भयावह फोक्सोको क्यान्सर | Khabarhub Khabarhub

भयावह फोक्सोको क्यान्सर


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍ – फोक्सोको क्यान्सर विश्वभर नै मृत्युको प्रमुख कारक मानिन्छ  । नेपालमा पनि पुरुषहरूमा देखिने क्यान्सरमा फोक्सोको क्यान्सर नै प्रमुख रहेको छ । महिलामा पनि पाठेघरको क्यान्सर र स्तन क्यान्सरपछि तेस्रोमा फोक्सोको क्यान्सर देखिने गरेको छ ।

फोक्सोको क्यान्सर हुनुको मुख्य कारण धुम्रपान हो । सरकारले पनि सकेसम्म नेपालमा धुम्रपान निषेध नै गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । फोक्सोको क्यान्सर लागेपछि उपचार असाध्यै महंगो भएकाले रोग नै लाग्न नदिनेतर्फ सबैले विचार पु¥याउनुपर्ने चिकित्सकको सुझाव छ ।

आखिर फोक्सोको क्यान्सर कसरी हुन्छ ? यसका लक्षणहरु के कस्ता हुन्छन् ? र, यसको रोगथामका लागि ध्यान दिनुपर्ने कुराहरु के हुन् ? यिनै सन्दर्भमा वीर अस्पतालका क्यान्सर विभाग प्रमुख एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्यसँग खबरहबले गरेको कुराकानी–

फोक्सोको क्यान्सरका मुख्य कारण के हो ?

फोक्सोको क्यान्सर हुनुको मुख्य कारण धुम्रपान हो । सूर्तिजन्य पदार्थलाई धुवाँका रुपमा तानेर जब फोक्सोमा पुग्छ, त्यसले फोक्सोको क्यान्सर हुने सम्भावना एकदमै बढी हुन्छ । दोस्रो रेडियन्ट ग्यास, जुन धर्तीबाट आउँछ, त्यसले पनि क्यान्सर गराउँछ । अर्को प्रदूषण हो । गाडीबाट निस्किने धुवाँ धुलोका कारणले पनि फोक्सोको क्यान्सर हुने सम्भावना बढी नै हुन्छ ।

फोक्सोको क्यान्सर कस्तो मान्छेलाई हुन सक्छ ?

तुलनात्मक रुपमा धुम्रपान गर्ने व्यक्तिलाई बढी देखिने भइहाल्यो । धुम्रपान नगर्ने व्यक्तिलाई पनि नहुने त होइन । ननस्मल सेल लङ्स क्यान्सर, एडिनोकार्सिनोमा र स्मल सेल लङस क्यान्सर गरेर मुख्यतयः फोक्सोको क्यान्सरलाई तीन प्रकारमा बाँडिएको छ ।
चुरोट खाने व्यक्तिमा देखिने स्मल सेल लङस क्यान्सर र ननस्मल सेल लङस क्यान्सर हो । चुरोट नखाने र मुख्यतः महिलामा एडिनोकार्सिनोमा क्यान्सर बढि देखिन्छ । यसको कारण भन्न सकिएको छैन । तर, रेडियन्ट ग्यासका कारणले हो कि भन्ने छ ।

शहरी क्षेत्रमा धुलो धुवाँले क्यान्सरको जोखिम धेरै हुने हो ?

धुवाँ, धुलोले मात्रै पनि फोक्सोको क्यान्सर हुन्छ भन्ने त होइन तर लामो समयसम्म गाडीबाट निस्किने धुवाँको असरले फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

कुन उमेर समूहमा यस्तो समस्या छ ?

फोक्सोको क्यान्सर मुख्यतः ४० वर्षभन्दा माथि ५० र ६० वर्षको उमेर समुहमा बढी देखिने गरेको छ । चुरोट खाने बित्तिकै फोक्सोको क्यान्सर भइहाल्ने होइन, यसले समय लिने हुँदा अलि बढी नै उमेरका व्यक्तिमा जोखिम धेरै हुन्छ ।

फोक्सोको क्यान्सर महिलाहरुमा भन्दा बढी पुरुषहरुमा हुन्छ भनिन्छ के हो वास्तविकता ?

नेपालमा तुलनात्मकरुपमा पुरुषहरुको संख्या बढी भएका कारण पनि त्यस्तो देखिएको हुन सक्छ । डाटामा हेर्दा पनि पुरुषको संख्या बढी देखिएको छ । तर, पुरुषहरुमै बढी देखिन्छ भन्ने चाहिँ होइन । महिला–पुरुष दुबैलाई उत्तिकै जोखिम हुन्छ ।

फोक्सोको क्यान्सर प्रारम्भिक अवस्थामै पत्ता लगाउन के गर्ने ?

प्रारम्भिक अवस्थामै पत्ता लगाउन एकदमै गाह्रो छ । यसका खासै लक्षणहरु केही पनि हुँदैनन् । कसै–कसैलाई सुख्खा खोकी लाग्न सक्छ । तर, बिरामीहरु रोग धेरै फैलिसकेपछि मात्रै अस्पताल आइपुग्छन् । त्यसैले सुरुमै पत्ता लगाउन स्क्रिनिङ गर्नुपर्छ । लामो समयसम्म चाुरोट खाने व्यक्तिलाई लो डोज राखेर सिटीस्क्यान गरेर क्यान्सर छ कि छैन भनेर हेर्न सकिन्छ । तर, यो प्रवृत्ति नेपालमा छैन ।

बच्चाहरुमा हुने निमोनियाले पनि पछि गएर फोक्सोको जोखिम कत्तिको छ ?

निमोनियाकै कारण फोक्सोको क्यान्सरको जोखिम त हुँदैन । तर फोक्सोमा दाग भएको व्यक्तिलाई चाहीँ जोखिम हुन्छ ।

यसमा वंशाणुगत असर कत्तिको हुन्छ ?

केही हद ५ सयमा ५ प्रतिशतसम्म वंशाणुगत असर पनि हुन्छ । बुवा, हजुरबुवाका पालामा क्यान्सर थियो भने आउने पिँढीले चुरोट नखाँदा राम्रो हुन्छ । अघिल्लो पिँढीको हेरिटेज असर असर हुन्छ । त्यसैमाथि चुरोट खाँदा सम्भावना अझ बढेर जान्छ ।

यसका लक्षणहरु कस्ता देखिन्छन् ?

विभिन्न रोगीमा क्यान्सरको लक्षण पनि भिन्न हुन्छन् । कुनै रोगीमा पनि अन्तिमसम्म पनि कुनै लक्षण नै देखिँदैन । तर, धेरैमा भने अरू नै कुनै कारणले छातीको एक्सरे गर्दा क्यान्सर भएको पत्ता लाग्ने गर्दछ । लामो समयसम्म खोकी लाग्नु, खकारमा रगत देखिनु, श्वास लिँदा कठिन हुनु, श्वास फेर्दा छाती कराउनु, आवाजमा परिवर्तन आउनु, मुख्य भनेको सुख्खा खोकी लाग्नु नै हो । त्यसैले यस्ता केही लक्षणहरु देखिए एक्सरे गर्दा मात्रै पनि रोग पत्ता नलाग्न सक्छ । सिटस्क्यान गर्नु राम्रो हुन्छ ।

नेपालमा फोक्सोको क्यान्सरको अवस्था के छ ?

नेपालमा फोक्सोको क्यान्सरको अवस्था एकदमै भयावह छ । पुरुषहरुमा त एक नम्बरमै छ । महिलाहरुमा पहिलो पाठेघर, दोस्रो स्तन क्यान्सर र तेस्रोमा फोक्सोको क्यान्सर पर्छ । नेपालमा धुम्रपान गर्नेहरुको संख्या पनि धेरै भएकाले फोक्सोको क्यान्सरको अवस्था राम्रो छैन । अचेल स्कुले बालबालिकादेखि लिएर पाको उमेर समुह सबैमा चुरोटको लत छ । यही अवस्था रहने हो भने केही वर्ष पछाडि नेपालमा फोक्सोको क्यान्सरको अवस्था झन जटिल हुन सक्छ ।

फोक्सोको क्यान्सरका कारण हुने मृत्युदर कस्तो छ ?

धेरै बिरामीहरु अन्तिम अवस्थामा मात्रै अस्पताल आइपुग्छन् । त्यसैले मृत्युदर पनि बढी नै छ । अन्य क्यान्सरको तुलनामा फोक्सोको क्यान्सरका बिरामीहरु उपचारमा आएको १÷२ वर्षमै मृत्यु हुने दर बढ्दो छ ।

फोक्सोका क्यान्सर भएमा के छ त उपचार ? कस्तो अवस्थामा अस्पताल आइपुग्यो भने बिरामीलाई लामो समयसम्म बचाउन सकिन्छ ?

मुख्यतः फोक्सोको क्यान्सरको उपचार भनेको सर्जरी, रेडियसन, किमोथेरापी हो । सुरुवाती अवस्थामै बिरामी अस्पताल आइपुग्यो भने केही हदसम्म यी विधिबाट बिरामीलाई बचाउन सकिन्छ । तर, धेरै बिरामीहरु अन्तिम अवस्थामा अस्पताल आइपुग्दा उपचार त्यति प्रभावकारी हुँदैन ।

यसको उपचार कत्तिको खर्चिलो छ ?

यसको उपचार खर्चिलो छ । सर्जरी गर्नुपर्यो, रेडियसन, किमोथेरापी लगायत धेरै महँगा थेरापीहरु छन् । जो सामान्य अवस्था भएका व्यक्तिलाई गाह्रो छ । त्यसैले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो । यसका लागि सरकारले पनि सकेसम्म नेपालमा धुम्रपान निशेष नै गर्नुपर्छ ।

फोक्सोको क्यान्सरबाट बच्न के गर्ने ?

यसबाट बच्नका लागि पहिलो कुरा त धुम्रपान नगर्ने । धुम्रपान गर्नेको वरिपरि पनि नबस्ने । स्वासप्रश्वाससम्बन्धी व्यायामहरु गर्ने ।

यसको रोकथामका लागि सरकारले के गरिरहेको छ ?

सरकारले सूर्तीजन्य पदार्थ नियन्त्रण गर्ने कार्यक्रम ल्याइरहेको छ । त्यो कत्तिको प्रभावकारी भइरहेको छ भन्ने आफैंमा एउटा प्रश्न छ । सरकारले गरेर मात्रै केही हुँदैन, मान्छे आफैं पनि सचेत हुन जरुरी छ । चुरोट खाने मान्छेहरुले छोड्नै चाह्यो भने अहिले निकोटिन चुइङगम पनि आएको छ । तर, उनीहरुमा सुरुमै आत्मविश्वास पाइँदैन । म त चुरोट छोड्न सक्दिनँ होला भनेर पहिले नै नकारात्मक सोच हुन्छ । त्यस्ता व्यक्तिलाई छुटाउन एकदमै गाह्रो हुन्छ ।

तपाईले भन्नुभएको निकोटिन चुइङगम के हो ?

भारतलगायत अन्य मुलुकहरुमा यसको प्रयोग भइरहेको छ । निकोटिन चुइङगमको सहायताले सयजनामा कम्तिमा पनि ३ जनालाई सूर्तिजन्य पदार्थको लतबाट छुटाउन सकिन्छ । यही कुरा नेपालमा पनि लागु गर्नसके राम्रो हुन्थ्यो । डब्लुएचओले बीर अस्पतालमा केही मात्रामा दिएको थियो, केही दिनमै सकियो । मान्छेहरुमा चुरोट छाड्ने चाहना छ तर छोड्ने उपाय नभेटिएको देखिन्छ । यो चुइङगमको प्रयोगका लागि चिकित्सकको परामर्शमको आवश्यकता पर्दैन । यो बाहेक अन्य औषधीहरु पनि छन्, जसले सूर्तीजन्य पदार्थको लत छुटाउन सहयोग गर्छ । त्यसका लागि चिकित्सकको परामर्श आवश्यक छ ।

फोक्सोको क्यान्सर रोकथामका लागि वीर अस्पतालमा यहाँले कस्तो पहल गरिरहनुभएको छ ?

आफ्नो तर्फबाट गर्ने सबै कामहरु हामीले गरिरहेकै छौं । क्यान्सरलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा एउटा मिसन तयार गर्यौं र सरकारलाई बुझायौं तर त्यो अगाडि बढेन । काम गर्ने मान्छेको हामीसँग कमी छैन । मेडिसिनका धेरै विधामा पढेर आएका मान्छेहरु धेरै छन् । यसलाई सरकारले गम्भिर रुपमा लिएर सोच्न आवश्यक छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १० : ४५ बजे

उखु अभावले उद्योग बन्द, ‘क्रसिङ’ लक्ष्य हासिल भएन

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि

आजका समाचार : बृहत् विरोध सभाको तयारीमा मोर्चा, नारायणहिटी अगाडि राजावादीको प्रदर्शन र युक्रेन युद्ध अन्त्यको सम्भावना

 सरकारका कारण बढेको असन्तुष्टिले गणतन्त्र रक्षामा चुनौती : समाजवादी मोर्चासमाजवादी

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

 काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक 

काठमाडौं– कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य

युक्रेन युद्धविरामका लागि पुटिनलाई दबाब दिन विश्व नेताहरूलाई आग्रह

 एजेनसी– बेलायतका प्रधानमन्त्री किर स्टार्मरले युक्रेनलाई ‘शान्तिको पक्ष’ भनेर प्रशंसा