तस्बिर : एपी

अन्तर्राष्ट्रिय

ताइवान टापुको तटमा जहाज डुब्दा तीन बेपत्ता

By खबरहब

August 17, 2024

ताइपेई– चिनिँया माछा मार्ने जहाज शनिबार अज्ञात जहाजसँग ठोक्किएर ताइवान टापुको तटमा डुब्दा माछा मार्ने जहाजका तीन सदस्य बेपत्ता भएको ताइवानको तटरक्षकले जनाएको छ । 

ताइवान र चीनलाई छुट्याउने साँघुरो जलमार्गमा बारम्बार हुने डुंगा दुर्घटनाले तनाव बढाएको छ ।

शनिबार बिहान चिनिँया झण्डा भएको ‘मिन लङ यु ६०८७७’ जहाज  किमेन टापुको तटबाट करिब ६.५  नटिकल माइल टाढा अज्ञात जहाजसँग ठोक्किएपछि डुबेको ताइवानको तटरक्षक प्रशासनले एक विज्ञप्तिमार्फत जनाएको छ । 

‘जहाजमा चालक दलका सात जना सदस्य थिए । चारजनालाई उद्धार गरिएको छ भने तीनजना बेपत्ता छन्’, विज्ञप्तिमा भनिएको छ । 

यस क्षेत्रमा उद्धारका लागि पठाइएको डुंगाले बेपत्ता चालक दलका सदस्य फेला पार्न नसकेको बताएको छ। 

ताइवानको तटरक्षक र यसका चिनियाँ समकक्षीहरूले तटमा खोजी र उद्धार गरिरहेको विज्ञप्तिमा भनिएको छ ।