सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त | Khabarhub Khabarhub

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर  सडकको ६ लेन विस्तारको काम सुस्त भएको छ ।

भक्तपुरको सूर्यविनायकबाट साँगासम्मसाँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी  सडक विस्तार सुरु भएको डेढ वर्ष बितिसक्दा बल्ल करिब २५ प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ ।

विसं २०७९ पुस २४ गते निर्माण कम्पनीले दुई खण्डमा गरी तीन वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो ।

सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको छ ।

आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले सडक विस्तारका क्रममा रहेका अस्थायी घरटहरा र संरचना भक्तपुर जिल्ला प्रशासन कार्यालय र सूर्यविनायक नगरपालिकाको सहयोगमा भत्काउने काम सम्पन्न भएको जानकारी दिए ।

सडक मापदण्डभित्र परेका केही स्थायी संरचनाले सडक विस्तारमा अवरोध पुगेको जनाउँदै उनले बीचबीचमा काम छाड्दै अगाडि बढ्नुपरेको बताए ।

उनले स्थायी संरचना हटाउनेबारेमा छिटो निर्णय गर्न सम्बन्धित मन्त्रालयमा पत्राचार गरेको जनाउँदै अहिलेसम्म क्षतिपूर्ति दिनेबारेमा निर्णय नहुँदा पनि समस्या भइरहेको जानकारी  दिए ।

सडक निर्माणका क्रममा ठूलो घुम्ती, तल ठूलो भीर भएकाले साँगामा निकै समस्या परिरहेको उनको भनाइ छ ।

८ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको यो सडकखण्डमा यस वर्ष सरकारले ५४ करोड अर्थात् सात प्रतिशतमात्रै बजेट निकासा गरेको छ । सरकारले सम्झौताअनुसार बजेट निकासा गरिदिए अझै पनि निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न सक्ने आयोजनाको दाबी छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सूर्यविनायकबाट साँगासम्मका अस्थायी संरचना, घरटहरा हटाउने काम सम्पन्न भइरहेको जानकारी दिइन् । उनले सूर्यविनायक नगरपालिकाको समन्वयमा अस्थायी संरचना हटाउने काम भइसकेको र स्थायी संरचना हटाउन भने प्रतिवेदन र मूल्याङ्कनको प्रतीक्षामा रहेको बताइन् ।

साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको डिपिआर अध्ययनले देखाएको छ ।

उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो । यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब एक अर्ब मुआब्जा दिनुपर्ने छ ।

विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत कायम गर्यो । यही आधारमा सडकका दायाँ–बायाँमा घर बनेका थिए ।

 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ९ : ०८ बजे

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी

दिपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

महोत्तरी – महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ

विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन

काठमाडौं – निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले प्राकृतिक प्रकोपबाट हुनसक्ने

विपदमा परी २४ घण्टामा १४ जनाको मृत्यु, १० जना घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य