एक सातामा काभ्रेका अठार स्थानमा आगलागी | Khabarhub Khabarhub

एक सातामा काभ्रेका अठार स्थानमा आगलागी


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोका विभिन्न अठार स्थानमा आगलागी हुँदा जनधनको क्षति भएको छ । पछिल्लो एक सातामा दैनिक जसोको आगलागीका कारण छ घर र सात गोठ जलेका छन् भने सात जना घाइते भएका छन् ।

आगलागीमा परी गम्भीर घाइते दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आगलागीमा परी गम्भीर घाइतेको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै ती आगलागीमा रु १२ लाख ५० हजार क्षति भएको छ । विभिन्न स्थानका आगलागी नियन्त्रणका लागि एक सय प्रहरीलाई झन्डै ४४ घण्टासम्म खटाइएको प्रहरीको भनाइ छ ।

आइतबार एकै दिन काभ्रेपलाञ्चोकमा आगलागीका सात घटना भए । घटनामा एक जना गम्भीर घाइते भए । महाभारत गाउँपालिका-२ मूलडाँडाका सञ्चार घिसिङको कच्ची एकतले घरमा अचानक आगलागी हुँदा लत्ताकपडा, अन्नपात, फर्निचर सामान, भाँडाकुँडा र  रु एक लाख पाँच हजारसमेत गरी रु तीन लाख बराबरको क्षति भएको थियो । सामान झिक्न जाने क्रममा घिसिङ जलेर घाइते भएका थिए । उनी अस्पतालमा उपचाररत छन्।

यस्तै पनौती महानगरपालिका-३ बडारेस्थित पाखोबारीमा झाडी जलाउने क्रममा अचानक सामुदायिक जङ्गलमा आगो लगेको थियो । सो आगलागी स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

भुम्लु–१ कात्तिके वन टोलस्थित सामुदायिक वन क्षेत्रमा आगलागी हुँदा सात रोपनी सामुदायिक वनमा क्षति पुग्यो । सोही स्थानमा रहेको गोठसमेत आगो लागेर नष्ट भयो । खानीखोला–७ मोरङबेँशीस्थित निजी पाखामा आगलागी हुँदा कुमार भ्लोनको काठ-जस्ताले बनेको टहरो जलेको छ ।

सोही दिन बेथानचोक-४ मा बेथानखोला सामुदायिक वनमा आगलागी भएको थियो । बनेपा- १४ मगरगाउँस्थित सामुदायिक वनमा आगलागी तथा पाँचखाल-३ स्थित सर्वमङ्गला माध्यमिक विद्यालयको हाताभित्रको भएको आगलागी  स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

त्यसअघि जिल्लामा ११ वटा आगलागीका घटना भएको प्रहरीले जनाएको छ । डढेलोबाट विशेष गरी जङ्गलमा रहेका साना बोटबिरुवाका साथै वन्यजन्तु विस्थापित भएको अनुमान गरिएको छ ।

आगलागी भएका केही जङ्गलमा स्थानीयवासी तथा सुरक्षाकर्मीको सहकार्यमा नियन्त्रणमा ल्याइएको थियो भने कतिपय जङ्गलको डढेलो आफैँ नियन्त्रणमा आएका थिए । विगतका वर्षको तुलनामा यस वर्ष लामो खडेरी परेका कारण पनि अधिकांश सामुदायिक वनमा डढेलो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

गत फागुन २६ गते पनौती नगरपालिका-५ स्थित छलेश्वर ठूलढुङ्गे सामुदायिक वनमा आगलागी हुँदा पाँच रोपनी सामुदायिक वनमा क्षति पुग्यो । भोलिपल्ट बनेपा नगरपालिका-१० थापा गाउँमा भगवान् थापाको जस्ताको छानो भएको गोठमा आगलागी हुँदा गोठ र नजिकै रहेको तीन कुन्यू परालसमेत जलेको थियो ।

साथै गत फागुन २८ गते तेमाल गाउँपालिका-७ लेखपाखा सामुदायिक वनमा लागेको आगो दुई दिनमा नियन्त्रणमा आयो । त्यहाँ करिब सात रोपनी सामुदायिक वन क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत फागुन २९ गते चौरीदेउराली गाउँपालिका-५ देउपोखरे सामुदायिक वनमा आगलागी हुँदा छ रोपनी सामुदायिक वन क्षति भयो भने सोही वडास्थित बरारे सामुदायिक वनमा आगलागीबाट स्थानीय भक्तबहादुर गौतमको खाली रहेको घर जली पूर्णरुपमा नष्ट हुँदा करिब रु ५० हजार क्षति भएको छ ।

गत फागुन ३० गते बनेपा-१३ भवानीथुम्कास्थित स्यालय गैरा सामुदायिक वनमा आगलागीबाट सात रोपनी सामुदायिक वन जल्यो ।

यसैगरी गत बिहीबार नमोबुद्ध नगरपालिका-८ कुश्मती जङ्गलमा भएको आगलागीबाट करिब सात रोपनी सामुदायिक वन क्षति भएको छ । सोही दिन भुम्लु गाउँपालिका-८ को जङ्गलमा आगलागी हुँदा स्थानीय, प्रहरी, सशस्त्र प्रहरी तथा पाँचखाल नगरको दमकलबाट आगो नियन्त्रणमा लिइएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । त्यहाँ अन्दाजी ६ रोपनी सामुदायिक वनमा क्षति पुगेको छ ।

साथै शुक्रबार नमोबुद्ध-५ लासकोटस्थित विद्युत् ट्रान्सफरमा अचानक भएको आगलागीबाट गोठे चिउरानी सामुदायिक वनमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा ल्याइएको थियो ।

शनिबार महाभारत-७ आलेबासपुर गुजेपानीस्थित पाखोबारिमा फोहर जलाउने क्रममा हावाहुरी चल्दा नजिकैको काठबाट बनेको जस्ता र खरले छाएको दुई वटा गाईगोठमा आगलागीबाट पूर्णरुपमा क्षति भयो भने सँगैको अर्को कुलुङ सामुदायिक वनमासमेत आगो लाग्यो ।

सामुदायिक वनमा डढेलो लाग्न नदिन जिल्ला वन डिभिजन कार्यालयले जिल्लाका विभिन्न स्थानमा चेतनामूलक होडिङ बोर्ड राख्नुका साथै डढेलोबाट हुने बेफाइदा, हानीनोक्सानी र कानुनी व्यवस्थाबारे प्रचारप्रसारसमेत गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  २ : २० बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य