म्याग्दीको किवीले बजार पाएन « Khabarhub

म्याग्दीको किवीले बजार पाएन


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– धौलागिरि गाउँपालिका–७ शिवाङको धौलागिरि कृषि तथा पशुपन्छी फार्मका सञ्चालक ओमराज मगर बगैँचामा लटरम्म किवी फलेको देखेर जति खुसी छन् त्योभन्दा बढी दुःखी किवीले बजार नपाएर बनेका छन् ।

‘सत्तरी बोटमा करिब तीन हजार किलोग्राम किवी फलेको छ’, उनले भने, ‘मङ्सिर महिनाभर करिब पाँच सय किलोग्राम मात्र किवी बिक्री भयो । पुस महिनामा नटिप्ने हो भने झरेर नष्ट हुन्छ । बजार नपाएर तनावमा परेको छु’, गत वर्षको तुलनामा दोब्बर बढी किवी फले पनि बिक्री गर्न समस्या भएको मगरले बताए ।

बजार अभाव र मूल्य नपाउने मगरको मात्र नभएर किवीखेती गरेका म्याग्दीका कृषकको साझा समस्या हो । धौलागिरिको शिवाङ, मराङ, मालिकाको दिच्याम, देवीस्थान, रुम, मङ्गलाको कुहँ, बरङ्जा, किमचौर, हिदी, बेनी नगरपालिकाको भकिम्ली, घतान, रघुुङ्गाको दरमिजा, पाखापानी, चिमखोला, बेगखोला, अन्नपूर्णको नागी, राम्चे, हिस्तानमा ५० भन्दा बढी किवी बगैँचा रहेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सानो बजार र उत्पादन धेरै भएपछि किवी बिक्री गर्न समस्या भएको बेनी नगरपालिका–३ भकिम्लीका कृषक लालबहादुर पुनले बताए । ‘यहाँका उपभोक्ताहरुको किवीमा अझै बानी परिसकेको छैन’, उनले भने, ‘पोखरा, काठमाडौं लैजाँदा अन्य ठाउँको किवीसँग प्रतिस्पर्धा गरेर मूल्य पाइँदैन ।’

करिब दुई हजार किलोग्राम किवी फलाएका पुनले बागलुङका फलफूल व्यापारीलाई प्रतिकिलोग्राम एक सय ८० का दरले एक हजार पाँच सय किलोग्राम बिक्री गरिसकेको बताए । भकिम्लीका अन्य कृषकले भने बजार नपाउँदा किवी टिपेका छैनन् । मङ्सिर र पुस महिना किवी टिप्ने याम हो । पुससम्म नटिपे किवी बोटमै पाकेर झर्ने, चराचुरुङ्गीको आहारमा सीमित हुने चिन्ता कृषकको छ ।

कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि बाँझिएको खेतबारीमा कृषकले किवीखेती गरेका थिए । कृषि ज्ञान केन्द्रको अभिलेखअनुसार म्याग्दीको ११ हेक्टर क्षेत्रफलमा भएको किवीखेतीबाट गत आर्थिक वर्ष २०८०–०८१ मा ४४ मेट्रिक टन उत्पादन भएको थियो ।

केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष मौसम अनुकूल भएको, रोगकिराको समस्या नदेखिएको र फूल खेल्ने समयमा असिना नपरेकाले किवी उत्पादन बढेको बताए । धेरै दाना लागेका कारण आकार सानो हुँदा बजार नपाउने समस्या देखिएको बास्तोलाले बताए ।

भिटामिन सी लगायत पौष्टिकतत्व पाइने किवी चिनी रोगका बिरामीहरुका लागि लाभदायक मानिन्छ । पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ । अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फलको रूपमा चिन्ने गरिएको छ ।

किवी चीनमा विकास भएको फलफूल हो । न्यूजिल्याण्डले किवीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दररेट अनुसार प्रतिगोटा एक सय छ । निजी नर्सरीबाट तीन सय रुपैयाँ सम्ममा बिक्री हुन्छ ।

कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूले म्याग्दीका कृषकलाई किवी खेतीसम्बन्धी तालिम र बिरुवा वितरण गर्दै आएका छन् । अन्य फलफूलभन्दा छिटो र खाद्यबालीको तुलनामा खेती गर्न सजिलो किवीबाट एकै रोपनीमा चार लाखसम्म आम्दानी गर्न सकिने कृषकको अनुभव छ । सजिलो र कलामी बिरुवा रोपेको दुई वर्षमै आम्दानी लिन सकिने बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाले बताए ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ११ : ०६ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा