राजनीति

रास्वपा केन्द्रीय परिषदको राष्ट्रिय भेला आजदेखि

By खबरहब

September 17, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदैछ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने भेलाको सभापति रवि लामिछानेले बिहान ९ बजे उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

भोलिसम्म चल्ने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ । 

भेलाको पहिलो दिन आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ । आज सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेश गरिनेछ। आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्वल र लिडरसिप एकेडेमी बारेका प्रस्ताव राख्ने कार्यसूची छ।

भेलाको दोस्रो तथा अन्तिम दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुनेछ। भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला समापन हुनेछ ।

भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरिसकेको छ।

राष्ट्रिय भेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन रास्वपाले पार्टी पंक्तिलाई आग्रह गरेको छ। पार्टीलाई थप सुदृढ र जनपक्षीय बनाउन भेला सफल हुने नेताहरूले विश्वास व्यक्त गरेका छन्।