‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड ! | Khabarhub Khabarhub

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

८ लाख लगानीबाट दुई हजारलाई रोजगारी


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ । मौसम अनुसार विभिन्न डिजाइनमा उपलब्ध हुने भएकाले धेरैको रोजाइ अन्तर्राष्ट्रिय ब्राण्ड नै हुने गरेको छ ।

विदेशबाट आयातित कपडामा अभ्यस्त नेपालीको पहिरन चेत (ड्रेस सेन्स) पछिल्ला वर्षमा बदलिँदो छ । पाएसम्म नेपाली ब्राण्डकै पहिरन खोज्ने नेपाली युवा र प्रौढहरू निकै छन्‌ । किनकी पहिरनमा पहिचानदेखि अर्थतन्त्र पनि समेटिएको हुन्छ ।

यही यथार्थ बुझेर कपडाको नयाँ ब्राण्ड स्थापित गरी विदेशी ब्राण्डलाई टक्कर दिइरहेका एक व्यवसायी हुन्‌ : किशोर खतिवडा । विगत ८ वर्षमा खतिवडाले नेपालमा कपडा व्यवसायको छुुट्टै ब्राण्ड स्थापित गरेका छन् । उनको ब्राण्डको नाम हो – नेकेड एक्सप्रेस !

खतिवडाले वि.सं. २०७१ मा यो ब्राण्ड नामबाट कपडा उत्पादन थाले । नेकेड एक्सप्रेस  छोटै अवधिमा नेपालीमाझ पहिरनको स्थापित ब्राण्ड बनिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि नेपालको ‘नम्बर वान क्लोथिङ ब्राण्ड’का रूपमा नेकेड एक्सप्रेस स्थापित हुने क्रममा रहेको सञ्‍चालक खतिवडा दाबी गर्छन्‌ ।

हेटौंडा-काठमाडौं-नेपालगञ्‍जमा चहारेपछि खुलेको ब्राण्ड
आत्मबल दह्रो बनाएर काम गर्दा सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण हुन् किशोर । उनी कुनै व्यापारिक घरानाका सदस्य होइनन्‌, व्यवसाय गर्ने पारिवारिक ज्ञान पनि थिएन, अझ व्यवसाय के हो भन्नेसम्म थाहा थिएन ।

किशोर हेटौंडामा जन्मे । कक्षा १० सम्म स्थानीय विद्यालयमा पढेर काठमाडौं आए । काठमाडौं आएपछि एउटा जुत्ता पसलमा काम थाले । पाँच वर्षसम्म उनले त्यही पसलमै काम गरिरहे ।

जुत्ता पसलमा काम गर्दै जाँदा व्यवसाय गर्न आवश्यक आधारभूत तौरतरिका थाहा पाए । जुत्ता पसलमा काम गर्दा व्यवसाय के हो र कसरी गरिन्छ भनेर बुझेको किशोरले बताउँदै थिए । ‘जुत्ता पसलमै बस्दा मैले धेरै ठाँउमा बिक्री र बजारीकरण (सेल्स एण्ड मार्केटिङ) पनि गरेँ । त्यसबाट धेरै कुरा सिक्ने मौका मिल्यो,’ किशोरले भने ।

जुत्ता पसलमा काम गर्दा केही अनुभव हासिल गरे पनि किशोरले व्यवसायलाई जीवन व्यवहारको हिस्सा बनाइसकेका थिएनन्‌ । किनकी उनी त एक कामदारमात्र थिए । सोचेः ‘अब आफैंले व्यवसाय थाल्नुपर्छ ।’

व्यवसाय गर्नकै लागि उनी काठमाडौंबाट जन्मशहर हेटौंडा फर्किए । जुत्ता होइन, किराना पसल खोले । अब जिन्दगीमा आर्थिक हण्डर शुरू भयो । पसल चलेन ।

पसल व्यवसाय छाडेर हेटौंडाबाट गाडी चढेका किशोर पुनः काठमाडौं आइपुगे । व्यवसाय त गर्नु नै थियो ! साथीहरूले उनलाई नेपालगञ्ज गएर थोक (होलसेल) व्यापार गर्न सल्लाह दिए ।

सोही सल्लाहबमोजिम किशोर नेपालगञ्‍ज पुगे । काठमाडौंबाट सामान लगेर नेपालगञ्जमा १० वर्ष तयारी (रेडिमेड) कपडाको थोक व्यापार गरे । व्यापार गर्ने क्रममा उनले ब्राण्डबारे बुझे । उपभोक्ताहरूले विदेशी बहुराष्ट्रिय ब्राण्ड रूचाएका देखे ।

किशोरलाई लाग्यो – ‘किन विदेशीमात्र ? नेपालमै पनि त पहिरनको ब्राण्ड खोल्न सकिन्छ । राम्रो बनाउन सकियो भने त्यसले विदेशी कपडा आयात प्रतिस्थापन गर्छ, राष्ट्र र नागरिक दुबैलाई फाइदा हुन्छ ।’

अनि, किशोर नेपालमै पनि केही गर्न सकिने विश्वास लिइ अघि बढे । नेपालमै २०७१ मा नेकेड एक्सप्रेस ब्राण्ड खोले । आफ्नो ब्राण्ड चिनाउन नेकेड एक्सप्रेसका कपडा बोकेर पसल-पसल पुगे ।

उहिल्यै काठमाडौं छाडेपछि व्यवसाय थालेको नेपालगञ्‍ज र समग्र कर्णाली प्रदेशमै नेकेड एक्सप्रेस लोकप्रिय पहिरन ब्राण्ड बनेको छ ।  कर्णाली प्रदेशमा काठमाडौंमै जस्तो माग भइरहेको छ ।

विश्वबजारमा लैजाने तयारी
नेकेड एक्सप्रेस स्वदेशमा लोकप्रिय पहिरन ब्राण्डका रूपमा स्थापित भइसकेको छ । यो ब्राण्डलाई विश्व पहिरन बजारसम्म पुर्‍याउन किशोरले आवश्यक तयारी गरिरहेका छन्‌ । उनको लक्ष्य छ : नेपालमा स्थापित भएको यो ब्राण्डले पहिरनका क्षेत्रमा विश्वबजारमा अब नेपालको प्रतिनिधित्व गरोस्‌ ।

२४ देशमा नेकेड एक्सप्रेसका सामान पठाउने तयारी भएको किशोर बताउँछन् । लक्ष्यअनुसार काम भए अझ धेरै देशका नागरिकहरूले नेकेड एक्सप्रेस ब्राण्डका कपडा लगाउन पाउनेछन्‌ ।

ग्राहकसामू जुन गुणस्तरको सामान उपलब्ध गराउने प्रतिबद्धता थियो – नेपालमा उत्पादन गर्दा त्यो पूरा हुन नसकेको अनुभव किशोरले सुनाए । नेपालमा कपडा वास गर्दा पानीले नै प्रभाव गरेको उनले बताए

किशोर भन्छन्‌, ‘विदेशी ब्राण्डहरू त थुप्रै नेपालीले रूचाएका छन् । हाम्रो नेपाली ब्राण्डका कपडाहरू पनि विदेशबाट माग भइरहेको छ । नेपालको पहिचान स्थापित हुनेगरी गुणस्तर र डिजाइनमा विशेष ध्यान दिएर नेकेड एक्सप्रेसका कपडा विदेश पठाउने तयारी गर्दैछौं ।’

उनी थप्छन्‌, ‘विदेशीहरू हाम्रो बजारमा आए, अब हामी पनि उनीहरूको बजारमा जाने हो । अब हाम्रो नेपाली ब्राण्डले पनि विदेशमा बजार लिन सक्छ ।’

किशोरले केही देशमा नेकेड एक्सप्रेसका ‘क्लोदिङ’ परीक्षणमा पनि पठाइसकेका छन्‌ । अष्ट्रेलियाले निकै अघिदेखि नेपाली ब्राण्डप्रति रुचि देखाएको थियो । अन्य देशहरूमा पनि सामान पठाएर नेपाली ब्राण्ड स्थापित गराउन सके निकै गर्व हुने किशोरलाई लागेको छ ।

नेकेड एक्सप्रेसमा पुरुषलाई चाहिने सबै कपडाहरू पाइन्छ । विदेशी ब्राण्डसँग प्रतिस्पर्धा गर्न नेकेड एक्सप्रेसका उत्पादनसुपथ मूल्यमै बिक्री भइरहेको किशोरको दाबी छ ।

कपडामा वास निकाल्न समस्या पर्दा चीनकै भर
शुरूमा किशोरले नेकेड एक्सप्रेसका कपडा उत्पादन गर्न नेपालमै उद्योग खोल्न खोजे । तर, ‘मेड इन नेपाल’ लेखेको कपडाप्रति ग्राहकहरू सशंकित भएको उनले महशुस गरे । जसकारण नेपालमै कपडा उत्पादन गर्ने प्रयास सफल भएन

कपडामा वास निकाल्न चीनको गोन्जाओ नै जानुपर्ने भयो । कम्तिमा टीर्सट चाहिँ नेपालमै बनाउन सकिन्थ्यो । सिलाई (स्टिचिङ) र सामग्री उपलब्धतामा केही समस्या पर्ने देखेपछि चीनमै उत्पादन थालेको किशोर बताउँछन्‌ । ग्राहकको विश्वासका लागि चीन र नेपालमा पनि ट्रेडमार्क दर्ता गरेर नेकेड एक्सप्रेसले आफ्नो उत्पादनहरू बिक्री/वितरण गरिरहेको किशोर सुनाउँछन्‌ ।

‘नेपालमै उत्पादन गरौँ भनी प्रयास गरेँ, तर वास गर्नुपर्ने कपडा नेपालमा उत्पादन गर्दा त्यसको गुणस्तर घट्ने भएपछि अहिले चीनबाटै ल्याउने गरेका छौँ,’ उनी भन्छन् ।

ग्राहकसामू जुन गुणस्तरको सामान उपलब्ध गराउने प्रतिबद्धता थियो – नेपालमा उत्पादन गर्दा त्यो पूरा हुन नसकेको अनुभव किशोरले सुनाए । नेपालमा कपडा वास गर्दा पानीले नै प्रभाव गरेको उनले बताए ।

ग्राहकहरूबाट कपडाको गुणस्तरबारे प्राप्त प्रतिक्रियालाई ध्यान दिँदै नेपालमा उत्पादन बन्द गरेको खतिवडा बताउँछन् । उनले केही समयअघि बच्चा र महिलाको पनि कपडा बिक्री गर्दै आएका थिए । तर बाहिरबाट ल्याएको सामान ढिलो आउने र भनेजस्तो कपडाको उत्पादनमा गाह्रो भएका कारण पुरुषको मात्र सामान बिक्री गर्न थालेको उनको भनाइ छ।

व्यवसायिक आकार अर्बौं रुपैयाँमा विस्तार भएको छ । सबैभन्दा ठूलो त उनको आफ्नै ब्राण्ड स्थापित भएको छ

‘केल्मी, नाइक र एडिडास जस्ता ब्राण्डहरू स्थापित भएको वर्षौं भयो । उनीहरूले नाम कमाउनु स्वभाविक नै हो । नेकेड एक्सप्रेस पनि स्थापना भएको ८/९ वर्ष भयो । हामी पनि प्रतिष्पर्धामा आएका छौं, नेपालमै बसेर व्यवसाय गर्दाको सफलताबाट खुशी हुने ठाउँ पाएको छु ।’

पछिल्लो समय स्वदेशी ग्राहकहरूमा नेपाली ब्राण्डलाई हेर्ने दृष्टिकोण निकै सकारात्मक रहेको किशोरले अनुभव गरेका छ्‍ । धेरै नेपालीको पहिरन रोजाइमा नेकेड एक्सप्रेस पहिलो छनोट बनिसकेको उनी दाबी गर्छन्‌ ।

८ लाख लगानीबाट दुई हजारलाई रोजगारी

किशोरले नेकेड एक्सप्रेस ब्राण्डका कपडा व्यापार गर्न शुरूमा ८ लाख रुपैयाँ ऋण लिएका थिए । उनको दाबीअनुसार अहिले यो ब्राण्डको व्यवसाय सञ्‍जालमा प्रत्यक्ष दुई हजार जनाले रोजगारी पाएका छन्‌ ।

व्यवसायिक आकार अर्बौं रुपैयाँमा विस्तार भएको छ । सबैभन्दा ठूलो त उनको आफ्नै ब्राण्ड स्थापित भएको छ । पूर्वबाट पश्चिमसम्म फैलिएको नेकेड एक्सप्रेसबाट धेरैजना आकर्षित भएको र व्यवसाय गर्न चाहनेहरूका लागि आफू प्रेरणाको स्रोत भएको सुन्दा सन्तुष्टि मिल्ने किशोर बताउँछन् ।

‘मलाई केही थाहा थिएन, आफन्तसँग गएपछि सबै कुरा उहाँहरूले नै मिलाइदिनेमा म ढुुक्क भएँ । तर उहाँहरूको नियत मलाई फसाउने रहेछ । अनि सामान पनि महँगो पठाइदिनुभयो । जसले गर्दा ३० लाख रुपैयाँ घाटा भयो’

लगातारको मेहनत र व्यवसायमा अनेक ठक्कर खाँदै निरन्तर कर्मले आजसम्म आइपुगेको उनी बताउँछन् । ‘म सरकारी स्कूल पढेर आएको व्यक्ति, मलाई व्यवसाय के हो भन्ने थाहा थिएन । केही समय काम गरेपछि व्यवसाय गर्ने तौरतरिका थाहा भयो । अनि आफ्नै नेतृत्वमा व्यवसाय गर्ने योजना बन्यो । बैंकबाट ऋण लिएर सुरु गरेँ । अनेक अप्ठयाराहरू आए, तर पनि नडगमगाइन र यो ठाउँमा आइपुगेँ,’ संघर्ष र सफलताको अनुभव किशोरले एकै वाक्यमा सुनाए ।

 

नेकेड एक्सप्रेस ब्राण्डका उत्पादन देशभर पठाउँछन् । काठमाडौंको सीतापाइलामा भवन नै ठड्याएका छन्‌ । ‘व्यवसाय गर्दा जोखिम लिन चाहिँ सक्नुपर्छ,’ उनी भन्छन् ।

सुरुमा व्यवसाय गर्दा धेरै घाटा ब्यहोरेको किशोरले बताए । पहिलोपटक सामान लिन जाँदा आफ्नै आफन्तले फसाउँदा ३० लाख रुपैयाँको सामानबाट पूरा घाटा भएको उनले सुनाए ।

जग्गा बेचेर तिरे ऋण
सुरुमा उनलाई सामान कसरी किन्ने भन्ने ज्ञान थिएन । सामान किन्ने क्रममा आफन्तसँग उनी पहिलोपटक चीन गए । उनलाई आफन्तले जानाजान महँगो र नबिक्ने सामान भिडाइदिए ।

भन्सारमा १ हजारको सामानलाई ७०० रुपैयाँको भनेर देखाउँछौं, अनि बेच्छौँ २ हजारमा ! त्यस्तो गर्नुपर्ने बाध्यता छ

नेपालमा त्यो सामान बिकेन । किनकी अत्याधिक महँगो पर्न गयो । जसका कारण उनले व्यवसायको पहिलो गाँसमै ३० लाख रुपैयाँ घाटा ब्यहोरेका थिए ।

‘मलाई केही थाहा थिएन, आफन्तसँग गएपछि सबै कुरा उहाँहरूले नै मिलाइदिनेमा म ढुुक्क भएँ । तर उहाँहरूको नियत मलाई फसाउने रहेछ । अनि सामान पनि महँगो पठाइदिनुभयो । जसले गर्दा ३० लाख रुपैयाँ घाटा भयो,’ उनी सम्झन्छन् । आफूले हार नमानेको र ५० कट्ठा जग्गा बेचेर ऋण तिरेको उनले सुनाए ।

सामान ल्याउँदा भन्सारमा पाएको दुःख
सबै सामान चीनबाट आयात गर्दा भन्सारमा धेरै सास्ती भोग्नुपरेको किशोर बताउँछन् । ल्याउन खोजेको सामान नआइदिँदा धेरै ग्राहकहरू खाली हात फर्किएको अनुभव पनि छ ।

जाडो मौसमलाई ल्याएको कपडा गर्मीमा मात्र आइपुग्ने र गर्मीका लागि हालेको लुुगा जाडोमा आइपुुग्ने हुँदा निकै समस्या हुने गरेको उनको भनाइ छ ।

‘नेपालको अस्थिर राजनीति र चरम दलालीका कारण सोझासाझा जनताले बाहिरी देशबाट सामान ल्याएर व्यवसाय गर्न निकै गाह्रो भइरहेको छ,’ खतिवडा भन्छन् ।

चीनमा आफ्नै ट्रेडमार्क दर्ता भएको ठाउँबाट पनि भनेजति सामान ल्याउन नपाउने उनी बताउँछन् । भन्छन्‌, ‘हामीले भनेजति सामानको मूल्य जति छ – त्यति देखाएर ल्याउनसक्ने अवस्था पनि छैन । भन्सारमा १ हजारको सामानलाई ७०० रुपैयाँको भनेर देखाउँछौं, अनि बेच्छौँ २ हजारमा ! त्यस्तो गर्नुपर्ने बाध्यता छ । राजस्व विभागले यसैमा दुःख दिने गर्छ । यो समस्या हटाउने हो भने व्यवसायीलाई राहत र राज्यलाई वास्तविक राजस्व प्राप्त हुन सक्छ ।’

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ८ : ५५ बजे

बंगलादेशविरुद्ध सोमपाल कामीले पहिलो बलमै लिए विकेट

काठमाडौं – आईसीसी टी–२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले

आज २०८१ साल असार ३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार ३ गते सोमबार तदनुसार

विश्वकपको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा फिल्डिङ गर्ने

काठमाडौं – आसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले अहिले अन्तिम खेल

भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी

नानिङ – भारी वर्षाका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त

टरुवा ताल संरक्षणमा जुटे स्थानीय

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल