काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बुधबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन् ।
बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वर स्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।
नाथम विकास ऐन अन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै उनले आगामी हिउँदे अधिवेशनबाट नाथम सम्बन्धी विधेयक संसद्मा पेश गर्ने विश्वास व्यक्त गरे।
उनले नाथमबाट उत्पादित जनशक्ति दक्ष र विश्व बजारमा प्रतिस्पर्धा गर्नका लागि प्रमाणित भएको बताए। उनले नाथमले अन्तराष्र्टिय संघ संस्थाहरुसँग समेत सहकार्य र समन्वय गर्नु पर्नेमा जोड दिए । नाथम सञ्चालनमा मन्त्रालयले कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने समेत मन्त्री पाण्डेले विश्वास दिलाए ।
प्रतिक्रिया