छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र  « Khabarhub

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ । सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक विसं २०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्नेगरी याक्थुङहाङ-साप-सिरुवा जेभीले विसं २०७५ असोज १ गते ठेक्का लिएको थियो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भ्याटसहित २१ करोड एक लाख ८८ हजारमा सम्पन्न गर्नेगरी १० दशमलव ९७४ किलोमिटर सडकखण्ड कालोपत्रको ठेक्का लगाएको थियो । मूल ठेकेदारसँग सम्झौता गरी यसअघि दुईवटा ठेकेदार कम्पनीले पेटी ठेक्का लिएर अलपत्र छाडेका थिए । हाल बाँकी काम गर्ने जिम्मा श्रीनिक बिल्डर्स प्रालिले लिएको छ । 

दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने उक्त सडक अहिले धमाधम कालोपत्र भइरहेको स्थानीयवासी सन्तोष पौडेलले जानकारी दिए। ढिलै भए पनि सडक कालोपत्र हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । सुरुमा राम्चे निर्माण सेवा कम्पनीका कल्याण दाहाललाई प्रतिनिधि राखेको ठेकेदार कम्पनीले दोस्रोपटक खोटाङ हलेसी कन्स्ट्रक्सन प्रालिका खगेन्द्र राईलाई प्रतिनिधि चयन गरेको थियो । दाहाल र राईले काम नगरेपछि अहिले श्रीनिक बिल्डर्स प्रालिका प्रोप्राइटर भैरव बस्नेतलाई जिम्मा दिइएको याक्थुङहाङ-साप-सिरुवा जेभीले जनाएको छ । 

कालोपत्र भइरहेको दिक्तेल(खानीडाँडा-आहाले सडक यही जेठ मसान्तमा सम्पन्न गरेर असार पहिलो साताभित्र प्राधिकरणलाई हस्तान्तरण गर्नेगरी काम भइरहेको प्रोप्राइटर बस्नेतले बताए ।

अघिल्लो दुईवटा ठेकेदार कम्पनीका प्रतिनिधिले प्राधिकरणबाट रु १३ करोड ६९ लाख पाँच सय ३८ भुक्तानी लिइसकेका छन् । बाँकी कालोपत्र सम्पन्न गर्न श्रीनिक बिल्डर्स प्रालिले रु सात करोड २२ लाख तीन हजार चार सय ३५ मा पेटी ठेक्का लिएको हो । 

सडकको नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसी ढलान, साइड ड्रेन, ग्राभेलसहित ६.२५ मिटर चौडा हुने सडकको ३.७५ भागमा कालोपत्र हुनेछ । १८ महिनाभित्र सम्पन्न गर्ने भनिएको सो सडक विसं २०७५ मङ्सिर १ गते तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गरेका थिए। 

निर्माणमा ठेकेदारको चरम लापरबाही भएपछि प्राधिकरणले विसं २०७६ पुस ९ गते लिखितरूपमा पत्राचार गरी काम रोक्न निर्देशन दिएको थियो । माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग दश टिन बालुवा-गिट्टी घोलेर प्रयोग भइरहेको गुनासो आएपछि निर्माण रोकिएको थियो । 

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ४ : १४ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी