'महरा सर' को दुख : उडायो सपना सबै पुत्रमोहले... | Khabarhub Khabarhub

‘महरा सर’ को दुख : उडायो सपना सबै पुत्रमोहले…


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


19.9k
Shares
  • change font
  • change font
  • change font

रोल्पा सदरमुकाम लिवाङ पुग्नेबाटो सेलरोटीजस्तै घुमाउरो छ । गाडीको यात्रा असहज मान्नेहरुका लागि यो बाटोको यात्रा घनघस्याको उकालोभन्दा कठिन लाग्न सक्छ । यही बाटोको मुन्तिर मेबाङ गाउँमा घर भएका ‘महरा सर’का नामबाट चिरपरिचित शिक्षक  कृष्णबहादुरलाई घर मास्तिरको सडक झैं आफ्नो जीवन चक्रव्यूहमा फस्ला भन्ने न कुनै अनुमान थियो, न पूर्वसंकेत नै । जो विज्ञान र गणितका दुर्लभ शिक्षक थिए । 

चेला चपेटाको ठूलो झुण्ड थियो । सानो सपनाभित्र ‘गुरु’को ओजपूर्ण जीवन बाँचिरहेका थिए । गाउँ समाजका अंशवण्डा, ऐंचोपैंचो, पर्म, साँध सिमानाका विवाददेखि जोइपोइका झगडासम्मका मध्यस्थता ‘महरा सर’को रोहबरमा हुन्थ्यो । ०४६ सालको राजनीतिक परिवर्तनले महरा सरको सरल जीवनमा महत्वाकांक्षाको आँधी रोपिदियो । 

०४८ सालमा संयुक्त जनमोर्चाबाट चुनाव जितेका उनै महरा सर ‘माननीय’को फुर्को फिरेर संसद्‌मा प्रकट भए । माओवादी द्वन्द्वको हेडक्वार्टर रहेको रोल्पाका महरा माननीयमा बाँधिन सकेनन् । कम्ब्याक्ट ड्रेस लगाएर प्रचण्डको सहयात्री भएर सपरिवार भूमिगत भए । 

माओवादी शान्ति प्रक्रियामा आउने क्रमका हरेक वार्तामा महरा पार्टीको प्रतिनिधित्व गर्थे । शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद र प्रचण्डका विश्वासपात्र दुई कृष्णमध्ये महरा एक थिए । माओवादी संसदीय राजनीतिमा आएसँगै विगतको पृष्ठभूमिका आधारमा पार्टीले उनलाई संसद्को ‘हेडसर’ बनायो । ०६४ सालको संविधानसभाको निर्वाचनसँगै उनी महाभारतको कृष्णजस्तै राजनीतिमा उदाए । माओवादीभित्र महरा यस्ता भाग्यमानी पात्र थिए कि पार्टी दिएको नभएर आफूले रोजेको पाउँथे । 

पहिलोपल्ट सञ्चारमन्त्री हुँदा ‘घरघरमा इन्टरनेट, हात हातमा मोबाइल सेट’ अवधारणा ल्याएर सञ्चारक्षेत्रमा क्रान्तिको बीउ रोपे । अरुका कुरा धैर्यपूर्वक सुन्ने, कुरा बुझ्ने, आफ्नो कुरा स्पष्ट राख्न सक्ने कलाका कारण अरु पार्टीमा उनको छवि सकारात्मक थियो । 

सत्तामा हटकेक हुँदै गएका उनी गृहमन्त्री हुँदै सभामुखसम्म बन्न भ्याए । सत्ताको चास्नीले परिवार महत्वाकांक्षी बनेको महरा सरले पत्तै पाएनन् । परिवारै युद्धमा होमेर पार्टीमा आफ्नो स्कोर त बढाए तर सन्तानको अस्वाभाविक तिर्खामा बन्देज लगाउन सकेनन् । शिक्षासँगै संस्कारको आग्लो बन्द हुँदा छोराहरूका अगाडि लाचार कृष्ण बन्न बाध्य भए । 

सभामुख रहेकै अवस्थामा महराले आफ्नै कार्यालयकी एक विवाहित महिला कर्मचारीबाट बलात्कारको आरोप लागेपछि त झन् उनको राजनीतिक उचाइ ढलेको धरहरा झैं भयो । यो प्रकरणले सामाजिक र पारिवारिक रूपमै उनी खण्डित भए । पार्टीले पद त दियो, विश्वास दिएन । अझ पत्नीवियोगले महरा छोराहरूको तिर्खा मेटाउने घाँटी बन्दै गए । अन्तत: सुन तस्करीको नमिठो अध्यायसंगै महरा जेलको पाहुना बने । 

पुत्रमोहले महाभारतका प्रतिष्ठित गुरु द्रोणाचार्यको प्रतिष्ठा घट्यो । आफ्नो सन्तान अश्वत्थामालाई उत्कृष्ट प्रमाणित गर्न अरु शिष्यको तुलनामा उनले ठूलो मुख भएको पानी भर्ने अम्खोरा दिएका थिए । त्यसैगरी सन्तानको रहरका अगाडि महराले पनि आफ्नो राजनीतिक धर्म तिलाञ्जलि दिए । बेसार खेती हुने रोल्पाको परिवेश अन्ततः त्यही रङको धातुमा पुगेर कृष्णबहादुर झण्डै पाँच दशकको राजनीतिक जीवनले विश्राम लियो । 

‘महरा सर’ फापेका कृष्णबहादुरका लागि माननीय अभिशाप ठहर्‍यो । जेलमा पनि उनी पटके कहलिए । भात बोकेर भेट्न जाने सन्तान सरकारकै पाहुना बन्यो । सन्तानको इच्छामा आँखा चिम्लिँदा त्यही नियति भोगिरहेका टोपबहादुर रायमाझीसँग पटकथा पैँचो लिए जसरी नै दोहोरियो । 

रगतको साइनो सत्ता शक्तिमा हावी हुँदा त्यसले सृजना गर्ने आत्मघातका थुप्रै रामकहानी छन् । ०१५ सालमा चुनावबाट पहिलो प्रधानमन्त्री बनेका बीपी कोइराला भाइ तारिणीप्रसाद कोइरालालाई स्वकीय बनाउँदा आलोचनाका पात्र बने । 

पत्नी र छोरालाई पराजित गराइएको आक्रोश पोख्दा गणेशमानसिंहको त्यो इतिहास चाउरिएर अन्तत: पार्टीबाटै रिङ आउट हुनुपर्‍यो । छोरी मोहले गिरिजाप्रसाद कोइरालाको राजनीतिक उत्तरार्द्ध सुखद भएन । सन्तान र पत्नीको महत्वाकांक्षाको व्यवस्थापनका लागि राज्यको सुविधा ‘ललीपप’ बनाउने वर्तमान प्रधानमन्त्री प्रचण्डदेखि शेरबहादुर देउवासम्मका क्रियाकलापको लोकमा श्रृङ्खलाबद्ध आलोचना भइरहेकै छ ।

महराले भोगेको यो नियति अरुका लागि अर्लराम त हुँदै हो, नबोल्ने तर न्याय निसाफको हिसाबकिताब राख्ने ‘पब्लिक अडिट’को हिसावकिताव पनि हो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : २६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर– भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

वैदेशिक रोजगारका क्रममा गर्भवती हुने महिला ‘नेपाली पुरुष’ बाटै शोषणमा

काठमाडौं– वैदेशिक रोजगारका क्रममा गर्भवती भएर फर्किने अधिकांश महिला नेपाली

नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना

काठमाडौं– नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत्

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट