अन्तर्राष्ट्रिय

चीनमा पृथकतावादको अभियोगमा ताइवानी नागरिकलाई जेल सजाय

By खबरहब

September 17, 2024

काठमाडौँ– चीनमा एक जना ताइवानी राजनीतिक अभियन्तालाई पृथकतावादी गतिविधि गरेको भन्दै ९ वर्षको जेल सजाय सुनाइएको छ । चीनको वेनझोउमा रहेको अदालतले ताइवानी अभियन्ता याङ चि युवानलाई यस्तो सजाय दिएको ताइवानको मुख्यभूमि मामिला परिषदले जनाएको छ ।

यस्तो सजाय सुनाइएसँगै ताइवानले आफ्ना नागरिकलाई चीनको भ्रमण गर्दा जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । परिषदकी उपमन्त्री लियाङ वेन चीले ताइवानका जनतालाई डर देखाउनका लागि चीनको कम्युनिष्ट पार्टीले यस्तो सजाय सुनाएको उल्लेख गरेका छन् ।

परिषदका अनुसार पृथकतावादको आरोपमा ताइवानी नागरिकलाई जेल सजाय सुनाइएको यो पहिलो घटना हो । हालैका वर्षहरूमा चीनले सिन्जियाङ प्रान्तका उइग्युर मुसलमान समुदायका व्यक्तिविरुद्ध यस्तो अभियोग चलाउँदै आएको थियो ।

केही महिनाअघि लाई चिङ तेले ताइवानको राष्ट्रपतिको जिम्मेवारी सम्हालेयता चीन र ताइवानबीच तिक्तता बढेर गएको ठानिन्छ । चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ । आवश्यक परे बल प्रयोग गरेर भएपनि ताइवानलाई गाभ्ने चीनको योजना छ ।