अर्जेन्टिनाविरुद्ध फोकल्याण्डमा लडेका लाहुरेको नवौं कृति | Khabarhub Khabarhub

अर्जेन्टिनाविरुद्ध फोकल्याण्डमा लडेका लाहुरेको नवौं कृति



सुनसरी- जीवनको उर्जाशील युवा समय काँधमा राइफल बोकेर परेड खेल्दै ब्रिटिश गोर्खा पल्टनमा बहादुरीको पहिचानलाई निरन्तरता दिएका युद्ध साहित्यकार गणेश राई यतिबेला नवौँ कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’ लिएर पाठक माझ आएका छन् ।

 राईको पछिल्लो कृति संस्मरणात्मक उपन्यास हो । ‘राइफलको नालबाट जीवन नियाल्दा’ कृतिकै दोस्रो खण्ड हो यो ।

 ब्रिटिस गोर्खा सैन्य जीवन क्रियाशील रहँदा रहँदै पनि राइफललाई एकछिन बिसाएर फुर्सद पाउनासाथ केही लेखिहाल्ने बानीले उनलाई लेखक बनायो ।

 पछिल्लो समय उनी आफूले करिव दुई दशक अनुभूत गरेको राइफले जीवनको दैनिकीलाई आख्यानमार्फत उतार्दै युद्ध साहित्यकार हुन पुगेका छन् ।

 उपन्यासकार राईका यसअघि राइफलको नालबाट जीवन नियाल्दा (संस्मरणात्मक उपन्यास २०६२, राइफलले फलाकेको जिन्दगी (कवितासंग्रह, २०६३), युद्ध एम्बुसमा राइफलको संगीत (युद्ध उपन्यास) सन २००९), राइफलको मूच्र्छना (युद्ध उपन्यास, २०६८) , फोकल्यान्ड जर्नल (युद्धअनुभव, सन २०१६), युद्ध साहित्य सिद्धान्त र सिर्जनाहरू (संयुक्त लेखन, सन २०१४), अमेरिका डायरी (नियात्रा, २०७९) र गोर्खा गन्स (सन २०२०) प्रकाशित छन् ।

 युद्धको अनुभव कति भयावह हुन्छ भन्ने कुरा आख्यानकार गणेश राई जस्ता लाहुरे श्रष्टाहरुलाई बढी थाहा हुन्छ । राई आफैं पनि सन १९८२ मा भएको अर्जेन्टिना र बेलायतवीच फोकल्याण्ड युद्ध र अरु युद्धका प्रत्यक्ष साक्षी हुन् । उनका अधिकांश कृतिहरु युद्धमा आधारित छन् । उनको यो पछिल्लो संस्मरणात्मक उपन्यास ‘राइफलको नालबाट जीवन नियाल्दा’ लाई विभिन्न उपशिर्षकमा विभाजित गरे पनि ‘फोकल्याण्ड युद्ध’ का बारेमा भने विस्तृत व्याख्यासहित युद्धको चित्रलाई जस्ताको त्यस्तै पस्केका छन् ।

 सन् १९८२ अप्रिल २ देखि अगस्ट ९ सम्मका विवरणहरुलाई उनले आफैं पात्र भएर पाठकलाई सुनाइरहँदा कुनै हलिउडको एक्सन थ्रिलर फिल्म हेरेरहेको महसुस हुन्छ ।

 त्यसो त उनले फोकल्याण्ड युद्धको बारेमा २०७४ मै ‘फोकल्याण्ड जर्नल (बेलायती गोर्खा सैनिकको युद्ध अनुभव)’ पुस्तक मार्फत युद्धको विवरणात्मक अनुभवहरु पाठकमाझ पस्किसकेका छन् ।

खोटाङको डम्बर्खु शिवालयमा २०१७ सालमा जन्मेका गणेश राई आफ्नो पछिल्लो कृतिबारे भन्छन्, ‘विद्यार्थीकालमा कविता साहित्य लेख्दा पुरस्कार पाउदा दंग परियो । साहित्य लेखनमा प्रेरणा थपिँदै गए । साहित्यको फराकिलो मैदान खोज्दै शहरतिर झरियो ।’

उनी थप्छन्, ‘तर परिस्थितिले कोल्टे फेर्‍यो, म छाती नपाउन पुगें । फलस्वरुप साहित्यको सृजनात्मक गोरेटोमा राइफलको बार तेर्सियो ।’

 राइफले दैनिकीका वीच साहित्य लेखनलाई त्याग्न नसकेपछि  जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै उनले सैनिक खबरपत्रिका ‘पर्वते’ का रुखो पानाहरु मार्फत पल्टनमा साहित्य लेखनको यात्रालाई निरन्तरता दिए ।

उनी भन्छन्, ‘यो मेरो नवौं कृति त्यसैको परिणाम हो । पर्वते पत्रिकामा लेखे पनि कसरी राम्रो लेख्ने भनेर प्रेरणा, सही सुझाव र प्रतिक्रिया भने पाउन नसकिरहेका बेला अवकासपछि हङकङ बसाइँमा त्यहाँका नेपाली लेखक, कवि साहित्यकारहरुसँगको बाक्लो संगतले युद्धका अनुभूतिलाई पुस्तकको रुप दिन सफल भएको उनको कथन छ ।

 हङकङमा उपन्यासकार तथा पछिल्लो समयमा भयावाद दर्शनका प्रतिपादक देश सुब्बा, सृजनशील अराजक कवि हाङयुग अज्ञात लगायतको सल्लाह सुझाव र संगतले युद्ध साहित्यलाई आख्यानमार्फत पाठकमाझ ल्याउन सकेको उनी बताउँछन् ।

 गणेश भन्छन्, ‘म राइफल बोकेर युद्धका लागि खट्ने मान्छेले युद्ध अनुभवलाई नौ–नौ थान पुस्तक निकालौंला भन्ने कल्पना गरेको थिइनँ । तर, लाहुरेको बास्तविक जीवन कस्तो हुन्छ भनेर आख्यान, नियात्रा, कवितामार्फत लेखेर आम पाठकलाई सुनाउनुपर्छ भनेर लेखनमा लागें ।’

 युद्धको अनुभव नभएका लेखकले लेखेको युद्धको वर्णनसहितको आख्यान (उपन्यास) र युद्धमै सामेल सिपाहीले लेखेको युद्धको आख्यानमा धेरै फरक हुन्छ । राईले लेखेका युद्धका कथा, उपन्यास र कविताले आम पाठकको मन छुन सफल भएको भन्दै समालोचकहरुले उनको पछिल्लो कृतिको प्रशंसा गरेका छन् ।

 नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका पूर्वअध्यक्षसमेत रहेका राईको उक्त पुस्तक रत्न पुस्तक भण्डार, काठमाडौँले प्रकाशन गरेलगत्तै गत साता कवि श्रवण मुकारुङ, कवि शशी लुमुम्बू, सङ्गीतकार वसन्त मुकारुङ, कवि विमला तुम्खेवा, लेखक तथा सम्पादक सुदर्शन श्रेष्ठ, उपप्राध्यापक टेकनाथ दाहाल, संस्कृति संरक्षण समाज, नेपालका अध्यक्ष सास अधिकारी (ठण्डबहादुर अधिकारी) द्वारा संयुक्तरुपमा सार्वजनिक गरिएको थियो ।

 समारोहमा श्रवण मुकारुङले डायास्पोरामा बसेर लेखिरहेका साहित्यकारहरूमध्ये आफूले गणेश राईलाई अब्बल साहित्यकारका रूपमा पाएको बताए ।

 उनले भने, ‘डायास्पोराबाट धेरै साहित्यकारहरूले लेखिरहेका छन् तर उहाँले जस्तो अब्बल कृतिचाहिँ अरुबाट लेखिएको मैले पढेको छैन । यस कुराको पुष्टि आज सार्वजनिक भएको कृतिले पनि गर्दछ ।’

शशी लुमुम्बूले नेपाली साहित्यमा युद्धसाहित्यसम्बन्धी उत्कृष्ट कृतिहरू लेखेर गणेश राई युद्धसाहित्यकार रूपमा स्थापित भएको बताए । उनले राईका अन्य कृतिजस्तै यो कृति पनि युद्धसम्बन्धी नै भएको बताए । उनले भने, ‘यसलाई युद्धअनुभव, युद्धअनुभूति वा युद्धस्मरणात्मक उपन्यास पनि भन्न सकिन्छ ।’

 टेकनाथ दाहालले कृति पढिरहँदा पाठकले आफैँ पनि युद्धमा सामेल भइरहेको अनुभूति दिने उल्लेख गर्दै युद्धसाहित्यमाथि लेखिएको यति बेजोडको किताब आफूले पहिलो पटक पढ्न पाएको बताए ।

 

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ३ : ०२ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको