्जनौं शोधपत्र प्रकाशित छन् । उनका शोधपत्रहरू अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनमा पुरस्कृत भएका छन् ।

उनी नागरिक अगुवा र नेता के हुन् भन्नेमा अन्यौलमा छन् ।

रामेश्वर खनाल

खनाल अर्थसचिवका रूपमा निकै लोकप्रिय रहे । खनालको बोली, लेखाइ र गराइको तादात्म्यबाट धेरै प्रभावित हुन्थे । यस्ता मानिस राजनीतिमा आउनैपर्छ भन्ने मान्यता राख्थे । अवकासपछि उनी बाबुराम भट्टराईको नयाँशक्ति पार्टी प्रवेश गरे ।

पार्टीमा बाबुराम भन्दा सरल र सहज नेताको रूपमा उनलाई मानिन्थ्यो । बाबुरामलाई सफल अर्थमन्त्रीमा बनाउन उनको मुख्य हात थियो । तर पछि उनले उक्त पार्टी परित्याग गरे । त्यसको केही समयपछि डा. रामशरण महतको जोडबलमा उनी कांग्रेस पनि प्रवेश गरे ।

एकपटक उनले माओवादी नसकिदासम्म यो देशले सुख पाउँदैन भनेर अभिव्यक्ति दिएका थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यसको जवाफ दिँदै विद्धान् खनाल सामाजिक विभेद रुचाउने तत्व भएको टिप्पणी गरेका थिए ।

रमेश खरेल

उनी नेपाल प्रहरीका भूतपूर्व डिआईजी हुन् । प्रहरीमा रहँदा जनता माझ निकै लोकप्रिय रहेका थिए । खरेल काठमाडौं प्रहरी प्रमुख हुँदा नेपालीहरूलाई अवैध रूपमा प्रवेश गराउने क्यासिनो विरुद्ध खरो उत्रिए ।

त्यतिबेला उनको काम कारबाहीदेखि क्यासिनो मालिकहरू आतंकित थिए । उनले काठमाडौंमा हुने गुन्डागर्दीको जालो तहसनहस पारेका थिए । त्यतिमात्र हैन, वीरगन्जमा रहँदा उनको कार्यशैलीप्रति प्रभावित भएर स्थानीयले सिनेमा समेत बनाए ।

गठबन्धनका प्रमुख राजनीतिक दल एमाले र नेकपा माओवादी केन्द्रको सरकारले डिआईजी सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै उनले राजीनामा दिए । यसो त उनी त्यसअघि पनि शेरबहादुर देउवा नेतृत्वको सरकारबाट अन्यायमा परेका थिए । देउवा सरकारले डीआइजी बढुवा गर्दा खरेललाई सर्वेन्द्र खनालले उछिनेका थिए ।

राजनीतिक नेतृत्वबाट ठगिएको महसूस गरेका खरेलले सुशासन पार्टी स्थापना गरे । अघिल्लो मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा काठमाडौं १ बाट पराजित भए । बारा २ मा भएको उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार दिए पनि उनले त्यहाँ पनि हार बेहोर्नुपर्‍यो ।

दुवै चुनावमा असफल भए पनि हाल उनी भ्रष्टारविरुद्धको अभियान भन्दै टेलिभिजन कार्यक्रममा लागेका छन् । ‘जनता जनार्दन’ नामको कार्यक्रम ‘स्पेस फोरके’ टेलिभिजनबाट प्रशारण भइरहेको छ ।

ऊर्जा उत्पादक कम्पनीसँग विद्युत खरिदका लागि पीपीए गर्दा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घोटाला गरेको भन्दै उनले अख्तियारमा उजुरी दिएका छन् ।

सर्वेन्द्र खनाल

२०४६ सालमा इन्सपेक्टरबाट प्रहरी सेवा प्रवेश गरेका हुन् । प्रहरीको प्रतिष्ठा सर्वदा उँचो राख्न खनालका दर्जनौं कामका श्रृंखलाहरू छन् ।

जस्तै मस्टवान्टेड सूचीका गुन्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर । खनाल अपराध महाशाखामा आएपछिको पहिलो ठूलो सफलता थियो ।
लागूऔषध र अपहरण काण्डका अभियुक्त जेलबाट भागेका रावणजीत तामाङलाई गोली हानेर पक्राउ गरेका थिए ।

म्याच फिक्सिङ गर्ने राष्ट्रिय फुटबल टिमका कप्तान सागर विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई खनालको टिमले कानुनको कठघरामा उभ्यायो ।

पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरूले तेलको मात्रा कम गरि बच्ने उपकरणहरू रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि हत्कडी लगाए ।

ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि उनै खनालले खोले । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्रबहादुर पहरीलाई खनालकै टोलीले पक्राउ गर्‍यो ।

जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाइफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णुबहादुर क्षेत्री र कृष्णबहादुर क्षेत्रीलाई पक्राउ गरे । उनले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी सँगठनका डिएसपीको घटुवा समेत गरेका थिए । कुख्यात भारतीय अन्डर वल्र्ड नाइके बब्लु दुबेलाई पक्राउ गरेपछि उनी भारत सरकारबाट समेत पुरस्कृत भए ।

प्रहरी प्रमुखको जिम्मेवारीबाट मुक्त भएसँगै २०७९ असोज ६ गते खनाल एमाले प्रवेश गरे । अघिल्लो संसदीय चुनावमा एमालेका तर्फबाट काठमाडौं ६ को उम्मेद्वार रहेका खनाल जनताको कसीमा भने खरो उत्रन सकेनन ।

खनालमाथि तत्कालीन जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव अपहरण गरेको आरोप लागेको थियो । एमाले नेता तथा सांसद महेश बस्नेतसँग मिलेर खनालले सांसद यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको आक्षेप छ ।

कोमल वली

दाङ तुलसीपुरको टिकरी गाउँकी वली कुशल समाचारवाचन र गाइन् सबै छाडेर २०७३ सालबाट राप्रपा नेपालमा पार्टी प्रवेश गरेकी हुन् । राप्रपामा उनी पार्टीको केन्द्रीय सदस्यसम्म निर्वाचित भइन् ।

तर २०७४ मा राप्रपा छाडेर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा गइन् । नेकपा प्रवेश गरेलगत्तै निर्वाचन लड्न चाहेकी उनले टिकट नपाएपछि बागी उम्मेद्वारी दिइन् । त्यसपछि नेकपा नेतृत्वले राष्ट्रिय सभा सदस्य बनाउने शर्तमा उनलाई उम्मेदवारी फिर्ता लिन राजी बनायो ।

एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेदेखि नै उनको चर्को आलोचना सुरु भयो । सबैभन्दा बढी आलोचना गर्नेमा एमालेकै नेता तथा कार्यकर्ता देखिए । राजनीतिमा कुनै योगदान नगरेकी, पद पाउनकै लागि पार्टीमा छिरेकी अवसरवादी भनेर उनीमाथि गाली बर्सिए ।

गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता व्यवस्थाको विरोधी, शाही सत्ताकी समर्थक र छाडा गीत गाउने समेत भने । वलीका ‘पोइला जान पाम, चाहिएन पोइ, मान्छे सानी सानी चढ्दै आयो जवानी, तुलसीपुरमा म जादाँखेरि’ लगायतका चर्चित गीतहरू छन् ।

आलोचनाको बीच दुई वर्ष राष्ट्रिय सभा सदस्य रहेकी उनलाई २०७९ को चुनावमा एमालेले दाङ–३ बाट प्रतिनिधिसभा सदस्यको टिकट दियो । तर उनले निकै मतान्तरले नेपाली कांग्रेसका दीपक गिरीसँग निर्वाचन हारिन् ।

बद्री पंगेनी

पाल्पाको रामपुरमा जन्मिएका उनी २०५५ सालमा एसएलसी दिएपछि काठमाडौं छिरे । सानैदेखि लोकगीतमा रुचि भएकै कारण उनी पढ्न र गायक बन्न राजधानी छिरेका थिए ।

पहिलो लोकदोहोरी एल्वम ‘तानसेन खस्यौली’ सार्वजनिक गरेका थिए । त्यसपछि क्रमश पिएन क्याम्पस, ब्यूटी नम्बर वान, ससुरालीमा एल्बम सार्वजनिक गरे। उनलाई सर्वाधिक चर्चामा पुर्याएको गीत ‘सुसुरालीमा’ एल्बमको ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ हो ।

चौंथो एल्बम ‘ससुराली’ मा गायिका सिन्धु मल्लसँग मिलेर गाएको गीतले उनलाई जनतामाझ लोकप्रिय बनायो । छोटो समयमै लोकगायकको परिचय बनाउन सफल पंगेनीले इमेज, हिट्स, अन्नपुर्ण अवार्ड पाएका छन् । उनले राज्य जनसेवा श्री प्रबल चौंथो पनि प्राप्त गरेका छन् ।

सांगीतिक कार्यक्रमको लागि देश र विदेशमा निकै रुचाईने पंगेनीले स्थानीय तहको निर्वाचनका लागि एमाले समर्थनमा गीत गाए । उनले गाएको ‘मै पनि एमाले, सही पनि एमाले’ बोलको गीतले उनको क्रेज स्वात्तै घटाइदियो । हाल उनी सर्जकभन्दा बढी राजनीतिक कार्यकर्ताका रूपमा आलोचित छन् ।

त्यस्तै, रास्वपाका समानुपातिक सांसद् अशिम शाह मुस्लिम समुदायतर्फबाट छानिएका हुन् । जो पहिले फिल्म निर्देशक थिए । उनले फिल्म, कला र सँगीत क्षेत्रको मुद्दालाई आफूले संसदमा प्रस्तुत गर्ने भनेपनि खासै उल्लेखनीय भूमिका निर्वाह गर्न सकेका छैनन् ।

मुकुल ढकाल

डा. मुकुल ढकाल जो पेशाले चिकित्सक हुन् । रवि लामिछानेकै पहलमा कालिकोट रास्कोटमा बनेको अस्पतालमा उनी निर्देशकका रूपमा कार्यरत थिए ।

विराटनगरका ढकाल पहिले विवेकशील पार्टीमा थिए । रास्वपा गठन भएसँगै उनले विवेकशीलबाट राजीनामा दिए । रास्वपाको प्रवक्तासमेत बने । तर हाल उनीलाई पार्टीले कारवाही गरी प्रवक्ता नरहेको घोषणा गरेको छ । तर उनले स्वीकार गरेका छैनन् ।

खुस्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टीमा झुल्किएकी खुस्बु ओली कुनै बेला सफल मोडल थिइन्

नेपाल सुन्दरी प्रतिस्पर्धामा मिस टिन उपाधि जित्न सफल उनी कुख्यात डन दिनेश अधिकारी ‘चरी’सँगको विशेष सम्बन्धका कारण चर्चामा रहेकी थिइन् ।

हाल खुस्बु राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृका रूपमा देखा परेकी छन् । अघिल्लो पटकको संसदीय चुनावमा झापामा स्वतन्त्र उम्मेद्वारका हैसियतमा चुनावी मैदानमा खडा भएकी थिइन् ।

यद्यपि राजनीतिक यात्रा उनका लागि सहज बन्न सकेको छैन ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  १२ : ३४ बजे

राष्ट्रव्यापी नदी सफाइ अभियानमा जुटे युवा समूह

काठमाडौं– सेप्टेम्बर २० मा विश्व सरसफाइ दिवस र सेप्टेम्बर २१

इजरायलविरुद्धको आक्रमणका लागि इरानी कमान्डर सम्मानित

एजेन्सी– इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि इरानले वायु सेनाका कमान्डरलाई

दक्षिणकाली र सिस्नेरीका बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौँको दक्षिणकाली नगरपालिका र

म्याग्दीमा व्यावसायिक अकबरे खुर्सानी खेती, प्रतिकिलो २५० का दरले बिक्री

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे (डल्ले)

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो

गलकोट– बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ ।