'कांग्रेससँग नमिलेको भए माओवादीले रोएर हिँड्नुपर्थ्यो' | Khabarhub Khabarhub

‘कांग्रेससँग नमिलेको भए माओवादीले रोएर हिँड्नुपर्थ्यो’



पछिल्लो समय नेकपा माओवादी केन्द्रले कांग्रेससँग सत्ता साझेदारी टुंग्याएर अर्को गठबन्धन बनाएपछि नेपाली राजनीतिमा आएको तरंग अझै शान्त भइसकेको छैन । माओवादीसँग धोका खाएको नेपाली कांग्रेसको भूमिका अब कस्तो रहला भन्ने चासो पनि उत्तिकै छ ।

यहीबीचमा कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ भन्ने मत पनि उत्तिकै छ । आगामी दिनमा कांग्रेस र माओवादीबीचको सम्बन्ध कस्तो रहला भन्ने प्रश्न पनि राजनीतिमा छ ।

हालै भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्य बनेका कांग्रेस नेता आनन्दप्रसाद ढुंगानालाई हामीले कांग्रेस र माओवादीबीचको गठबन्धन किन टिकेन ? र, अब समसामयिक परिस्थितिमा नेपाली कांग्रेस कसरी अगाडि बढ्छ ? भनेर सोधेका छौं । 

के अब एमालेसँग मिलेर कांग्रेसले माओवादीसँग बदला लिन सम्भव छ ? राष्ट्रियसभा सदस्य ढुंगानासँग रेडियो क्यान्डिडका लागि कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश : 

माओवादीले गरेको एमालेसँगको सत्ता समीकरणलाई कांग्रेसले घात मान्ने कि, नमान्ने ? 
हामीले निर्वाचनबाट नै माओवादीसँग गठबन्धन गरेर सँगै हिँडेका हौँ । पहिला पनि जुन बेलामा ओलीले संसद् भंग गरे, त्यो बेलामा हामी प्रतिपक्षमा थियौँ । नेपाली जनताले दिएको कम मतका आधारमा प्रतिपक्षमा बसेर नै सेवा गर्नु पर्छ भनेर हिँडेका थियौँ । त्यसपछि माओवादीका नेता प्रचण्ड, माधव नेपाल, उपेन्द्रजी तीनैजना देउवासँग गएर यो संघीय लोकतन्त्र संविधान त अब सकिने भयो, यसलाई च्यात्ने भए, संविधानमा नलेखिएको संसद भंग गर्ने काम भयो भनेर हामी प्रतिपक्षमा छौँ भन्दाभन्दै कांग्रेस राष्ट्रिय पार्टी भएकोले नेतृत्व गरिदिनु भनेपछि हामी सरकारमा गयौं । त्यतिबेला हाम्रो केन्द्रीय समितिको बैठक पनि चलिरहेको थियो । यो कुरा बैठकमा प्रवेश भयो । त्यहाँ पनि कतिपय साथीले प्रतिपक्षमा नै बसौँ भन्नुभएको थियो । 

दोस्रो संविधान सभाको निर्वाचन गराउन भए पनि कांग्रेस तयार भयो । किनकि प्रधानन्यायाधीशलाई कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका तीनवटै अधिकार दिँदा हामी डेमोक्रेटिक पार्टीले सहर्ष स्वीकारेको थिएन । हाम्रो केन्द्रीय समितिमा बहस भएर अहिले निर्वाचन भएन भने यो देशमा जनताले संविधान सभाको सुविधा पाउँदैनन् भनेर हामीले स्वीकार्‍यौँ र दोस्रो संविधान सभाको निर्वाचनमा गयौँ । 

त्यो निर्वाचन हुँदै गर्दा स्पष्टरूपमा हामीलाई संविधान लेखनको कार्यभार दिनुभयो भने दुई वर्षमा पूरा गर्छौँ भनेर ०७० को निर्वाचन गरेपछि ०७२ मा संविधान जारी गरायौँ । 

निर्वाचन हुन्छ कि हुँदैन त्यो पनि शंकाको विषय बनेको थियो । तर पनि हामीले सत्तामा उपस्थित भएर संघीय ससद्को निर्वाचन गराएर नेपाली जनताले जसलाई रुचायो, त्यसमा लगायौँ ।

तर, नेपाल कम्युनिस्ट पार्टीका नेता रहेका खड्ग ओलीले त्यो संविधानलाई बलियो बनाउनु पर्नेमा उल्टो अधिकारै नभएको संसद भंग गरे । देशमा अप्ठ्यारो अवस्था आयो । अस्थिरतातिर जाने अवस्था आयो र दोस्रो तहको निर्वाचनमा पनि हामीले काँध थाप्नुपर्‍यो । 

अहिले हामीले जुन प्रकारको निर्वाचनअघि गठबन्धन गर्‍यौँ, त्यसमा पनि संविधान बलियो भएको छैन र संविधानलाई व्यवस्थित गर्नका लागि माओवादी र हामी छलफल भएको हो र जनताले म्यान्डेट पनि त्यही अनुसार दिएर सरकारमा गयौँ । कामहरू पनि गरिराखेका थियौँ । तर अहिले आएर कुनै समस्या आएको भए गठबन्धनभित्र छलफल गर्नु पर्थ्यो । 

कांग्रेसबाट कोशीमा घात गरियो रे । राष्ट्रिय सभाको अध्यक्ष दिनुभएन रे नि ? 
राष्ट्रिय सभाको अध्यक्षमा उहाँहरूले नै सिटौलाजीलाई बनाउनुपर्छ भन्नु भएको हो, हामीले हैन । त्यसैले प्रचण्डले आफैँले भन्नुभएको छ कि म बाँचुन्जेल उथलपुथल भइरहन्छ । यही रहेछ उहाँको उथलपुथल । थेगो मात्रै है, चरित्र मुखले बोल्नु भयो । 

त्यसैले नेपाली कांग्रेस यो देशको राष्ट्रियता लोकतन्त्रका लागि आफ्नो योगदान बलिदान दिएको पार्टी हो । कांग्रेसले यस्तो बाधा विरोध धेरै देखेको छ । हामीले कहिल्यै अतालिएर काम गरेका छैनौँ । अहिले पनि सोचेर नै काम गरिरहेका छौँ ।  

अघिल्लो स्थानीय चुनावमा माओवादीले घात गरेपछि फेरि संसदीय चुनावमा किन गठबन्धन गर्नुभयो ? अहिले पनि घात गरिसकेपछि किन पछि लागेको ? कम्युनिष्टलाई काँधमा बोकेर कांग्रेसले आफ्नो निष्ठा गराइराखेको छ भन्ने आरोप पनि छ नि तपाईँहरूमाथि ?  
हामीले हामीसँग निकटसँग मात्रै कुरा गरिरहेको छौँ । जस्तो – हामीले नेकपा एकीकृतसँग कुरा गर्‍यौँ । उसले हाम्रो बैठक हुँदैछ, सकिनेवित्तिकै के गर्नुपर्छ गर्छु भनेको थियो । हाम्रा मन्त्रीलाई बोलाएर तपाईँहरू प्यारो हुनुस्, छोड्नुपर्ने स्थिति पनि आउँछ भन्दा उनीहरूले हुन्छ भनेर सभापतिसँग बाचा गरिसकेका थिए । त्यो भन्दा पहिला नै बदमासी सुरु गरिदिने ? वा गठबन्धनको उता छुट्टै तयारी गरिसकेका रहेछन् हामीसँग अर्कै कुरा गर्ने रहेछन् । 

स्पष्ट ढंगले कुरा गरेको भए हुन्थ्यो । विभिन्न बाधा अवरोध हाम्रो आफ्नै पार्टीभित्र पनि थियो । गठबन्धन गर्न हुँदैन भन्दाभन्दै राष्ट्र, लोकतन्त्र, संविधानका लागि, नेपाली समाजको उत्थानका लागि गठबन्धन गर्नुपरेको हो । 

अब नेपाली कांग्रेस आफ्नै बलबुँतामा अगाडि बढ्छ भन्ने लाग्दैन ? 
राजनीतिमा हामीसँग गठबन्धन गरेको मान्छेले सँगै सबै भन्दा पहिला  कुरा त गर्नु पर्‍यो नि । हामीले कोहीसँग कुरा गर्‍यौँ भने गठबन्धन नै गर्न पुगेको भनेर बुझ्ने हैन । राजनीतिमा धेरै सम्भावना हुन्छन्, धेरै कुरा गर्न सकिन्छ पानी बराबर हुँदैन । त्यसैले, हामीले कोहीसँग कुरा गर्‍यौँ भने सरकार नै बनाउन गरेको हैन । 

प्रचण्डले नेपाली कांग्रेसका मन्त्री भ्रष्ट भए, काम गर्न दिएनन् भनिरहँदा त्यसको जवाफ दिन पर्दैन तपाईँहरूले ? 
पोखरामा सहकारी पीडितहरूले गृहमन्त्रीमाथि छानबिन गर भनेर उत्रिरहेका छन् । जो मान्छेमाथि छानबिन हुनु पर्छ भनेर नेपाली जनताले बोलिरहेको व्यक्तिलाई गृहमन्त्री जस्तो ठाउँ दिने ? सारा सरकारको र सुरक्षाको कमान्ड बोकेर हिँड्ने ठाउँमा लैजानु राम्रो हाेइन । त्यसैले यस्तो नराम्रो कुरामा बोल्न पाइँदैन र ? 

हामी लोकतान्त्रिक पार्टी, संसद्लाई अनिर्णयको बन्दी बनाउने रहर छैन । सभामुखले अवरुद्ध भएको हुनाले यो बैठक भोलि हुन्छ भन्न सकिन्थ्यो नि । त्यसमा हाम्रा साथीहरू सहमति भएको भए ठिक छ, गृहमन्त्रीको कार्य योजना हटाइदिनुहोस्, हामी सदन चल्न दिन्छौँ । त्यति पनि मान्न तयार नहुनु सरकार आफैं भ्रष्ट्राचार चाहिँ रहेको छ । 

हामीले त समाधान पनि दिएका छौँ सरकारलाई । हामी लोकतन्त्रमा विश्वास गर्छौँ जनताको मतको आधारमा सकारात्मकरूपमा काम गर्छौँ भन्ने हाम्रो अठोट हो । हिजो पनि देशका लागि राजनीतिक संघर्ष गरेका हौँ र आज पनि जनताका हितका लागि काम गर्छौँ

संसद् स्थगित गर्दागर्दै प्रक्रिया अगाडि बढाउने अभ्यास त जनार्दन शर्माको पालादेखि नै सुरु भयो । संसद्को मर्यादा त पहिलादेखि नै भाँचिसकेको हो नि ? 
०४८ साल देखि नै हामीले संसदका गतिविधिहरू हेर्दा प्रतिपक्ष जिम्मेवार भएन भनेका छौँ । ०४८ साल जेठ १४ गते गिरिजा प्रसाद कोइरालाको सरकार बन्यो । १८ गते एमालेका नेताले यो सरकार चल्न दिन्न भन्यो । सरकार गठन भएको ७ दिन नभई सरकार गिराइदिन्छु भनेर आमसभा गर्नु त्यो भन्दा देशको दुर्भाग्य के हुन सक्छ ?

यस्तो हुँदाहुँदै कांग्रेसले सधैँ कम्युनिष्टहरुलाई किन डोर्याएर हिँडेको त ? 
नेपालको राजनीतिमा हामी प्रजातन्त्रवादीभन्दा पञ्चायतमा हामीलाई थुनिन्थ्यो । वामपन्थीहरूले हामी वामपन्थी हौँ भन्दा थुनिँदैनथ्यो किनकि राजाले पनि कांग्रेस सकियो भने मात्र राज गर्न पाइन्छ भनेर कांग्रेसलाई मात्रै मारे । त्यो बेला पनि लडेर आयौँ । त्यसैले अहिले पनि गर्छौँ । 

प्रचण्डले आफू बाँचुन्जेल देशमा उलटपुलट गरिरहन्छु भने । यो भनेको देशमा अस्थिरता रहिरहन्छ भन्ने हो । देशलाई गलाइरहन्छु भनेको हो । तर, हामी देशको स्थिरताका लागि लडिरहन्छौँ । त्यसैले यहाँ अब स्वभाविक दुई किसिमको लडाइ सुरु भइसक्यो, एउटा यो देशलाई स्थिर भएर चल्न दिने, अर्काे पदमा जान देशलाई उलटपुलट हजम गर्नका लागि । 

नेपाली कांग्रेसले बालकोटको भूमिकालाई कसरी व्याख्या गरेको छ ? 
उहाँहरूको आफ्नो पार्टीको आफ्नै भूमिका होला । उहाँलाई त स्वाभाविकरूपमा स्थानीय चुनावमा गठबन्धनबाट म्यान्डेट लिएर आएर हामीले सरकार चलाउँदै गर्दा र राष्ट्रिय सभामा एक जना पनि उहाँको षड्यन्त्र जितिहाल्नु भयो ।  

तपाईँहरूले नै माओवादीलाई घात गरेर एमालेलाई जिताएको रे… 
हामीले घात गरेको हैन, त्रुटि भएको कुरा महासमितिमा पनि स्वीकारेका छौँ । यही कुरालाई उहाँ अहिले आएर उठाउनुभयो । सुनकाण्डको कुरा उठाउनुभयो, समिति पनि बन्यो, हामीले केही भनेको छैनौँ । तर जो चोर, त्यसैको ठूलो स्वर भनेजस्तो जो मान्छे माथि प्रश्न उठेको छ, त्यसैलाई निर्देशन दिने ठाउँमा राख्दा देशमा सुशासन कसरी कायम होला ? 

हिजो सुन सुन तस्करीमा जोडिएका मन्त्री वा माओवादी नेताका सन्दर्भमा त तपाईहरूले प्रश्न उठाउनु भएन नि ?
महामन्त्रीले त्यत्रो बोलेको हो नि । महामन्त्रीले बोलेको संस्थापन हैन र ? हामी आफ्ना बिचारहरू फरक–फरक होलान् । तर, निर्णय भने सधैँ एकै ठाउँमा गर्छौँ । संस्थापन र बाहिरी केही हुँदैन । यो डेमोक्रेटिभ पार्टी हो, यसमा चुनाव हुन्छ । बीपी पनि चुनाव लडेर नै आउनु भएको हो । 

टेरामक्स प्रकरणमा मुछिएका मन्त्रीहरूलाई फिर्ता बोलाउँ, बालकुमारी घटनाका सन्दर्भमा मुछिएका मन्त्रीलाई हटाउनेबारे स्पष्ट दृष्टिकोण बनाउँ भन्दा किन तपाईँहरू नबोलेको  ? 
यो संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई मन्त्री हटाउने अधिकार छ । हामीले अहिले महासमितिसम्म मात्रै राकिदिनुहोस्, हामी तयार छौँ भनेको हो । नत्र हाम्रो सभापतिले सबैलाई बोलाएर तिमीहरू तयार हौ, अब हट्नुपर्छ भनेर भन्नु हुन्थ्यो त ? हामी पनि यो गठबन्धन नटुटोस्, ५ वर्ष सरकार चलोस्, देश र जनताले सुख पाउन् भन्ने चान्छौं । 

लोकतन्त्रको मर्यादाभित्र बस्यौँ, लोकतान्त्रिक अभ्यास  गर्‍यौँ र कम्युनिष्टहरुका लागि पनि प्रजातन्त्रको खातिर उदार भयौँ भन्दै गर्दा यो उदारताले नेपाली कांग्रेसको पार्टी जीवनमा कति क्षति पुर्‍यायो भनेर समीक्षा कहिले गर्ने ? 

क्षति पुर्‍याएको छ । किनकि लोकतन्त्रका लागि लड्दा लड्दै  एक समयमा ०४६ सालको आन्दोलन गर्दा वामपन्थीले हामी पनि जानेछौँ भन्दा हाम्रो बीचमा पनि सँगै जाने नजाने भनेर छलफल भएको हो । तर, जब गणेशमानजीले यो देशमा प्रजातन्त्रका लागि तयार भएर आउँछन् भने साथ दिनुपर्छ भनेर सँगै हिँड्यौँ । तर, हामीले जुन सदायताका साथ उहाँहरूलाई साथमा लियौँ, त्यो अनुसार उहाँहरूले व्यवहार गर्नु भएन । 

पटक–पटक धोका भयो भनिरहने, समीक्षा नगर्ने हो ? 
हामीले चेतिनु भन्दा पनि अहिले पनि लोकतान्त्रिक रहेनछौँ भनेर सोच्ने वामपन्थीहरूले हो । अहिले पनि समाजवादउन्मुख भन्छन् तर त्यो भन्दा अगाडि लोकतान्त्रिक समाजवाद उन्मुख बनाए ठिक हुन्छ । समाजवाद उन्मुख भन्दा उनीहरू कम्युनिस्ट राज्य आउने हो भनेर बुझ्छन्, त्यो सम्भव छ ?  

कांग्रेस खिइँदै जाने कम्युनिस्टहरू झाँगिँदै जाने अवस्था आयो भने त साम्यवादी व्यवस्था आउला नि ? 
अहिले पनि कांग्रेसलाई सक्न यो देशमा सबै लागेका छन् । सबै भन्दा पहिला त राजाले कांग्रेसलाई सिद्धयाएर कम्युनिस्टलाई सहयोग गरेका हुन् । अहिले भएको परिवर्तन, गणतन्त्र हामीले ल्याएका हौँ । शान्ति प्रक्रियामा गिरिजा प्रसादले आह्वान गरेर उहाँहरूले हतियार फ्यालेर नआएको भए गणतन्त्र आउँदैनथ्यो । 

हामीले १० वर्षसम्म रगत बगाएर देशमा गणतन्त्र आयो भन्छन् नि माओवादीहरू? 
रगत बगाएका होलान् । बन्दुक पनि बोकेका थिए । बन्दुकले परिवर्तन भएको हो त ? त्यही बन्दुक कांग्रेसको काँधमा राखेर पड्काएको छौँ भने । तर, त्यो बन्दुक काम लाग्दैन । काम लाग्ने भनेको शान्तिपूर्ण आन्दोलन हो । अहिले पनि ठूलो पार्टी कांग्रेस हो नि । माओवादीले रोएर हिँड्नु पर्थ्यो हामीसँग गठबन्धन नगरेको भए । अब हिम्मत छ भने एक्लै गएर लडुन् न । 

अब एमालेसँग मिलेर माओवादीसँग बदला लिन खोजेको हो ?
हामीले कहिले पनि बदला लिएनौँ । जहिले पनि लोकतन्त्र, राष्ट्रियताको कुरा गर्‍यौँ। अहिले पनि कसैसँग बदला लिँदैनौँ । बदलाको राजनीति कांग्रेसले गर्दैन । 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १२ : ५४ बजे

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा