हिम्मतले भेडीगोठ धानेका हिमबहादुर « Khabarhub

हिम्मतले भेडीगोठ धानेका हिमबहादुर


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ ।

धवलागिरि गाउँपालिका–५ मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उनी भने आफ्नो पुर्ख्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ पसेका थिए ।

सहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अँगालेका उनी अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका वन, जङ्गल, बुकी र खर्कमा भेटिन्छन् । उनले करिब पाँच सय ५० बढी भेडाबाख्रा रहेको ‘मल्कबाङ भेडाबाख्रा’ फार्म सञ्चालन गर्दै आएका छन् । हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरूमा पुर्‍याउने गरिन्छ ।

करिब तीन महिनासम्म मुस्ताङका हिमाली जङ्गलमा हुर्काएका भेडाहरूलाई यतिबेला छ महिनापछि आफ्नै गाउँ मल्कबाङको फाँटमा ल्याएको उनले बताए ।

मल्कबाङ गाउँको फेदी हुँदै बग्ने खालीखोलाको किनारमा रहेका बारीको फाँटमा उहाँको भेडीगोठ राखिएको छ । घुम्ती गोठका भेडाबाख्रालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले बेँसीका खेतबारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा–पाटामा गोठ सार्ने गरिन्छ ।

मुस्ताङबाट गोठ हिँडाएको एक महिनामा गाउँमा आउन सफल भएको किसान छन्त्यालको भनाइ छ । मुस्ताङको कोबाङ मुलीबुकीबाट लेते हुँदै म्याग्दीको दाना ल्याएर त्यहाँबाट भुरुङ, दोबा, बेग, चिमखोला, कुइनेमङ्गलेको लेकाली क्षेत्र र वनजङ्गल हुँदै भेडीगोठलाई मल्कबाङ ल्याइपुर्‍याएकाे उनले बताए । ‘वैशाख–जेठसम्म्म अब बेँसी र पहाडका फाँट र जङ्गलमै भेडीगोठ राख्छौँ, जेठको अन्तिमतिर मात्रै हिमाली बुकीहरूमा पुग्छन् गोठ, धवलागिरि हिमालको आधार शिविरसम्म नै गोठलाई लैजाने गर्छौँ’, उनले भने ।

घुम्ती गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफूले पुर्ख्यौली पेसाको निरन्तरता र स्थानीयस्तरमै आत्मनिर्भर बन्ने उद्देश्यले भेडापालन गरेको उनले बताए ।

सहरको सुविधालाई छाडेर गाउँ पसेकोमा आफूलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको उनको भनाइ छ । ‘मेरो सीपले सहरमै पनि सुविधायुक्त जीवनयापन गर्न सक्ने थिएँ, तर पुर्ख्यौली ठाउँले मलाई तान्यो, म आफ्ना पुर्खाको पसिनाले सिञ्चित भएको वनजङ्गलमै रमाउन आएको हुँ, यहाँका हरेक खर्कमा मलाई मेरा पुर्खाहरूको आशीर्वाद मिलेजस्तो सन्तुष्टि मिलेको छ’, उनी भन्छन् ।

४७ वर्षका छन्त्यालले भेडापालनबाट वार्षिक २० देखि २५ लाखसम्मको भेडाबाख्रा बिक्री हुने गरेको बताए । ‘भेडाबाख्राको बजारीकरणमा समस्या छैन, भेडा साढँ  र खसीबोको खोज्दै ग्राहक गोठमै आइपुग्छन्, हिउँदयाममा चरन क्षेत्रको अभावले धेरै पाल्न सकिँदैन’, उनले भने । बर्खायाममा बुकीमा चरन क्षेत्रको अभाव नहुने भए पनि हिउँदयाममा बेँसीमा चरन क्षेत्र र घाँसको अभाव हुने भेडापालक किसान बताउँछन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ११ : ०१ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल