नबिलको फेलोसीपले ‘इन्टर्नसीप खोज्नेका साथी’ बनेका कुनाल | Khabarhub Khabarhub

नबिलको फेलोसीपले ‘इन्टर्नसीप खोज्नेका साथी’ बनेका कुनाल


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वविद्यालय तहको अधिकांश विषयमा अनिवार्य प्रयोगात्मक अङ्कभार व्यवस्था छ । आफूले अध्ययन गरेको विषयमा सैद्धान्तिक परीक्षासँगै विद्यार्थीहरू व्यवहारिक परीक्षामा पनि उत्तिर्ण हुनुपर्ने हुन्छ । अर्थात्‌, आफूले डिग्री गर्न चाहेको विषयमा निश्चित समय व्यवहारिक अभ्यास (इन्टर्नसीप) गर्नुपर्ने हुन्छ ।

सामान्यतयाः आफूले छनोट गरेको विषयसँग सम्बन्धित वस्तु तथा सेवा उत्पादन गर्ने क्षेत्रमा इन्टर्नसीप गर्नुपर्छ । औद्योगिक तथा व्यवसायिक हिसाबले नेपाल विकासको उच्चतम अवस्थामा नपुगेको हुँदा इन्टर्नसीप गर्नुपर्ने विद्यार्थीलाई सम्बन्धित क्षेत्र खोज्न नै मुस्किल पर्ने गरेको छ ।

इन्टर्नसीप गर्नुपर्ने, तर ठाउँ नपाउने यस्तै सयौं विद्यार्थीका साथी बनेका छन् – व्यवस्थापन र सूचना प्रविधि (आइटी) अध्ययन गर्दै गरेका विराटनगरका कुनाल साह ।

कुनालले उद्योग तथा व्यवसायिक फर्म र उच्च शिक्षा पढ्दै गरेका विद्यार्थीहरूबीच पुलको काम गर्ने ‘इन्टर्नसाथीडटकम’ सञ्चालनमा ल्याएका छन् । जसमार्फत् कुनालले हजारौं विद्यार्थीलाई सम्बन्धित फर्महरूसँग जोड्दै इन्टर्न प्लेटफर्म खोज्न सहयोग गरिरहेका छन् ।

नबिलको फेलोसीप बन्यो आधार

कुनाललाई इन्टर्नसीप गर्न खोजेका विद्यार्थीको साथी (सहजकर्ता) बनाउने आधार नबिल बैंकले दिएको हो ।

विराटनगर रानीमिल्समा घर भएका कुनालले एसईई तहसम्मको अध्ययन निजी विद्यालयमा गरेका थिए । हाल महेन्द्रमोरङ बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।

सुरुमा बीसीए अध्ययन गरी बीचमै छाडेर अहिलेहाल बीबीएस अध्ययन गरिरहेका कुनाल २२ वर्षका भएका छन् । कुनालले केही काम पनि गर्दै आएका थिए । तर, सो कामले व्यवसायिक स्वरूप भने लिन सकेको थिएन ।

पहिले आइटी र अहिले बीबीएस अध्ययनकै क्रममा विद्यार्थीहरूलाई इन्टर्नसीप सहयोग गर्ने निकाय चाहिने र त्यो व्यवसायिक रूपमा सञ्चालन गर्न सकिने उनलाई लागेको थियो । उनले त्यसका लागि आवश्यक डोमेनबारे सोचे ।

‘अहिले म बीबीएस पढ्दैछु, तर पहिले आइटी पढ्ने क्रममा पनि विद्यार्थीहरूको इन्टर्नसीपमा सहयोग गर्ने व्यवसायिक प्लेटफर्म बनाउन सकिन्छ भन्ने विषयमा साथीहरूबीच कुराकानी हुन्थ्यो’, कुनाल भन्छन्, ‘तर कसरी गर्ने भन्ने विषयमा निर्णय गर्न सकिरहेको थिइनँ ।’

आइटीलाई निरन्तरता नदिएर कुनालले बीबीएस पढ्न सुरु गरे । तर, सो क्रममा उनले विभिन्न निजी परियोजनाका लागि डिजिटल मार्केटिङ र एसईओ लगायत काम थाले । सोही क्रममा करिब दुई वर्षअघि रूटिन अफ नेपाल बन्दको पेजमा आएको एउटा सूचनाले उनलाई तान्यो । सोही सूचनाले आफ्नो योजनालाई कम्पनी खोल्ने अवस्थासम्म पुर्‍याएको उनी बताउँछन् ।

‘रूटिन अफ नेपाल बन्द पेजमा व्यवसायिक सोचलाई व्यवसायमा बदल्ने विषयमा विभिन्न संस्थाहरूले ‘इन्क्यूवेसन’ प्रदान गर्ने सूचना राखेको थियो, मलाई त्यो सूचनाले आकर्षित गरेको थियो’, उनी भन्छन्, ‘त्यसैबेला नबिलले व्यवसायिक सोच राखेकाहरूलाई फेलोसीप प्रदान गर्ने सूचना ल्यायो, मैले पनि त्यसमा आवेदन गरेँ ।’

नबिल बैंकले खुलाएको फेलोसीपमा आवेदन गरेका कुनाल इन्क्यूवेसन प्राप्त गर्ने तालिममा छनोट भए । बैंकले निःशुल्क रूपमा प्रदान गरेको सो अवसर उपयोग गरेरै उनले विद्यार्थीको इन्टर्न साथी बन्ने सोच साकार बनाए ।

‘मैले इन्टर्नसीप लिन चाहने विद्यार्थीलक्षित काम कसरी गर्न सकिन्छ भनी सोचिरहेको थिएँ, नबिलले अवसरको रूपमा उपलब्ध गराएको फेलोसीपबाट ६ महिनासम्म इन्क्यूवेसन तालिम लिएँ’, कुनालले भने, ‘त्यस क्रममा मैले आफ्नो सोचअनुसार काम गर्न सकिने निष्कर्ष निकालेँ र कम्पनी पनि दर्ता गरेँ ।’

इन्क्यूवेसनकै प्रक्रियामा कुनालले ‘इन्टर्नसाथी’को सोचलाई व्यवसायिक आकार दिने काम अघि बढाए । आफू र परिवारको तर्फबाट लगानी जुटाएर ललितपुर पुल्चोकमा कार्यालय खोले । एक वर्षयता सोही कार्यालयबाट काम अघि बढाइरहेका छन् ।

कुनालले बजारीकरण र कार्यालय व्यवस्थापनको विषय हेर्नेगरी केही युवाहरूलाई रोजगारी पनि दिएका छन् । उनले पछिल्लो एक वर्षको बीचमा देशभरका ४५० वटा विभिन्न कम्पनीसँग साझेदारी पनि गरेका छन् । त्यस्तै, २० हजारभन्दा बढी विद्यार्थी कम्पनीसँग वेबसाइटमार्फत् जोडिएको कुनालले बताए । उनको प्लेटफर्मबाट अहिलेसम्म २५ सयभन्दा विद्यार्थीले सेवा पनि प्राप्त गरिसकेका छन् ।

विद्यार्थीलाई यसरी सहयोग गर्छ ‘इन्टर्न साथी’ले

कुनालका अनुसार इन्टर्नसाथीडटकमले विद्यार्थीलाई विशेषगरी आफ्नो विषय अनुसारको इन्टर्नसीप अवसर दिलाउन सहयोग गर्छ । उक्त प्लेटफर्मले विद्यार्थीलाई चाहेको उद्योग तथा व्यवसायिक फर्मसँग जोडिदिन्छ ।

उद्योग तथा व्यवसायिक फर्महरूले कतिपय कामदारहरूलाई सिक्दै/कमाउँदै गर्नेगरी पनि अवसर दिने गरेका हुन्छन् । त्यस्ता उद्योग तथा व्यवसायिक फर्महरू इन्टर्नसीप गर्न आवश्यक भएका विद्यार्थीका लागि उपयुक्त हुन्छ ।

इन्टर्नसाथीले विद्यार्थीहरूको प्रोफाइल लिएर उद्योग तथा व्यवसायिक फर्महरूलाई उपलब्ध गराउने गर्छ । ती फर्मले आवश्यकताअनुसार विद्यार्थीको इन्टर्नसीप लिने गर्छन् ।

‘इन्टर्न अवसर खोजेका विद्यार्थीहरूले हाम्रो साइटमा आएर आफ्नो बायोडाटा दर्ता गराउनुपर्ने हुन्छ, विभिन्न कम्पनीहरूसँग हामीले साझेदारी गरेका छौँ, ती कम्पनीले आवश्यकताका आधारमा विद्यार्थीको बायोडाटा हेरेर इन्टर्नसीप अवसर दिने गर्छन्’, कुनालले भने ।

विद्यार्थीलाई इन्टर्नसीप उपलब्ध गराएबापत ती कम्पनीले कुनालको कम्पनीलाई सेवाशुल्क प्रदान गर्छन् । साझेदारी गर्ने कम्पनी र प्लेटफर्ममा जोडिने विद्यार्थीको संख्या बढ्दै जाँदा इन्टर्नसीपसाथीडटकमले पछिल्लो समय राम्रो आम्दानी पनि दिँदै गएको कुनालले बताए ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ५ : ०९ बजे

सरकारको गति : असोजमा बाढी पहिरो, वैशाखमा क्षति आंकलन

काठमाडौं– गत असोजमा अविरल वर्षाका कारण सिर्जित मनसुनजन्य विपदबाट क्षतिग्रस्त

प्रधानमन्त्रीसमक्ष सगरमाथा संवाद कार्यक्रमबारे माओवादीको ध्यानाकर्षण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (माओवादी केन्द्र) को वन,

प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा

ताप्लेजुङमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ याङसिला चोक नजिकै बोलेरो दुर्घटना हुँदा

शिक्षकहरूलाई काममा फर्कन सरकारको आह्वान

काठमाडौं– सरकारले आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान