प्रतिबन्धित क्रिप्टोमा हजारौँ नेपालीले दैनिक गर्छन् अर्बौंको कारोबार | Khabarhub Khabarhub

प्रतिबन्धित क्रिप्टोमा हजारौँ नेपालीले दैनिक गर्छन् अर्बौंको कारोबार



काठमाडौं– नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्न पाइँदैन । क्रिप्टोकरेन्सीको कारोबारसम्बन्धी कुनै कानुनी व्यवस्था छैन । विभिन्न समयमा सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय बैंकले क्रिप्टोको कारोबार र माइनिङको काम गर्न नपाइने बताइरहेको छ ।

तर पनि हजारौँ नेपालीहरूले भने दैनिक ठूलो मात्रामा क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएका छन् । जुन कारोबार उनीहरूले बैंकिङ प्रणालीसँग आबद्ध भएर नै गरिरहेका छन् । विशेषगरी विश्वमा क्रिप्टो एक्सचेञ्ज कारोबार गर्ने प्रतिष्ठित साइटमा भइरहेको संलग्नता र कारोबारबारे अध्ययन गर्दा यस्तो देखिएको हो ।

कसरी भइरहेछ कारोबार ?

नेपालमा क्रिप्टो कारोबारबारे कुनै कानुनी व्यवस्था छैन । त्यहीकारण केन्द्रीय बैंकले पनि समय समयमा क्रिप्टोको कारोबार गर्न नपाइने सूचना जारी गर्दै आएको छ ।

त्यहीकारण वैधानिक हिसाबले क्रिप्टोको कारोबार निषेधित छ । त्यतिमात्रै होइन, क्रिप्टोको कारोबार गर्ने एक्सचेञ्ज एप्लिकेशन र वेबसाइटमा पनि सरकारले पहुँच रोक्ने प्रयास गरेको छ । तर पनि, हजारौँ नेपालीले क्रिप्टोको कारोबार गर्ने विभिन्न एप्लिकेशन र वेबसाइटका माध्यमबाट दैनिक ठूलो रकमबाट क्रिप्टो कारोबार गर्ने गरेको पाइन्छ ।

विशेषगरी बाइनान्स, क्वाइन मार्केट क्याप, क्वाइनबेस लगायतका सयौँ प्लेटफर्महरू क्रिप्टो कारोबारका लागि विश्वमा स्थापित छन् । तीमध्ये दर्जनौँ एप्लिकेसन र साइटहरूमा इन्टरनेटमार्फत् नेपालमा पनि सहज पहुँच भएको देख्न सकिन्छ । विशेषगरी विश्वभरका अधिक प्रयोगकर्ताले प्रयोग गर्ने बाइनान्समा गरिएको अध्ययनमा दैनिक हजारौँ नेपाली प्रयोगकर्ताले क्रिप्टो कारोबारका लागि उक्त प्लेटफर्म प्रयोग गर्ने गरेको पाइएको छ ।

नेपालको केन्द्रीय बैंकले बैंकिङ प्रणालीमार्फत् सिधै क्रिप्टोको कारोबार गर्न प्रतिबन्ध लगाएकाले कारोबारीहरूले त्यसका लागि घुमाउरो बाटो प्रयोग गर्ने गरेको देखिन्छ ।

क्रिप्टोको कारोबार गर्ने प्लेटफर्महरूले कारोबार गर्नका लागि सामान्यतः २ वटा माध्यम उपलब्ध गराएका हुन्छन् । एउटा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार गरेजस्तै रियल टाइममा खरिद बिक्री गर्ने र अर्को उक्त प्लाटफर्मलाई माध्यम बनाएर व्यक्ति-व्यक्तिबीचमा अर्थात् ‘पिटुपी’ मोडेलमा कारोबार गर्ने ।

एक्सचेञ्ज कम्पनीकै प्लाटफर्मलाई आधार बनाएर कति नेपालीले कारोबार गर्छन्, त्यो अध्ययन जटिल हुन्छ । उक्त प्लाटफर्ममा विश्वभरका करोडौँ मानिस सहभागी भइरहेका हुन्छन् । तर, प्लाटफर्मले दिएको पिटुपी माध्यममा गएर भने कति नेपालीले रियल टाइममा कारोबार गरिरहेका छन् भनेर सजिलै हेर्न सकिन्छ । तर, त्यसका लागि सदस्य बन्नुपर्ने हुन्छ ।

बाइनान्समा उपलब्ध पीटुपी प्लेटफर्ममा रियल टाइममा सयौं नेपालीले मोबाइल वालेटहरू ईसेवा, खल्ती, आइएमई पे र विभिन्न बैंकहरूबाट भुक्तानी गर्नेगरी क्रिप्टोको कारोबार गरिरहेका हुन्छन् । जहाँ आफूले चाहेको क्रिप्टो सजिलै खरिद गर्न र बिक्री गर्न सकिन्छ ।

जसका लागि आफ्नै मोबाइल वालेट वा बैंक खातामार्फत् नेपाली रूपैयाँमै खरिद गरेको क्रिप्टोको भुक्तानी र आफूले बिक्री गरेको क्रिप्टोको आम्दानी गर्न सकिन्छ ।

नेपालमा क्रिप्टो कारोबार वैधानिक नभएकोले काराबारीहरूले प्लाटफर्ममा आफ्नो नाम वास्तविक राखेका हुँदैनन् । तर, कारोबार गर्ने अवस्थामा पुगिसकेपछि दुवै पक्षले व्यक्तिगत खाताको आदान-प्रदान गर्नुपर्ने हुन्छ ।

सामान्यतः क्रिप्टो प्लेटफर्ममा पीटुपी कारोबार गर्दा नाफा घाटाको मात्रै प्रश्न नभएर कुनै एक पक्ष स्क्यामरबाट ठगिने सम्भावना पनि हुन्छ । अर्थात्, पहिलो पक्षले बिक्री गरेपछि भुक्तानी नपाउन सक्छ वा दोस्रो पक्षले अग्रिम भुक्तानीपछि पनि क्रिप्टो नपाउन सक्छ । जुन जोखिमलाई सम्बन्धित प्लाटफर्मले जिम्मा लिँदैन ।

कसरी हुन्छ अनुगमन ?

क्रिप्टो कारोबारमा प्रतिबन्ध लगाए पनि नेपाल राष्ट्र बैंकले अहिले विभिन्न माध्यमबाट नेपालीको सहभागितामा के-कसरी कारोबार भइरहेको छ भन्ने अध्ययन–अनुगमन नगरेको राष्ट्र बैंकका सह-प्रवक्ता डिल्लीराम पोख्रेलले बताएका छन् । उनले उक्त विषयमा अन्य अनुसन्धान गर्ने र कारबाही गर्ने निकायको भूमिका रहेको हुनसक्ने बताए ।

‘राष्ट्र बैंकले क्रिप्टो कारोबारलाई प्रतिबन्ध लगाएको छ, तर यसको कारोबार भइरहेको सन्दर्भमा अनुसन्धान वा कारबाही गर्ने निकायका रुपमा साइबर ब्यूरोले काम गर्दै आएको छ’, उनले भने, ‘त्यस्तो कारोबारकर्तामाथि कहिलेकाहीँ अनुसन्धान पनि हुने गरेको देखिएको छ ।’

नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जनशक्ति अभावका कारणले पछिल्लो समयमा ब्यूरोले क्रिप्टोकरेन्सी कारोबारको विषयमा अध्ययन नगरेको बताएका छन् ।

‘जनशक्ति अभावका कारण क्रिप्टोकरेन्सी कारोबारको विषय हेर्ने गरेका छैनौँ, प्राविधिक विषय हेर्न परे मात्रै अध्ययन गर्ने गरेका छौँ’, उनले भने ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ९ : ३९ बजे

ग्रामीण महिलाको आयआर्जनको माध्यम बन्दै कोदो

गलेश्वर – म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ की हिमा छन्त्यालले यस वर्ष

दिगो विकास लक्ष्यमा उल्लेख्य प्रगति : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरू प्राप्तिका

चिलिमे जलविद्युतले १२ प्रतिशत बोनस दिने

काठमाडौं– चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को

सुनको मूल्य आजपनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  नेपाल

रविलाई कास्की अदालतमा उपस्थित गराइयो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला