जनकपुरधाम– मधेश प्रदेश सरकारमा नेपाली कांग्रेससँगै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने भएको छ ।
अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्नेगरी कांग्रेस प्रदेश सरकारमा सहभागी हुँदै गर्दा लोसपाले पनि एक मन्त्रालय पाएको छ ।
मधेशमा लोसपाको तर्फबाट रानीकुमारी शर्मा तिवारी शिक्षा तथा संस्कृति मन्त्री बनेकी छन् ।
शिक्षा तथा संस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह तथा सञ्चचार मन्त्रालयको जिम्मा दिइएको छ । कांग्रेस र लोसपाका नयाँ मन्त्रीहरूको शपथ बिहीबारै साँझ जनकपुरधाममा हुँदैछ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले कुरा मिलेपछि कांग्रेस र लोसपा सरकारमा मिसिएको बताए ।
उनले भने ‘कांगेसलाइ अर्थसहित चार मन्त्रालय दिने सहमति भएपछि सहभागी भएको छ । लोसपा पनि सरकारमा मिसिएको छ ।’
कांग्रेसबाट जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुनिलकुमार यादवले अर्थ मन्त्रालय, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसअघि कांग्रेसले अर्थ मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।
मधेशमा मिसिएपछि केन्द्रमा यही आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले लोसपाबाट विश्वासको मत पाउने पक्का भएको छ ।
प्रतिक्रिया