प्रचण्ड-बाबुराम सम्बन्ध : शंकाको लाभ कि उपयोगिताको अन्त्य ? | Khabarhub Khabarhub

प्रचण्ड-बाबुराम सम्बन्ध : शंकाको लाभ कि उपयोगिताको अन्त्य ?



कुनै समय प्रचण्डको ‘विदुर’ भनेर चिनिएका डा. बाबुराम भट्टराईको राजनीतिक जीवन भने स्थिर रहेन । भट्टराई जति बौद्धिक र इमानदार छन्, उनलाई चिन्नेहरू उत्ति नै संकीर्ण रहेको आक्षेप लगाउँछन् । माओवादीबाट विद्रोह गरेर भुरे टाकुरे राजनीतिक दलहरू चहार्दै हिँडेका उनी पछिल्लो समय आफ्नै  राजनीतिक चेला गंगा श्रेष्ठहरुले समेत छोडेपछि टापूमा उभिएको एक्लो यात्री जस्तो भएका छन् । वयले ७० को घेरो छोएका डा. भट्टराईको राजनीतिक घरजम किन चीरस्थायी भएन ? राजनीतिमा आएको नैतिक स्खलनले बाबुरामको विचारलाई सिध्याएको हो कि समयानुकूल उनले आफूलाई परिष्कृत गर्न नसकेका हुन ? धेरैमा मनमा उब्जिएको प्रश्न हो ।

विद्यावारिधि गरेका नेताहरू दुर्लभ रहेको समयमा बौद्धिक छवि बनाएका भट्टराई निकै चर्चित र भिजन भएका नेतामा गनिएका थिए । २०६४ को निर्वाचन पछि त उनको क्रेज र तागतमाथि सबैको भरोसा थियो । २०६४ को निर्वाचनमा गोरखा १ संविधान सभाको सदस्यमा निर्वाचित भएका भट्टराई निर्वाचनपछि बनेको मन्त्रिपरिषद्‌मा अर्थमन्त्री बनेका थिए।

स्वतन्त्र ढंगले काम गर्न दिन भट्टराईको फोटोअंकित टीसर्ट लगाएर युवाहरु सडकमा निस्कन्थे । जंगलबाट सिंहदरबार छिरेको माओवादीलाई सत्ता र शक्तिको आकारमा ढाल्न उनैले कुशल शिल्पीको भूमिका निर्वाह गरेका थिए ।

उनले गरेका कामको तारिफ पक्ष प्रतिपक्ष सबैले गरेका थिए । काठमाडौंका सडक फराकिलो बनाउने अभियानमा उनले लिएको कुशल नेतृत्वको अहिले पनि सम्झना गरिन्छ । अर्थमन्त्री रहँदा भट्टराईको बढ्दो लोकप्रियताकै कारण तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसंगको सम्बन्ध चिसिन शुरु भएको  थियो । 

भट्टराई ११ भदौ २०६८ मा नेपालको ३६औँ प्रधानमन्त्री बने तर पार्टी र प्रचण्डबाट पनि चरम असहयोग भएपछि २०६९ फागुन ३० मा उनले आफ्नो पद र पार्टीका सबै जिम्मेवारीहरूबाट राजीनामा दिएका थिए । 

त्यसबेला उनी माओवादी पार्टीका वरिष्ठ स्थायी समिति सदस्य र उपाध्यक्ष थिए। त्यसबेला देखि बिग्रिएको प्रचण्डसंगको सम्बन्ध अहिलेसम्म पनि सुध्रन सकेको छैन ।

चुनावी दाउपेचका लागि सम्बन्धमा निकटता आएको देखिए पनि दुवैले उपयोगिताको राजनीति सकिएको अनुभूत गरेको निकटतमहरु बताउँछन् ।

 राजनीतिक महत्वाकांक्षाको भोक
प्रचण्डसँग छुटिए पनि बाबुरामले केही माओवादी नेतालाई साथमा लिएर २०७३ असार २८ मा आफ्नो नेतृत्वमा नयाँ शक्ति पार्टी, नेपालको स्थापना गरेका थिए। त्यो बेला उनले सिने कलाकार अशोक शर्मा, करिश्मा मानन्धरलाई पनि सँगै लिएर ३३ सदस्यीय कार्यसमिति रहेको नयाँ पार्टी बनाएका थिए । यता वाम एकताको लहर सुरु भएको  थियो । निर्वाचनमा एकता गर्ने लोभमा गठबन्धन गरेका भट्टराई विरक्तिएर १५ दिनमै त्याग्न पुगे । केही समय नयाँ शक्ति पार्टीमा लोकप्रिय बनेका उनी २०७६ वैशाख २३ मा उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमसँग तालमेल गर्न पुगे । त्यो तालमेलमा पनि उनी लामो समय टिक्न सकेनन् ।

महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएपछि जनता समाजवादी पार्टी नाम राखियो । तर विभिन्न सिद्धान्त र नेतृत्वको  मतभेदका कारण दुई दल पुनः भिन्न भए । त्यसपछि भट्टराई–यादवले २०७९ साउन १२ जनता समाजवादी पार्टी निर्माण गरे । 

त्यसपछि पुन : भट्टराई र प्रचण्डको सम्बन्धमा केही सुधार आयो । प्रचण्ड लचिलो भए । त्यो बेला एमाले र माओवादीबीचकाे वाम एकता टुटेर गएको थियो । त्यसपछि ०७९ को निर्वाचन अगाडि भट्टराईले माओवादी केन्द्रसँग गठबन्धन गरे । त्यसमा कांग्रेसलगायतका दलले पनि सघाएका थिए । र भट्टराईले निर्वाचन नलड्ने घोषणा गरे र आफ्नो निर्वाचन क्षेत्र  गोरखा २ बाट माओवादी अध्यक्ष प्रचण्डलाई समर्थन गरे । बदलामा काठमाडौं ७ बाट आफ्नी छोरी मानुषी यामी भट्टराईलाई उठाए । तर भट्टराईले त्यो बेला गठबन्धनबाट धोका पाए । छोरी उठेको ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली विजयी भए । 

त्यसपछि केही समय बाबुराम मौन देखिएका थिए । तर प्रचण्डसँग बोलचाल र भेटघाटको माहोल सहज बनेको थियो । पार्टी एकीकरण गर्ने र सङ्क्रमणकालीन मुद्दालाई सबै मिलेर किनारा लगाउने भनिएको थियो । तर भट्टराईले प्रचण्डको व्यवहार परिवारवादबाट माथि उठ्न नसकेको भन्दै सहयात्राको प्रस्ताव टुंग्याएको स्रोतको दाबी छ । कतिपय निकट स्रोतसँग उनले गोरखामा प्रचण्डलाई सहयोग गरेर जीवनकै ठूलो गल्ती गरेको अनुभव सुनाउने गरेको बताइन्छ । 

भट्टराई र प्रचण्डको सम्बन्ध 
उसो त भट्टराई प्रचण्ड प्रधानमन्त्री भएपछि बाक्लै एकता प्रयासमा नलागेका होइनन् । तर पार्टी एकतापछि आफ्नो स्थान सुरक्षित नहुने भएपछि उनी सानो आकारको फुट्दै फुट्दै अगाडि बढेको पार्टीलाई सम्हालिरहेका छन् । माओवादी केन्द्रको गत ०८० भदौ २५ गते बसेको पदाधिकारी बैठकले माओवादी केन्द्रको नाम फेर्न तयार भएको भन्दै नेसपालाई पत्र पठायो । 

गत भदौ ३० गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले हस्ताक्षर गरी नेसपा अध्यक्ष महेन्द्रराय यादवलाई पत्र पठाइएको हो। नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई भारत भ्रमणमा भएका बखत अर्का अध्यक्ष यादवलाई पार्टी एकताका विषयकाे पत्र थियाे । यही पत्रले नेसपामा पुन: तरङ्ग ल्याएको थियो । पार्टी एकताका विषयमा नेसपाका सह अध्यक्ष गङ्गानारायण श्रेष्ठले २०७९ साल चैत ३ गते नौ बुँदे प्रस्ताव लेखेर माओवादी संवाद समितिका संयोजक कृष्णबहादुर महरालाई बुझाएका थिए । 

नेसपाको पत्रको जवाफ लेखेर माओवादीले गत भदौ ३० गते एकता गर्न सकारात्मक रहेको प्रस्ट पारेको थियो । त्यसपछि पहिलो वरियतामा रहेका अध्यक्ष भट्टराईलाई सम्बोधन नगरी  पत्र आएपछि बाबुराम अझ प्रचण्डसँग सशंकित भए । उनले अहिलेकै अवस्थामा माओवादी केन्द्रसँग एकता गर्न तयार नभएको प्रस्ट पारेका थिए ।  

किन सम्भव छैन प्रचण्ड–भट्टराई मिलन?
प्रचण्डको अस्थिर र सत्ता लिप्सा स्वभावका कारण बाबुराम प्रचण्डको विश्वास नगर्ने स्रोतको दाबी छ । जनयुद्धका बेला बेपत्ता पारिएका, पीडित अनि शहीद परिवारलाई न्याय दिनको साटो निरन्तर  सरकारमा गएपनि आफ्ना केही निकट नेताहरूलाई मात्र व्यवस्थापन गरेको प्रचण्डलाई आरोप लाग्ने गरेको छ । यही कारण बाबुराम पनि प्रचण्डको पछि नलाग्ने उनको सचिवालय बताउँछ । माओवादीमा अहिले प्रचण्डको हालीमुहाली चल्छ । भट्टराई प्रवेश गर्नासाथ अवरोध आउने बुझेका प्रचण्ड सहज देखिदैनन् । 

सुनकाण्डमा माओवादीका केन्द्रीय नेता धमाधम पक्राउ पर्न थालेपछि माओवादीमा विलय हुन डा.भट्टराई उक्साउनेहरु नै झस्किएको बताइन्छ ।

भट्टराई पक्षले भन्यो, ‘प्रचण्ड आफै सिद्धिदै छन् । डढेलो लागेका बेला सिद्धिन हामी किन जाने ?’ 

यता माओवादी महासचिव देव गुरुङ भने जसले जे आरोप लगाएपनि माओवादीको योगदान जनताले देखेको बताउँछन् । उनी भन्छन्, ‘मिल्ने जतिलाई समेटेर लाने हो । मुद्दाहरू सबै एक भएर मिलाउँदै जाने हो । माओवादीले गलतलाई गलत र सहीलाई सही भन्ने खुबी राख्छ ।’  

यसरी हेर्दा प्रचण्ड र बाबुरामको मिलन तत्काल नहुने दुवै पक्षका नेताहरूको भनाइ छ । 

यादवले पार्टी किन फुटाए ?
नेपाल समाजवादी पार्टीमा हाल दुई जना अध्यक्ष छन् । एक जना  भट्टराई अर्को अध्यक्ष अध्यक्ष महिन्द्र राय यादव हुन् । यादव प्रतिनिधि सभा सदस्य समेत हुन् । तर अचानक शनिबार नेसपा अध्यक्ष यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भनेपछि पहिलो वरियताका अध्यक्ष भट्टराई सशंकित भए । 

उनीहरू अब एकताको प्रक्रिया अगाडि बढिसकेकाले पछि नहट्ने बताइरहेका छन् । श्रेष्ठले खबरहबलाई भने, ‘गत मंसिर ६ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी एकता गर्न संयोजन समिति बनाइएको थियो । सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको हो । पार्टी फुटेको होइन ।’

उनले भट्टराईले एकता प्रक्रियाको जडमा पुगेर पनि पटक-पटक भंग गरेको समेत बताएका छन् । केन्द्रीय कार्यसमितिले गरेको निर्णय केन्द्रीय कार्यकारिणी उल्ट्याउन नमिल्ने श्रेष्ठले बताए । 

तर अध्यक्ष भट्टराई एकताको विपक्षमा उभिएका छन् ।  उनले आइतबार पार्टीको कार्यकारिणी बैठक राखेर माओवादी केन्द्रसँग भएको पार्टी एकता खारेज भएको बताएका छन् । बहुमत सदस्यले यसलाई खारेज गरेको भट्टराईको दाबी छ । 

आफ्नो पार्टीको नीति  सिद्धान्त भन्दा  फरक भएर  नेकपा माओवादी केन्द्र अगाडि बढेको भन्दै भट्टराईले अब एकताको जग नै टुटेको उनको निष्कर्ष छ । 

सचिवालयका  ती नेताले भने, ‘प्रचण्डसँग मिलेर कुनै काम छैन । आफू पनि सकिने अरूलाई पनि सक्ने पहलमा भएकाले हामी उनको पछि लाग्दैनौँ ।’ 

यतिमात्र हैन पार्टीले निर्णय गरेर संसदीय दलमा पठाएर यादवको सांसद पद नै खारेज गर्ने प्रक्रियामा रहेको बाबुराम निकट नेताको भनाई छ । ती नेताले खबरहबलाई भने, ‘संसदीय दलको निर्णयपछि निर्वाचन आयोगले के गर्छ हेर्ने हो ।’ 

तर यादव भने नेकपा माओवादी केन्द्रको निर्वाचन चिन्हबाट चुनाव जितेका नेता भएकाले उनको संसद् पद सुरक्षित रहने बताइएको छ ।  नेसपाबाट प्रतिनिधिसभामा यादवसहित २ सांसद छन् भने बागमती र गण्डकी प्रदेशसभामा पनि १–१ सांसद छन् । उनीहरू सबै माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका हुन् ।

यता महेन्द्र निकट नेताका अनुसार पटकऔपटकको पहलमा बाबुराम भट्टराईलाई पनि समेट्ने कुरा भएको थियो । तर भट्टराई एकलकाँटे पाराले अगाडि बढेपछि आफूहरू उनको पछि लागेर राजनीतिक भविष्य धरापमा पार्नु नहुने बताए । ती नेताले भने, ‘घरी एउटा कुरा गरेको छ घरी कुरा फेरेको छ । एकलकाँटे भएर काम छैन । 

भट्टराईको भएको अलिअलि शक्ति समेत खेर गएको धेरैको बुझाइ छ । माओवादीभित्र वैचारिक द्वन्द्व हुँदा सधैँ बाबुरामको पक्षमै उभिएका र नयाँ शक्ति गठनदेखि अहिलेसम्म निरन्तर साथ दिएका नेता  गंगानारायण श्रेष्ठले पनि उनको साथ छाडेका कारण भट्टराईको शक्ति कमजोर भएको देखिन्छ । श्रेष्ठ बागमती प्रदेश सरकारमा मन्त्री समेत छन् । उनले माओवादीसँग लाग्दा अझ धेरै लाभ लिन सक्ने हुनाले भट्टराईको साथ छाडेको बाबुराम निकट नेताको भनाइ छ । 

यसबारे श्रेष्ठले भने, ‘मैले तीन दशकदेखि उहाँको हरेक सुख दुखमा साथ दिएँ तर अब वैचारिक रूपमा हामी फरक भयौँ’ 

उनले विचार नै नमिलेर फरक भएको बताउँदै उहाँहरूले समेटेर लानुपर्नेमा आफूहरू नै समेटिएको बताए । तर भट्टराई पक्ष भने प्रचण्डले आफूहरूलाई न्यायिक ढंगले समेट्न खोजेकाले आफूहरू अहिले तत्काल पार्टी एकताको सङ्घारमा उभिन नसक्ने बताइरहेको छ । 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ३ : ०२ बजे

इजरायली धम्कीपछि इरानका तेलमन्त्रीद्वारा प्रमुख स्थलको भ्रमण

दमास्कस– इरानको तेल सुविधा जस्ता महत्त्वपूर्ण स्थललाई लक्षित गर्ने सम्भावित

प्रधानमन्त्रीलाई माओवादी केन्द्रले बुझायो ध्यानाकर्षणपत्र

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी,

खाद्य कम्पनी र खुला बजारमा खसीबोकाको मूल्य उस्तै, च्याङ्ग्रा ८० रुपैयाँ सस्तो

काठमाडौं- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित गरेर

सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज

काठमाडौं– खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको