फाइल फोटो

देश/प्रदेश

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

By खबरहब

August 17, 2024

लमजुङ– यहाँको कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुँदा स्वस्थ खाना, पिउने पानीलगायत समस्या हुन थालेको छ । ३५ कैदीबन्दी अट्ने गरी विसं २०२८ मा बेँसीसहर नगरपालिका–८ शेरामा निर्माण गरिएको जिल्ला कारागार लमजुङमा हाल एक सय १३ कैदीबन्दी छन् । 

मापदण्डअनुसार यहाँको कारागारको संरचना निर्माण भएको छैन । एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफल हुनुपर्ने कानुनी प्रावधान छ । पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी कारागारमा बस्दा जीर्ण भवन भत्किएर ज्यान जाने त्रास रहेको कैदीबन्दी बताउँछन् । साथै गर्मी, उडुस र लामखुट्टेको टोकाइलगायत समस्या हुने गरेको उनीहरु बताउँछन् ।

कारागारका चौकीदार खुसीराम मगरातीले पुरानो जीर्ण बन्दै गएको भवनमा राति मुसा दौडँदा पनि भवन भत्किन लाग्यो भनेर डराउनुपर्ने अवस्था आएको बताए । 

‘यतिबेला गर्मीको समय छ, धेरै कैदीबन्दी हुँदा सुत्न, बस्नलाई समस्या भइरहेको छ । स्वस्थ खाना र पिउने पानीको अभाव, उडुस र लामखुट्टेको टोकाइ, भुइँमा एकैठाउँमा सुदा राम्रोसँग फर्किन पनि नमिल्ने समस्या छ’, उनले भने ।

गर्मीका साथै उडुसको टोकाइले राति निदाउन नसकिने चौकीदार मगरातीले गुनासो गरे । ‘निदाएको बेलामा उडुसले टोकेको थाहा हुँदैन, ब्युझँदा शरीरभरि एलर्जी हुन्छ । एलर्जीको औषधि लगाउँदै बस्दै गर्नुपर्दछ’, उनले भने । खाना खाने ठाउँ खुला रहेको बताउँदै खाना खाँदाखाँदै पानी परे भिजेर खानुपर्ने अवस्था रहेको उनले उल्लेख गरे ।

कारागारका नाइके शम्भुलाल श्रेष्ठले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बस्न, खानका साथै स्वास्थ्यमा समस्या हुन थालेको बताए ।

 उनले भने, ‘यहाँ उडुस र लामखुट्टे छन् । गर्मीमा बिजुली बत्ती र पर्याप्त पङ्खा नहुँदा गर्मीले बस्न, सुत्न सकिदैन, ठाउँको पनि अभाव छ’, उनले भने।

कैदी विष्णु गिरी थापाले जीर्ण भवन र पर्याप्त संरचना नहुँदा पानी परेको बेलामा रुझ्दै खाना खानु परिरहेको बताए  । ‘गर्मीले उकुसमुकुस बनाउँछ, उडुस र लामखुट्टेले टोक्छन् । कानुनी सजायभन्दा बढी सास्ती यो सजायबाट भइको छ’, उनले भने । मापदण्डअनुसार आधुनिक संरचना निर्माण गरी कैदीबन्दीको जीवन सहज बनाउन उनले सरोकार भएकासँग आग्रह गरे ।

‘राति जसोतसो बसेर रात कटाउने गर्छौँ, दिउँसोभित्र बस्दा गर्मी, बाहिर निस्किदा घामले पोल्ने समस्या छ । यसरी दिनरात कटाउँदा स्वास्थ्यमा समस्या आउने चिन्ता लाग्न थालेको छ’, कैदीबन्दी थापाले भने। 

यहाँ भूकम्प गएमा सबै कैदीबन्दी अट्ने खुला ठाउँ नभएको भन्दै भवन र पर्खाल भत्किएर ज्यान जाने त्रासमा सबै बस्ने गरेका उनले बताए।

सुरक्षाकर्मीले बस्ने पोष्ट पनि जीर्ण अवस्थामा भएकाले सुरक्षाकर्मीलाई जोखिम रहेको कारागारका निमित्त जेलर सुमिता मरासिनीले बताए । कारागारको कार्यालयबाट कैदीबन्दी बसोबास गर्ने संरचना चार रोपनी क्षेत्रफलमा फैलिएको कारागार कार्यालयले जनाएको छ । 

कारागारका निमित्त जेलर मरासिनीले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा स्वाभाविक रुपमा विभिन्न समस्या हुने गरेको बताए । कैदीबन्दीलाई उडुस र लामखुट्टे मार्ने औषधि दिने गरिएको बताउँदै जेलर मरासिनीले उडुस र लामखुट्टे नियन्त्रणको प्रयास गरे पनि नियन्त्रण हुन नसकेको बताए । 

‘यसको मुख्य कारण पुरानो कारागार, क्षमताभन्दा बढी कैदीबन्दी, गर्मी र उकुसमुकुसले भएको चिकित्सक बताउँछन्’, उनले भने ।

निमित्त जेलर मरासिनीले १० महिला र २५ पुरुष गरी ३५ जनाको क्षमता रहेको कारागारमा केही समयअघि २० जना अट्ने एउटा कोठा निर्माण गरिएको जानकारी दिए ।  

प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विभिन्न समस्या भइरहेको बताए ।

‘हामीले सम्बन्धित निकायलाई यहाँको समस्याका बारेमा जानकारी गराएर समाधानको पहल गरिदन आग्रह गरिरहेका छौँ’, उनले भने। 

कारागारमा अहिले पाँच महिला र एक सय आठ पुरुष कैदीबन्दी छन् । तीमध्ये ६१ जना कैदी र ५२ जना थुनुवा रहेका निमित्त जेलर मरासिनीले जानकारी दिए। उनका अनुसार एक थुनुवा र चार कैदी गरी पाँच महिला, ५७ कैदी र ५१ थुनुवा गरी एक सय आठ पुरुष रहेका छन् ।