काठमाडौं- काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार जाति संस्कृतिका लागि अत्यन्तै धनी र समृद्ध मानिन्छन् । नेवाः संस्कृति विभिन्न प्राचीन मिथकहरुले भरपूर छ । यसैको एउटा दृष्टान्त हो– इन्द्र जात्रा । जुन, स्वर्गका राजा इन्द्रलाई ‘चोर’ ठानेर बाँधिएको रोचक मिथकसँग जोडिएको छ ।
हिन्दुहरुले वर्षा र सहकालका देवताका रुपमा भगवान इन्द्रको पूजा गर्छन् । इन्द्रजात्रा अर्थात येँयाः पुन्हि पर्व पनि वर्षा र सहकालसँगै जोडिएको छ ।
यतिबेला काठमाडौं उपत्यकामा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदैछ । इन्द्रजात्रा पर्वलाई सांस्कृतिक वैभवले सुसम्पन्न नेवारी समुदायको गर्विलो इतिहासको साक्षीका रुपमा लिने गरिन्छ । इन्द्रजात्रा नेपालको सुन्दर संस्कारको उदाहरणसमेत हो ।
काठमाडौं उपत्यकामा मनाइने ऐतिहासिक इन्द्रजात्रा पर्व बसन्तपुर दरबार अगाडि लिंगो ठड्याएर आइतबारदेखि सुरु भएको छ । नेवारी समुदायले आठ दिनसम्म मनाउने इन्द्रजात्रामा पर्वमा कुमारी, भैरब र गणेशको रथयात्राका साथै विभिन्न देवीदेवताको पूजाआजा र नाचगान गरिन्छ ।
इन्द्रजात्राको मुख्य दिन असोज १ गते राष्ट्रपतिले इन्द्रजात्रा अवलोकन गर्ने प्रचलन छ । इन्द्रजात्रा पर्वको मुख्य दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।
यंलाथ्व (भाद्र शुक्ल) द्वादशीदेखि आश्विन कृष्ण चतुर्थीसम्म आठ दिन मनाइने इन्द्रजात्रा नेवाः समुदायको विशेष पहिचान बोकेको पर्व हो ।
इन्द्रजात्रामा नेवार समुदायले आ–आफ्ना घरमा समयबजी खाने र टोल–छिमेकमा पनि समेबजी बाँड्ने चलन छ । चिउरा, कालो भट्मास, अदुवा, लसुन, बोडी, तोरीको साग, आलु, छोयला, बारा, माछा र अण्डाआदिको परिकारलाई समयबजी भनिन्छ ।
यतिबेला नेवाः समुदायको बस्तीमा विशेष गरेर गणेशको मन्दिरअगाडि कलात्मक रूपले समेबजी, मिठाई र फलफूल सजाएर राखिएको छ । विभिन्न देवी–देवताको भजन–कृतन सकेपछि भक्तजन र टोलबासी मिलेर समयबजी बाँडेर खाने परम्परा छ ।
नेवाः समुदायमा समयबजी दान दिनुलाई पञ्चतत्व दान दिनुसरह मानिन्छ भने इन्द्रजात्राको दिन पञ्चतत्वले निर्माण भएको शरीरमा पञ्चतत्व सन्तुलित गरेर राख्ने उद्देश्यले समयबजी खाने र अरूलाई पनि बाँड्ने गरिन्छ ।
टोल–छिमेकमा गएर ‘ला छकू वयेक समेबजी, वल वल पुलुकिसि’ अर्थात् (मासु एकटुक्रा आउने गरी समयबजी, आयो–आयो ऐरावत हात्ती) भनेर लय मिलाएर तिहारमा देउसी र भैलो खेलेजस्तै समयबजी माग्न जाने चलन पनि छ ।
इन्द्रजात्राको मुख्य आकर्षण जीवित देवी कुमारीको रथ तानेर गरिने जात्रा हो । कुमारीको रथको अघि–अघि गणेश र भैरवको पनि रथ तानेर जात्रा गरिन्छ । कुमारीको रक्षकका रूपमा गणेश र भैरवको स्थापना गरिएको भनाइ छ ।
इन्द्रजात्राभरि टोलटोलमा समयबजीको साथै ‘हाथु हायेकेगु’ भनेर भैरवको मूर्तिमा रक्सी र जाँड चढाएर प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ ।
भगवानलाई इन्द्रलाई बाँधेर दुईवटा माग पूरा !
आमा बसुन्धराको अनुरोधमा पूजाका निम्ति पारिजातको फूल लिन स्वर्गबाट काठमाडौं झरेका बेला भगवान् इन्द्रलाई काठमाडौंबासीले चोर सम्झिएर पक्राउ गर्छन् । उनीहरूले इन्द्रलाई बाँधेर राख्छन् ।
काठमाडौंमा फूल लिन झरेका इन्द्र स्वर्गलोक नफर्किएपछि खोजीका लागि उनको हात्ती ‘ऐरावत’ काठमाडौं आउँछ । तर, ऐरावत पनि स्वर्गलोक फर्किंदैन । इन्द्र र ऐरावत दुबै नफर्किएपछि आमा बसुन्धरा आफैं काठमाडौं आउँछिन् ।
बसुन्धरालाई भने काठमाडौंबासीले चिनिहाल्छन् । काठमाडौंबासीले बसुन्धरा काठमाडौं आउनुको कारणबारे थाहा पाएपछि नयाँ जुक्ति निकाल्छन् ।
उनीहरूले बसुन्धरा सामु इन्द्रलाई सशर्त छाड्ने बताउँछन् ।
शर्तहरू दुईवटा हुन्छन् ।
पहिलो शर्त हुन्छ– खेतीपातीको काम सकिएर बाली भित्र्याउने समय हुन लागेकाले आगामी दिनमा पर्न सक्ने पानीले बालीनालीलाई क्षति गर्ने भएकाले अबदेखि इन्द्र राजाले वर्षाको साटो कुहिरो मात्रै लगाइदिनुपर्ने ।
काठमाडौंबासीले भगवान इन्द्रकी आमा बसुन्धरा सामु उक्त शर्त राख्नुको मुख्य उद्देश्य यो पनि थियो कि कुहिरोले बाली पाक्न सहज हुन्छ ।
दोस्रो शर्त हुन्छ– यो सालभरि मरेका सबैलाई स्वर्ग लैजानु पर्ने ।
बसुन्धराले दुबै शर्तहरुमा सहमति जनाएपछि इन्द्रलाई काठमाडौंबासीले रिहा गरिदिन्छन् । र, काठमाडौंबासीले बाँधेर राखेका भगवान इन्द्रलाई आमा बसुन्धरासँगै स्वर्ग फिर्ता पठाइन्छ । र, आफ्ना दुई शर्तहरु पूरा भई इन्द्र ऐरावत र बसुन्धरालाई स्वर्ग पठाउँदा गरिएको उत्सव र खुशियाली हो– इन्द्रजात्रा पर्व ।
इन्द्रजात्राको समयमा काठमाडौं उपत्यकाका चोक र देवलमा हातखुट्टा बाँधिएको प्रतिमा राख्ने गरिन्छ, जसलाई भगवान् इन्द्र मानिन्छ ।
यस्तै, हात्तीको स्वरूपमा निकालिने ‘पुलुकिसी’ लाई इन्द्रको बाहन ऐरावत मानिन्छ । जो इन्द्रको खोजीमा स्वर्गबाट काठमाडौं झरेको मान्यता छ ।
इन्द्रजात्राको पहिलो दिन बेलुका निकालिने ‘दाङ्गी’ लाई इन्द्रकी आमा बसुन्धराको स्वरूप मानिन्छ ।
आठ दिनसम्म लगातार चल्ने इन्द्रजात्रामा विभिन्न झाँकीहरू निकालिन्छन् भने नेवाः समुदाय उत्सव र संस्कृतिको मिलापमा झुम्छ । लाखे नाच देखिन्छन् । कुमारीलाई रथमा डुलाइन्छ । बसन्तपुर दरबार क्षेत्रमा नौमती, दमाहा, झ्याली, धिमे बाजा बजाएर तालमा ताल मिलाई नाच्दै हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइने गरिन्छ ।
नेपाल भाषामा येँयाः भनिने इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकामा विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याएपछि सुरु हुन्छ ।
इन्द्रध्वज ठड्याएपछि आधिकारिक रूपमा इन्द्रजात्राको सुरुवात भएको मानिए पनि इन्द्रध्वज राख्ने लिङ्गो छान्ने, काट्ने र ल्याउने कामबाट नै पर्वको अदृश्य सुरुवात भइसकेको हुन्छ ।
लिङ्गो छान्दा बोकालाई रक्सी !
नेवारी भाषामा लिङ्गोलाई यःसिंः भनिन्छ । नेवाः समुदायले यःसिंः अर्थात् लिङ्गो छान्ने काम पनि विशेष रुपमा गर्ने गर्दछन् । लिङ्गो छान्नका लागि मानन्धर समुदाय बाजागाजासहित काभ्रेपलाञ्चोकको नाला जंगल जान्छन् । नाला जंगलमा रहेका रुखहरू मध्ये झण्डै ३६ फिट अग्लो अथवा ३२ हात भएको सिधा, अग्लो सल्लाको रुख ठीक मानिन्छ ।
नेवा संस्कृतिका जानकारहरूका अनुसार यःसिंः अर्थात लिङ्गोको मापन र रुख छान्ने प्रक्रिया फरक ढंगको देख्न सकिन्छ । लिङ्गो लिन जानेहरू एउटा बोका लगेर जान्छन् । बोकाले जंगलमा भएका रुखहरूमध्ये जसलाई गएर पहिले हिर्काउँछ त्यही यःसिंः अर्थात लिङ्गाका लागि योग्य मानिन्छ ।
पहिले–पहिले यसका लागि बोकालाई रक्सी खुवाएर लट्ठ्याइने गरिन्थ्यो । लट्ठिएको बोकाले पहिले जुन रुखलाई गएर हिर्काउँथ्यो त्यो यःसिंः का लागि छानिन्थ्यो । यःसिंः छनोटमा गएकाहरूमध्ये गुठीको नाइकेको अंगालोभरि समेटिने रुख पनि लिङ्गोका लागि उचित मानिने भनाइ रहेको पाइन्छ ।
रुख छानिसकेपछि धार्मिक विधिअनुसार पूजा र बलि दिएर लिङ्गोको रुख छानिन्छ र काटिन्छ । हाँगाबिँगा छिमलेर रुखलाई बनेपा हुँदै पुरानो सहरको सिमाना मानिने भोटाहिटीमा ल्याएर राखिन्छ ।
विधिवतरुपमा पूजाआजा गरेपछि एकादशीको दिन लिङ्गोलाई तानेर हनुमान ढोका परिसरमा रहेको कागेश्वरी मन्दिर नजिकै रहेको कालभैरवसम्म पुर् याइन्छ । र, द्वादशीमा यःसिंः मा इन्द्रध्वज राखेर ठड्एयापछि इन्द्रजात्रा सुरु हुन्छ ।
इन्द्रध्वज ठडाउने प्रक्रियालाई इन्द्रध्वजोत्थान भनिन्छ । इन्द्रध्वजोत्थान गरिसकेपछि लिङ्गको फेदमा सुनको हात्तीमा चढेको इन्द्रको प्रतिमा राखिन्छ र पूजा गरिन्छ ।
इन्द्रध्जवोेत्थानको समयमा बसन्तपुर नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टनबाट मङ्गलधुन गुञ्जिन्छ । र, स्थानीय नेवारी बाजाको तालमा इन्द्रजात्राको सुरुवात हुन्छ ।
इतिहासअनुसार इन्द्रजात्रामा इन्द्रध्वज फर्फराउने परम्पराको सुरुवात पृथ्वीनारायण शाहका जेठा छोरा राजा प्रताप शाहले सुरु गरेको भनिन्छ । इन्द्रध्वज ठड्याएसँगै बसन्तपुरमा ढाकिएर रहेको श्वेत भैरवको विशाल शबरमुख सबैका लागि खुला गरिन्छ र पूजा पनि खुला हुन्छ ।
इन्द्रध्वजोत्थान भन्दा पहिले श्वेत भैरवको प्रतिमा ढाकिएको अवस्थामा राखिएको हुन्छ । जुन इन्द्रजात्रामा मात्रै पूर्णरुपमा सबैले देख्न पाउँछन् ।
रथयात्राको रौनक
इन्द्रजात्राको अर्को रौनकको उदाहरण रथयात्रा हो । इन्द्रजात्रामा हुने हरेक क्रियाकलापको आफ्नै महत्व रहेको छ । तर, विशेष इन्द्रजात्रामा हुने रथयात्राले सबैलाई मोहित पार्दछ । जीवित देवी देवताका रुपमा पुज्ने कुमारी, गणेश र भैरवको रथले बसन्तपुर दरबार क्षेत्र परिक्रमा गर्दछ ।
इन्द्रजात्राको जस्तै रथयात्राको पनि आफ्नै इतिहास रहेको छ । काठमाडौंका अन्तिम राजा जयप्रकाश मल्लले रथ तान्ने परम्पराको सुरुवात गरेको मान्यता रहिआएको छ ।
राजा जयप्रकाश मल्लले विक्रम सम्वत १८१३ मा कुमारी घरको निर्माण गरेपश्चात कुमारीको रथ इन्द्रजात्रामा तान्ने प्रथाको सुरुवात गरेको कथनहरु प्रशस्तै सुनिन्छन् ।
प्यागोडा शैलीमा सुनको जलपबाट सुसज्जित हुने तीनतले कुमारीको रथ भाद्र शुक्ल चतुर्थी, पूर्णिमा र आश्विन कृष्ण चौथी गरी तीन दिन तान्ने प्रचलन राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको मानिन्छ ।
कुमारीको कथा
कुमारीको रथयात्रासँगै कुमारी प्रथाको पनि सुरुवात पनि जोडिएर आउँछ । नेवाः समुदायको संस्कृतिका जानकार मध्येका एक गौतमरत्न शाक्य भन्छन्, ‘इन्द्रजात्रा अर्थात येँयाः जात्रा लिच्छवीकालदेखि नै सुरु भएको मानिन्छ । तर, त्यो बेलामा इन्द्रजात्रा नभइकन कुमारी जात्रा भनेर शीलालाई मात्र पूजाआजा गर्ने र जात्रा चलाउने परम्परा रहिआएको रहेछ ।
पछि कालान्तर सबै चेन्ज भएर गइसकेपछि मल्लकालीन अवस्थामा राजा जयप्रकाश मल्लले हरेक समयमा राजकाज चलाउनेदेखि देशमा शान्ति, सुव्यवस्था चलाउनका लागि स्वयं देवी तलेजु भवानीसँग दिनहुँ भेटघाट गर्ने र उहाँसँग बसेर छलफल गरेर उहाँको आज्ञाअनुसार राष्ट्रलाई चलाउँदै आइरहेका थिए ।
एक दिन राजा जहिले पनि देवी तलेजु भवानीको मन्दिरमा गएर भेटघाट गरिराखेको कुरा महारानीलाई थाहा हुन्छ । र के–कसो हो भनेर उनलाई चिन्ता लागिसकेपछि राजाको पछिपछि लाग्दै पनि गइराखेको रहेछ ।
रानीले सधैं झैँ राजा जयप्रकाश मल्लले कुराकानी गरिराखेको पछाडि बसेर लुकेर हेरिराखेको अवस्था रहेछ । रानीले राजालाई देवी तलेजु भवानीसँग पासा खेल्दै कुराकानी गरेको देखिछन् । देवीले तिमीलाईमात्रै भेट दिएको, किन रानीलाई लुकिछिपि हेर्न लगाएको तिमीले ? ठूलो गल्ती गर्यौ भनिन् ।
राजाले भने– हैन, मैले गल्ती गरेको छैन । ममात्र आएको हो, रानी पछिपछि आएर हेरेको कुरा मलाई थाहा छैन ।
राजाले आफूले ठूलो गल्ती गरियो भनेर महसुस गरिसकेपछि देवी रिसाएर अबदेखि म तिमीलाई प्रत्यक्ष दर्शन दिन्नँ, यदि तिमीले मेरो दर्शन पाउने हो भने शाक्य कुलकी कन्यालाई कुमारीका रुपमा स्थापना गरेर जात्रा पनि चलाउनू भनिछन् । र, त्यहीँदेखि कुमारी जात्रा सुरु भएको मान्यता पाइन्छ ।
यता काठमाडौंमा कुमारी जात्रा सुरु हुँदै गर्दा गोर्खाका राजा पृथ्वीनारायण शाहले वरिपरिको भूभागमा एकीकरण अभियान चलाइराखेको अवस्था थियो । स–साना राज्यमा हमला हुँदै आएको थियो । राजा जयप्रकाश मल्ललाई पनि सुरक्षाको चिन्ता लागेको थियो ।
देवी भवानीले कुमारीको स्थापना गरेर कुमारीको जात्रा चलाउनु, तिम्रो थप १२ वर्ष फेरि राज्य हुन्छ भनेर सुझाव दिएपछि राजाले नेपाल संवत ८७७ सालमा कुमारीको मन्दिर बनाएर धुमधामका साथै हनुमानढोकासम्म कन्या कुमारीलाई रथमा बिराजमान गराएर यहाँ स्थापना गरेको र त्यहीँदेखि कुमारीको प्रचलन सुरु भएको नेवारी मान्यता छ ।
स्वर्गका राजा बाँधिए, गोर्खाका राजाले काठमाडौं कब्जा गरे
हर्ष र उत्साहको महोत्सव इन्द्रजात्रासँग धार्मिक मात्र नभएर ऐतिहासिक र राजनीतिक प्रशंगहरु पनि जोडिएका छन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा काठमाडौंमा जीत हात पार्ने असफल दुई प्रयासपछि तेस्रो र उपयुक्त मौकाको रुपमा इन्द्रजात्राकै दिनलाई रोजेको इतिहासमा पढ्न पाइन्छ ।
राजा जयप्रकाश मल्ल प्रजाहरुसँगै इन्द्रजात्रा मनाइरहेका बेला पृथ्वीनारायण शाहको फौजले रातारात आक्रमण गरेर काठमाडौंमाथि विजय हासिल गरेको थियो । आक्रमणका क्रममा राजा जयप्रकाश मल्ल तलेजु भवानीको मन्दिरमा लुक्न गएको इतिहासविदहरूको भनाइ छ । त्यसपछि पृथ्वीनारायण आफैं अतिथि बनेर इन्द्रजात्रा मनाउन दिएका थिए ।
स्वर्गका राजालाई बाँधेर आफ्ना शर्तहरु पूरा गराउने क्षमता भएका काठमाडौंबासीहरु विसं. १८२५ मा इन्द्रजात्राकै दिनदेखि गोर्खाका राजाको शासनमुनि बस्न बाध्य भए ।
प्रतिक्रिया