तपाईंको कुर्सी कस्तो छ ? कसरी बस्नुहुन्छ ? | Khabarhub Khabarhub

टेबल वर्क

तपाईंको कुर्सी कस्तो छ ? कसरी बस्नुहुन्छ ?

कुर्सीको काम गर्दा ढाड जोगाऔं


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रायः मानिसको चाहना हुन्छ – दिनभरि कुर्सीमा बस्ने खालको जागिर (टेबल वर्क) गर्न पाइयोस् !

पछिल्लो समय हाम्रो व्यस्त जीवनशैली र रहनसहनका कारण शारीरिक तथा मानसिक रोगको प्रकोप बढ्दो छ। विशेषतः ढाड दुख्ने रोग आम समस्याजस्तै बनेको छ ।

लामो समय कुर्सीमा बस्नेको आफ्नै व्यथा छ – ढाड र गर्धनको सुरक्षा कसरी गर्ने  ? आधुनिक जीवनशैलीलाई व्यङ्ग्य गर्दै गायक पशुपति शर्माले एउटा गीत गाएका छन्‌ः

कोही भए बोल… सजिलो काम भन्देऊ न के होला ?
जे गर्न नि गाह्रो… सुती-सुती खान्छु भन्दा ढाड दुखेर मारो !

पशुपति शर्माले गीतमा भनेजस्तै दिनभर कुर्सीमा बसेर जागिर खान पनि सजिलो कहाँ छ र ! कुर्सीमा लामो समय बसेर काम गर्दा कम्मर, ढाड र गर्धन दुख्ने समस्या आउन सक्छ । यसबाट बच्न कुर्सी र बसाइको पोजिसन (स्थिति)मा ख्याल गर्नुपर्ने हुन्छ ।

 

 

 

हामी सोच्छौं- कुर्सीमा बसेर गर्ने काम हो, एकदमै सजिलो छ। तर, उभिएर काम गर्ने मानिसलाई भन्दा दिनभर गलत तरिकाले कुर्सीमा बसेर काम गर्ने मानिसलाई झनै ठूलो समस्या आउन सक्ने चिकित्सक बताउँछन् ।

विश्वभर करिब ८० प्रतिशत वयस्कले आफ्नो जीवनकालमा कम्तिमा एकपल्ट ढाड र कम्मर दुख्ने समस्या सामना गरिरहेको चिकित्सा क्षेत्रको अध्ययनले देखाउँछ। कुर्सीको बसाइ नमिल्दा शारीरिक मात्रै होइन, मानसिक समस्या पनि बढ्ने खतरा हुने चिकित्सकको भनाइ छ ।

केही समय अघि कुर्सीकै कारण मन्त्री तथा सांसद्‌को स्वास्थ्यमा समस्या आएको भन्दै मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयका कुर्सी फेरिएका थिए।

बसाइ नमिल्दा देखिन्छन् यस्ता समस्या
हाम्रो आसनले गर्दा हाड-जोर्नी तथा नसासम्बन्धी समस्या; जस्तै मांसपेसीको दुखाई र हार्डजोर्नीका समस्या आउनसक्ने वीर अस्पतालमा कार्यरत फिजियोथेरापिष्ट डा. विनय कँडेल बताउँछन् ।

राम्रो आसनका लागि शारीरिक र मेकानिकल क्षमतामा ह्रास नआउने खालको कुर्सी हुनुपर्ने उनी बताउँछन् । राम्रो आसनले गुरुत्वाकर्षणका कारण हुने तनाव अथवा हाडजोर्नी र नसा सम्बन्धी समस्यालाई कम गर्ने कँडेलको भनाइ छ ।

डा. कँडेलका अनुसार हाम्रो बसाइ अर्थात् आसन नमिल्दा मांसपेसीको क्षमतामा कमी आउँछ र जोर्नीमा दुखाइ हुन्छ। जस्तै- टाउको अथवा घाँटीको आसन नमिल्दा घाँटीको दुखाइ हुने, माइग्रेनको समस्या हुने जस्ता समस्या देखिन्छन् । शरीरको आसन नमिल्दा मेरुदण्डको समस्या हुने र कम्मर दुख्नेजस्ता समस्या आउँछन्।

केही समयअघि दक्षिण अफ्रिकामा गरिएको एउटा अनुसन्धानमा लामो समयसम्म कुर्सीमा बस्दा हाडजोर्नी तथा नसासम्बन्धी समस्या देखिएपछि कामदारको कुर्सी परिमार्जन गर्ने निर्णय भयो। त्यसो गर्दा उनीहरूको दुखाइ कम भएको थियो।

त्यही अनुसन्धानलाई आधार बनाएर कुर्सीकै कारणले मात्रै यस्ता समस्या आउँछन् भन्ने निष्कर्ष निकाल्न उचित नभए पनि आसन नमिल्दा ढाड दुख्ने, शरीर झम्झमाउने, खुट्टा सुन्निने र घाँटी दुख्ने जस्ता समस्या देखिने सम्भावना धेरै हुने कँडेलको भनाइ छ।

अहिले ढाड तथा कम्मर दुख्ने समस्या लिएर आउने धेरैजसो बिरामीमा मेकानिकल समस्या अर्थात बसाइको प्रकृति मुख्य कारण रहेको शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत अर्थोपेडिक तथा स्पाइनल सर्जन निश्चल घिमिरे बताउँछन्।

उनका अनुसार यस्ता समस्या सामान्य देखिए पनि सुरुवाती अवस्थामा उपचार नगर्दा पछि गएर ठूलो समस्या निम्तिन सक्छ। त्यसैले समयमै कारण पत्ता लगाई उपचार गराउन उनको सुझाव छ।

प्राकृतिक चिकित्सक सुनिल पौडेल भन्छन्, ‘९५ प्रतिशत समस्या हामीले आफैं निम्त्याएका हुन्छौँ। यसको मुख्य कारण मेकानिकल हो, जसमा हामीले बस्ने तरिकामा ध्यान दिएका हुँदैनौँ।’

उनी भन्छन्, ‘सुत्दा, बस्दा वा काम गर्दा शरीरको गलत रूपमा प्रयोग गरिनु हुन्न। विशेष गरी बस्ने पोजिसनमा ध्यान दिने र लामो समयसम्म एकै ठाउँमा नबस्ने गर्दा समस्याबाट मुक्त हुन सकिन्छ। साथै खानपिनमा ध्यान दिनाले पनि यस्ता समस्याबाट बच्न सकिन्छ।

हरियो सागपात, फलफूलका साथै व्यायाममा ध्यान दिनुपर्ने पौडेल बताउँछन्।

कुर्सीमा कसरी बस्ने ?
हामीमध्ये धेरैलाई घर वा अफिसको कुर्सीमा कसरी बस्ने भन्ने ज्ञान हुँदैन। जसकारण, मेरुदण्डमा धेरैलाई समस्या देखिने गरेको छ। सामान्य कुरामा ख्याल गरे मात्र पनि यस्ता समस्याबाट मुक्त हुन सकिने फिजियो थेरापिष्ट कँडेल बताउँछन्।

उनका अनुसार कुर्सी मात्रै नभएर कुनै पनि आसनमा लामो समयसम्म एउटै तरिकाले बस्नु हानिकारक हुन्छ। त्यसैले समय समयमा आसनको तरिका बदल्नुपर्छ।

ढाडको तल्लो भागको दुखाई कम गर्न हरेक २० मिनेटमा हिँडडुल गर्ने अथवा आफ्नो आसन परिवर्तन गर्ने गर्नुपर्छ भन्ने सन् २०१७ मा हङकङमा गरिएको अध्यनले देखाएको उनले बताए।

उनी भन्छन्, ‘कार्यालयमा काम गर्दा कम्प्युटरको स्क्रिन आँखाको कुन लेबलमा छ, कम्प्युटरको स्क्रिनको प्रकाश कति छ, टेबलमा उज्यालो आएको छ कि छैन आदि कुरामा ध्यान दिनुपर्छ।’

‘कुर्सीमा बसेर काम गर्दा कतिपयको ढल्कने बानी हुन्छ, कसैको घोप्टिएर बस्ने बानी हुन्छ, यो गलत हो’, कँडेल भन्छन्, ‘कुर्सीमा बसेर पढ्दा वा काम गर्दा गर्धन सिधा हुनुपर्छ। काँध पनि सिधा हुनुपर्छ। ढाड र कम्मर सिधा हुनुपर्छ ।’

बसाइबारे सुझाव दिँदै कँडेल भन्छन्, ‘कम्प्युटर चलाउँदा शरीरको अगाडिको भाग नझुक्ने गरी कीबोर्डको उचाइ मिलाउनुपर्छ। आँखाको भाग सीधा हुने गरी मनिटर राख्नुपर्छ । आँखाको लेबल मनिटरसँग नमिलेमा आँखामा पनि समस्या देखिन सक्छ । अगाडि झुकेर काम गर्दा झन् बढी भार पर्न जान्छ र ढाड दुख्ने समस्या सुरु हुन्छ ।’

यस्ता समस्यालाई सामान्य ठानेर बेवास्ता गरियो भने ढाड दुख्ने समस्या बढ्दै जाने कँडेलको भनाइ छ । उनी भन्छन् ‘ढाड दुख्ने समस्या छ भने चिकित्सकको सम्पर्कमा जानुपर्छ। सम्बन्धित चिकित्सकको परामर्श नलिँदा ढाड दुख्ने समस्या बढ्दै जान सक्छ ।’

कस्तो कुर्सी छान्ने ?
डा. कँडेलका अनुसार स्वास्थ्यको दृष्टिकोणले विश्वभर कुर्सीमा विभिन्न सुधार गरिँदै आएको छ । जस्तै- सन् २०१२ मा गरिएको एउटा अध्ययनमा लामो समयदेखि बसिरहेको कुर्सी परिवर्तन गर्दा धेरै कर्मचारीको ढाड दुख्ने लगायतका समस्यामा सुधार आएको पाइएको थियो ।

कँडेल भन्छन्, ‘कार्यालयमा बस्दा प्रयोग हुने कुर्सी कम्मर र छातीको भागलाई अगाडि धकेल्ने खालको हुनुपर्ने, टाउकोसम्म ढल्किन मिल्ने र कुर्सीको पछाडिको फुल कभर टाउकोसम्म ढल्किने हुनुपर्छ। यो कुर्सी ९० डिग्रीमा पोजिसन मिलाएर राख्नुपर्छ ।’

उनी थप्छन्, ‘ल्यापटप चलाउँदा घोप्टो परेर हेर्नुहुँदैन। आँखा र कम्प्युटरको दूरी पनि मापदण्डअनुसार मिलेको हुनुपर्छ भन्ने विभिन्न अध्ययनले देखाएका छन् ।’

कुर्सी फलाम, काठ वा प्लास्टिक कुन चिजबाट बनेको छ भन्ने कुराले फरक नपर्ने कँडेलको भनाइ छ । कुर्सीमा बस्ने हाम्रो तरिका कस्तो छ भन्ने कुराले महत्त्व राख्ने बताउँदै उनी भन्छन्, ‘जस्तै- लामो समय कुर्सीमा बसेर काम गर्नुपर्ने छ भने पानीको ग्लास र फाइलहरूको दराज आफ्नो बस्ने कुर्सीभन्दा अलिकति टाढा राख्ने ता कि बेलाबेलामा उठ्नुपरोस् । यस्ता सानातिना कुराले पनि हाम्रो बसाइ नमिल्दा देखिने समस्याबाट बच्न सकिन्छ ।’

फेरिएका मन्त्रालयका कुर्सी कत्तिको सहज ?
ढाड कुप्रो हुनेखालका कुर्सीका कारण समस्या आयो भन्ने केही पदाथिकारीबाट गुनासो आएपछि सिंहदरबारका कुर्सी परिमार्जन गरिएको र अहिले काम गर्न सहज भएको मन्त्रालयका कर्मचारी बताउँछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौला भन्छिन्, ‘पहिलेका कुर्सीमा बस्न अलिकति असहज हुन्थ्यो । अहिले सबै कुरा हेरेर स्वास्थ्यको मापदण्ड अनुसार तयार पारिएका कुर्सी भएकाले सहज भएको छ ।’

‘पहिलेका कुर्सीमा पछाडि ढल्किँदा गर्धन तथा ढाडलाई सपोर्ट मिल्ने खालका थिएनन्। जसले गर्दा कम्मर र गर्धन दुख्ने समस्या हुन्थ्यो’ गड्तौलाले खबरहबसँग भनिन्, ‘गर्भवती अवस्थामा काम गर्न आउँदा बस्न असहज हुन्थ्यो ।’

हुन त अहिले पनि दिनभर कुर्सीमै बस्दा खुट्टाहरू सुन्निने गरेको, तर त्यसबाट बच्न बेला बेलामा उठेर हिँडने, खुट्टा झुण्डाएर नबस्ने लगायतका कुरामा ध्यान दिनुपर्ने उनले बताइन् ।

महिला तथा बालबालिका मन्त्रालयका उपसचिव विनोद दाहालले भने, ‘पहिले घुम्ने तथा बस्दा कुप्रो पर्ने खालका कुर्सी थिए । तर, अहिले ढाडलाई सपोर्ट गर्ने खालका साधारण कुर्सी राखिएका छन् ।’ नयाँ कुर्सी हेर्दा सामान्य खालका र ढाड तथा गर्धनलाई सपोर्ट गर्ने खालका भएकाले बसाइ सहज भएको उनले बताए ।

नयाँ आउने कर्मचारीबाट घुम्ने कुर्सीभन्दा यस्ता कुर्सी सहज हुने प्रतिक्रिया आउने गरेको उनले सुनाए ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १२ : ३९ बजे

सुडानका युद्धरत पक्षहरू भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्दैछन् : संयुक्त राष्ट्रसङ्घ

जेनेभा – सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका

महाधिवेशनको दस्तावेज टुङ्गो लगाउन सचिवालय बैठक आह्वान

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशनमा छलफल गरिने दस्तावेजमा

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी

दिपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

महोत्तरी – महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ