लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प | Khabarhub Khabarhub

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– मौसम प्रतिकूलताका कारण सोलुखुम्बुस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् ।

अतिव्यस्त सो विमानस्थलमा गत जेठ २६ गतेदेखि कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् ।

अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए । उनले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको जानकारी दिए ।

लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको एयर ट्राफिक कन्ट्रोलर दाहालले जानकारी दिए ।

सुर्के केही होचो स्थान भएकाले त्यहाँबाट हेलिकप्टरले पर्यटक काठमाडौँ लैजाने गरेको उनले बताए ।

भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

मौसम सामान्य प्रतिकूल हुनेबित्तिकै लुक्लामा उडान ठप्प हुने भएकाले पर्यटक मर्कामा पर्ने गरेको तारा एयरका लुक्ला स्टेशन प्रमुख अमृत मगरले बताए ।

यतिखेर खुम्बुमा पर्यटक यामको सकिन लागेकाले लुक्ला भित्रिनेको तुलनामा बाहिरिने बढी छन् । यद्यपि मौसमका कारण सबै उडान तालिका रद्द गर्नुपरेको उनको भनाइ छ ।

लुक्लाभन्दा तल करिब चार घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्ने गर्छ । यसका कारण कतिपय पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थामडाँडा झरेर त्यहाँबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाडौं फर्कने गरेका छन् । थामडाँडाबाट सल्लेरीको दूरी करिब ७० किलोमिटर छ । उक्त सडक कच्ची भएकाले बोलेरो गाडीमात्रै सञ्चालन हुने गरेको छ ।

मौसममा सुधारको सङ्केत छैन
मौसम पूर्वानुमान महाशाखाले मौसम तत्काल खुल्ने सम्भावना नरहेकाले हवाई उडान अझै केही दिन अवरुद्ध हुने  जनाएको छ । पूर्वको कोशीमा भित्रिएको मनसुन निरन्तर सक्रिय भइरहेकाले कोशीसहितका क्षेत्रमा झरीको सम्भावना उच्च रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

सगरमाथा क्षेत्रमा पर्ने एकमात्र विमानस्थल भएकाले तेन्जिङ हिलारी विमानस्थललाई महत्वका साथ हेर्ने गरिन्छ । विश्वको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित सगरमाथा क्षेत्र भ्रमण गर्न आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले यही विमानस्थल प्रयोग गर्ने गर्छन् ।

यहाँ काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रामेछापको मन्थली विमानस्थलबाट उडान हुने गर्दछ । यो विमानस्थल भएर बर्सेनि ६० हजारभन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक सगरमाथा क्षेत्र भ्रमणका लागि पुग्ने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्क छ । लुक्लासम्म सडक सञ्जाल नपुगेकाले यस विमानस्थलको महत्व बढिरहेको लुक्लाका तोयाकुमार श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ८ : ३१ बजे

कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने

एआईजी खापुङलाई मेन्छ्यायेम सेवा समाजको सम्मान

काठमाडौं- प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) चन्द्रकुवेर खापुङलाई सम्मान गरिएको छ

सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने कांग्रेसको चेतावनी

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सदनमा गालीगलौज गर्ने

स्वास्थ्यमन्त्री पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन् । 

चितवनमा दुई लाख बिरुवा वितरण गरिँदै

चितवन– डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षका लागि एक लाख