काठमाडौं– जापानले क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि बिहीबार आफ्नो सहयोगी अमेरिकासँग चार सय वटा लामो दूरीको टोमाहक क्षेप्यास्त्र खरिदसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ ।
बढ्दो चिनियाँ शक्ति र आणविक हतियारयुक्त उत्तर कोरियाको सामना गर्दै जापानी सरकारले सन् २०२७ सम्म आफ्नो रक्षा खर्चलाई दोब्बर बनाएर नाटोको मापदण्डअनुसार कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतसम्म बनाउने योजना बनाइरहेको छ ।
एक हजार छ सय किलोमिटरसम्म मार हान्न सक्ने दुई प्रकारका टोमाहकहरू दुई अर्ब ३५ करोड अमेरिकी डलरसम्मको बिक्रीलाई नोभेम्बरमा वासिङ्टनले अनुमोदन गरेको थियो ।
जापानले अप्रिलदेखि लागू हुने अर्को आर्थिक वर्षका लागि ५६ अर्ब डलरको कीर्तिमानी रक्षा बजेट स्वीकृत गरेको छ । जापानसँग युद्धपछिको शान्तिवादी संविधान छ । उक्त संविधानले आफ्नो सेनालाई स्पष्टरूपमा रक्षात्मक उपायहरूमा सीमित गर्दछ ।
यद्यपि गत वर्ष प्रमुख सुरक्षा तथा रक्षा नीतिहरूलाई अद्यावधिक गर्दा टोक्योले चीनले प्रस्तुत गरेको चुनौतीहरूलाई स्पष्टरूपमा रेखांकित गर्यो । अघिल्लो दिनको एक पत्रकार सम्मेलनमा अमेरिकी राजदूत रहम इमानुएलले जापानको नयाँ रक्षा प्रयासको प्रशंसा गरे ।
अमेरिकालाई इजाजतपत्रअन्तर्गत जापानमा बनेको प्याट्रियट क्षेप्यास्त्रहरू बिक्री गर्न सक्षम बनाउन गत महिना टोक्योले हतियार निर्यात नियन्त्रणलाई खुकुलो बनाएको थियो । युक्रेनलाई हतियार पठाएपछि अमेरिकाले आफ्नो स्टक भर्न खोजिरहेको छ ।
प्रतिक्रिया