'अरु देशमा झुट बोल्ने नेताले सजाय पाउँछन्, हाम्रोमा भोट'  | Khabarhub Khabarhub

‘अरु देशमा झुट बोल्ने नेताले सजाय पाउँछन्, हाम्रोमा भोट’ 



पछिल्लो समय नागरिकमा असाध्यै निराशा बढ्यो, यसमा प्रणाली असफल कि पात्र ? राजनीतिक विश्लेषक मुमाराम खनालसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :  

भुईंमान्छेका नेता सिंहदरबारमा छिरेपछि उनीहरूमा भरोसा जाग्नुपर्ने तर निराशा बढेर आयो, यसको कारण के हो ?

आम मान्छेमा ठूलो निराशा छ । त्यो अनायास आएको पनि हैन । यो शासकीय प्रणालीगत समस्या पनि होइन । संसारभर विभिन्न प्रणालीहरू छन् । त्यसमा पनि ४ वटा मुख्य छन् । धार्मिक कट्टरतावादी शासन सत्ता, कम्युनिष्ट अधिनायकवादी शासन सत्ता, निरंकुश राजतन्त्रवादी शासन सत्ता र लोकतान्त्रिक शासन व्यवस्था छ ।

यी सबै चरित्रमा एउटा कमन कुरा भनेको जब विकासको कुरा आउँछ आम जनतालाई अरु कुरा हैन विकासका कुरा महत्त्व राख्छ । विकास भनेको आम जनताको सर्वाङगिण विकास हो  । र  त्यसमा दिन दैनिकका समस्या जोडिनु पर्‍यो । जस्तो हामीले कतै लगेर भ्यूटावर बनाएको र कर्णालीको एउटा झोलुंगे पुलमा खच्चडहरू अड्किएको दृश्य हामीले देख्यौँ । त्यो विकास र विनाशको बिम्ब हो ।

यसमा प्रणाली त जहिल्यै सुधार भएकै छ । यो त राजनीतिको माथिल्लो कुरा हो । तर तल्लो तहमा प्रणालीले काम नगर्नुको कारण जुनै शासन व्यवस्था भए पनि त्यहाँको स्थायी सत्तामा क्षमतावान् मान्छे जानु पर्‍यो । विकास भनेको जुनसुकै व्यवस्थामा पनि आधारभूत विषय हो । र हामीलाई के चाहिने भनेर शासकीय संरचनाको कुरा त्यो भन्दा माथिको एजेण्डा हो ।

आम नागरिकलाई अहिले निराशा आउनुको कारण उनीहरूको भविष्य हिजो पनि ठूलो थिएन । कुनै न कुनै राजनीतिक प्रणालीमा समस्या होला त्यो राजनीतिक दलहरूले परिवर्तन गर्दै छन् । त्यसपछि सुध्रिएला भन्ने भयो ।

तर हाम्रा पात्रहरूले लोकतन्त्र बनाउने हो भने त लोकतान्त्रिक संस्थाहरूलाई सबलीकरण बनाउनुपर्ने हो तर अहिले त सम्पूर्ण संस्थाहरू नागरिकलाई डस्ने, दुख दिने नागरिकलाई यो देशमा बस्न लायक छैन भन्ने कुरा एउटा उद्योग दर्ता गराउन जाँदा थाहा हुन्छ । प्रशासनमा काम गर्न जाँदा थाहा हुन्छ । त्यसपछि हाम्रो उत्पादनको क्षेत्र दिन प्रतिदिन संकुचित हुँदै आफैँ उत्पादन हुने भन्दा बाहिरका सामान ल्याउने मात्रै प्रवृत्ति बढेको छ । नेपालमा नै उत्पादन गरेर आन्तरिक बजारमा प्रतिस्पर्धा गर्ने हाम्रो आँट नै छैन । आम रूपमा मान्छेहरू तीन पुस्तासम्म मेरो सन्तानको भविष्य छ भन्दा मात्रै आशा जाग्ने हो । अहिले त हामीले आफ्नै पालामा आशा जगाउन सकेनौँ । यो सबैको कारण हाम्रो नेतृत्व यति निकम्मा भयो कि त्यो आज भन्दा २० वर्ष अगाडि नै राजनीतिबाट बिदा लिनु पर्ने पुस्ताले यो मुलुक लुटिरहेको छ ।

संसदीय राजनीतिक अभ्यासमा आएको नेकपा माओवादीले  त केही न केही गर्न सक्थ्यो होला नि ?

उसले संसदीय राजनीति समाप्त पार्ने, लोकतन्त्र सिद्ध्याउने भनेर एक दलीय कम्युनिष्ट शासन लगाउने भनेर उसले हिंसात्मक सङ्घर्ष गरेको हो । त्यो हिंसात्मक सर्घर्षबाट कहाँ पुग्नु ? ऊ लोकतन्त्रवादी कहिले थियो ? हिजो संसदीय व्यवस्थालाई बाहिर बाट प्रहार गर्दा त्यति धेरै नोक्सान गरेको थिएन जति भित्र आएर खतम पार्‍यो । माओवादीले संसदीय व्यवस्थामा सबैभन्दा बढी विकृतिका रूपमा परिवादवाद र सानो पार्टी हुँदा पनि सत्तामा जानै पर्ने, राज्य लुट्ने ,  उसका धेरै नेताहरू तस्करीमा संलग्न भएका छन् । यसो भनिरहँदा हामीले गुन्डा र तस्करलाई सत्ताको साँचो ताला चाबी दिएका छौँ । त्यसैले संसदीय राजनीतिलाई समाप्त पार्न भनेर लोकतन्त्रको जगेर्ना हुने बित्तिकै त्यसको ढाडमा हान्ने भनेको यही माओवादी हो ।

त्यसैले यो माओवादीले कतै पनि लाँदैन र तल्लो कार्यकर्ता मारिँदा सम्म यो नेतृत्व दिल्लीमा बसेर बार्गेनिङ गरिरहेको थियो । जब आफैँ मारिने ठाउँमा हिंसात्मक सङ्घर्ष पुग्यो, तब आत्मसमर्पण गरेर आएको हो । त्यसैले नेपाली जनताको आशावादी नै जसले बढी नराम्रो गरेको छ, त्यसैले केही गर्छ कि भन्ने भयो । र हामी आशै आशमा अरु देशमा झुट बोल्दा सजाय हुन्छ । तर हाम्रो देशमा धेरै झुट बोल्यो भने भोट पाउँछन् ।
माओवादी नआउँदा पनि भ्रष्ट्राचार थियो, नेपाली कांग्रेस र एमालेले अलिकति विधि पुर्‍याएर भ्रष्ट्राचार चाहिँ गर्थे । तर माओवादी आएपछि अब कुनै विधि विधान मान्नु पर्दैन सिधै लुट्दा हुन्छ भन्ने सिकायो । जसले गर्दा देउवा र ओली जस्ता व्यक्तिवादी र एकाधिकारवादी सोचलाई बल पुर्‍याउन मद्दत पुर्‍यायो । अहिले  माओवादीलाई सुधार्ने हैन उ जत्तिकै बिग्रिनमा दलहरूले गर्व गर्ने भए ।

त्यसो भए आशा जगाउने सबै उपाय सकिएकै हो ?

त्यो रूपमा गडबड भएको त हैन । हाम्रोमा निराश हुने कारणका रूपमा अहिलेको युवा पुस्तालाई रोजगारी छैन । त्यो रोजगारी पनि २० हजार ३० हजारकोले हुँदैन । अहिलेको युवाको सपना भनेको पहिला जस्तो हैन । युवाहरू एक वर्ष भित्र आफ्नो गाडी किन्न सक्ने, दुई वर्ष भित्रमा घर किन्न सक्ने सोच राख्छन् । भारतमा पनि एउटा  मध्यम वर्गको मान्छेले दुई लाखमा नयाँ गाडी  आउँछ । उसको मध्यम वर्गीय तलब भनेको २, ३ लाख छ । ५० हजार डाउन पेमेन्ट गरेपछि उसले गाडी पाउँछ र २ लाख हालेपछि फ्ल्याट पाउँछ । तर हाम्रोमा ५० देखि ६० वर्ष सम्म जागिर गर्दा एउटा  गाडी किन्न सक्दैन एउटा घर आउँदैन । ३ करोडको घर कसरी किन्छ त ?

त्यो सपना पुरा गर्ने अवस्था यहाँ छैन । तर उसैको साथी जब अस्ट्रेलिया जान्छ अमेरिका जान्छ एक वर्षमा घर गाडी किनेको देखेको छ । त्यस कारण उसले  मेरो सपना ६० वर्ष यहाँ दुख गर्दा पनि सक्दिन । मलाई हेरेर मेरा छोराछोरीले के सिक्छन् ?  हिजो हाम्रो बाउ, हजुरबुबाको जस्तो युग हैन । हिजो जस्तो जेनतेन आफ्नो घरको एक बिघा १० कट्ठा खेतमा खेती गरेर बस्दैन अहिलेको युवा, किनकि उ सँग त्यो भन्दा धेरै खेती गर्न सक्ने क्षमता छ । तर त्यो ऊर्जा र क्षमतालाई हामीले हाम्रै देशको सन्दर्भमा उपयोग गर्न हाम्रो राजनीति यति निकम्मा भएको छ कि उसले जहाँ जहाँ अन्तर्राष्ट्रिय श्रम बजार खुलेपछि युवाहरू जो शारीरिक श्रम बेच्न सक्छन् त्यहीँ बेच्न हिँडेका छन् । जो मानसिक रूपमा सक्षम छ, त्यो पनि युरोप अमेरिका तिर हिँडेको छ ।

राज्य भित्र भएको अधिकार, श्रोत साधन र अवसरको वितरणमा विभेद भएको कारण नागरिक विस्थापित भए भन्दा कति उचित हुन्छ ?

हामीले राज्य सत्ताको पुनरसंरचना निर्माण गर्दा केही राम्रो गरेनौँ । कर्मचारीतन्त्र सबैभन्दा पहिला बदल्नु पर्ने थियो । त्यसको कुनै पुनरसंरचना नै गरेनौँ । जसले गर्दा ८१ प्रतिशत बजेट तलब भत्तामा जान्छ । बाँकी बजेट पनि खर्च हुँदैन । यस अवस्थामा कसरी विकास हुन्छ ? हाम्रा राष्ट्रिय गौरवका आयोजनाहरू समयमा नै सक्ने हो भने त्यसले बहुआयामिक सफलता ल्याउने र धेरै मान्छेलाई संलग्न गराउँथ्यो । तर हाम्रोमा त खरदारको गाईड पढेर सचिव भएका छन् । तिनले केही गर्नै सकेनन् । समग्रमा सक्षम मान्छे ब्युरोक्रेसीमा आएन ।

यसको मुख्य समस्या राजनीति नै हो ?

हो, राजनीति असफल भएपछि त्यसले नकारात्मकतिर हरेक कुरा जान्छ । हामीले एक काम गर्दा  राजनीति राम्रो भयो भने ३ वटा काम छिटो र राम्रो गरिदिन्छ । तर राजनीति नराम्रो भयो भने हामीले गरेको परिणाम भन्दा ७ गुना ८ गुना तल आउँछ । अहिले भएको पनि राजनीतिको असफलताले गर्दा बहुआयामिक क्षेत्रहरू असफल भए ।

राजनीतिक रूपमा असफल भएको त्यो पुस्ताको अवसान भएपछि आउने एउटा सम्भावित पुस्ता जुन अहिले राजनीतिक सतहमा छ । त्यसबाट कत्तिको आशावादी हुनु हुन्छ ?

त्यो पुस्ता नै छैन । पुराना पुस्तासँग कन्टेन थिएन । कन्टेनमा उनीहरू चोर्ने थिए । इन्फेन थियो जसले गर्दा पुरानो सत्तालाई भत्काएर राज्य सत्तामा आए । तर अहिलेको पुस्तामा त त्यो दुवै छैन । पुरानोले सकेन भन्ने कुण्ठा मात्रै छ । राजनीतिमा गएर पदमा जाने कुण्ठा मात्रै छ । तर म आशावादी छु किनकि राजनीतिमा धेरै ठूलो संकट आउन थाल्यो भने कतै न कतैबाट त्यो संकट समाधान गर्ने शक्ति आउँछ । मात्रै हाम्रो डर त्यस्तो शक्ति धेरै चाहिँ दक्षिणपन्थी शक्ति र पश्चगामी शक्ति नहोस् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  २ : ३३ बजे

जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

तनहुँ – वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भनी ठगी गरेको आरोपमा

सिमलताल दुर्घटना : फेला परेका १९ शवमध्ये १४ को सनाखत

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लिको बधाई

काठमाडौं – चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त

अमेरिकाका लागि भारतका नयाँ राजदूत विनयमोहन क्‍वात्रा

काठमाडौं – भारतको विदेश सचिवबाट अवकाश पाएका विनयमोहन क्वात्रा अमेरिकाको

पक्की सडक सञ्जालले फेरिँदैछन् सूर्यविनायकका गाउँ

भक्तपुर – सूर्यविनायक नगरपालिका‐१० भङ्गाल, खड्कागाउँ सल्लाघारी हुँदै चाँगुनारायण नगरपालिका‐९